किन भयो मेरो देशको दूरावस्था ?
पृथी बुढा मगर
गत भाद्र महिना छुट्टीमा नेपाल फर्किएको थिएँ । काठमाडौँको हालत देखिसक्नु थिएन । हिलैहिलोले काठमाडौँ कुरूप बनेको थियो । मुग्लिनमा पहिरो खसेर बाटो बन्द थियो । पोखरा, पाल्पा हुँदै बुटवल झरेर दाङको बाटो समात्नु परेको थियो । केही समय पहिले काठमाडौँको ढलमा एक कोशोरी खसेको भिडियो भाइरल बनेको थियो । काठमाडाँैको त यो हालत छ भने भ्याली बाहिरको हालत झन कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ? मलाई काठमाडौँको कुरूप अनुहारलाई नियाल्नुको विकल्प नै थिएन । काठमाडौँमा रहँदाको समयमा मैले यूएईका सडक सञ्जाल सम्झेको थिएँ । यूएईमा पनि पानी पर्छ । कहिलेकाहीँ सडकमा पानी पनि जम्छ । कथमकदाचित पानी जम्यो भने यहाँ केही मिनेटभित्रै त्यसको कुशल तरिकाले व्यवस्थापन गरिन्छ ।
खाडीभित्रको युरोपको रूपमा चिनिने यूएईले विकासमा प्रकृतिलाई समेत चुनौती दिएको छ । एक दशकअघिसम्म दुवईमा खासै लोभलाग्दा कुरा केही थिएनन् । दुबई ट्रेड सेन्टर नै यहाँको अग्लो भवन थियो । त्यसको अलावा जुम्ल्याहा इमिरेट्स टावर मात्रै थियो । तर अहिले दुनियाँकै लोभलाग्दो देशका रूपमा रूपान्तरण भएको छ ।
२००४ मा म यहाँ आउने बेला यो देश मरुभूमिले भरिएको थियो । हेर्दाहेर्दै यो देशले काचुली फेरयो । दस वर्षले धेरै कुराको स्मरण गराउँछ । देश परिवर्तनको नाममा दस वर्ष माओवादी सशस्त्र आन्दोलन चल्यो । उसको भाषामा यसलाई दस वर्षे जनयुद्ध भन्छ । धेरै आरोहअवरोह पछि दस वर्ष पहिले नेपालमा पहिलो संविधान सभाको चुनाव सप्पन्न भयो । विभिन्न अवरोधका बाबजुद दस वर्षमा बल्ल नेपाली जनताले संविधान पाए । विकास भने कहिले हुने हो थाहा छैन । दुबईमा भने दस वर्षमा कल्पना भन्दा बाहिरको विकास भयो ।
दुबईको लोभलाग्दो विकास देखेर मनभित्र अनेकौँ तर्कना आउने गर्छ र सोच्छु, मेरो देशमा कहिले विकासले आकाश छुने ? पहाडबाट खस्ने झरनाको काखमा कहिले हो कहिले बुर्ज अरब जस्तो सात तारे होटल बनाउने ? यहाँ बुर्ज अरब समुद्रको बीचमा दुनियाँलाई चकित बनाउने किसिमले आफ्नो सानले ठडिएको छ ।
अल ऐन जाँदा जब बालुवामा खजुर फलाएको देखिन्छ । जब बालुवामा निर्माण गरिएको हजारौँ फुलहरूले बनेको मिराकल गार्डेन देख्छु तब मनले चकित खान्छ । कसरी बनाइयो होला बालुवामा विश्वकै धेरै प्रकारका फूलहरूले बनेको बगैँचा । तब मैले मेरो पाखोबारी सम्झिन्छु जो जोत्न छोडेर बाँझो भएको धेरै भएको छ । लाग्छ, अब आफ्नै गाउँ जाऔँ र बाँझो बारी खनजोत गरौँ ।
सेखजायद रोड हुँदै सधैँ जागिर गइन्छ, आइन्छ । तब आफ्नै सानले ठडिएको विसाल इमारट ठिङ्ग उभिएको देखिन्छ बुर्ज खलिफाको नामले । ६ जनवरी २००४ देखि बनाउन सुरु गरेर ४ जनवरी २०१० मा खुल्ला गरिएको संसारकै अग्लो यो १६३ तलाको इमारटले संसारको माथको रूपमा ठडिएको मेरो सगरमाथाको याद दिलाउँछ । त्यही सगरमाथाको देशको मान्छे म टाउको बटारेर बुर्ज खलिफाको उचाइलाई नियालिरहन्छु, दिनहुँ दुई पटक । माल पाएर चाल नपाएका नेपालीहरू सगरमाथाको देशको नागरिक हुनुको नाताले गर्व गर्नु मात्रै त हो । गर्व गरेर मात्रै भोको पेट पुर्न नसकिँदो रहेछ र आउनु परिरहेको छ खाडीको मरुभूमिमा यस्ता विशाल इमारतहरू बनाउन । संसारको अग्लो भूभागवाट संसारको समुन्द्रको सतहको भूभागसम्मको यात्रा । सोच्छु, यो कहिलेसम्मको सिलसिला हो ? मसँग जवाफ छैन । यसको जवाफ खोज्न मेरो देशको बागडोर सम्हालेका मान्छेहरूतर्फ मुख ताकेर हेर्छु, तब यस्तो महसुस हुन्छ, मानौं जवाफ दिन उनीहरूको काम होइन । देख्छु, सिंहदरबारमा कुर्चीको लडाइँ चलिरहेको छ । म अवाक हुन्छु ।
चालक बिना चल्ने मेट्रो चलेको पनि खासै धेरै भएको छैन । हेर्दाहेर्दै रेलका लिगहरू बने । ९ सेकेन्ड, ९ मिनेट, साँझको ९ बजे, ०९ महिना (सेप्टेम्बर) २००९ मा चालु भएको मेट्रो अहिले दुबईमा नपुगेको कुनै ठाउँ छैन । ठाउँठाउँमा कछुवाको कवच जस्तै देखिने मेट्रो स्टेसनहरू संसारकै अत्याधुनिक तरिकाले बनाइएको छ । मेट्रोमा यात्रा गर्नका लागि नोल कार्ड अनिवार्य चाहिन्छ । जुन कार्ड मेट्रो र पब्लिक बस दुबैमा प्रयोग गर्न सकिन्छ । कहिले मेरो देशमा यो प्रणाली लागू हुने हो ? मेरो देशको ट्रली बस र साझा यातायातको बिजोक सम्झिन्छु । ती बसहरू कुन कवाडीमा मिल्काइएको छ ? थाहा छैन । खुसीको कुरा यहाँ मेट्रो चलिरहँदा मेरो देशमा साझा यातायात त सुचारु भएको छ । तुलना गर्न त नमिल्ने हो तर साझा चल्ने देशमा कुनै दिन मेट्रो पनि चल्ला भन्ने झिनो आशा छ । आशाले मान्छेलाई जिउन सिकाउँछ अरे । त्यही जिउने प्रयत्न भनौँ, नगरी सुखै छैन ।
पाम जुमेरा, दुबईको एउटा आकर्षक सहर हो । हत्केलाको आकारमा निर्माण गरिएको यो समुन्द्रमाथिको सहरको उमेर पनि धेरै भएको छैन । यो सहर पनि दस वर्षभित्रै बनेको हो । त्यस सहरमा मिनी मेट्रो चल्छ । त्यसैको नजिक छ दुनियाँकै आकर्षक ढाँचामा समुन्द्रमाथि बनाइएको सात तारे होटल बुर्ज अरब ।
दुबईको अग्लो टावरहरू भएको सेख जायड रोड जहाँ दस वर्ष पहिले वरल्ड ट्रेड सेन्टर मात्रै थियो १४९ मिटर अग्लो सन् १९७९ मा बनेको । त्यसको छेउमा आधुनिक तरिकाले बनेका जुम्ल्याहा इमिरेटस टावर मात्रै थिए । दस वर्ष पहिले मरुभूमिको बालुवाले छोपेको त्यस ठाउँमा दुनियाँकै ८३० मिटर अग्लो ‘बुर्ज खलिफा’ टावर देख्न सकिन्छ । त्यसैको छेउमा दुनियाँकै सबैभन्दा ठूलो सपिङ मल जो १२ मिलियन स्कवायर फिटमा बनेको दुबई मल छ । त्यसको १७ किलोमिटर नजिकै वर दुबई छ । त्यहाँ हिन्दूहरूको एउटा मन्दिर पनि छ । त्यस मन्दिरको नजिकै आब्रा चोक पनि छ, समुन्द्र तटमा । त्यसैलाई भनिन्छ, नेपाली चोक । हरेक शुक्रबारको दिन त्यहाँ मेला नै लाग्छ । सातै इमिरेट्समा छरिएर रहेका प्रवासी नेपालीहरूको भेटघाटको थलो । यसलाई लभ डाँडाको नामले पनि बोलाउने गर्छन् कतिपय नेपालीहरूले ।
दस वर्ष पहिले यहाँ एउटा नेपाली रेस्टुरेन्ट मात्रै थियो । अहिले यहाँ धेरै नेपाली व्यावसाय फस्टाएको छ ।
नेपाली चोकमा हजारौँ नेपाली अनुहारहरू देख्न सकिन्छ । धेरैथरीका कथा सुन्न पाइन्छ, देख्न पाइन्छ । त्यहाँ नेपाललाई समृद्धि बनाउने विचारहरू पोखिन्छ । नेपाली राजनीतिभित्रका प्रवृत्तिमाथि टीकाटिप्पणी गरेको सुनिन्छ । कहिलेकाहीँ त्यसमा आफू पनि सहभागीताको पात्र बनिन्छ ।
यूएईभित्र दुबईदेखि १७५ किलोमिटर टाडा रसअल खैमा भन्ने एउटा स्टेट छ । त्यहाँ यूएईको सबै सबैभन्दा अग्लो ‘जेविल जैस’ पहाड छ, १९३४ मिटर अग्लो । कडा चट्टानै चट्टानले बनेको त्यो भीमकाय पहाडलाई काटेर बनाएको नागबेली सडक । पहाडको टुप्पोमा यूएईको राष्ट्रिय झण्डा आफ्नो शान देखाएर फरफराइरहेको छ । पहाडको शिरमा जब ढुङ्गाको जलाकी देखेँ, तब मध्यपश्चिमका पहाडहरूमा उहिले तरुनी तन्नेरीहरूले सम्झनाका लागि पहाडका टाकुराहरूमा चिनेका जलाकीको झझल्को दिन्छ ।
पहाडबाट तल हेरयो भने कतै कतै भेडा बाख्राका खोर पनि देखिन्छन् । त्यो दृश्य देख्दा मेरो भेडीखर्कको याद आउँछ । आफ्नो डेढ दुई सय भेडा बेचेर विदेश आएकोमा पछुतो लाग्छ । अहिले लाग्छ, मेरो भेडीखर्कलाई आधुनिकीकरण गर्न सकेको भए दिरहाम र डलर त्यही भेडीखर्कमै कमाउन सकिन्थ्यो तर माल पाएर चाल नपाएका हामीलाई समय बितेपछि मात्रै चेत खुल्छ ।
जीवनको समीक्षा गर्छु र सोच्छु, के नेपालीहरू विदेशिनु आवश्यकता थियो ? यहाँ ठुल्ठुला इमारत बनायौँ । सडक बनायौँ । मल बनायौँ । ठुल्ठुला स्टार होटल बनायौँ । दस वर्षमा मरुभूमिलाई इन्द्रभूमि बनायौँ । नेपाललाई कहिले बनाउछौँ इन्द्रभूमि ? म किन विदेश छु ? के कारणले विदेश छु ? कसको कारणले विदेश छु ? मान्छेले सकभर दोषको भार आफ्नो काँधमा थाप्न चाहँदैन । तर आज भन्नैपर्छ, थोरबहुत हाम्रो पनि कमजोरी छ । घरमा बार्दली धुन लजाउने हामी विदेशमा ट्वाइलेट धुन लाज मान्दैनौँ । गाउँमा सानोतिनो चिया, चमेना बेच्न हामीलाई लाज लाग्छ तर विदेशका होटलहरूमा प्याज छिल्न र झुठो भाडा माझ्न लाज मान्दैनौँ । गाउँमा खेत जोत्न लजाउने हामी विदेशका सडकहरू खन्न लाज मान्दैनौँ । हाम्रो कमजोरी यही भयो । ठूलो कमजोरी त्यसले गरेको छ, जसको हातमा देशको चाबी छ । आज सबैले समीक्षा नगरीहुँदैन ।
आजसम्म हामी अरूको मुख ताकेर बस्यौँ । आफ्नो लागि आफै नउठी नहुने रहेछ । देशमा परिवर्तन आउला र नेपाल फिरौँला भन्ने सपना देख्नु ठूलो भ्रम रहेछ । परिवर्तन त आफँैभित्र खोज्नु पर्ने रहेछ । चालीस लाख युवा हो अब नेपाल फिरौँ र धमिराले खाएर कम्जोर भएका घरका खाँबाहरूलाई फेरौँ । नेपाल आमाले चिच्याएर बोलाउनु भएको छ । हे युवा ! के तिमीले आमाको चित्कार सुन्यौ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलाडीहरू माथि खेलबाड गर्न हुँदैन : मन्त्री महर्जन
-
एजुकेशन प्लानेटलाई दक्षिण एसियाका लागि प्रतिष्ठित ‘टप अफ द टावर’ अवार्ड
-
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
-
कम्बोडिया भ्रमण सकेर सभामुख घिमिरे स्वदेश फिर्ता
-
प्राइम सहकारी ठगीमा पक्राउ परेका एमाले नेता कारागार चलान
-
अवैध तरिकाले नेपाल प्रवेश गर्न खोज्ने दुईजना चिनियाँसहित ३ पक्राउ