शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यका बाहिरका होटल व्यवसायीले पनि माग्न थाले ‘पे क्वारेन्टिन’ को अवसर

सोमबार, ०८ भदौ २०७७, १७ : १४
सोमबार, ०८ भदौ २०७७

काठमाडौं । काठमाडौंका केही होटललाई सरकारले ‘पे–क्वारेन्टिन’ घोषणा गरेसँगै उपत्यका बाहिरका होटल व्यवसायीहरुले समेत त्यस्तो अवसरको माग गरेका छन् ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका क्रममा चार महिनासम्म लकडाउन र हाल संक्रमण फैलावटका हिसाबले ‘हटस्पट’ मानिएका स्थानमा निषेधाज्ञा जारी गरिएका कारण पर्यटकीय गतिविधि ठप्प छ । पर्यटकीय गतिविधिका अभावमा सुनसान रहेका होटलहरु ‘पे क्वारेन्टिन’ का रुपमा प्रयोग गर्दा राहत पुग्ने व्यवसायीहरुको भनाइ छ । यद्यपी विभिन्न कारणले उपत्यकाबाहिर त्यस्तो सुविधा सहज नभएको जानकारहरु बताउँछन् । 

गत बिहीबार सरकारले विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी राख्ने निर्णय गर्दै काठमाडौं उपत्यकामा रहेका तारे होटलदेखि पर्यटनस्तरका होटललाई सशुल्क क्वारेन्टिन तोकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत शुक्रबार विदेशबाट उद्धार गरी ल्याइएकाहरुलाई राख्ने होटलको दरशुल्कसहित नाम लिस्ट नै सार्वजनिक गरेको थियो ।
उपत्यका बाहिरका होटल व्यवसायीहरुले आफूहरुलाई पनि यस्तो सुविधा दिइनुपर्ने माग गरेका हुन् ।

होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश २ सिमराले जिल्लाभित्रका होटल तथा रिसोर्टहरुलाई क्वारेन्टिन तथा आइसोलेसनका लागि उपलब्ध गराउने गरी खाका नै प्रस्तुत गरेको छ । 
जितपुर सिमराका होटल व्यवसायीहरुले आफुहरु क्वारेन्टिनका लागि होटल उपलब्ध गराउन तयार भएको भन्दै आवश्यक स्वीकृति दिन सरकारसँग माग गरेका हुन् ।

‘शंकास्पदलाई मात्र होइन संक्रमितलाई नै आइसोलेसन उपलब्ध गराउन तयार छौं,’ जितपुर सिमरा होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष तथा २ नम्बर प्रदेश होटल तथा पर्यटन व्यवसायी महासंघका महासचिव मोहन शर्मा लामिछानेले भने, ‘हामी सुलभ रेटमा उत्कृष्ट आइसोलेसन सेवा उपलब्ध गराउछौं । यो हाम्रो कमिट्मेन्ट भो ।’

अध्यक्ष लामिछानेका अनुसार अहिले होटल तथा पर्यटन व्यवसायी संघ सिमराले जितपुर सिमरा उपमहानगरपालिका भित्रका होटल, लज तथा रिसोर्टहरुलाई क्वारेन्टिनको रुपमा विकसित गर्दैछ । त्यतिमात्र नभएर, होटल व्यवसायीहरुले आफ्नो होटललाई आइसोलेसनकै रुपमा समेत उपलब्ध गराउने गरी तयारी थालेका छन् । 

संघले प्रदेश २ होटल तथा पर्यटन व्यवसायी महासंघको सहकार्यमा प्रदेश सरकार र स्थानीय तहसँगसमेत यस विषयमा लविङ्ग गरिरहेको छ । यसमा जिल्ला प्रशासन तथा प्रदेश सरकारले समेत सकारात्मक संकेत देखाएको लामिछानेको भनाइ छ ।

होटल क्वारेन्टिन तथा आइसोलेसनको दर(रेट) तोकियो
सरकारले उपत्यका बाहिरका होटललाई क्वारेन्टिन बनाउने या नबनाउने भन्नेबारे निर्णय नगरे पनि होटल तथा पर्यटन व्यवसायी संघ जितपुर सिमराले भने जिल्लाभित्रका होटल, लज तथा रिसोर्टहरुको क्वारेन्टिन तथा आइसोलेसनको दर रेट सार्वजनिक गरिसकेको छ ।

उक्त दर रेट अनुसार १४ दिनको क्वारेन्टिनका लागि अट्याच बाथरुमसहितको एउटा कोठा एक व्यक्तिका लागि अधिकतम एक दिनको १ हजार ८ सय रुपैयाँ तोकिएको छ भने अट्याच बाथरुमसहित डिलक्स रुम(एसी) सहितको एउटा कोठाका लागि प्रतिदिन एक जनाले अधिकतम २ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । 

सामान्य कोठाहरुका लागि भने दैनिक एक हजार रुपैयाँसम्ममा उपलब्ध गराईने अध्यक्ष लामिछानेको भनाइ छ । एक व्यक्ति, एक कोठाको अवधारणा अनुसार प्रतिदिनको दर रेट कायम गरेको प्रष्ट पार्दै उनले दुई–तीन जनासमेत एकै कोठामा बस्न चाहे सोहीअनुसार दर रेट कायम गरिने बताए ।

यसरी होटल क्वारेन्टिन तथा आइसोलेसनमा रहने व्यक्तिहरुलाई खाना मापदण्डअनुसार ४ पटक, चिया, तातो पानी, बेसार पानी लगायत पौष्टिक आहारहरु खुवाइने अध्यक्ष लामिछानेले बताए । 
कोभिड–१९ संक्रमण रोकथाम तथा उपचारका लागि प्रदेश २  भित्रका ८ वटै जिल्लाका होटलहरुलाई व्यवस्थित क्वारेन्टिन तथा आइसोलेसनको रुपमा उपलब्ध गराउने होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ को योजना रहेकोमा जितपुर सिमराले जिल्लाभित्रका होटलहरुका लागि हाल दररेट सार्वजनिक गरिएको अध्यक्ष लामिछानेको भनाइ छ । जिल्लाभित्रका सरोकारवाला निकायहरु, जिल्ला प्रशासन, उद्योग वाणिज्य, पर्यटन व्यवसायी, स्थानीय वुद्धिजिवी समेतको सहभागितामा उक्त दररेट कायम गरिएको उनले बताए । 

यता जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक गरेको होटल क्वारेन्टिनको विवरण अनुसार पाँचतारे होटलमा बस्न चाहनेले एक दिनको नौ हजार रुपैयाँसम्म तिर्नुपर्नेछ भने चार तारेमा बस्नेले प्रतिदिन ६ हजार, तीनतारेमा बस्नेले ५ हजार ५ सय, दुई तारेमा बस्नेले ३ हजार ५ सय, एक तारेमा बस्नेले २ हजार ५ सय र पर्यटकस्तरीय होटलमा बस्नेतले प्रतिदिन १ हजार ८ सय रुपैयाँसम्म तिर्नुपर्छ ।
तर होटलमा बस्ने क्षमता नभएकाहरुका लागि भने सरकार आफैले व्यवस्था गर्नेछ ।

विदेशबाट ल्याइएकालाई सम्बन्धित क्षेत्रकै होटलमा लैजान माग
सरकारले विदेशबाट ल्याइने नागरिकलाई राख्नका लागि काठमाडौं उपत्यकाका होटलहरुलाई ‘पे क्वारेन्टिन’ बनाउने निर्णय गरेको अवस्थामा होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ ले भने सम्बन्धित क्षेत्रका नागरिकलाई सोही क्षेत्रका होटल क्वारेन्टिनमा जान मिल्ने गरी सरकारले व्यवस्था गरिदिनु पर्ने बताएको छ । 

विदेशबाट उद्धार गरि ल्याएका नेपालीहरुले चाहेको खण्डमा आफ्नै क्षेत्रको होटल क्वारेन्टिनमा जान पाउनु पर्ने र त्यसका लागि सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नु पर्ने लामिछाने बताउँछन् ।
‘विदेशबाट आएका सबै नेपालीहरुले काठमाडौंका महँगा होटलहरु धान्न सक्दैनन् । तिनिहरुको रुची काठमाडौं नहुन पनि सक्छ । यस्तो अवस्थामा ती व्यक्तिहरुलाई सरकारले आफ्नै क्षेत्रका स्थानीय होटल क्वारिन्टिनमा जान पाउने व्यवस्था गरिदिनुपर्छ,’ अध्यक्ष लामिछानेले भने, ‘यस्तो अवस्थामा सरकारले बाध्यकारी नीति लाद्नु हुँदैन ।’

जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ लगायत उद्योग वाणिज्य संघ, स्थानीय सरोकारवाला पक्षहरुको संयुक्त भेलाले जितपुर सिमरा उपमहानगरपालिका र प्रदेश २ सरकारलाई ७ बुँदे ध्यानाकर्षणपत्र समेत बुझाएको छ ।

यस्तो छ ध्यानाकर्षण पत्र
१) जितपुर सिमराभित्र देखिने कोभिड–१९ पोजेटिभ संक्रमित बिरामी राख्न यसै उपमहानगरभित्रै पायक पर्ने स्थानमा आइसोलेसन सेन्टर तयार गर्ने,
२) नेपाल सरकारले तोकेको मापदण्ड पूरा भएमा होम आइसोलेसनलाई पनि प्राथमिकता दिने,
३) यस पालिकाभित्र रहेका होटल ब्यवसायीसँग समन्वय गरि होटलहरुलाई पनि पे क्वारेन्टिन अथवा आइसोलेसनको रुपमा ब्यवस्थापन  गर्ने,
४) आइसोलेसनमा रहेका कोरोना पोजेटिभ बिरामीहरुलाई    स्वास्थ्यकर्मी उपलब्ध गराउने र पर्याप्त सुरक्षाका साथै स्वास्थ उपकरणसहित स्वास्थ्यकर्मीको ब्यवस्थापन गर्ने,
५) सामान्य  रुघाखोकी,  ज्वरो, झाडापखाला  लगायत उपचार  नपाएर समस्यामा परेका बिरामीहरुको स्वास्थ्यमा पहुच पु¥याउने,
६) सिमरामा अवस्थित  क्वारेन्टिन  सेन्टरलाई  आइसोलेसनको सुविधा हुनेगरी आइसोलेसन केन्द्रको रुपमा स्तरोन्नति  गर्ने, र
७) प्रदेश सरकारले  घोषणा गरेको ट्रमा सेन्टर पथलैयामा अवस्थित स्वास्थ्य तालिम केन्द्रलाई  पीसीआर मेसिनसहित ल्यावको ब्यवस्था गर्ने र जितपुर सिमरा उपमहानगरपालिका भित्र   पीसीआर टेस्टको दायरा फराकिलो बनाउँदै बढीभन्दा बढी जनताहरुको पीसीआर टेस्टको आवश्यक  ब्यवस्थापन  गर्ने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप