बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्लब छाड्ने इच्छा व्यक्त गर्न अघि ग्वार्डिओलासँग मेस्सीको छलफल

बुधबार, १० भदौ २०७७, १८ : ४६
बुधबार, १० भदौ २०७७

म्यान्चेस्टर सिटीका म्यानेजर पेप ग्वार्डिओलाले सम्भावित पुनर्मिलनका विषयमा बार्सिलोनाका स्टार लियोनेल मेस्सीसँग छलफल गरेको गोल डटकमले जनाएको छ ।

६ पटकका बालोन डि’ओर विजेता मेस्सीले क्लब छाड्नका लागि पत्र बुझाउँदै आफ्नो करारमा रहेको ‘फ्रि–ट्रान्सफरमा क्लब छाड्न सक्ने’ बुँदालाई सक्रिय तुल्यान आग्रह गर्दै विश्वलाई नै चकित बनाएका छन् ।

यद्यपि, बार्सिलोनाले भने उनको करारमा अझै पनि ७० करोड युरोको धारा सक्रिय रहेको र सो सन् २०२१ सम्म लागू हुने दोहोर्याइरहेको छ । यही विषयले मेस्सीको स्थानान्तरणलाई पेचिलो बनाउने देखिएको छ ।

रियल म्याड्रिडसँग ला लिगा गुमाउनुका साथै च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार ब्यहोरेसँगै मेस्सी क्लबसँग निराश रहेका थिए । हार पश्चात प्रशिक्षक क्वीके सेटिनलाई बर्खास्त गरिए पनि मेस्सी यसबाट सन्तुष्ट हुन सकेनन् । अन्ततः क्लबलाई ट्रान्सफरको लागि आग्रह गरेका छन् । तर, यसअघि उनले ग्वार्डिओलासँग छलफल गरेका थिए ।


यता, ग्वार्डिओला पनि ३३ वर्षीय अर्जेन्टिनी स्टारलाई क्लबमा भित्र्याउन इच्छुक देखिएका छन् । मेस्सीको तलबको मागलाई पूरा गर्न सक्ने थोरै क्लबको सूचीमा सिटी पनि पर्दछ ।

त्यस्तै, मेस्सी र ग्वार्डिओलाबीचको सम्बन्ध पहिलेदेखि नै राम्रो रहेको छ । यसअघि दुवैले बार्सिलोनामा सँगै काम गरेका थिए । सन् २००८ देखि २०१२ मा सिनियर टोलीको म्यानेजर रहँदा ग्वार्डिओला सफल साबित भएका थिए । उनले पहिलो सिजनमा नै ट्रेबल जितेका थिए भने सन् २००९ मा क्लबले ६ वटा उपाधि जित्न सफल भएको थियो । उनले क्लब छाड्न अघि थप ६ वटा उपाधि दिलाउन सफल रहे ।

सो बेलाको बार्सिलोनाको टोलीलाई अहिलेसम्मकै उत्कृष्ट टोली मध्येको एक मानिन्छ । ग्वार्डिओलाको अन्तिम सिजन सन् २०११–१२ सिजनमा मेस्सीले ७३ गोल गरेका थिए । सँगै सफलता चुमेका कारण पनि मेस्सी ग्वार्डिओलासँगको पुनर्मिलन चाहन्छन् । गत सिजन उनले सन् २००७–०८ सिजन यताकै सबैभन्दा कम ३१ गोल मात्र गर्न सके ।

त्यस्तै, आफ्नो नजिक मानिने सर्जियो अगुएरोसँगै खेल्ने र प्रिमियर लिगको उच्च तहमा खेल्न पाउने अवसरले पनि मेस्सीलाई सिटीतर्फ आकर्षित गरेको देखिन्छ ।

सिटीले हालसम्म मेस्सीलाई भित्र्याउन औपचारिक प्रस्ताव गरिसकेको छैन । मेस्सीको करारको झन्झटका कारण यो स्थानान्तरण निकै पेचिलो बन्ने देखिन्छ । सिटीबाहेक म्यान्चेस्टर युनाइटेड, इन्टर मिलान र पेरिस सेन्ट जर्मेन पनि मेस्सीको अवस्थालाई नजिकबाट नियाली रहेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप