कोभिड–१९ पछि उड्डयन क्षेत्रका कठिनाइ
एयरपोर्ट भन्ने बित्तिकै हामीलाई धेरै कुराको याद आउँछ । ट्याक्सी चढेर टर्मिनल भवनको अगाडि पुग्ने, पुर्याउन गएका आफन्तसँग बिदाइका तस्बिरहरु खिचेर हात हल्लाउँदै, आँशु पुछ्दै होस् या अट्टाहाससँगै अगाडि बढ्ने । उसो त कोभिड–१९ को व्यापकतापछि तत्काल यसरी नै वा पहिलेको जस्तै अवस्थामा हाम्रो भ्रमण होला त ? यो प्रश्नको जवाफ त्यति सजिलो छैन । विश्वव्यापी रूपमा प्रभाव पारिरहेको यस कोभिड–१९ सँगै अब थुप्रै परिवर्तन आउने कुरा बहसमा आइरहेका छन् ।
यात्रामा हरेक पल यात्रु निकै सजक हुनुपर्ने बेला आएको छ । आफू स्वास्थ्य रहेको प्रमाण आफूसँग जतिखेर पनि रहनुपर्ने अवस्थाको कल्पना गरिएको छ । सेवा प्रदायक कम्पनीले अनिवार्य गर्नैपर्ने देखिएको यस किसिमका प्रमाण पत्र अब दैनिकी बन्ने अनुमान गर्न सकिन्छ । सेप्टेम्बर ११, २००१ पछिका दिनमा जसरी विमानस्थलको सुरक्षात्मक प्रबन्धहरुमा आमूल परिवर्तन देखापरे त्यसैगरेर अब विमानस्थलहरुका स्वास्थ्य सुरक्षात्मक प्रावधान निकै कठिन र अनिवार्य जस्तै बन्ने अनुमान गर्न सकिन्छ । विमानस्थलहरुको भौतिक संरचनाहरुमा आमूल परिवर्तन देखिनु सामान्य जस्तै हुनेछन् । साना टर्मिनल अब अपुग हुनेछन्, सामाजिक दूरीसहितका प्रावधानले गर्दा खचाखच भरिरहने टर्मिनल भवनहरु अब निकै कम यात्रका लागि उपयुक्त देखिने छन् । जसले गर्दा कि त उडान सङ्ख्यामा गिरावट आउने छ, कि त यात्रुको सङ्ख्यामा कटौती गर्नुपर्ने अवस्था नजिकै देखिने छ ।
सेवा प्रदायक संस्थाहरुले यो अवधिमा नाफा मात्रै खोजे भने उनीहरुको सेवाबाट विस्थापित हुने निर्णय गर्नुपर्ने अवस्था टाढा नरहेको अनुमान धेरैले गरेका छन् । सो अवस्थाबाट जोगिनको लागि सेवा प्रदयाक विमानस्थल तथा विमान कम्पनीहरुले आफ्न नियमित ग्राहकलाई वायु सेवा कम्पनीप्रति भरोसा कायम राख्न आफ्ना व्यवस्थापकीय, नियमित प्रशासनिक, कार्यालय सञ्चालन खर्चमा भारी कटौती गरी यात्रुको सुविधाका लागि सो खर्च केन्द्रित गरिनु उपयुक्त ठहरिने छ ।
विभिन्न झन्झटबाट दिक्दार यात्रुहरुलाई यो क्षेत्रप्रतिको माया कायम गर्नका लागि सेवा प्रदायक निकायले थप शालीन र जिम्मेवार व्यवहार अब अपेक्षित छ । उड्डयन क्षेत्र यसै पनि खास क्षेत्र हो । लगानीका हिसाबले होस् या सेवा उपयोग गर्ने जनसङ्ख्याका हिसाबले होस् । यसैगरी अब यस क्षेत्रका उपयोगकर्ताहरु पनि थप शालीन, भद्र र सचेत हुनु जरुरी हुनेछ । यस्तै सचेत यात्रुहरु सेवा प्रदायक कम्पनीको पहिलो रोजाइ पर्ने छन । आफ्नो ट्राभेल हिस्ट्री पारदर्शी भएका स्वास्थ्य यात्रुहरु विमान कम्पनीको पहिलो र अनिवार्य रोजाइ हुने छ । ‘रोग प्रतिरोधी पासपोर्ट’ यात्रु स्वयम्ले जारी गर्नु छ ।
अर्थात कोभिड्–१९ विरुद्धको लडाइँमा आफू सक्षम रहेको कुरा हरेक पलमा देखाइरहनु पर्ने छ, प्रमाणित गरिरहनुपर्ने छ । आफ्नो परिस्थिति वा वातावरणको ठोस विश्लेषण गरेर सोही अनुरूप ठोस सतर्कता अपनाउनु हरेक यात्रुको स्वयम् जिम्मेवारीभित्र पर्ने छ । अहिलेको स्तनपान तथा स्मोकिङ जोन जस्तै अब विमानस्थलको टर्मिनल भवनमा ‘स्टे सेफ’ कक्षहरु द्रुत विकास गर्न ठूलो रकम लगानी बढाउन विमानस्थल सञ्चालकहरू तयार हुनु अब अनिवार्य भइसकेको छ । स्वचालित स्क्यानरहरुको विकास गर्न विज्ञानलाई चुनौती बढिसकेको छ । अब बिजिनेस क्लास होस् वा इकोनोमिक क्लास होस् सबै स्थानमा खानाको प्रबन्ध जहाजका यात्रु आफैले गर्नुपर्ने छ । जमिनमा अपनाइने प्रत्यक्ष सुरक्षाका उपाय इन फलाइट क्रुदेखि हरेक यात्रुको आकाशको सुरक्षाको प्रत्याभूति गर्ने प्रमुख आधार हुने छ ।
केन्द्रीकृत जनस्वास्थ्य सेवाहरु एयरपोर्टभित्र देखिने कुनै पनि जैविक तत्त्वको विषादी न्यूनीकरण गर्न सक्षम हुनु पर्ने छ । यो विज्ञान र राज्य दुवैका लागि एकदमै चुनौतीको विषय हो । तापक्रम नाप्नेदेखि लिएर यात्रुहरुको हरचिज परीक्षण गर्न यो क्षेत्र निकै तयार भइसक्नुपर्ने छ । आफ्ना कर्मचारीदेखि लिएर अन्य सेवामा जोडिएर आएका व्यक्तिहरुको सुरक्षा यस सेवाका प्रमुख सर्त हुनेमा कुनै शङ्का हुनेछैन । फेरि पनि कोभिड–१९ अगाडिको अनुवभका आधारमा यात्राको तय गरियो भने त्यो एक ठूलो भूल हुने छ । कुनै आतङ्कवादी हमला पछिको विमानस्थलभन्दा कम सजग भएको खण्डमा यो क्षेत्रका लागि दुर्भाग्य सिवाय अरू केही नहुन सक्छ । खानासँगै सेनिटाइजर, मास्क लगायत अति आवश्यक वस्तुभित्र हरेक ट्राभेल प्याकमा राख्नु अब प्रत्येक यात्रुको दैनिकी हुनेछ ।
विमानस्थल टर्मिनल भवन लगायतमा रहेका रेस्टुरेन्ट, लन्चहरुको प्रयोग एकदमै कम हुनेछ । भैहाल्यो भने पनि विविध सुरक्षा कवचको प्रयोग गरेर मात्र उच्च सतर्कताका साथ हुनेछ । क्वारिन्टिन टुरिजम लगायत रिमोट टुरिजम अर्थात एकदम विकट स्थानको पर्यटन विकासमा विश्व लाग्नैपर्ने अवस्था सिर्जना हुनेछ । नदीका किनारहरु, समुद्रिक किनारहरुमा सेफ होम टुरिजम फास्टाउने छन् भने भिडभाड कम हुने साधन हेलिकप्टर, अल्ट्रालाइट लगायतका पर्यटकीय उड्डयन प्रविधिको प्रयोग फास्टाउने अनुमान गर्न सकिन्छ ।
नेपालको सन्दर्भमा सेवा प्रदायक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको मासिक नब्बे करोड घाटा लागेको अनुमान गरिएको छ भने सेवा प्रदायक वायु सेवा कम्पनीको दैनिक करोडौँ घाटा भएको अनुमान गरिएको छ । सयौँ कर्मचारी तथा दैनिक इन्स्योरेन्स तथा अन्य खर्चले यो क्षेत्र शिथिल बनेको पक्कै हो । यद्यपि माथि उल्लिखित परिवर्तन नभएसम्म अर्थात यो सङ्क्रमण थेग्न यो क्षेत्र तयार नभएसम्म हतार गर्नु यो क्षेत्रलाई थप असुरक्षित बनाउन सक्छ । यसतर्फ सबै सजक हुनु जरुरी देखिन्छ । यो किन पनि हो भने मृत्युर दर उल्लेख्य काम नभएसम्म यात्रुहरु भीडभाडयुक्त यात्राबाट टाढै राख्नु र रहनु सरकार वा यात्रु स्वयम्को वाध्यता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
सीटीईभीटी तालाबन्दी निषेध क्षेत्र घोषणा