बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बैङ्कको ब्याजदर ४ वर्षयताकै सर्वाधिक सस्तो

बुधबार, १० भदौ २०७७, १२ : ४५
बुधबार, १० भदौ २०७७

बैङ्किङ क्षेत्रमा अधिक तरलता भएपछि बैङ्कको ब्याजदर सर्वाधिक सस्तो भएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कलाई आधार मान्ने हो भने अहिले ब्याजदर विगत चार वर्ष यताकै सस्तो हो । निक्षेप तथा कर्जा दुवैको ब्याजदर घटेको छ । बैङ्कहरुको आधारदर नै अहिले चार वर्ष यताकै न्यून छ ।

२०७४ साल असार मसान्तसम्म ६.१५ प्रतिशत ब्याजदर निक्षेपकर्ताले पाउँथे । त्यसपछिको पछिल्ला २ वर्ष (२०७५ र ०७६) ब्याजदरमा केही बढोत्तरी भए पनि अहिले आएर घटेको छ । असार मसान्तसम्म ६.१ प्रतिशत ब्याजदर निक्षेपको छ ।

वर्ष २०७५ मा बैङ्कहरु ब्याजदर प्रतिस्पर्धामा आक्रामक रूपमा उत्रिए । बढाबढ गरेर ब्याजदर दिने प्रतिस्पर्धाले बैङ्किङ क्षेत्रमै अस्वस्थ प्रतिस्पर्धा बढायो । निक्षेपमै १३ प्रतिशतसम्म ब्याजदर दिन केही बैङ्कहरु तयार भए । तर ब्याजदर बढाए पनि नयाँ निक्षेप नआएको र बैङ्कहरुकै निक्षेप खोसाखोस भएपछि बैङ्कहरु भद्र सहमति गर्न बाध्य भए । भद्र सहमति उल्लङ्घन गर्दै केही बैङ्कले ब्याजदर बढाए । सो बैङ्कसँग अन्य बैङ्कले अन्तर बैङ्क कारोबार नै नगर्ने भनेपछि पुनः सो बैङ्क प्रतिस्पर्धाबाट ब्याक भयो ।

२०७५ र ०७६ मा ब्याजदरमा निकै अस्थिरता आयो । दुई आर्थिक वर्षमा भएको अस्थिर ब्याजदर प्रतिस्पर्धा अहिले अन्त्य भएको छ । बैङ्कहरुको भद्र सहमति अहिले खारेज भइसकेको छ ।

बैङ्कमा लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि  बैङ्कहरुलाई आफूसँग भएको रकम कहाँ लगानी गर्ने भन्ने टाउको दुखाइको विषय बनेको छ । बैङ्कर्स एसोसिएसनका अध्यक्ष भुवन दाहाल नयाँ कर्जाको माग नै कम भएको र लगानीको माग आए आफूहरु लगानी विस्तार गर्न तयार भएको बताउँछन् । अहिले बैङ्कमा पैसा फालाफाल भएपछि ब्याजदर घटाउने प्रतिस्पर्धा छ । असार मसान्तसम्म बैङ्किङ प्रणालीमा २ खर्बभन्दा बढी तरलता छ ।

यस्तै कर्जाको ब्याजदर पनि १०.११ प्रतिशत छ । यो असार मसान्तसम्मको अवस्था हो । तर कोरोनाका कारण भएको लकडाउनले ब्यापार व्यवसाय बन्द हुँदा ऋणको ब्याजदर सस्तो भए पनि ऋणको माग भने निकै न्यून रहेको बैङ्करहरुले भन्दै आएका छन् । २०७४ मा कर्जाको ब्याजदर ११.३३ प्रतिशत थियो । त्यसको एक वर्षपछि बढेर १२.४७ प्रतिशत भयो । तर फेरि केही घटेको कर्जाको ब्याजदर अहिले भने निकै घटेको छ ।

बैङ्कहरुको बेस रेट पनि चार वर्ष यताकै न्यून छ । बेस रेट कम हुनु भनेको ऋणीलाई कर्जाको ब्याज सस्तो पर्नु पनि हो । असार मसान्तसम्म बैङ्कहरुको आधारदर (बेस रेट)  साढे ८ प्रतिशत छ । जबकि अघिल्लो वर्ष ९.५७ प्रतिशत थियो । २०७५ मा सबैभन्दा महँगो आधारदर थियो । त्यतिबेला बैङ्कहरुको आधारदर १०.४७ प्रतिशत रहेको थियो ।

पैसा थुप्रिएपछि ब्याजदर घटाउने प्रतिस्पर्धा

चालू आर्थिक वर्षमा ब्याजदर घटाउने प्रतिस्पर्धा छ । अधिकांश बैङ्कले ब्याजदर घटाएर सार्वजनिक गरिरहेका छन् । चैतमा बन्दाबन्दी भए यता बैङ्किङ प्रणालीमा लगानी योग्य रकम थुप्रिएका कारण बैङ्कहरु कर्जा लगानी गर्न उदार देखिएका हुन् । गत वर्षसम्म लगानी गर्ने रकम नभएर बैङ्कहरु कर्जा लिन आउनेलाई रित्तो हात फर्काउँथे तर अहिले अवस्था फरक छ । यद्यपि  मुलुक अहिले पनि अघोषित लकडाउनमै छ । अझै पनि कर्जा मागको सम्भावना न्यून छ ।

नेपाल बैङ्क लिमिटेडले तीन साताअघि पाँच वर्षका लागि ७.९९ प्रतिशत ब्याज दरमा घर कर्जा योजना सार्वजनिक ग¥यो । यता राष्ट्रिय वाणिज्य बैङ्कले पनि सर्वाधिक कम ब्याजदर कायम गर्यो । सरकारी मात्र होइन निजी बैङ्कहरू पनि ब्याजदर घटाउन पछि परेका छैनन् ।

 एनएमबी बैङ्कले पनि ७.९९ प्रतिशतमा घर कर्जा दिने भनेका छ । दुई वर्षको घर कर्जा लिनेले उक्त ब्याज दरमा कर्जा प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।

यी बैङ्किङ क्षेत्रका पछिल्ला प्रतिनिधिमूलक घटना हुन् । कुनै बेला कठिन बनेको कर्जा उपभोक्ताका लागि अहिले सहज मात्रै भएको छैन सस्तो, सुलभ र प्रतिस्पर्धी पनि बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप