केन्द्रीय संस्करण

परिवारवादले पार्टी र देशलाई कसरी बर्बाद गर्छ ?

person explore access_timeभदौ ९, २०७७ chat_bubble_outline0
फोटो : PTI

जो व्यक्ति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका नीतिहरुको विरोध गर्छन् अनि उनी तथा उनको पार्टीलाई राजनीतिक मैदानमा पराजित गर्न चाहन्छन्, उनीहरुले पहिले नरेन्द्र मोदीले जोडदार तरिकाले दुुईवटा चुनावमा कसरी जित हासिल गरे भन्ने बुझ्न जरुरी छ । साथै मतदातामाझ कसरी व्यापक रूपमा उनको लोकप्रियता कायम छ । 

सम्मानित अध्येताले मलाई चिट्ठीमा लेखे– मोदीसँग धेरै प्रतिभा र क्षमता छन् । उनको नियमित स्वस्थ जीवनशैली, प्रचुर शरीरिक र मानसिक ऊर्जा तथा आफ्नो लक्ष्य हासिल गर्नका लागि उनको समर्पण सर्वोपरी छ । 
उनी सधैँ व्यस्त रहन्छन् र स्वाभाविक रूपमा काममै आराम पाउँछन् । उनी छुट्टी लिँदैनन् । 

दोस्रो महत्त्वपूर्ण कुरा के छ भने उनी सत्ता र स्वयम् आफैसँग निकै सजग छन् । चाहे वैश्विक नेताहरुसँगको भेट होस् वा सडक किनारका कुनै कार्यक्रम वा कुनै चियावालासँगको भेट, उनी कहिल्यै बाहिरीया जस्तो देखिँदैनन् । 
तेस्रो, उनी शानदार वक्ता हुन् । कठिन अवस्थालाई पनि प्रभावकारी तरिकाले सम्हाल्छन् ।

हिन्दी शब्दलाई प्रयोग गर्ने उनको तरिका अद्भुत छ ।  उनी जुन सहजताका साथ झुट बोल्छन्, त्यो आश्चर्यजनक छ । उनको तथ्य पनि तथ्यपरक हुँदैनन् । 
चौथो उनका रुचि धेरै छन्, स्वाभाविक रूपमा  उनी ब्रेकिङ न्युजमा नजर राख्छन् । पाँचौँ, उनीसँग गृहमन्त्रीका रूपमा एक दुर्जेय सहयोगी छन्, जो नकै निर्मम छन् ।

यी विद्वान् अध्येताले आजीवन धार्मिक कट्टरपन्थको विरोध गरिरहेका छन् र लोकतन्त्र तथा बहुलतावादको समर्थन गर्छन् । यी अध्येताले मोदी र अमित शाहलाई खतरनाक र विभाजनकारी देख्छन्, जस्तो म पनि देख्छु । 
‘तर लोकतन्त्रवादी र बहुलतावादीहरुले के स्वीकार्नु आवश्यक छ भने जो नेताको हामी विरोध गर्छौं उनलाई धेरै भारतीयले मन पराउँछन्,’ यी अध्येताले यो याद दिलाएका छन् । 
हिन्दुत्व विरुद्धको लडाइँ विचारधाराहरुको लडाइँ हो । यसले गणतन्त्रका आधारभूत सिद्धान्तहरुको बहाली चाहन्छन्, जसमा धार्मिक र भाषिक बहुलता, लैङ्गिक र जातीय समानता, राज्यको शक्तिप्रति आलोचनात्मक चेत र अन्य संस्कृति तथा सभ्यताहरूप्रति खुलापन समावेश छ ।  

यी सबै तिनै सिद्धान्त हुन् जसलाई या त छाड्ने या उखेलेर फाल्ने धम्की हिन्दुत्वले दिइरहेको छ । 
भारतको आम चुनाव तेजसँग अध्यक्षीय प्रणाली जस्तो चुनावमा बदलिरहेको छ । यस्तोमा तिनै व्यक्ति जो नरेन्द्र मोदीलाई चुनौती दिन २०१४ र २०१९ मा असफल भए, के उनी २०२४ मा सफल हुन सक्छन् ?
जनवरी २०१३ मा जब केन्द्रीय सत्तामा काँग्रेस थियो तब मैले कोलकाताको टेलिग्राफमा पार्टीको प्रत्यक्ष उत्तराधिकारीबारे एक स्तम्भ लेखेको थिएँ । राहुल गान्धी राजनीतिमा आउनुको कारणबारे समीक्षा गर्दै मैले लेखेको थिएँ, ‘राहुल गान्धीबारे एक राम्रो कुरा यो भन्न सकिन्छ कि उनी राम्रा नवसिकारु हुन्् । उनले प्रशासनिक क्षमताको कुनै सङ्केत दिएका छैनन् । ठूला र महत्त्वपूर्ण जिम्मेवारी लिने इच्छा प्रकट गरेका छैनन् र गम्भीर सामाजिक समस्याहरुको समाधानका लागि न उनीसँग ऊर्जा छ, न समर्पण ।’

साढे सात वर्षपछि पनि राहुल गान्धी राजनीतिमा सिकारु नै बनिरहेका छन् । उनी नवसिकारु हुन् भन्ने राम्रो प्रमाण अझैसम्म धाराप्रवाह हिन्दी बोल्न नसक्नुु हो । 
यसका बाबजुद पनि उनी उत्तर प्रदेशबाट तीन पटक सांसद् बनिसकेका छन् ।

बहुसङ्ख्यक भारतीयले जुन भाषा बोल्छन्, यसमा वाकपटुुताको कमी २०१४ र २००९ को आम चुनावमा राहुल गान्धी नेतृत्वको पार्टीको कमजोर प्रदर्शनको कारकमध्ये एक हो । 
उनको लर्बराउँदोे हिन्दी नरेन्द्र मोदीको भाषाको पकडको ठीक विपरीत छ । तर यसको अर्को कारण पनि छ, जसअन्तर्गत राहुल गान्धीमा प्रशासनिक अनुभवको कमी र परिवारको पाँचौँ पिँढीको सदस्य हुनु पनि जोडिन्छ । 
राहुल गान्धी पूूर्वप्रधानमन्त्रीका छोरा, नाति र पनाति हुन् । यो अधिकांश भारतीयको नजरमा लाभ होइन, जन्म र वंशको आधारमा गरिने दाबीप्रति तेजसँग उनीहरुको मोहभङ्ग भइरहेको छ ।  
जब प्रधानमन्त्री र उनको सरकारले प्रेस तथा विरोधीहरुलाई दबाएको आरोप राहुल गान्धीको अगुुवाइमा काँग्रेसले लगाउँछ, तब सत्तारुढ दलको जबाफ हुन्छ– ‘त्यसो भए इन्दिरा गान्धी र उनले लगाएको आपतकालमा के भएको थियो ?’ 

जब काँग्रेसले प्रधानमन्त्रीमाथि भारतीय भूमिमा चीनलाई घुसपैठको अनुमति दिएको आरोप राहुल गान्धीको अगुवाइमा लगाउँछ तर सत्तारुढ दलको जवाफ हुन्छ– ‘१९६२ मा जवाहरलाल नेहरुले चीनसँग गरेको आत्मसमर्पण के थियो ?’
२०१९ मा राहुल गान्धीले एउटा ठूलो गल्ती गरे । जब उनले प्रधानमन्त्रीको व्यक्तिगत इमानदारीलाई आफ्नो पार्टीको केन्द्रीय चुनाव मुद्दा बनाए । अनि नारा दिए, ‘चौकीदार चोर हैँ ।’
यो ठूलो गल्ती थियो । यसको साटो काँग्रेसले सोध्नुपर्ने के थियो भने २०१४ मा राम्रो दिन ल्याउने वाचा जो मोदीले गरेका थिए, त्यो के भयो ? 

सोनिया गान्धी र राहुल गान्धी यस्ता चाकडीबाजहरुबाट घेरिएका छन्, जो वर्षौंदेखि प्रथम परिवारप्रति आफ्नो बफादारीका कारण राज्यसभाका सिट र पार्टी महासचिवका पदमा आसिन छन् । उनीहरु सधैँ के भन्छन् भने सोनिया या उनका छोराछोरीले नेतृत्व नगर्ने हो भने पार्टी बच्नेछैन ।

तर व्यक्तिगत हितबाट टाढा बसेर भारतीय लोकतन्त्रको व्यापक हित हेर्ने हो भने त यो स्पष्टै देखिन्छ कि प्रमुख विपक्षी दलको नेतृत्व  नेहरु–गान्धी परिवार बाहिर गयो भने जवाहरलाल, इन्दिरा वा राजीवको वास्तविक वा कथित गल्ती औँल्याएर आफ्ना नीतिहरुको आलोचनाबाट ध्यान भड्काउन मोदी सरकारलाई मुस्किल पर्नेछ । 

यदि काँग्रेसको उक्त गैर नेहरु–गान्धी नेतृत्वले जब अर्थव्यवस्था र महामारीलाई लिएर या विरोध दबाउने सरकारी नीति वा चीनसँगको समर्पणबारे कडा प्रश्न सोध्नेछ । त्यसको जबाफमा नेहरु, इन्दिरा वा राजीवका विषयमा बोल्नु मुस्किल जस्तै हुनेछ । 

अनि यदि ती गैर नेहरु–गान्धी काँग्रेस अध्यक्ष हिन्दीमा धारा प्रवाह बोल्न थाल्छन् । उनको जनाधार हुनेछ र कठोर ढङ्गले नियमित काम गर्ने क्षमता हुनेछ भने उनको पार्टीले चुनावमा राम्रो नतिजा ल्याउने नै छ । 
मैले राहुल गान्धीलाई सिकारु र राम्रो उद्देश्यका मानिस भनेँ । आफ्नो परिवारका उनी एक मात्र सदस्य हुन्, जो आफ्नो हकलाई लिएर विरोधाभासमा छन् । उनकी आमा र बहिनी दुुवै वंशलाई लिएर कट्टरपन्थी छन् । 
त्यसैले प्रियङ्का गान्धी के सोच्छिन् भने इन्दिरा गान्धीकी नातिनी भएकाले उनको बयानले राजनीतिका आलोचनाहरुलाई चुुप गराउँछ ।  पार्टी र देशमा परिवारको शासनप्रति सोनिया गान्धीको समर्पण अझै अधिक गहिरो छ । राहुल गान्धीलाई यस विषयको श्रेय किन जान्छ भने उनी यस सम्बन्धमा आफ्नी आमा र बहिनीभन्दा अलग छन् । 

म काँग्रेस पार्टीको वंशवादी संस्कृतिको दुुई दशकदेखि आलोचक छु । म यसको फेरि आलोचना गर्दैछु किनकि आज आलोचनाको आवश्यकता धेरै धेरै छ । 
प्रधानन्त्रीका रूपमा नरेन्द्र मोदीले भारतलाई धेरै नोक्सानी पुु¥याएका छन् । उनको सरकारले हाम्रो अर्थव्यवस्थालाई कमजोर बनाएको छ, हाम्रो समाजलाई विभाजित गरेको छ र संसारको नजरमा भारतलाई कमजोर बनाएको छ । जो व्यक्ति भारतको आर्थिक, राजनीतिक र नैतिक पुनर्जागरणको आशा गर्छ, उसले मोदी र उनको पार्टीलाई २०२४ देखि सत्ताबाट हटाउने बाटोको विचार गर्नुपर्छ । यदि सिकारु वारिस तेस्रो पटक मुख्य विपक्षीका रूपमा रह्यो भने नतिजा बदलिन्छ जस्तो मलाई लाग्दैन ।

(गुहा इतिहासकार तथा राजनीतिशास्त्री हुन् । यो लेख अमर उजाला डटकमबाट साभार गरिएको हो ।)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.