पाकिस्तानमा कोरोनाको ग्राफ भारतको तुलनामा यति पृथक कसरी ?
काठमाडौं । खराब स्वास्थ्य व्यवस्था, ठूलो जनसंख्या र गरिब परिवार जो सानो स्थानमा एकसाथ बस्न बाध्य छन्– पाकिस्तानका सामु कोरोना संक्रमणको सुरुवातमा यस्ता अनेक चुनौती थिए ।जुन महिना लाग्नासाथ अस्पतालमा बेडको अभाव, आइसीयुको कमी, स्वास्थ्योपचारका लागि विभिन्न अस्पतालमा परिवारका सदस्यहरु धाउनु परेको जस्ता समाचार आउन थाले ।
अगस्ट महिनामा भने पाकिस्तानमा कोरोनाको ग्राफ पहिलाको तुलनामा केही नियन्त्रणमा आएको देखिन्छ । तथ्यांकअनुसार बुधबार बिहानसम्ममा पाकिस्तानमा कोरोनाका कुल २ लाख ९४ हजार मामिला प्रकाशमा आएका छन् । तीमध्ये २ लाख ७८ हजार जना कोरोनामुक्त भइसकेका छन् । पाकिस्तान सरकारको वेबसाइटका अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार २६७ पुगेको छ ।
अर्कोतिर भारतमा कोरोनाको मामिला प्रत्येक दिन बढ्दै गएको छ । बुधबार बिहानसम्मको तथ्यांकअनुसार भारतमा कोरोनाका कुल संक्रमित संख्या ३२ लाख आसपास छन् । तीमध्ये ७ लाख जनामा संक्रमण कायम छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ ।
यही तथ्यांकका आधारमा पाकिस्तानको कोरोना ग्राफ भारतको भन्दा राम्रो देखिएको हो । अर्को अर्थमा भन्ने हो भने पाकिस्तानले कोरोनामाथि नियन्त्रण हासिल गरिरहेको देखिन्छ ।
तर के यो तथ्याङ्क सही ढङ्गले पेश गरिएको छ ? के यही तथ्याङ्कका आधारमा पाकिस्तानले कोरोनामाथि नियन्त्रण हासिल गर्दै गएको भन्न मिल्छ ?
पाकिस्तानमा कोरोना परीक्षणको अवस्था
वास्तवमा पाकिस्तानमा कोरोना परीक्षणको संख्या निकै कम छ । परीक्षणको दायरा दिनदिनै बढ्दै जानुको साटो घट्दै गइरहेको छ । यसको असर कोरोना पोजेटिभको संख्यामा पर्न थालेको छ ।
त्यसैगरी अस्पतालमा कोरोनाको उपचारमा भर्ना हुनेको संख्यामा पनि कमी देखिएको छ ।
पाकिस्तानले दैनिक करिब ३० हजार जनाको परीक्षण गर्दै आएको थियो तर जूनको अन्तिम साताबाट परीक्षण दर घट्न थालेको हो । हाल पाकिस्तानमा विना लक्षण कसैको पनि कोरोना परीक्षण गरिँदैन ।
पाकिस्तानमा प्रतिमिलियन एक हजार ४०० जनाको परीक्षण भएको छ । भारतमा भने प्रतिमिलियन तीन हजार ७०० जनाको परीक्षण भएको छ ।
भायरोलोजिस्ट डा. शाहिद जमील भन्छन्– विश्व स्वास्थ्य संगठनका अनुसार २० जनाको परीक्षण गर्दा एक जनामा पोजेटिभ केस पाइयो भने कोरोना नियन्त्रणमा छ भनेर मान्नुपर्छ ।
तर हाल पाकिस्तानमा प्रत्येक ८ जनामा एक जना संक्रमित पाइएको छ भने भारतमा प्रत्येक ११ जनामा एक जना संक्रमित छन् ।
पाकिस्तानले अहिलेसम्म २० लाख जनाको परीक्षण गरेको छ भने भारतले तीन करोड ७६ लाख परीक्षण गरिसकेको छ । डा. जमीलका अनुसार पाकिस्तानमा कोरोना ग्राफ नियन्त्रणमा देखिनुको एउटा कारण यो पनि हुन सक्छ ।
मृतकको तथ्याङ्कमा प्रश्न
बीबीसी उर्दूद्वारा हासिल गरिएको तथ्याङ्कअनुसार पाकिस्तानका दुई ठूला सहर कराँची र लाहोरका कब्रिस्तानमा अन्त्येष्टि गरिएका शवको संख्या जून महिनामा वृद्धि भएको छ । तर यसलाई सोझै कोरोनासँग जोडिएको छैन ।
लाहोरको सबैभन्दा ठूलो कब्रिस्तान ‘मियामी साहेब’ मा जून २०२० मा एक हजार १७६ शव गाडिएको थियो । जबकि जून २०१९ मा यो संख्या ६९६ थियो । यो अन्तरका बाबजुद ४८ जनाको मृत्युमात्र कोरोनाका कारण भएको भनिएको छ ।
जानकारहरुका अनुसार मृतकको संख्या बढ्नुको कारण अनेक हुन सक्छन् । केहीको मृत्युको कारण कोरोना हुन सक्छ तर समयमै बिमारीको पत्ता लाग्न नसक्नु, अन्य बिमारी भएकाहरुलाई कोरोनाको दबाबमा सही समयमा अस्पतालमा उपचार नपाएर मृत्यु भएको पनि हुन सक्छ ।
कराँची सहरको कब्रिस्तानबाट जे तथ्याङ्क आएको छ, त्यसमा पनि गत वर्षको तुलनामा बढी मृत्यु भएको पाइएको छ । तर अगस्टको तथ्याङ्कमा भने बिमारीबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ । तर त्यति कम पनि छैन जति कि तथ्याङ्कमा देखाइएको छ ।
भारतमा पनि मृत्युको तथ्यांकमा केही जानकारले प्रश्न उठाइरहेका छन् । श्मशान घाट र राज्य सरकारको तथ्याङ्क आपसमा मिलेन भन्नेबारे समेत प्रश्न उठेको थियो ।
पाकिस्तानका प्रख्यात महामारी रोग विशेषज्ञ डा. राणा जावेद असगर मृत्यु कम हुनुलाई युवा जनसंख्या नै मुख्य कारण मान्छन् । उनका अनुसार पाकिस्तानमा मानिसको औसत उमेर २२ वर्ष छ जो ब्रिटेन र अन्य पश्चिमी देशको तुलनामा कम हो । ब्रिटेनमा त्यहाँको जनसंख्याको औसत उमेर ४१ वर्ष छ ।
कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा छन् । डा. असगरका अनुसार पाकिस्तानमा चार प्रतिशत जनताको उमेरमात्र ६५ वर्षभन्दा माथि छ । जबकि अधिकांश विकसित देशमा वृद्धवृद्धाको जनसंख्या २०÷२५ प्रतिशत आसपास पाइन्छ ।
भारतको तुलनामा पाकिस्तान कति राम्रो ?
भारतमा पनि मृत्युको तथ्याङ्क कुल कोरोना संक्रमितको तुलनामा कम बताउने गरिएको छ । भारत सरकार मृत्यु दर कम भएको भनेरै आत्मप्रशंसा गर्दै आएको छ । तर पनि भारतमा यो तथ्याङ्क पाकिस्तानको भन्दा बढी नै छ ।
जोन होपकिन्स युनिभर्सिटीको तथ्याङ्क अनुसार पाकिस्तानमा प्रति एक लाख जनसंख्यामा मृत्युको दर २ दशमलव ९७ छ, जबकि भारतमा यो दर ४ दशमलव ३२ छ ।
यस अतिरिक्त डा. असगर भन्छन्, ‘सानो सामाजिक दायरा, मौसम र अन्य बिमारीहरुका कारण पनि पाकिस्तानमा कोरोना संक्रमण कम घातक भएको हो ।’ तर पनि केही विषयमा वैज्ञानिकले अझै अनुसन्धान गर्न बाँकी छ ।
पाकिस्तानले कस्तो कदम उठायो ?
पाकिस्तानले भारतकोजस्तो लकडाउन गरेन । त्यहाँ कोरोना संक्रमण देखिएका केही निश्चित सहरमा स्मार्ट लकडाउन गरियो । लकडाउन पालना भएको छ कि छैन भन्ने अनुगमनको जिम्मा पनि जनतालाई नै दिइयो ।
पाँच महिना बन्द गरिएको अन्तर्राष्ट्रिय उडान पनि अगस्टदेखि सुरु भइसकेको छ । स्कुल र कलेज अझै बन्द छन् तर सिनेमा हलमा फिल्म हेर्न कुनै बन्देज छैन । होटल तथा रेस्टुराँ पनि अगस्टदेखि खुला भएका छन् ।
लन्डन स्कुल अफ हाइजीनका एण्ड ट्रपिकल मेडिसिनमा सोशल एपिडिमियोलोजिस्ट डा. मिशाल खानका अनुसार पाकिस्तानीहरुमा कोरोनालाई लिएर बढी जागरुकता छ तर यसलाई मात्र सही तस्वीर मान्न सकिँदैन ।
उनले भनिन्, ‘जनसंख्या वितरण, जलवायु र सामाजिक कारणले पश्चिमी देशको तुलनामा पाकिस्तानमा कोरोनाका मामिलामा उत्कृष्ट प्रदर्शन भन्न त सकिएला तर भारतको तुलनामा पाकिस्तानमा कसरी कोरोना संक्रमण कम भयो भन्ने बुझ्न सकिएको छैन ।’
पब्लिक हेल्थ फाउण्डेसन अफ इन्डियाका डा. के श्रीनाथ रेड्डीका अनुसार भारतको जनसंख्याको घनत्व कयौँ सहरमा पाकिस्तानको तुलनामा बढी छ । पाकिस्तानको तुलनामा भारतमा बढी संक्रमित हुनुको एउटा कारण यो पनि हुन सक्ने उनको भनाइ छ ।
उनका अनुसार हाल दिल्ली र मुम्बईजस्ता सहरमा कोरोना संक्रमणका मामिला दैनिक कम हुँदै गएका छन् । तर केही स्थानमा अझै पनि कोरोना संक्रमण फैलिरहेको छ ।
डा. असगरका अनुसार भारत र पाकिस्तानको तथ्याङ्क आपसमा तुलना गर्नु हतार हुनेछ । पाकिस्तानमा कोरोना संक्रमणको शिखर आउन अझै बाँकी नै रहेको उनको भनाइ छ । पाकिस्तानको कराँची सहरमा एक सर्वेक्षणअनुसार १७ दशमलव ५ प्रतिशत जनसंख्या कोरोना संक्रमित भइसकेको छ । यसको अर्थ अझै ठूलो जनसंख्यामा यो संक्रमण हुन बाँकी छ भन्ने पनि हो ।
पाकिस्तानमा सरकारले आवतजावतमा सहजता प्रदान गरेसँगै मानिसहरु ठूला सहरबाट ग्रामिण क्षेत्रमा जाने क्रम सुरु भएको छ । यस्तो अवस्थामा ग्रामिण क्षेत्रमा आगामी दिनमा कोरोना संक्रमण अझै बढ्न सक्ने देखिन्छ, जहाँ कन्ट्याक्ट ट्रेसिङ र स्वास्थ्य व्यवस्थाको अवस्था निकै खराब छ ।
डा. असगरका अनुसार पाकिस्तानमा कन्ट्याक्ट ट्रेसिङलाई अझ प्रभावकारी बनाउन जरुरी छ । ‘पाकिस्तानमा अहिलेसम्म कोरोनाको सन्दर्भमा राम्रो काम गरेको छ तर यसको अर्थ पाकिस्तान कोरोना संक्रमणको खतराबाट बाहिर आइसक्यो भन्ने होइन,’ उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको घटनाप्रति कांग्रेसको निन्दा
-
१० बजे १० समाचार : रिहा भए रवि, राष्ट्रपतिलाई मनाउन प्रमको फोन
-
अध्यादेशले तरंगित राजनीति, एकैसाथ जुर्मुराए सरकार र प्रतिपक्ष
-
रवि विरुद्ध बहस गरेकै कारण वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण