शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना रोकथाम तथा नियन्त्रणमा ‘भगवान भरोसा’ !

बिहीबार, ११ भदौ २०७७, १५ : १४
बिहीबार, ११ भदौ २०७७

काठमाडौँ । कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी स्तरमा भइरहेका प्रयास विफल भएका हुन् या प्रयास नै नभएको हो भन्ने प्रश्न खडा भएको छ ।
नेपालमा लगातार कोरोना संक्रमणको ग्राफ बढ्दै गएका कारण यस्तो प्रश्न उठ्न थालेको हो । त्यसो त ४ महिनासम्म लकडाउन भयो, त्यसपछिका केही साता लकडाउन खुकुलो तुल्याइयो, हाल संक्रमण बढी देखिएका स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।

यसबाहेक कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी स्तरबाट के भइरहेको छ भन्नेबारे आम जनताले प्रष्ट बुझ्न सकिरहेका छैनन् । जनताले बुझ्ने गरी भएको अर्को काम भनेको स्वास्थ्य मन्त्रालयले दैनिक आयोजना गर्ने पत्रकार सम्मेलन र त्यसमा सार्वजनिक गरिने संक्रमितको तथ्याङ्क नै हो ।

सोही तथ्याङ्कमा बुधबारसम्म ३४ हजार ४१८ जनामा संक्रमित भइसकेको उल्लेख छ । तीमध्ये १९ हजार ५०४ जना निको भइसकेका छन् । हाल सक्रिय संक्रमितको संख्या १४ हजार ७३९ छ भने १७५ जनाको मृत्यु भइसकेको छ ।


बुधबार ८८५ जना संक्रमित थपिए, मंगलबार ८५५ संक्रमित थपिएका थिए । त्यस्तै, सोमबार ७४३ संक्रमित थपिएका थिए भने गत आइतबार ८१८ जना संक्रमित थपिएका थिए । त्यस्तै, गत शनिबार ६३४ र शुक्रबार ८३८ संक्रमित थपिएका थिए । यी ६ दिनको तथ्यांकलाई आधार मान्ने हो भने दैनिक सरदर ७०० भन्दा बढी संक्रमित पाइएका छन् ।

पछिल्लो साता मृत्युदर पनि बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपालस्थित कार्यालयका प्रतिनिधि डा. जोस भ्यानडिलिएरले नेपालमा आगामी दिनमा कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमण अझै बढ्ने चेतावनी दिएका छन् । नेपालमा अहिले संक्रमणको सुरुवातमात्र देखिएको उनको भनाइ छ ।

जनस्वास्थ्यविद् शरद वन्तका अनुसार सरकारले सुरुदेखि नै विज्ञहरुका सुझावलाई बेवास्ता गर्दै आइरहेको छ । गत चैत ११ मा लकडाउन जारी भएपछि नै आफूहरुले लकडाउनका समयमा सरकारले गर्नुपर्ने कामबारे ध्यानाकर्षण गराएको उनको भनाइ छ । तर सरकारले त्यसअनुसार तयारी नगरेको उनले बताए ।

चार महिना लामो लकडाउनमा सरकारले चाहेको भए निकै काम गर्न सक्ने उनले प्रष्ट्याए । परीक्षणको दायरा बढाउने, आवश्यकताअनुसार क्वारेन्टिन क्षमता बढाउने, संक्रमितलाई व्यवस्थापन गर्ने, लकडाउनपछिको अवस्थामा के–कस्ता सावधानी अपनाउने र कुन हदसम्म छुट दिनेभन्नेजस्ता तयारी सरकारले चार महिने लकडाउनमै गरिसक्नुपर्थ्यो भन्ने उनको भनाइ छ ।

ती तयारी नगरेकै कारण अहिले संक्रमितको संख्या बढ्दै गएको, अस्पतालहरुमा बेडको अभाव हुन थालेको विज्ञहरु बताउँछन् । उपत्यका लगायतका क्षेत्रमा परीक्षणको दायरा बढाउन नसक्दा, क्वारेन्टिनको व्यवस्थापन गर्न नसक्दा समस्या बढ्दै गएको उनीहरु बताउँछन् ।

पछिल्लो समय कन्ट्याक्ट ट्रेसिङमा समेत बेवास्ता हुन थालेको गुनासो प्रकट भइरहेको छ । कतिपय स्थानमा कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुलाई एक साता बित्दासमेत परीक्षण नगरिएको तथ्य पनि प्रकाशमा आइरहेको छ ।
जनस्वास्थ्यविद् वन्त संक्रमितको कन्ट्याक्टमा आउनेलाई पहिचान गर्न नसक्नु अर्को एउटा जोखिम हो भन्छन् । ‘किनभने संक्रमितलाई जति चाँडो पहिचान गर्न सक्यो, त्यति नै संक्रमण फैलिन पाउँदैन,’ उनले भने, ‘पहिचान गर्न छुटेकाबाट थप संक्रमणको जोखिम हुन्छ ।’

पहिचान गर्न छुटेकाबाट संक्रमितको दर बढ्यो भने तिनीहरूलाई आइसोलेसनमा कसरी व्यवस्थापन गर्ने भन्ने अर्को मुख्य चुनौती प्रकट हुने उनको भनाइ छ । यसबारे अहिलेदेखि नै तयारी गर्नुपर्ने उनले बताए ।
स्वास्थ्य वैज्ञानिक समिरमणि दीक्षित पनि परीक्षणको दायरालाई बढाउने, नाकामा कडाइ गर्ने र कन्ट्याक्ट ट्रेसिङ गर्ने काममा सरकारको कमजोरी देखिएको बताउँछन् । यिनै कारणले पनि अहिले नेपालमा ञ    कोरोनाको ग्राफ बढ्दै गएको उनको भनाइ छ ।

जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे कोरोना संक्रमणको अवस्था अहिले ‘पिक’ मा नपुग्दै पनि अस्पतालमा आइसियु, भेन्टिलेटर लगायत आवश्यक स्वास्थ्य सुविधामा संकट देखिएको बताउँछन् । संक्रमण दर अझै बढ्दा कस्तो अवस्था आउन सक्छ भन्ने सन्दर्भमा बेलैमा सोचेर आवश्यक तयारी गर्नुपर्ने उनको भनाइ छ ।

कोरोना परीक्षणको दायरा बढाएर, कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाएर र नाकामा कडा निगरानी राख्न सकेमा नेपालमा अझै पनि कोरोना संक्रमणलाई नियन्त्रणमा ल्याउन सकिने उनी बताउँछन् ।
विज्ञहरुका सुझाव अनुसार जनताको स्वास्थ्य सुरक्षामा गम्भीर भएर समर्पित हुनुपर्ने सरकार भने कमी कमजोरी स्वीकार गर्न चाहँदैन । बरु सरकारले लापरवाही गरेको औंल्याइदिनेहरुलाई नै ‘रोगी’ साबित गर्ने प्रयासमा विभागीय मन्त्रीले समय खर्चिने गरेको पाइन्छ ।

केही अघि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले हरसम्भव प्रयास गरेको दावीमात्र गरेनन्, सरकारले गरेको कामलाई नदेखेको भन्दै आलोचकलाई ‘मोतियाबिन्दुका बिरामी’समेत भने ।

पछिल्लो समय मुलुकमा कोरोना संक्रमणको ग्राफ घटेको भए मन्त्री ढकालका भनाइमा विश्वास गर्दै सरकारका आलोचकहरु साँच्चै नै ‘पूर्वाग्रही’ रहेछन् वा उनीहरुलाई मन्त्री ढकालले भनेझैँ मोतियाबिन्दु नै रहेछ भनेर मान्न सकिन्यो होला । भदौ महिनाको प्रारम्भिक १० दिनकै आँकडा हेर्ने हो भने ६ दर्जनभन्दा बढीको मृत्यु कोरोना संक्रमणका कारण भइसकेको छ भने दैनिक सरदर ७ सयभन्दा बढी संक्रमित थपिने क्रम जारी छ ।

अस्पतालमा बेड भरिएका छन्, संक्रमितको संख्या बढ्दै गए उनीहरुलाई आइसोलेसनमा कसरी व्यवस्थापन गर्ने, गम्भीर प्रकृतिका बिरामीलाई आइसियु तथा भेन्टिलेटरको आवश्यकता परेमा के गर्ने भन्नेबारे सरकारले गम्भीरतापूर्वक ध्यान दिएको देखिँदैन ।

अझै पनि सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्वाह नगर्ने हो भने आगामी दिनमा कोरोना संक्रमण ‘भगवान भरोसा’ को अवस्थामा पुग्ने विज्ञहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य
लेखकबाट थप