शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

त्यो भेट, जसले मेस्सीलाई बार्सिलोना छाड्ने अवस्थामा पुर्‍यायो

यी हुन् मेस्सीले बार्सिलोना छाड्नुका मुख्य कारण
बुधबार, १० भदौ २०७७, ०९ : ४९
बुधबार, १० भदौ २०७७

अहिले मात्र होइन, लियोनेल मेस्सी र बार्सिलोनाको बोर्डबीच केही समय पहिल्यैदेखि सम्बन्ध राम्रो थिएन । गत जनवरीमा अर्नेस्टो भल्भार्डेको बर्खास्तीपछि स्पोर्टिङ म्यानेजर एरिक एबिदालसँग उनको जुहारी नै चलेको थियो ।

केही खेलाडीको सम्बन्ध भल्भार्डेसँग राम्रो थिएन,’ एबिदालले नाम नलिई भनेका थिए । ‘नामै नलिइ खेलाडीलाई गाली दिनु राम्रो होइन,’ मेस्सीले जवाफ फर्काएका थिए ।

मेस्सी र क्लबबीचको बिग्रदो सम्बन्ध छताछुल्ल बाहिर पोखिएपछि यसबारे धेरै चर्चा पनि भएको थियो । यद्यपी, भल्भार्डेको बर्खास्तीका बाबजुद बार्सिलोनाले ला–लिगा र च्याम्पियन्स लिग जित्ने सम्भावना बलियै थियो । तर, सिजनको अन्त्यतिर निकै कमजोर देखिएकाले ला–लिगा उपाधि रक्षा गर्न असफल बनेको बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्यन म्युनिखसँग ८–२ ले पराजित भयो ।

अर्थात्, भाल्भार्डेको साटो क्लब सम्हाल्न भएका क्वीके सेटिन ८ महिनामै बर्खास्तीमा परे । मेस्सी क्लब छाड्ने–नछाड्ने दोधारमै थिए । किनकी, २०१४ मा जोसेप मारिया बार्टोमेऊ अध्यक्षमा निर्वाचित भएयता बार्सिलोनाले अन्य क्लबका खेलाडी किन्नका लागि ठूलो धनराशी खर्चिएपनि नेयमारको स्थानमा परिपुर्ति गर्ने खेलाडी भेट्टयाउन सकेको छैन । सन् २०१७ मा नेइमारलाई बार्सिलोनाले विश्व कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेनलाई बेचेको थियो । त्यसयता, फिलिपो काउटिन्हो, ओसमान डेम्बेले, एन्टोनियो ग्रिजम्यानलगायत खेलाडीहरु क्याम्प नाऊ आए, तर उनीहरुबाट क्लबले लगानीअनुसारको प्रतिफल पाउन सकेको छैन ।

रोनाल्ड कोम्यानको आगमन

यी र यस्तै परिस्थितीबीच क्लबमा नयाँ प्रशिक्षक बनेर आइपुगेका छन् – रोनाल्ड कोम्यान । बार्यनविरुद्धको हार नै सेटिनको बर्खास्ती र कोम्यानको नियुक्तीको प्रमुख कारण बन्यो । खेलाडी किन्न करोडौँ डलर खर्च गरिसकेका अध्यक्ष जोसेफ भने खेलाडीकै दोष देखाएर आफ्नो जिम्मेवारीबाट पन्छिरहेका थिए ।  जबकी, समर्थकहरुले निरन्तर उनको राजीनामा मागिरहे । । तर, लज्जास्पद नतिजापछि उनको प्रतिक्रिया थियो, ‘हाम्रो प्रदर्शन मैदानमा संकटग्रस्त देखियो । क्लब प्रशासनिक रुपमा भने संकटमा छैन ।’

यी सबै  घटनाक्रमका बाबजुद मेस्सी चुप थिए । यसपछि उनले नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानलाई भेटे । यद्यपी, मिडिया रिपोर्टअनुसार भेट सुखद् भएन । ‘यस टोलीमा तिमीले पाएको सर्वाधिकार र लाभ अन्त्य भइसकेको छ, अब तिमीले सबै टोलीका लागि गर्नुपर्छ,’ कोम्यानसँगको भेटबारे जानकार श्रोतलाई उद्ृत गर्दै  स्पेनिस मिडियाले लेखेका छन्, ‘म कठोर हुँदैछु । तिमीले केवल क्लबका लागि मात्रै सोच्नैपर्छ ।’

१६ वर्षसम्म क्लबका लागि अहोरात्र खटेको, क्लब इतिहासमै सर्वाधिक उपाधि जितेको, सर्वाधिक धेरै गोल तथा एसिस्टको कीर्तिमान बनाएको तथा विश्व इतिहासमै सर्वाधिक ६ पटकसम्म बेलोन डि ओर जितिसकेको खेलाडीलाई यसरी कठोर शब्दमा कर्तव्य सम्झाउनु पक्कै शोभनीय थिएन ।

सबैले मान्छन् कि बार्सिलोनामा मेस्सीको उचाइ अन्य खेलाडीको जस्तो होइन । उनी बार्सिलोनाको इतिहासकै महान् खेलाडी हुन् । पूर्वखेलाडी स्यामुयल इटोले त ‘मेस्सीले बार्सिलोना छाडेमा क्लबकै नाम फेर्नुपर्छ’ सम्म भनेका थिए । उनले मेस्सीलाई विश्व जगत्मा बार्सिलोना शहरको अनुहार पनि भनेका थिए । धेरै हदसम्म यो साँचो हो ।

मिडिया रिपोर्टस्का अनुसार कोम्यानको यस्तो हुकुमी शैलीपछि मेस्सी निकै स्तब्ध भएका थिए । जसकारण, उनले क्लब छाड्ने निर्णय लिए । मेस्सीले फ्याक्स गरेर क्लबको बोर्डलाई आफुले क्लब छाड्न चाहेकोबारे जानकारी गराइसकेका छन् ।

यसअघि कोम्यानले लुईस सुआरेज, जोर्डी अल्बा, सर्जियो बुस्क्वेट, इभान राकिटिचलगायतका क्लबका अनुभवी खेलाडी आफ्नो योजनामा नरहेको खुलेआम घोषणा गरेका थिए । उनको आगमनसँगै यीलगायत अन्य खेलाडी पनि आफ्नो भविष्यलाई लिएर अन्योलमा परेका छन् ।

को हुन् कोम्यान ?

५७ वर्षका कोम्यानले १९८२ देखि १९९४ सम्म नेदरल्यान्डस्को राष्ट्रिय टिमबाट ७८ खेल खेल्दै १४ गोल गरेका थिए । ग्रोनिङगेन, आयाक्स, पिएसभी इन्डहोभिनलगायत क्लबबाट खेलेपछि १९८९ देखि १९९५ सम्म उनले बार्सिलोनाबाट १ सय ९२ खेल खेले । त्यसक्रममा उनले ९० गोल गरेका थिए । डिफेन्स र मिडफिल्ड दुबै पोजिसनबाट खेल्नसक्ने कोम्यान आफ्नो गोल गर्ने क्षमताका कारण पनि सधैं चर्चामा रहन्थें ।

यी अलराउन्डर खेलाडीले सन्यासपछि १९९७–९८ मा १ वर्षसम्म नेदरल्यान्डस्को राष्ट्रिय टोलीको सहायक प्रशिक्षकका रुपमा काम गरे । त्यसपछि १९९८ देखि २००० सम्म उनी बार्सिलोनाको सहायक प्रशिक्षक थिए ।

कुनै दिन बार्सिलोनाको मुख्य प्रशिक्षकका रुपमा काम गर्छु भन्ने लक्ष्य यतिबेलै कोम्यानले बताएका थिए ।  आयाक्स, पिएसभी, साउथह्याम्पटन, एभर्टनलगायत युरोपका विभिन्न चर्चित क्लबहरुलाई प्रशिक्षण दिइसकेका कोम्यान नेदरल्यान्डस्को राष्ट्रिय टोलीका प्रशिक्षक समेत बने । तर, बल्ल मुख्य प्रशिक्षकका रुपमा बार्सिलोना आउने सपना बल्ल पूरा भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप