बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पौडेल पक्षीय केन्द्रीय सदस्यको भर्चुअल मिटिङ : देउवाका निर्णयविरुद्ध अनसन–धर्नामा उत्रिने

सोमबार, ०८ भदौ २०७७, १९ : ५८
सोमबार, ०८ भदौ २०७७

काठमाडौं । नेपाली काँग्रेसमा संस्थापन पक्षबाट १४ औं महाधिवेशन प्रभावित पार्ने काम हुन थालेको भन्दै त्यसको विरुद्धमा संस्थापन इतरपक्ष आन्तरिक छलफल गरेको छ । सोमबार संस्थापन इतर (पौडेल)पक्षका २५ जना केन्द्रीय सदस्यहरुबीच भर्चुअल मिटिङ भएको छ ।

बैठकमा रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी, शेखर कोइराला, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, धनराज गुरुङ, गुरु घिमिरे, बद्री पाण्डे, जीवन परियार, रत्ना शेर्चन, कमला पन्तलगायतको सहभागिता थियो ।

नेता केसीले भने, ‘सक्रिय सदस्यता वितरणमा धाधली भइरहेको छ । सदस्यता वितरण सही तरिकाले लैजानका निम्ती, भ्रातृ संस्था र विदेशस्थित जनसम्पर्क समितिको अधिवेशनका सम्बन्धमा र पार्टी समयोजनमा भएको ढिलाइका विषयमा छलफल भएको छ ।’

निष्पक्ष महाधिवेशनको ग्यारेन्टीका लागि नयाँ स्टेप चल्ने बैठकको निष्कर्ष रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए । उनले भने, ‘११ जिल्लामा अहिलेसम्म किन समायोजन भएको छैन । दुई नम्बर प्रदेशमा एउटा जिल्लामा पनि समायोजन भएको छैन । अवैध रुपमा विभाग गठन गरिएको छ । यसका बारेका अहिलेसम्म किन कदम चालिएन ? यसबारे नयाँ स्टेप लिएर जानुपर्छ । के गर्ने भन्ने कुरामा आज कार्यदिशा बनाउनेबारे छलफल भएको छ ।’

उनका अनुसार निष्पक्ष महाधिवेशनको ग्यारेन्टीका लागि अनसन बस्ने, धर्ना दिने, हस्ताक्षर अभियान चलाउने लगायता विकल्पमा छलफल भएको थियो । कोरोना महामारी कम भए लगत्तै पार्टी कार्यालयमा धर्ना दिनुपर्ने आफ्नो दृष्टिकोण रहेको नेता केसीले बताए । उनले भने, ‘जुन जिल्लामा अन्याय भएको छ । त्यहाँ जिल्ला पार्टी कार्यालय घेराउ गराउने लगाउने र केन्द्रमा हामी नै धेराउमा बसेर निष्पक्ष महाधिवेशनको दिशामा जानुपर्छ भन्ने कुरा भएको छ ।’ 

निष्पक्ष महाधिवेशनका लागि देशभरका कार्यकर्ताहरूले अनशन र पार्टी  कार्यालय घेराउसम्म गर्नुपर्ने परिस्थिति बनेको केसीको भनाइ छ । ‘विभिन्न जिल्लामा क्रियाशील सदस्यता वितरणमै स्वेच्छाचारिता र मनपरीतन्त्र चल्दै छ । यो गर्नुका पछि सभापतिको पार्टी कब्जा गर्ने नियत हो । यसविरुद्ध देशभरका कार्यकर्ताहरूले अनशन र पार्टी घेराउसम्म गर्नुपर्ने परिस्थिति बनेको छ । यस विषयमा आज छलफल भएको छ ।’

देउवाविरुद्ध पौडेल समूहका मुद्दा

विधानविपरीत केन्द्रीय विभाग गठन गरिएको भन्दै पौडेल पक्ष विधि, विधान र प्रक्रियालाई मुद्दा बनाएर देउवाविरुद्ध उत्रिएको छ । पार्टी सत्ताको दुरुपयोग गरेर वर्तमान नेतृत्वले ‘कब्जा’ गर्न खोजेको उक्त समूहको छ । भण्डकारीका अनुसार विधान परिवर्तन गरेर अधिवेशन नगराइ विदेशस्थित जनसम्पर्क समितिबाट प्रतिनिधि पार्टी महाधिवेशनमा सहभागी गराउने परिस्थिति खडा गर्न खोजिएको छ ।

उन भने, ‘विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन नै नगर्ने र अधिवेशन नै नगरि महाधिवेशनमा सहभागी हुन पाइँदैन । त्यस्तो अवस्थामा बहुमतले विधान परिवर्तन गरेर अधिवेशन नगराएर पार्टी महाधिवेशनमा सहभागी गराउने परिस्थिति खडा गरिँदैछ ।’

यस्तै पार्टी समायोजनमा भएको ढिलाइलाई पनि इतर पक्षले आशंकाको दृष्टिकोणबाट हेरेको छ । नयाँ संविधानअनुसार पार्टी संगठनको समायोजनका लागि राधेश्याम अधिकारीको संयोजकत्वमा समिति गठन भई गत कात्तिकबाटै काम सुरु गरिएको थियो ।

नेता केसीका अनुसार समायोजनका क्रममा उत्पन्न हुने सबैखाले विवादलाई केन्द्रमा राखेर पार्टीले निर्देशिका बनाएको थियो । तर अहिलेसम्म पनि समायोजनका काम नसनु आफ्ना मान्छे ल्याउने नितका जोडिएको केसीको आरोप छ ।

केसी भने, ‘प्रदेश २ मा समायोजन गराइएको छैन । समायोजन नगराउँदा आफूले तेकेर मान्छे ल्याउन पाइयो । त्यसैले समायोजन गरिएको छैन।’  समायोजनका काम नहुँदा २ नम्बर प्रदेशका ८ जिल्लासहित १४ जिल्लामा सदस्यता वितरणको कार्य अझै अन्योलमा छ । 

देउवाकै गृह जिल्ला डडेलधुरामा क्रियाशील सदस्यता नदिइएको विषयले आशंका उब्जाएको केसीको भनाइ छ । उनले भने, ‘प्रदेश दुईमा अहिलेसम्म समायोजन नहुँदा पार्टी सदस्यता नि भएको छैन । समयोजन सकिएका केही जिल्लामा पनि पार्टी सदस्यता दिइएको छैन । डडेलधुराको पार्टी सभापतिलाई सक्रिय सदस्यता दिइएको छैन । सुलुखुम्बु जिल्लामा पनि पार्टी सदस्यता दिइएको छैन । काभ्रेमा पनि दिइएको छैन । यसले पार्टी कब्जाको नियत प्रस्ट्याउछ ।’ 

रसुवामा नेपाली काँग्रेसको साविकमा कायम रहेको संख्या भन्दा बढी सदस्य अर्को पार्टीबाट आएको भनी क्रियाशील सदस्य वितरण गर्न खोजिएको पौडेलको आशंका छ ।

नेता शेखर कोइरालाले भने, ‘रसुवामा नेपाली काँग्रेसको साविकमा कायम रहेको संख्या भन्दा बढी सदस्य अर्को पार्टीबाट आएको भनी क्रियाशील सदस्य बितरण गर्न खोजिएको छ । धेरै जिल्लामा समायोजन अझै बाँकी छ र अन्य जिल्लामा पनि यस्ता कार्य दोहोरिन सक्छ । यसमा सबै साथीहरूलाई चनाखो रहँदै यस्ता गलत क्रियाकलाप तुरुन्त रोक्न मेरो आग्रह गर्दछु ।’ 

रसुवामा तत्कालीन नयाँ शक्ति पार्टीबाट काँग्रेस प्रवेश गरेकाहरुको नामा मनोमानी ढंगले सदस्यता वितरण भइरहेको कोइरालाको भनाइ छ । नेता केसीले पनि समायोजनका नामा बाहिरबाट हजारौँ सक्रिय सदस्य दिने र त्यहाँका बास्तविक काँग्रेसलाई अल्पमतमा पार्ने काम भइरहेको बताए । 

पार्टीका क्रियाशील सदस्यता स्थानीय तहका मतदाता हुन् । तीनैबाट निर्वाचित हुँदै महाधिवेशन प्रतिनिधि छानिन्छन् । त्यसैले क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्यदेखि नै मुख्य शीर्ष नेताहरुबीच रस्साकसी जारी छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार गत फागुनदेखि अहिलेसम्म ६३ जिल्लामा करिब ६ लाख क्रियाशील सदस्यताको फाराम वितरण भएको छ ।

क्रियाशील सदस्यता वितरण वडा कार्यसमितिको सिफारिसमा पालिका, प्रदेश हुँदै प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले गर्छ । केन्द्रबाट क्रियाशील सदस्यताको फाराम लैजाने र वडाहरूलाई दिने काम भने जिल्लाले गर्छ । जिल्लाले नै सदस्यताको सूची माथि पठाउने गर्छ । त्यो काम सुरु भएसँगै काँग्रेसमा रडाको मच्चिन थालेको छ ।

गत असार २२ गतेकै केन्द्रीय कार्यसमितिले साउन १० गतेसम्म समायोजनको काम सक्ने, सदस्यता वितरण र नवीकरणको कार्य सम्पन्न गर्ने समय साउन मसान्तसम्म तोकिएको थियो । भदौ मसान्तसम्म सबै जिल्लाले क्रियाशील सदस्यता सूची केन्द्रमा पठाउने कार्यतालिका थियो ।

क्रियाशील सदस्यता वितरणमै धेरै खालका विवाद सुरु भएको छ । संस्थापन इतरले सदस्यता विरतणमा धाधली गर्न खोजिएको आरोप लगाउन थालेको छ । यता सदस्यता छनविनका लागि पार्टीले अहिलेसम्म पनि समिति गठन गरेको छैन । 

कार्यतालिकाअनुसार कात्तिक मसान्तभित्र क्रियाशील सदस्यताविरुद्ध उजुरी र पुनरावेदन गर्ने समय तोकिएको छ । मंसिर १५ भित्र केन्द्रीय छानबिन समितिले सदस्यताको टुंगो लगाएर मंसिर २५ गतेभित्र सम्पूर्ण सूची केन्द्रीय सभापतिलाई बुझाउनुपर्ने तालिका छ । त्यसपछि मात्र काँग्रेसमा अधिवेशन सुरु हुन्छ । तर नेताहरु सुरुमै विभाजत हुने संकेत देखिएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको असार २२ गतेको बैठकले आगामी फागुन ७–१० सम्म केन्द्रीय महाधिवेशन हुने निर्णय लिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप