शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुलमान नै किन चाहन्छन् आम मानिस ?

बुधबार, १० भदौ २०७७, १८ : ०१
बुधबार, १० भदौ २०७७

काठमाडौं । आम जनता कुलमान घिसिङप्रति कति आशक्त छन् भन्ने उदाहरण एकाएक दोस्रो कार्यकालमा सरकारले नियुक्ति गर्ने प्रसंगलाई लिएर भाइरल भएको बधाईबाट पुष्टि हुन्छ ।  मंगलबार एकाएक सामाजिक सञ्जालमा कुलमान घिसिङलाई बधाईको ओइरो आयो तर कुलमानको पुनर्नियूक्तिको प्रसंगनै झुट थियो ।

मन्त्रिपरिषदले कुलमानलाई दोस्रो कार्यकालको लागि नियुक्त गरेको भन्दै उत्साहका साथ बधाइ दिन थाले मानिस । यद्यपि, यस विषयमा उर्जामन्त्रीले स्पष्ट पारिसकेका छन् । मन्त्रिपरिषदको बैठकमा यस्तो कुनै प्रस्ताव लगिएको थिएन । खैर जेहोस तर उनी आम मानिसको मन मष्तिस्कमा बसिसकेका छन् भन्ने गतिलो उदाहरण हो बधाइ दिन गरिएको हतारो । 

सामाजिक सञ्जालमा देखिएको कुलमानप्रतिको आशक्ति
कलाकार सिताराम कट्टेल(धुर्मुस)ले पनि सामाजिक सञ्जालमा मन्त्रिपरिषदको निर्णय स्वागतयोग्य भन्दै बधाइ दिन भ्याए । यता डा.राम उप्रेतीले पनि राम्रो काम गर्दा जनताले माया गर्छन् भन्दै घिसिङलाई बधाई दिए ।  सामाजिक सञ्जालमै प्रकाश बस्नेतले पनि कुलमानलाई  अल्छी भन्दै ४ बर्षमा एक दिन पनि बत्ति काट्न जागर नगरेको भनेर लेखे ।

फेरि पनि यस्तै अल्छी गर्नु भन्दै उनले बधाई दिए । यी त सामाजिक सञ्जालका प्रतिनिधि उदाहरण मात्र हुन् । कतिपयले गलत समाचार नै भएपनि सबैले बधाइ दिएपछि सरकारलाई एक प्रकारको दबाब महसुस हुने विश्लेषण गर्न थालेका छन् । केही व्यक्तिले त फोटोको फ्रेम नै बनाएर कुलमानको फोटो सहित तिमी छौ र त देश उज्यालो छ भन्दै प्रोफाइल बनाइरहेका छन् । कुलमान प्रतिको आममानिसको आशक्त सामाजिक सञ्जालमा अहिले छरपष्ट देख्न सकिन्छ । 

कुलमान कसरी आम मानिसको मन मतिष्कमा बस्न सफल भए ? चर्चा यसैबाट गरौं 

अबको १९ दिनपछि (भाद्र २९) घिसिङको कार्यकाल सकिँदैछ । उनको कार्यकाल सकिनै लाग्दा अधिकांश उनको पुरागमन हुनुपर्ने माग गर्छन्  । तर केही जमात उनी आफै लोकप्रिय भएकाले उनले अन्य क्षेत्रमा पनि उत्तिकै अवसर पाउनेछन् । यसैमा मरिमेट्नु पर्ने कारण नरहेको बताउँछन् । तर लोडसेडिङको प्रत्यक्ष मार खेपेका आम मानिस त्यही लोडसेडिङदेखि त्रसित छन् ‘कतै कुलमान बाहिरिएपछि पुरानै प्रवृत्ति दोहोरिएर फेरि सास्ती पाउनुपर्ने त होइन ?’

कुनै सयम यस्तो पनि थियो हरेक दिन लोडसेडिङको तालिका सार्वजनिक हुन्थ्यो, त्यो पनि १८/१८ घण्टा । साँझ पर्यो कि सर्वसाधारण वैकल्पिक उज्यालोको जोहो गर्न हतारिन्थे । लोडसेडिङकै कारण विद्यार्थीले रातको समयमा पढ्न पाउँदैनथे भने उद्योगधन्दाहरु पूर्ण क्षमतामा चल्न पाउँदैनथे ।

जतिबेला बत्ति आउनेभन्दा जाने समय धेरै थियो अर्थात लोडसेडिङले अन्धकार बनेको थियो । दैनिक १८ घण्टासम्म लोडसेडिङ भोगेका नेपालीलाई कुलमानको आगमनपछि लोडसेडिङ हुने समस्याबाट मुक्ति मिलेको छ । अध्याँरो नेपाललाई उज्यालो छरेर हरेक दिन लोडसेडिङको तालिका हेर्न पर्ने अवस्थाबाट आम सर्वसाधारणले मुक्ति पाए । घिसिङको फेक टिव्टर अकाउन्टमा मंगलबार पुनःनियुक्तिको विषय आएपछि समाचार भाइरल बनेको थियो । 


कुलमानको उज्यालो यात्रा
सातौं तहको इन्जिनियरबाट (२०५१ सालमा) नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका थिए । उनी नियुक्त भएको २ महिनापछि कात्तिकको लक्ष्मीपुजाको दिनदेखि काठमाडौ उपत्यकाबासीले लोडसेडिङको मार खेप्नु परेन । अरुले लक्ष्मी पुजा मनाइरहँदा उनी स्युचाटारको भारप्रेषण केन्द्र पुगे र लोडसेडिङ हुन नदिन अनवरत खटिरहे । ३१५ मेगावाट सम्मको माग धान्न सफल भए  । 


कुलमानले सबैभन्दा पहिला उत्पादन भएको एक चौथाइ विद्युत चुहावट हुने गरेकोमा पहिलो वर्षमा तीन प्रतिशतले घटाए । यसले नै उनलाई उज्यालोको यात्रामा अनवरत साथ दिइरह्यो । आर्थिक वर्ष २०७२/०७३ मा केन्द्रिय विद्युत प्रणालीमा २५.७८ प्रतिशत विद्युत चुहावट थियो । घिसिङको कार्यकालको पहिलो वर्षमा तीन प्रतिशत विद्युत चुहावट घट्यो । अहिले २०७६/०७७ सम्म आइपुग्दा विद्युत चुहावट १५.१७ प्रतिशतमा सिमित छ । १ प्रतिशत विद्युत चुहावट नियन्त्रण गर्दा प्राधिकरणलाई ७० करोडभन्दा बढी फाइदा हुनेछ । सधंै घाटामा जाने प्राधिकरणले गत आवमा ११ अर्ब नाफा कमाएको  छ । 

कुलमान नै किन चाहन्छन् आमजनता ?
तर यता केही विद्युतका क्षेत्रमै काम गर्नेहरु भने विद्युत नियमन आयोगले विद्युतको महसुल बृद्धि गरिदिएका कारण प्राधिकरण नाफामा गएको बताउँछन् । हुन त प्राधिकरणको प्रतिस्पर्धी कोही छैनन । त्यसैले उसले नाफा गर्न सकेको छ । त्यसमा पनि कुलमानको व्यवस्थापकिय क्षमताका कारण उनको आगमनदेखि नै  प्राधिकरण नाफामा गएको छ ।

विद्युत नियमन आयोगले २०७२ माघमा डेडिकेटेड फिडरमार्फत ग्राहकले प्रयोग गर्ने विद्युत र २०७३ साउनमा सबै उपभोक्ताले प्रयोग गर्ने विद्युतको शुल्कमा समायोजन गरेको थियो । उनी आउनु ठिक अगाडि समायोजन गरेकाले पनि प्राधिकरणलाई नाफामा लैजान सहज भएको केही जानकारहरु बताउँछन् । यता केही विद्युत उत्पादकहरु भने प्राधिकरणले उत्पादकसँग सस्तोमा किनेर आफुले महंगोमा बेचेपछि नाफा  गरेको आरोप लगाउँछन् । 

तर अब आम नेपाली जनता फेरि देश लोडसेडिङ भएको हेर्न चाहाँदैनन । कुलमान बाहिरिए कहाँ जालान्  र उनका ठाउँमा कस्ता व्यक्ति आउलान भन्ने चासो र चिन्ता दुबै छ । उज्यालो बनाउने कुलमान निरन्तरताको आवाज धेरै उठेको छ । उनको निरन्तरता वा बर्हिगमन के हुन्छ आगामी निकट दिनमै थाहा होला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप