केन्द्रीय संस्करण
अन्तरवार्ता

‘जतिसुकै ढाकछोप गरे पनि विवादले नेकपालाई ठुलो क्षति भयो’

निराशा, खिन्नता र शङ्का उब्जियो : नेकपा नेता खतिवडासँगको अन्तरवार्ता

person explore access_timeभदौ ८, २०७७ chat_bubble_outline0
फाइल तस्बिर

विरोध खतिवडासत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सङ्घीय संसदका सदस्य हुन् । हक्की स्वभावका खतिवडा २०४८, २०५१, २०५६, २०६३ र २०७४ मा गरी ५ पटक सांसद भइसकेका छन् । खतिवडा विगत केही महिनायता पार्टीमा बढेको विवादले ठूलो क्षति पुगेको भन्दै त्यसको परिपूर्ति गर्न अब अभियान नै चलाएर देशव्यापी कार्यक्रम गर्न जरुरी रहेको ठान्छन् । नेकपाको नेतृत्वमा बनेको सरकार, कम्युनिस्ट नेतृत्वको सरकारका कामकारबाही, जनताका अपेक्षा र पार्टीभित्र देखिएको विवाद लगायतका विषयमा रातोपाटीले खतिवडासँग कुराकानी गरेको छ ।  
प्रस्तुत छ, खतिवडासँग विभिन्न विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पछिल्ला केही महिना आन्तरिक विवादमै अल्झियो । यसले पार्टी र सरकारलाई कति असर गर्‍यो ?
पार्टीमा विवाद हुन्छ, विभिन्न विषयमा मत मतान्तर हुन्छ । त्यसमाथि भर्खर एकता भएको पार्टीमा यो सामान्य हो भनेर बाहिर खपतका लागि भन्ने कुरा आफ्ना ठाउँमा छन् । तर साँच्चिकै पार्टीको आन्तरिक जीवनमा विवाद बाहिरै छरपस्ट आयो । पार्टी नै फुट्ने तहसम्म पुगेको थियो भन्ने विभिन्न अभिव्यक्ति र क्रियाकलापका घट्नाक्रमहरू पनि भए । स्वभावैले एकता गरेर सङ्गठनहरू राम्रोसँग चलेर जनताका बीचमा जान पाउँदा त्यसमा हुने ऊर्जा, फूर्ति र कार्यकर्तादेखि नेतासम्ममा हुने जाँगरमा यो विवादले स्खलन ल्यायो । त्यसको परिणाम तल तलका मतदातासम्म पनि एक किसिमको निराशा, खिन्नता र एउटै पार्टीभित्र पनि को कता लागेको छ भन्ने शङ्का उब्जायो । यस्ता कुरा जतिसुकै ढाकछोप गरे पनि यसले नेकपा पार्टीलाई ठूलो क्षति गर्यो । तर सम्पूर्ण क्षति हुनुभन्दा अघि नै पार्टी व्यवस्थापन गर्ने र विवाद टुङ्ग्याउने भनेर पहलकदमी भएका छन्, त्यो सकारात्मक छ । अब एकताबद्ध ढङ्गले हामी राम्रो ढङ्गले खट्यौँ र पार्टीभित्र यस्ता विवाद हुन्छन् भनेर कार्यकर्ता मतदाताहरूलाई सम्झाउन सक्यौँ भने पनि यसलाई पुर्न कम्तीमा एक वर्ष लाग्छ । 
त्यसकारण यो विवादले केही न केही जनमत या सक्रिय मान्छे अलिकति निष्कृय हुने, थप निष्कृय हुने र कतिपयलाई वितृष्णा नै भइदिने हुँदा यसको फाइदा अरू पार्टीहरूले लिने खतरा छ । त्यसका बाबजुद अहिले फेरि पार्टी ठीक ठाउँमा आउन खोजेको जस्तो देखिन्छ ।

कार्यदल गठन र त्यसले दिएको प्रतिवेदनपछि पार्टीमा सुधार आउँछ भन्ने तपाईंको सङ्केत रह्यो । तर नेता कार्यकर्तामा विवादले पैदा भएको निराशा चिर्न नेकपाले ठोस रूपमा के गर्नुपर्छ भन्ने लाग्छ ? 
पहिलो कुरा नेतृत्व तहमै प्रतिवेदन, संविधान, विधान र सम्झौतमा लेखिएका कुराहरू अक्षर हुन् । ती अक्षर व्यवहारमा कार्यन्वयन हुनुपर्छ । अर्को कुरा प्रतिवेदनमा हामी मिल्यौँ भनेर हस्ताक्षर गरे पनि मनभित्रका तुषले एकअर्काप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्दै त्यस्ता तुषहरू पूर्ण रूपमा सफा गर्नुपर्छ । त्यो सन्देश कार्यकर्ता र मतदातसम्म पुर्याउनुपर्छ । त्यसका लागि अभियान नै चलाउनुपर्ने हुन्छ । पार्टी एकता भएपछि देशव्यापी रूपमा कुनै पनि अभियान चलाइएको छैन । अघिल्लै वर्षको पुसबाट अभियान चलाउने भनिए पनि त्यो काम हुन सकेन । त्यसकारण अब यो कारणले विवाद भएको हो भन्ने कुरा देखिने गरी प्रभावकारी अभियान चलाएर कार्यकर्ताहरूमा ऊर्जा भर्नुपर्ने हुन्छ । केन्द्र, प्रदेश र जिल्ला तहको नेतृत्व जब पूर्ण ऊर्जासहित खट्छ त्यसपछि गाउँ र वडा तह पनि त्यसैअनुसार परिचालन हुन्छ । साथै प्रशिक्षण लगायतका गतिविधि गरेर निराश कार्यकर्तालाई ऊर्जा भर्नतर्फ लाग्नुपर्छ ।  


पार्टी नै फुट्ने तहसम्म पुगेको थियो भन्ने विभिन्न अभिव्यक्ति र क्रियाकलापका घट्नाक्रमहरू पनि भए । स्वभावैले एकता गरेर सङ्गठनहरू राम्रोसँग चलेर जनताका बीचमा जान पाउँदा त्यसमा हुने ऊर्जा, फूर्ति र कार्यकर्तादेखि नेतासम्ममा हुने जाँगरमा यो विवादले स्खलन ल्यायो । त्यसको परिणाम तल तलका मतदातासम्म पनि एक किसिमको निराशा, खिन्नता र एउटै पार्टीभित्र पनि को कता लागेको छ भन्ने शङ्का उब्जायो । यस्ता कुरा जतिसुकै ढाकछोप गरे पनि यसले नेकपा पार्टीलाई ठूलो क्षति गर्यो । तर सम्पूर्ण क्षति हुनुभन्दा अघि नै पार्टी व्यवस्थापन गर्ने र विवाद टुङ्ग्याउने भनेर पहलकदमी भएका छन्, त्यो सकारात्मक छ ।


प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही समयअघि वर्तमान सरकार ढाल्नका लागि विदेशी राज्यसंयन्त्र नै प्रयोग भयो भन्नुभयो । उहाँले भनेझै यो सरकार ढाल्न के विदेशी शक्ति लागेकै हो तपाईंलाई के लाग्छ ?

सरकार ढाल्न विदेशी शक्ति लागे भनेर प्रधानमन्त्रीले इमर्जेन्सीमा प्रयोग गरेको शब्द जस्तो लाग्छ । पार्टीमा बहुमत आयो । बहुमत आएपछि संसदीय दल ठूलो बन्यो । पार्टी ठूलो भएकाले हाम्रो नेता प्रधानमन्त्री बन्नुभयो । त्यसपछि पार्टीमा झगडा भयो । कोहीले राजीनामा पनि माग्नुभयो होला । त्यसतर्फ अहिले म जान चाहान्न । तर मेरो छोटो जबाफ बन्दा पार्टीले बनाएको हुने, हामी आफैले बनाएको र स्वनिर्णयले बनाएको हुने अनि हट्दा विदेशीले भनेर भन्ने दोहोरो मापदण्ड हुँदैन । कि बनाउने बेलामा पनि विदेशीले बनाएको थियो भनेर भन्नुपर्यो अनि स्वतः हटाउन पनि लाग्यो भन्न सकियो नत्र त्यस्तो कुरा गर्नु ठीक होइन । 

भनेपछि नेतृत्वबाट बेलाकुबेला आउने यस्ता अभिव्यक्ति आफ्नै गल्ती ढाकछोप गर्न आउँछन् भनेर बझ्दा हुन्छ ? 
कहिलेकाहीँ पार्टीमा झगडा वा विवाद हुँदा उत्तेजना आउँछ । अपशब्दहरू पनि आउँछन् । भोलि फेरि भेटघाट गरेर सँगै बस्नुपर्छ भन्ने कुरा बिर्सिन्छन् । त्यतिसम्म झगडा गरौँ, विवाद गरौँ ताकि भोलि फेरि एकै ठाउँमा बैठक बस्ने र एउटै अभियानमा हिँड्न सक्ने ठाउँ बाँकी राखेर मात्रै एकअर्कालाई घोच्नेपेच्ने, ठेल्ने र आरोप लगाउने काम गर्नुपर्छ । अब के गर्ने त ? हिजो लगाएका आरोपहरू ? यसले उसले म भन्दिनँ तर जजसले लगाए पनि अब के भन्ने त ? एकता भएपछि त्यही सरकारले राम्रो काम गरेको हुने ? हिजोसम्म नराम्रो काम गरेको हुने, टुङ्गो नलागुन्जेल भारतीय दलाल हुने टुङ्गिनेवित्तिकै राष्ट्रभक्त हुने ? रातारात यस्तो हुन्छ हुँदैन । त्यसकारण ती उत्तेजनाका अभिव्यक्तिहरू हुन् त्यसलाई नियन्त्रण र सुधार गर्दै लानेबाहेक उपाय केही छैन । 

तपाईं सङ्घीय सांसद हुनुहुन्छ, आफ्नो पार्टीकै नेतृत्वमा रहेको सङ्घीय सरकार र प्रदेश सरकारका काम कारबाहीका आधारमा तपाईंलाई आगामी चुनावमा जनताले कस्तो मूल्याङ्कन गर्लान् भन्ने ठान्नुभएको छ ? सङ्घीय र प्रदेश सरकारका कामबाट तपाईं सन्तुष्ट हुनुहुन्छ ?
समस्या यसमा छ । जनताले फेरि हामीलाई किन मत दिने भन्ने कुरामा त हाम्रा घोषणापत्र छन् । घोषणापत्रमा भनिएका कति काम पूरा भए कति भएनन् ? भएनन् भने किन भनेर ढाँटछल नगरी इमान्दारपूर्वक जनतालाई भन्नुपर्छ । १५ वर्षपछि गर्ने काम पनि चुनावका बेला हामीले अहिल्यै गर्छौं भन्ने जुन हिसाबले बोल्यौँ । त्योबारे बुझाउन सक्नुपर्छ । मतदातामाझ सकारात्मक कुरा लगे सकारात्मक नै हुन्छ नकारात्मक लगे त्यही फैलन्छ । हाम्रो आन्तरिक जीवन स्वच्छ र सफा भयो भने जनतामा पनि सकारात्मक कुरा नै प्रवाह हुन्छ । त्यसका नीति निमय, सरकारका काम सबै पर्छन् । कारणबस असमझदारी बढ्यो भने पार्टी वा सरकारका नकारात्मक कुरा खोज्ने र राम्रा पक्षलाई छोपिदिने अवस्था आउँछ । त्यसकारण पार्टी र सरकारबीच समन्य हुनुपर्छ भनिएको हो । दलीय व्यवस्थामा पार्टी प्रधान हुन्छ र विधि विधानअनुसार चल्नुपर्छ भनिएको हो । हरेक मुख्य विषयमा पार्टीमा छलफल हुनुपर्यो । नेताहरूबीच एकअर्कामा विश्वासको वातावरण बन्नुपर्यो । भर्खर पार्टी एकता भएको छ, त्यसको स्पिरिटलाई सबैले मनन र एकअर्काको भावनाको कदर गर्नुपर्यो । यो ढङ्गले हामी तलसम्म पुग्न सक्यौँ भने मात्रै हामी र हाम्रो पार्टी पहिलेको अवस्थामा पुर्याउन सक्छौँ र जनताले पनि विश्वास गर्छन् । सरकारका कामबाट सन्तुष्ट हुने नहुने भन्ने प्रश्न अनन्त हो । अमेरिका र जापानमा पनि विकास टुङ्गिएको छैन । चीन र भारत पनि विकास नै भनिरहेका छन् । हाम्रा आवाश्यकता र आकाङ्क्षलाई मात्रै हेर्यौँ भने पूर्ति हुने कुरै भएन तर हामीसँग भएका स्रोत, साधन, सामग्री र बजेटलाई सदुपयोग गर्दै त्यो जनताको बीचमा कति पुर्यायौँ भन्ने मूल प्रश्न हो । हाम्रो स्रोत साधनको हिसाबले हेर्दा जे काम भइरहेका छन् । तर समन्वयको कमीले ती चिजहरू बाहिर आउन सकेका छैनन् । त्यसमा केही विवादास्पद कुरा पनि भएका छन् । ती मिडियामा पनि आइसेका छन् । विवादकै कारण केही विधेयक र अध्यादेशहरू फिर्ता पनि भएका छन् । यो किन भयो भन्दा पार्टीमा हुने सरसल्लाहको कमीले नै हो । त्यसैले अब हामी फेरि ठीक ट्«याकमा आउने प्रयत्न गरिरहेका छौँ । सम्भवतः आउँदा दिनमा यस्ता समस्या नरहलान् । 


घोषणापत्रमा भनिएका कति काम पूरा भए कति भएनन् ? भएनन् भने किन भनेर ढाँटछल नगरी इमान्दारपूर्वक जनतालाई भन्नुपर्छ । १५ वर्षपछि गर्ने काम पनि चुनावका बेला हामीले अहिल्यै गर्छौं भन्ने जुन हिसाबले बोल्यौँ । त्योबारे बुझाउन सक्नुपर्छ । मतदातामाझ सकारात्मक कुरा लगे सकारात्मक नै हुन्छ नकारात्मक लगे त्यही फैलन्छ ।


अहिलेको सरकार मिलिजुली सरकार पनि होइन । मिलिजुली सरकार रहँदा जेजे गर्न नसकेपछि त्यसको थाप्लोमा हाल्न सकिन्छ किनभने अल्पमतमा थियौँ, गर्न सकेनौँ भन्न मिल्छ तर अहिले त्यसो भन्न सक्ने अवस्था छैन । हामीले २०५१ सालमै अल्पमतको सरकार चलाएको हो । तर सामान्य चिया चौतारी, मेलापात लगायतमा पनि सरकारले राम्रो काम गरिरहेको छ भन्ने टिप्पणी सुनियो भने हामी ठीक ठाउँमा छौँ भनेर बुझ्नुपर्छ । हैन त्यस्ता ठाउँमा पनि आलोचना, टिप्पणी र असन्तुष्टि बढी छ भने हामी कहीँ न कहीँ चुकिरहेका छौँ भनेर मूल्याङ्कन गर्नुपर्छ । त्यसकारण यो सरकारले गरेका काम जनतामाझ लान सकेका छैनौँ कि जनताको अपेक्षाअनुसार काम गर्न सकेका छैनौँ भनेर बुझ्नुपर्छ । जनताले कति आशा गरेका थिए वा हामीले कति आशा जगाएका थियौँ ? के कारणले हो भन्न सक्दिनँ तर जनता खुशी छैनन् । 

विभिन्न काण्डमा सङ्घीय सरकार जोडिएको छ, खासगरी सुन काण्ड, वाइड बडी काण्ड, बालुवाटार जग्गा काण्ड, यती काण्ड, ओम्नी काण्ड, ७० करोड काण्ड । सरकारको आलोचनाकै लागि यी काण्डहरू जबर्जस्त उचालिएका हुन् या यी काण्डका बारेमा प्रभावकारी छानबिन र कारबाही गर्न सकेको भए यसले सरकार र पार्टीलाई फाइदा पनि हुन्थ्यो ?
हावा नचली पात हल्लिँदैन भन्ने नेपाली उखानै छ । आगो नलागी धुवाँ देखिँदैन । हजारौँ काम भएका छन् तर सबै काम त विवादमा आएका छैनन् । हजारवटा पुल बन्दा दुईवटा पुलमा विवाद आउला, हजारवटा सडक बन्दा दुईवटाको पिच भत्कियो भनेर फोटा छापिएलान्, सयौँ कानुन बन्दा एक दुईमा विवाद आउँछ । यसको मतलब धेरै त राम्रा नै काम भएका छन् भनेर बुझ्न सकिन्छ । जहाँसम्म तपाईंले केही काण्डहरूको कुरा गर्नुभयो ती कैयौँ काण्ड यो सरकार बन्नुभन्दा पहिलाका र अहिले बाहिर निस्केका पनि छन् । उदाहरणकै लागि सुन र वाइडबडी काण्ड । ती अघिल्लै सरकारहरूका पालाका हुन् । तर ओम्नी, यती भने पछि निस्केका हुन् । ती पनि अख्तियारल गायतका संवैधानिक अङ्गहरूले छानबिन गरिरहेका छन् । 

तर पछिल्लो पटक आएका काण्डहरूबारे पनि सरकार वा सम्बन्धित निकायले चाँडो छिनोफानो त गर्न सकेन । यसले सरकार आफै यस्ता काण्डहरूको संरक्षक बनेको त होइन भनेर प्रश्न गर्ने ठाउँ त रह्यो नि ? 
म संसदीय समितिमा पनि भएकाले केही ती काण्डहरूको अध्ययन गर्ने मौका पाएँ । हाम्रो समितिमा यती प्रकरणको कुरा त आएको छैन । ओम्नी समूहको आएको छ । त्यसमा निर्णय प्रक्रियामा सुरुबाटै अनधिकृत व्यक्तिहरूलाई सामेल गराइएको छ । कानुनले नचिनेका व्यक्तिहरूलाई अगुवा बनाएर निर्णय गर्ने र कानुनले चिनेका व्यक्ति उसको मातहतमा अतिथि भएर बस्ने र नचिनेको व्यक्ति संयोजक भएर निर्णय गर्ने यस्ता ढङ्गबाट काम भएकाले विवाद बाहिर आएको कागजपत्रहरूबाट देखिन्छ । साथै जसले कामको जिम्मा लिएको थियो, उसले जिम्माअनुसार काम गर्न नसकेको देखिन्छ । यी कुराहरूले गर्दा केही प्रश्नहरू उठ्न पुगेका छन् । त्यसकारण उठेका प्रश्नहरूका बारेमा दुई तीन महिनामै टुङ्ग्याइदिएको भए दुईवटा फाइदा हुन्थ्यो । किनभने दोषी देखिए ऊ कारबाहीमा पर्छ र पोजेटिभ म्यासेज जान्छ । निर्दोष नै रहेछ भने पनि उसले लामो समय अनावश्यक तनाव खेप्नुपर्दैन । तपाईंले भनेजस्तो कैयौँ कुरा तत्कालै एक्सन लिन सकिने पनि भएका छैनन् । सञ्चारमन्त्री बाँस्कोटाको हकमा राजीनामा गर्न लगाइएको जस्तै पनि गर्न सकिन्थ्यो । यत्रो ठूलो पार्टीमा काम गर्ने क्रममा गल्ती हुनसक्छ तर गल्ती भयो भनेर थाहा पाएपछि स्वीकार गर्दा त्यसले राम्रो सन्देश जान्छ । त्यसरी स्वीकार गर्दा जनताले पनि क्षमा दिन्छन् । तर जबरजस्ती देखिँदादखिँदै पेल्न, ठेल्न र जबरजस्ती गर्न खोजियो भने विस्फोट भएर आउँछ । 

कोरोना महामारी नियन्त्रणकै सवालमा सरकारले जति काम गर्नुपर्ने थियो त्यति गर्न नसकेको भनेर जनगुनासो सुनिन्छ । तपाईं एउटा सत्तारुढ दलको सांसद के सरकारले कोरोना नियन्त्रणमा गरेको पहल चित्तबुझ्दो छ ? 
जति गर्नुपथ्र्यो त्यो हुन सकेन । मैले पनि यस्तो गुनासो नसुनेको होइन । सरकारको प्रयास यसमा पर्याप्त छैन । किनभने युरोप, अमेरिका र इटलीले त प्रयाप्त गर्न सकेका छैनन् । हामीले पर्याप्त भन्यौँ भने त्यो झुट हुन्छ । तर चीनको उहानमा सङ्क्रमण देखिएको भन्दा २ महिनापछि हामीकहाँ देखियो । त्यो दुई महिनाको तयारी अवधि हामीले दुरुपयोग गर्यौँ । त्यसपछि बल्लबल्ल गरिएका तयारीहरू पनि कम आकलन गरेर गर्यौँ । अहिले हामी जुन स्केलमा पुगेका छौँ त्यसलाई कम आँक्दा अझै काहा पुगिन्छ भन्ने अनुमान लाउन सकेका छैनौँ । त्यसमा त्रुटि भएको छ । अर्को कुरा जेजति खर्च गर्यौँ त्यो पारदर्शी ढङ्गले गरेनौँ जसले गर्दा विवाद आयो । अर्को कुरा अहिले भ्याईनभ्याई भ्यान्टिलेटर, आईसीयू, अस्पताल सुधार, निजी अस्पताललाई प्रयोग पहिला पनि हुनसक्थे । त्यसमा ध्यान दिइएन । कुनै पनि विषयको व्यवस्थापन एक महिनाअघि गर्नु र पछि गर्नुमा त्यसको प्रभावकारितामा फरक पर्न जान्छ । किनभने व्यापक आलोचना भइसकेपछि गर्यो भने पनि धन्यवाद पाउन मुस्किल पर्छ । 

सरकारले कोरोना नियन्त्रण गर्न १२ अर्ब खर्च गरिसकेको बताइरहेको छ । तर यति धेरै रकम खर्चिंदा मुलुकमा एउटा पनि भेन्टिलेटर थपिएको छैन, भनेपछि त स्वाभाविक प्रश्न उठ्छ नि होइन ? 
अहिले प्रविधि धेरै अघि छ । यदि देशभरको डाटा ल्याउ भनेर भन्यो भने एक घण्टामा दिन सक्छ । अथवा प्रतयेक दिन जहाँ जेजे खर्च गर्छ त्यो नेटमार्फत अपडेट गरेर एक सातामा केन्द्रले सार्वजनिक गर्नसकेको भए पारदर्शितामा प्रश्न उठ्ने थिएन । हो, यसमा सक्ने काम पनि नगरेको देखियो । जसले प्रश्न गर्न सजिलो बनाइदियो । १२ अर्ब एकैचोटि भन्दा धेरै हुन्छ । तर त्यसबाट व्यक्तिमा पुग्दा त एक लाख पुग्ला अनि उसले प्रश्न गर्छ, अरू खोइत ? अझै समय गइसकेको छैन । अहिले त १२ अर्ब मात्रै खर्च भएकोे छ, यस्तै रहे अर्को तीन महिनामा अरू २४ अर्ब खर्च होला । 


पार्टी विधि विधानअनुसार चल्यो भने स्थायी पनि हुन्छ र सुहाउँदो पनि हुन्छ, हैन फेरि तपाईंले भनेजस्तै टार्ने, झार्ने, टाल्नेतिर मात्रै गइयो भने तीन वा ६ महिनामा फेरि ढल्छ । त्यसकारण हामी आफूले जेजे बनाएका छौँ त्यो आफूले बनाएको अनुशासनको सीमाभित्र बस्नुपर्छ भनिएको हो । आफूले बनाएको संविधान  र विधानलाई मान्नु पर्यो । त्यसो गर्दा मात्रै हामी ठीक ठाउँमा हिँड्छाैँ ।  



फेरि पार्टीकै कुरा । अहिले पार्टी विवाद मिलाउन गठित कार्यदलको प्रतिवेदनअनुसार सहमतितिरै अघि बढ्ने सङ्केतहरू देखिएका छन् । सधैँ सहमतिबाटै अघि बढ्ने हो भने विधि, विधान र पद्धतिको कुरा किन गर्ने ? 
यसमा दुईवटा कुरा छ । हामी ढुङ्गालाई ठाकठुक पारेर देउता बनाउँछौँ । मन्दिर बनाएर अबिर लगाइदिन्छौँ । त्यसपछि भोलिपल्टबाट त्यही ढुुङ्गाबाट डराएर माग्दै हिँड्छौ । त्यस्तै हो यो संविधान, कानुन र विधि विधान भन्ने पनि । यो हामीले नै बनाएका हौँ । नत्र मेची– महाकालीदेखिका मानिस नेकपा, काँग्रेसमा कसरी आइपुगे ? यसको अर्थ त्यही विधि विधानले हामीलाई एकै ठउँमा ल्याएको हो नि । त्यसकारण पार्टी विधि विधानअनुसार चल्यो भने स्थायी पनि हुन्छ र सुहाउँदो पनि हुन्छ, हैन फेरि तपाईंले भनेजस्तै टार्ने, झार्ने, टाल्नेतिर मात्रै गइयो भने तीन वा ६ महिनामा फेरि ढल्छ । त्यसकारण हामी आफूले जेजे बनाएका छौँ त्यो आफूले बनाएको अनुशासनको सीमाभित्र बस्नुपर्छ भनिएको हो । आफूले बनाएको संविधान  र विधानलाई मान्नु पर्यो । त्यसो गर्दा मात्रै हामी ठीक ठाउँमा हिँड्छाैँ ।  

अब सरकारलाई प्रभावकारी बनाउने भनिएको छ । त्यस क्रममा सङ्घीय मन्त्रिपरिषदका सदस्यहरूको पनि हेरफेर हुने चर्चा छ । कतिपय मानिसहरू दोहोरिएर मन्त्री भएका छन् तर तपाईं लामो समयदेखि निर्वाचित हुँदै आए पनि मन्त्री बन्ने अवसर पाउनुभएको छैन । कतै तपाईं कुनै गुटको विश्वासिलो पात्र बन्न नसकेर त होइन ? अथवा अरू केही कारण छ ? 
म दुईवटा कुरामा विश्वास गर्ने मान्छे हो । म पार्टीले मूल्याङ्कन गर्छ, मापदण्ड बनाउँछ, मानिसहरूलाई अवसर र जिम्मेवारी दिन्छ भन्नेमा विश्वास गर्छु र यो पार्टीमा लामो समयदेखि रहेको छु । हो तपाईंले भनेजस्तै म यही पार्टीबाट ४, ५ चोटि माननीय भएको मान्छे तर मन्त्री भइनँ । म पहिला माननीयमा चुनाव लड्दा बेला २, ४ कक्षामा पढ्दै गरेका मानिस एकचोटि चुनाव जित्दैमा किन मन्त्री भएँ ? मन्त्री भएकाहरू केही महिनामै किन हटे ? यस्ता कुराहरूमा पार्टीले मूल्याङ्कन र विश्लेषण गर्छ भन्ने मलाई विश्वास छ । अर्को कुरा म चरम गुटबन्दीमा विश्वास पनि गर्दिनँ । त्यसरी चरम गुटबन्दीमा नलागेपछि चाकडीमा पनि जानु परेन । त्यो पार्ट आफ्नै ठाउँमा छ । त्यो मेरो स्वाभिमानको कुरा पनि हो । त्यसले गर्दा अब पार्टीमा छलफल, निर्णय र मापदण्ड बनाएर निर्णय हुन्छ । अन्यायमा परेकाहरूलाई न्याय गर्छ भन्नेमा विश्वास गर्नुको विकल्प छैन । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.