शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शैक्षिक सत्र नगुम्नेगरी पठनपाठन र अनुसन्धान कार्य सुचारु गर्न नेपाल टेलिकम र विश्वविद्यालय अनुदान आयोग बीच सम्झौता

मङ्गलबार, ०९ भदौ २०७७, १५ : ५१
मङ्गलबार, ०९ भदौ २०७७

काठमाडौं । कोभिड–१९ का कारणले सिर्जित महाविपत्तीको अवस्थामामुलुकको शैक्षिक सत्र नगुम्नेगरी पठनपाठन र अनुसन्धानका कार्य सुचारु गर्नका लागि विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकम बीच सम्झौता सम्पन्न भएको छ । 

शिक्षा मन्त्रालयमा आयोजित एक समारोहमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको उपस्थितिमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र विश्वविद्यालय अनुदान आयोगका प्रमुख प्रशासकीय अधिकृत सुभाषचन्द्र ढुंगेल बीच सम्झौता सम्पन्न भएको हो । 

कोभिड–१९ले शैक्षिक सत्रलाई पार्न सक्ने प्रभावलाई न्यूनीकरण गर्नको लागि विश्वविद्यालय अनुदान आयोगले वैकल्पिक शिक्षा प्रणालीलाई सहज बनाउन तयार गरेको खाका "Guidelines for Facilitating Alternative Mode of Learning in Higher Education-2077" लाई मध्यनजर गरी सो सम्झौता भएको हो । 

नेपाल टेलिकम र  विश्वविद्यालय अनुदान आयोगको विशेष सक्रियतामा सम्पन्न सो सम्झौता बमोजिम मुलुकका सबै विश्वविद्यालय र ती अन्तर्गतका आंगिक क्याम्पसहरुमा अध्ययन, अध्यापन र अनुसन्धानमा संलग्न सबैलाई नेपाल टेलिकमले ह्याप्पी लर्निङ प्याक उपलब्ध गराउने छ । 

सो प्याकेज अन्तर्गत तीन सय १५ मा २४ जीबी र पाँच सयमा ३५ जीबी डाटा उपलब्ध हुनेछ । २४ जीबी डाटा मध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । 

यसैगरी ३५ जीबी डाटा मध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । 

ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत आफूलाई उपयुक्त हुने कुनै पनि समयमा प्रयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ ।

यो प्याकेज प्रयोग गर्नका लागि विद्यार्थी, प्राध्यापक वा अनुसन्धानकर्ताहरुले आजैका मिति देखि [email protected]मा इमेल पठाउन सक्नेछन् । साथै नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np बाट यो सेवा उपलब्ध गराउनका लागि कम्पनीले आवश्यक तयारी गरिरहेको हुनाले केही दिनमा उपलब्ध हुनेछ । 

सो समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री माननीय गिरिराजमणी पोखरेलले नेपालको शिक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउने हाम्रो प्रयास चुनौतीहरुको सामना गर्दै चाँडै कार्यरुपमा उत्रन लागेको बताए । मुलुकको उच्च शिक्षाको व्यवस्थापन गरिरहेको आयोग र अत्याधुनिक दूरसञ्चार सेवा प्रदान गरिरहेको टेलिकम बीच भएको यो सम्झौताले विद्यार्थी, प्राध्यापक र अनुसन्धानकर्ताले किफायती मूल्यमा प्रविधिको प्रयोगबाट शिक्षा र ज्ञान आदानप्रदान गर्न सक्ने उल्लेख गरे ।

यसैगरी सो अवसरमा आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले जस्तोसुकै संकटको अवस्थामा पनि मुलुकको शैक्षिक कार्यक्रमहरु नरोक्न र सहजरुपले सरल मूल्यमा पठनपाठन र अनुसन्धानका कामहरु जारी राख्न यो सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 

सो कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विषम अवस्थामा मुलुकको शैक्षिक वातावरण सहज बनाउन कम्पनीले सक्नेसम्म सबै कार्यहरु गर्ने उल्लेख गर्दै यसलाई कम्पनीले राष्ट्रिय दायित्वको रुपमा लिएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप