शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘धन्न कामविहीन हुनुपरेको छैन’

कोरोना कहरमा पनि व्यस्त अभिनेत्री : कोही आफ्नै काममा व्यस्त, कोही समाज सेवामा
बिहीबार, ११ भदौ २०७७, ११ : ०९
बिहीबार, ११ भदौ २०७७

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिन प्रतिदिन बढ्दो छ । विश्वमै महामारीको रूपमा फैलिएको यो भाइरसले नेपालमा पनि आतङ्क मच्चाएको छ । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या करिब ३५ हजार पुगिसकेको छ भने मृत्यु हुनेको सङ्ख्या १७५ छ ।

नेपालमा गत चैतबाट कोरोना देखिएको थियो । कोरोना संक्रमण देखिएसँगै सरकारले लगाएको बन्देजका कारण केही सुस्ताएको फिल्म क्षेत्र चैत ११ देखि देशभर पूर्ण रूपमा लागू भएको लकडाउनले ठप्प भयो ।

कोरोनाको कहरबाट सिर्जित अवस्थाको शिकार निर्माता, चलचित्रघर सञ्चालकलाई मात्र नभएर यस क्षेत्रका सबैमा प¥यो । यहाँसम्म कि फिल्म क्षेत्रमा आबद्ध धेरै जना बेरोजगारसमेत बने ।

सरकारले गत १ असारदेखि लकडाउन केही समयका लागि खुकुलो बनायो । सो समय केही कलाकर्मी काममा समेत फर्किन सफल भएका थिए ।

म्युजिक भिडियो, विज्ञापन, चलचित्र र चलचित्रका केही काम सुरु भए । तर गत ३ भदौबाट कोरोनाको कहर फेरि बढ्यो भनेर सरकारले उपत्यका लगायत देशका धेरै स्थानमा निषेधाज्ञा जारी गरेको छ । १० गतेसम्मको लागि जारी निषेधाज्ञा थपेर अहिले १७ गतेसम्म पुगिसकेको छ ।

करिब ६ महिनायता विभिन्न चरणमा जारी लकडाउन, निषेधाज्ञाले धेरै मानिस कामविहीन भएका छन् । कतिपयलाई दैनिक गुजारा चलाउन समेत गाह्रो पर्न थालेको छ ।

तर हाम्रा फिल्म अभिनेत्रीहरुलाई भने यो अवस्थामा पनि फुर्सद बस्नुपरेको छैन । कामले अहिले पनि भ्याई नभ्याई छ । गत चैतमा जारी पहिलो लकडाउनदेखि अहिलेसम्म थुप्रै काम गरेका छन् ।

अभिनेत्री ऋचा शर्माले चैतयता म्युजिक भिडियो, डकुमेन्ट्री आदिमा थुप्रै काम गरेकी छन् । फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा विभिन्न प्रोडक्टका विषयमा बोल्ने, फोटो खिचेर हाल्ने लगायत  मार्केटिङमा समेत उनको व्यस्तता रहँदै आएको छ । यसका लागि उनलाई प्रोडक्ट उत्पादन कम्पनीले रकम भुक्तानीसमेत गर्ने गर्दछ ।

‘भगवानको कृपाले यस्तो परिस्थितिमा पनि कामविहीन हुनुपरेको छैन,’ ऋचाले भनिन् ‘डकुमेन्ट्री लगायत विभिन्न प्रोजेक्टका अङ्ग्रेजी, नेपाली आदि भाषामा डबिङ गर्न भ्याइ नभ्याई छ मलाई ।’ फिल्म रिलिज गर्ने आफ्नै नयाँ एपको पनि काम भइरहेको उनले सुनाइन् ।

लकडाउन अगाडि फिल्म ‘हिजो आजका कुरा’ रिलिजका लागि प्रमोसनमा रहेकी ऋचा अहिले कमेडी च्याम्पियनको दोस्रो सिजनको तयारी पनि गरिरहेकी छन् । उनको हातमा एउटा वेभ सिरिज समेत छ । त्यसको काम पनि हुन थालिसकेको छ । छायाङ्कनको पालो पर्खाइमा उनी छिन् ।

लकडाउन होस् वा निषेधाज्ञा अभिनेत्री केकी अधिकारीको पनि व्यस्तता ऋचाको भन्दा कम छैन । कोरोना महामारी दिन प्रतिदिन बढ्दो छ । यो अझै न फैलियोस् भनेर उनी एकतर्फ उतिकै सतर्कता अपनाइरहेकी छिन् भने अर्काेतर्फ काम धमाधम गर्दै पनि ।

केकीले गत चैतदेखि यता ३ वटा म्युजिक भिडियो, विभिन्न ब्रान्डका प्रोडक्टको सामाजिक सञ्जालमा प्रचारका काम गरेकी छन् ।

अहिले घरमै बसेर प्रोडक्ट मार्केटिङका धेरै काम गरिरहेको केकीले बताइन् । ‘लकडाउनदेखि आजसम्म फुर्सद बस्नु परेको छैन,’ उनले भनिन् ‘आम्दानी पनि ठीकै भइरहेको छ ।’ कामबाट बचेको समय अध्ययन र फिल्म हेर्ने गरेको उनले सुनाइन् ।

घरबाटै विभिन्न काम गरेर व्यस्त रहने अर्की अभिनेत्री वर्षा सिवाकोटी पनि हुन् । म्युजिक भिडियो, अन्य केही प्रोजेक्ट आदि कार्यले फुर्सद बस्नुपर्यो, कोरोनाले बिगार्यो भन्नुपर्ने अवस्था आफ्नो नरहेको वर्षाले बताइन् ।

लकडाउन अगाडि ‘परदेशी २’ र ‘चालबाज’ फिल्मको सुटिङमा व्यस्तत थिइन् उनी । लकडाउनले फिल्मको काम रोकिए पनि त्यसयता म्युजिक भिडियो, विज्ञापन र आफ्नो पर्सनल कामले उनी व्यस्तै रहने गरेकी छन् । काम र दाम दुवै भएको छ उनलाई ।

अभिनेत्री नीता ढुङ्गानको दिनचर्या व्यस्ततामै बितिरहेको छ । लकडाउन अगाडि ‘आकाशे खेती’ फिल्मको सुटिङमा व्यस्त रहेकी उनी लकडाउन पछि घरमै रहिन् । सुरुका दिन समय बिताउन गाह्रो भएकाले किताब पढ्ने, फिल्म हेर्ने गरेकी उनलाई त्यसपछि भने कामले फुर्सद भएन रे ।

३–४ वटा म्युजिक भिडियो, आफ्नै भजन गीत रेकर्ड, त्यसको म्युजिक भिडियो निर्माण आदिमा दिनहरु बितेको पत्तै पाइनन् ।

अहिले आफ्नै भजनको कारण अन्तर्वार्ता दिनदेखि नयाँ प्रोजेटको होमवर्कमा व्यस्त छिन् उनी । फुर्सदको समयमा भविष्यको योजनासमेत बनाएको उनले बताइन् ।

त्यस्तै अभिनेत्री नम्रता सापकोटा पनि गत चैत यता फुर्सदमा बसेकी छैनन् । लकडाउनको समय घरमै बसेर उनले म्युजिक भिडियो समेत बनाइन् । आफैले मोबाइले खिचेर पठाएर पनि भिडियो निर्माणमा सघाइन् । विज्ञापन अभिनय, घरमै बसेर विभिन्न प्रोडक्टको प्रमोसन आदि उनले गरेका अन्य काम हुन् ।

लकडाउन खुलेको समय ५ वटा तीज गीतको म्युजिक भिडियो अभिनय गरेको उनी सुनाउँछिन् । ‘पछिल्लो समय निषेधाज्ञा नभए पनि काम रोक्ने कोसिसमा थिएँ । किनभने कोरोनाको कहर धेरै बढेको थियो, उनले भनिन् ‘घरमै बसेर गर्ने काम भने अहिले पनि गरिरहेकी छु ।’ व्यावसायिक कामबाट बचेको समय उनी वर्कआउट, पुस्तक पढ्ने र फिल्म हेर्न लगाउने गरेकी छन् ।

फिल्म ‘बुलबुल’ अभिनेत्री स्वस्तिमा खड्का काममै व्यस्त छिन् । ४ म्युजिक भिडियो, २ विज्ञापन चलचित्र अभिनय गरेकी उनी घरमा फुर्सदले बसेकी छैनन् ।

पछिल्लो समय आफ्नो युट्युब च्यानल खोलेकी उनले त्यसका लागि भिडियो निर्माण, सम्पादन र अपलोडसमेत आफै गरिरहेकी छन् ।

‘फुर्सदको समय आफ्नै युट्युब च्यानलमा सानोतिनो भिडियो बनाएर हालिरहेकी छु । अहिले नभए पनि पछि त पक्कै केही होला नि भन्ने आसमा’ उनले भनिन् ।

‘फलोअसर््, फ्यानसँगको कुराकनीको उनले भिडियो बनाउने गरेकी छन् । केही त काम गर्नुपर्छ भनेर युट्युब सुरु गरेको उनको भनाइ रहेको छ ।

गत फागुनमा प्रदर्शनमा आएको हिट फिल्म ‘आमा’ पछि कुनै पनि फिल्म अभिनय नगरेकी अभिनेत्री सुरक्षा पन्त पनि लकडाउन र त्यसपछिको समय खाली भने छैनन् । आफू ब्रान्ड एम्बेस्डर भएको कम्पनीको प्रोमोसनल भिडियो सुट, इन्जिनियरिङको कामले उनी सधैँ व्यस्त रहने गरेकी छन् ।

केही फिल्मको स्क्रिप्टसमेत पढ्दै गरेकी उनी एउटा वेभ सिरिजमा काम गर्ने फिक्स भएको छ । घरबाट पनि इन्जिनियरिङको काम गरिरहेकी पन्त पहिलेको तुलनामा यो लकडाउन र निषेधाज्ञामा केही फ्री भए पनि पूरै फुर्सद भयो भनेर बस्न नपाएको बताउँछिन् ।

यस्तै अन्य अभिनेत्रीका तुलनामा बेनिसा हमालले भने व्यावसायिक काम भने गरेकी छैन् । तर पनि उनले फुसर्दमा बस्नुपरेको छैन । उनी अहिले पेन्टिङलगायत नयाँ काम सिक्नमा व्यस्त छिन् ।

भारतमा फिल्म मेकिङ र स्क्रिप्ट लेखन पढिरहेकी उनी लकडाउको केही अगाडि मात्र नेपाल आएकी थिइन् । लकडाउनको समयमा केही अनलाइन कक्षासमेत लिएको उनले बताइन् ।

‘लकडाउनका कारण केही समय अनलाइन कक्षा लिएँ । तर भरपर्दो भएन,’, उनले भनिन्, ‘हाम्रो निर्देशन अध्ययनका लागि फिल्डमा काम गर्नुपर्छ । हप्तामा एउटा सर्ट फिल्म पठाउनुपर्ने थियो । तीन महिना त्यो चल्यो । त्यसमै बिजी भएँ ।’

अहिले निषेधाज्ञा सकिने बित्तिकै फिल्डमा जाने म्युजिक भिडियो र फिल्मको कामको तयारीमा रहेकी बेनिसा अध्ययन पनि गर्छिन् ।

त्यसो त अभिनेत्री वर्षा राउतले पनि चैतयता खासै काम गरेकी छैनन् । बीचमा लकडाउन खुलेको समय एउटा मात्र म्युजिक भिडियो अभिनय गरेकी उनलाई कामको थुप्रै अफर आएका थिए ।

‘म्युजिक भिडियो र अन्य कामको पनि थुप्रै अफर आएका थिए’ उनले भनिन्, ‘कोरोनाको डरले केही गरिनँ ।’ आफ्नोभन्दा पनि घरपरिवारमा बूढाबूढी, बच्चाहरु भएकाले अब्ठ्यारो लागेर काम नगरको उनले खुलाइन् ।

‘काम नगरेकाले आर्थिक रूपले पनि अप्ठ्यारो परेको छ,’ वर्षाले थपिन् । वर्षा फिल्म हेर्ने, किताब पढ्ने कार्य गरेर समय बिताइरहेकी छन् । ‘पहिले खासै किताब पढ्ने मानिस होइन म । अहिले भने पढ्न थालेकी छु,’ उनले सुनाइन् ।

अन्य अभिनेत्रीको भन्दा अलि फरक छ खुस्बु खड्काको दिनचर्या । उनी पनि चैतयता सधैँ जस्तो व्यस्त छिन् । उनको व्यस्तता व्यक्तिगत तथा व्यावसायिक भन्दा पनि समाजिक रहेको छ ।

लकडाउन, निषेधाज्ञा होस् वा बीचको समय उनी समाजसेवा तल्लीन रहिरहिन् । सडक, समुदायमा मास्क बाँड्ने, अब्ठ्यारोमा परेकाको उद्धार गर्ने, खाना खुवाउनेदेखि कमजोर आर्थिक अवस्था भएकालाई राहत दिनसमेत उनी तल्लीन रहिन् ।

‘आफ्नो व्यावसायिक केही प्रोजेट थियो । त्यो गरियो । विज्ञापन चलचित्र केही गरे’ खुस्बुले भनिन्, ‘समाज सेवामा म धेरै व्यस्तसमेत भए ।’ केही बचेको समय फिल्म हेर्ने, परिवारसँग बिताउने र पुस्तक पढ्ने गरेको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप