मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

लकडाउनका बेला उपत्यकामा हराएका ढुङ्गेधारा र हिटी खोज्दै युवाहरु (भिडियो)

मङ्गलबार, ०९ भदौ २०७७, १५ : २०
मङ्गलबार, ०९ भदौ २०७७

काठमाडौं । कोरोना संक्रमण बढेपछि शहरका घर, टोल बाहिर प्रहरीहरु माइकिङ गरिरहेका छन् । ‘सबै घरभित्रै बस्नुहोला, मास्क लगाउनुहोला, २ मिटरको दुरी कायम गर्नुहोला । अत्यावश्यक सेवा औषधी, पानी बाहेक अन्य पसल खोल्ने समय विहान ९ बजेसम्म मात्र ।’

सरकारले सडकमा आवत–जावतसहित सम्पूर्ण सेवा ठप्प पारेको बेला केही युवाहरु भने सम्पदा खोज्न जुर्मुराएका छन् । उनीहरु उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा संरक्षण नगरिएका, माटोले पुरिएका, झाडीले ढाकिएका पुराना ढुङ्गेधारा खोज्दै, त्यसलाई ढाकिएको फोहोर हटाउँदै हिँडिरहेका छन् । 

बब्लु गुप्ता, यादवलाल कायस्थ लगायतका यूवाहरु अहिले झाडी, माटो र फोहोरले पुरिएको ढुङ्गे धारा सफाईमा जुटेका छन् । केही दिन पहिले बिजोग अवस्थामा रहेको चावाहिल गणेशस्थानमा रहेको पुरानो हिँटी र पोखरीलाई उनीहरुको समूहले चिटिक्क पारेका छन् । 

चावाहिलको गणेश मन्दिर नजिको हिँटी पहिले र अहिलेको अवस्था 

सम्पदा संरक्षण महाअभियान नाम दिएर उनीहरुले माटोले पुरिएका साना मठ मन्दिर र मूर्तिको उत्खनन् समेत गरेका छन् ।  बब्लु गुप्ताले भने–‘सरकारले अहिले हात धुन भने प्लाष्टिकको ट्यांकी खरिदका लागि खर्च गरिरहेको छ तर पूराना ढुङ्गेधार हिटीहरुको संरक्षणका लागि ध्यान दिइरहेको छैन । सरकार पुरातत्व विभाग कसैलाई मतलब नभएपछि अहिले हामी हराएका पुरिएका विभिन्न सम्पदाहरु खोज्दै स्थानीयलाई पनि बोलाउँदै त्यसलाई बाहिर ल्याउने काम गरिरहेका छौँ ।’

बब्लु गुप्ता तिनै युवक हुन्, जसको नेतृत्वमा काठमाडौंसहित विभिन्न जिल्लामा हुनेले छोडिदिने र नहुनेले लिएर जाने कपडा बैंकको स्थापना गरेका थिए । अहिले उनी र उनीसहितका साथीहरु काठमाडौंमा जारी लकडाउन तथा निशेधाज्ञामा निःशूल्क खाना खुवाउने तथा सम्पदा संरक्षणको काममा खटिएका छन् । 

अहिले उनीहरु भक्तपुरको जगातीमा पुरिएको ढुङ्गेधारा हिँटीको माटो, फोहोर निकालेर सरसफाई गर्ने काममा लागेका छन् । उनले भने–‘पुरातात्विक सम्पदा हो तर पुरातत्व विभागले हेर्दैन सर । हिजोसम्म माटो निकाल्ने काम ३० प्रतिशत सकियो सर । आज पनि हामी माटो निकाल्न लागेका छौं । ठाउँ ठाउँमा हामीले यस्तो काम धेरै गरिसक्यौँ । हामी पाँच सात जनाको टोलीले सुरु गरेको हो अहिले धेरैले साथ दिइरहनुभएको छ ।’

भक्तपुरको बोडेको हिँटी पहिले र अहिले

अहिलेसम्म सात आठवटा स्थानमा उत्खनन् तथा सफाइको काम गरेको बताउँदै यस्ता १ सय भन्दा धेरै ठाउँ रहेको र सरसफाईका लागि लिस्ट बनाइरहेको गुप्ताले बताए । उपत्यकाका ३ जिल्लामा धेरै ठाँउमा ढुङ्गेधारा, मठ मन्दिर पुरिएको बताउँदै क्रमशः ती सबै ठाउँमा गएर सरसफाई गर्ने उनले बताए । 

उनले भने–‘हामीले फेसबुकमा हन्ड्रेड ग्रुप भनेर एउटा ग्रुप बनाएका छौं । त्यहीमार्फत उपत्यकामा कहाँ–कहाँ त्यस्ता सम्पदा पुरिएका छन् भनेर केटाहरुमार्फत बुढा पाकाहरुसँग सोध्दै बुझ्दै खोजीगरिरहेका छौँ । मन्दिर मूर्ति, पोखरीहरु त कति पुरिएको छ कति ।’

उनले भक्तपुरको नलिनचोकमा रहेको एउटा ढुङ्गेधारा मर्मतका लागि नगरपालिकालाई आग्रह गरेको र त्यसमा सरकारात्मक भएर बजेट छुट्टाएर काम गर्ने बताएको उनले सुनाए । प्रत्येक वडा कार्यालयहरुलाई त्यसबारेमा जानकारी गराएपनि उनीहरुले मतलब नगर्ने गरेको गुप्ताले सुनाए । 

भक्तपुरको सुर्यविनायक नजिक कलाशामा पुरिएको अवस्थामा शिवलिङ्ग, मूर्तिहरु पनि उत्खनन गरेको उनले बताए । चावेल, जावलाखेल लगायतका स्थानमा पुरिएका सम्पदा सफाई गरेको उनले बताए । यसरी काम गर्दा स्थानीयहरु पनि सहभागी हुन आउने, खन्ने सामानहरु दिने, खाजाको व्यवस्था गरिदिने पनि उनले सुनाए । 

भक्तपुरको जगाते छेउमा माटो र फोहोरले पुरिएको हिँटी सफाई गर्दै 

उनले भने–‘मानिसहरु मन्दिरमा पूजा गर्न जान्छन् तर पुरिएका मन्दिर, मूर्तिको बारेमा मतलव नै गर्दैनन् । के भन्ने खै ?’ वडा कार्यालयमा यसबारेमा भन्न जाँदा पनि वडाध्यक्ष व्यस्त हुनुहुन्छ एकछिन बस्नुस भनेर एक दुई घण्टा कुराइदिने प्रवृत्ति छ । 

उनले भने– ‘एक सयभन्दा बढी लिष्टको फाइल बोकेर हामीले कति धायौं कति । तर उहाँहरुलाई हामीलाई दिने समय नै हुँदैन । मन्दिर, पोखरी, धारा, मूर्ति पुरिएछ हजुर भन्न जाँदा को कहाँ हुनुहुन्छ कुर्नुस् भन्छन् । दुई तीन दिन कुर्नुको साटो हामी विद्यार्थीहरु मिलेर काम गरेको राम्रो हुन्छ भनेर काम गरिरहेका छौँ ।’

हिँउदमा पानी आउने अवस्था नभएपनि वर्षायाममा मात्र भएपनि पानी आउने हिँटीहरुको पनि संरक्षण नभएको उनले बताए । कोरोनाको त्रासका बेला प्लाष्टिकको ट्याङ्की किन्नुको सट्टामा हिटीहरुको मर्मतसंभार गरेर त्यसलाई उपयोग गर्नुपर्ने उनले बताए । उनले भने–‘ट्याङ्की नै किन्ने हो भनेपनि हिटीको धाराबाट पानी खसालेर हात धुने व्यवस्था गर्ने हो भनेपनि पुरातात्विक सम्पदाको प्रयोग र महत्व बढ्ने थियो । टोल टोलमा रहेका हिटीलाई यसरी पनि संरक्षण गर्न सकिन्छ भनेर हामीले डाङडुङ काम गरिरहेका छौँ ।’

हिटीहरुको संरक्षणका लागि खोज्दै जाँदा बब्लु गुप्ता, यादवलाल कायस्थ सहितको टोलीले धेरै ठाउँमा झाडी, फोहोर र माटोले पुरिएको अवस्थामा भेटाए । उनीहरुले निश्वार्थ र निःशूल्क रुपमा यसरी सम्पदा सफाईको काम गरिरहेको बताएका छन् ।  उनले भने–‘नेपालको पहिचान भनेकै यिनी पूराना सांस्कृतिक सम्पदा हुन, यसले नै नेपालीलाई छुट्टै पहिचान दिलाएको छ । मानिसहरुलाई मतलब नै छैन । हामीले काम गरेपछि कतिपय वडाध्यक्षहरु पनि हेर्न आउने गर्नुभएको छ ।’

बब्लु गुप्ता, यादवलाल कायस्थको अगुवाईमा विभिन्न क्याम्पसमा पढिहेका विद्यार्थीहरु, स्थानीयहरुको समूहले यो कामलाई निरन्तरता दिने योजना बनाएका छन् । कुनै निकायको आर्थिक सहयोग विना काम गरिरहेका उनीहरुले आफूले गरेको कामको फोटो फेसबुकमा राख्ने गरेका छन् । त्यहाँ आउने राम्रो प्रतिक्रिया र काम गरेको ठाउँमा स्थानीयले गर्ने खाजाको व्यवस्थाले उर्जा थपेको गुप्ताले बताए । 

सम्पदा संरक्षणमा लागि परेका अर्का यूवा यादवलाल कायस्थ नेपालको सम्पदा जोगाउन केही व्यक्तिले नेतृत्व गर्ने भन्दापनि सबैजना सामूहिक रुपमा लाग्नुपर्ने बताउँछन् । सम्पदा संरक्षण गरेमात्र नेपालको अस्तित्व रहने बताए । राज्यसँग अपार स्रोत साधन भएपनि हिटी तथा ढुङ्गेधाराबाट पानी बगाउन कुनै प्रयास नगरेको उनको भनाई छ ।

हेर्नुहोस् भिडियो: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप