शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रीका आकाङ्क्षी बढ्दै, कस्तो बन्ला नेकपामा मन्त्री हुने नयाँ मापदण्ड ?

बिहीबार, ११ भदौ २०७७, १२ : ०९
बिहीबार, ११ भदौ २०७७

काठमाडौँ । विवाद मिलाउन गठित सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यदलको सुझावअनुसार भदौको तेस्रो साताभित्र  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेरको तयारी गरेका छन् ।

प्रधानमन्त्रीको यो तयारीसँगै सत्तारुढ दल नेकपामा मन्त्रीका आकाङ्क्षी पनि बढ्न पुगेका छन् ।

कार्यदलले सरकारका काम प्रभावकारी बनाउन सङ्घ तथा प्रदेश सरकारका मन्त्रीहरू हेरफेर गर्न सुझाव दिएको थियो । पार्टीमा सरकारका कामकारबाही प्रभावकारी हुन नसकेको गुनासो आइरहेका बेला कार्यदलले प्रतिवेदनमा सङ्घीय र प्रदेश मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाव दिएपछि केन्द्रदेखि प्रदेशमा मन्त्री बन्न खोज्ने आकाङ्क्षीहरु स्वाभाविक रूपमा बढ्न पुगेका हन् ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ कुनै पनि सांसदले मन्त्री बन्ने चाहना राख्नु स्वाभाविक भएको भन्दै मन्त्रीमण्डल हेरफेरको चर्चा सुरु भएपछि आकाङ्क्षीहरु पनि स्वाभाविक रूपमा बढेको बताए ।

‘सांसद भइसकेपछि जोकसैले मन्त्री हुने अपेक्षा र चाहना राख्नुलाई अन्यथा लिन मिल्दैन,’ नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङको भनाइ छ । तर त्यसमध्ये उपयुक्त व्यक्तिहरु मध्येबाट छनोट गर्ने विषय प्रधानमन्त्रीको अधिकारभित्र पर्ने नेम्वाङको भनाइ छ । 

महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई भदौ ६ गते बुझाएको प्रतिवेदनमा ‘सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुन, प्रबन्ध र निश्चित मापदण्डको आधारमा सङ्घीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गर्ने’ प्रस्ताव गरेको थियो ।

कार्यदलले मन्त्री बन्ने मापदण्डको मुख्य आधार कस्तो बनाउने भन्ने प्रस्ट नखुलाए पनि पार्टीमा दिएको योदान, क्षमता, निष्ठा, निरन्तरता र सन्तुलन कायम हुनेगरी मापदण्ड बनाउनुपर्ने आवाज उठिरहेको छ ।

कार्यदलको प्रतिवेदनबारे दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सामान्य छलफल भए पनि भदौ १३ गते बस्ने सचिवालय बैठकपछि मात्रै मन्त्री बन्ने मापदण्डबारे स्पष्ट हुने नेकपाका नेताहरुको भनाइ छ ।

१३ गतेको बैठकले पुरानालाई निरन्तरता दिने या नदिने भन्नेमा छलफल हुनसक्ने र सोहीअनुसार खाका आउने नेताहरुको भनाइ छ ।

‘अहिले नै कुन र कस्तो मापदण्ड बन्छ भन्ने त निश्चित छैन । सायद १३ गतेको सचिवालयले केही आधारहरु बनाउला,’ एक सचिवालय सदस्य भन्छन्, ‘धेरैलाई कस्तो मापदण्ड बन्ला भन्ने चासो छ । मापदण्ड निर्धारण गर्दा पार्टी सन्तुलन र न्यायोचित व्यवहार देखिनेगरी बन्छ भन्ने नै लाग्छ ।’

यो हिसाबले हेर्दा पार्टीमा क्षमता, निरन्तता र लामो योगदान भएकाहरु पहिलो प्राथमिकतामा पर्नेगरी मापदण्ड बन्नसक्ने अनुमान धेरैको छ ।


कार्यदलको समग्र प्रतिवेदनमा छलफल गर्न अध्यद्वय ओली र प्रचण्डले मङ्गलबार सामान्य छलफल गर्दै १३ गतेको सचिवालयमा बृहत् छलफल गर्न बैठक बोलाएका छन् ।

सचिवालयपछि स्थायी समितिबाट प्रतिवेदन पारित भएसँगै प्रधानमन्त्री ओलीलाई मन्त्रीमण्डल पुनर्गठन गर्न बाटो खुल्नेछ । त्यसपछि प्रायः पुराना मन्त्रीहरुले बिदा पाउने र नयाँ अनुहारले अवसर पाउने चर्चा चुलिएको छ ।

मन्त्रिपरिषद् हेरफेर हुँदा अध्यक्ष ओली र दाहाल समूहबाहेक वरिष्ठ नेता माधवकुमार नेपाल समूहको पनि उचित प्रतिनिधित्व गराउने तयारी छ ।

कार्यदलको प्रतिवेदनप्रति त्यति सन्तुष्ट हुन नसकेका नेता नेपाललाई मन्त्रीहरु हेरफेर गर्दा चित्त बुझ्ने मापदण्ड तय गर्नुपर्ने ओली प्रचण्डलाई चुनौती छ । ओली नेतृत्वको सरकार गठन भएको अढाइ वर्ष पूरा भइसकेको छ । हाल दुई वर्षभन्दा बढी मन्त्री भइसकेका र यो अवधिमा प्रभावकारी काम गर्न नसकेकाहरुको स्थानमा नयाँलाई स्थान दिनुपर्ने दबाब नेकपाभित्र बढ्दो छ ।

आगामी भदौ २० गते अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिने भएकाले सोही बेला मन्त्रिपरिषद् पुनर्गठन गर्नेमा ओली–दाहालबीच लगभग सहमति भएको बताइन्छ । सूचना तथा सञ्चारमन्त्रीको समेत जिम्मेवारी पाएका खतिवडा हाल संसद् छैनन् । संसद् सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न नपाउने संवैैधानिक व्यवस्था छ । तर उनलाई भदौ २० अघि नै सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित गर्ने विकल्प भने बाँकी छ । तर खतिवडाप्रति प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली पनि पछिल्लो सयम सन्तुष्ट हुन नसकेकाले उनले निरन्तरता पाउने सम्भावना क्षीण बनेको छ । सञ्चार र सहरी विकास मन्त्रालय पहिलेदेखि नै रिक्त छ । यो पटक मन्त्री हेरफेर गर्दा कतिपय मन्त्रीहरुको जिम्मेवारी परिवर्तनसमेत हुनसक्ने नेकपाभित्र चर्चा छ ।

प्रधानमन्त्री ओलीले २०७४ फागुन ३ गते पहिलो पटक यो कार्यकालको मन्त्रिपरिषद् गठन गरेका थिए । त्यसयता उनले पटक पटक मन्त्रीहरु फेरबदल गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप