शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञापछिको तरकारी बजार : कुनको मूल्य घट्यो, कुनको बढ्यो ?

सोमबार, ०८ भदौ २०७७, १२ : ०४
सोमबार, ०८ भदौ २०७७

काठमाडौं । तीनवटै जिल्ला प्रशासन कार्यालयले साउन ४ गतेदेखि एक साताको लागि निषेधाज्ञा जारी गरेपछि यतिबेला काठमाडौं उपत्यकामा दोस्रो चरणको ‘लकडाउन’ चलिरहेको छ । चैत ११ गतेदेखि भएको लकडाउनको समय भन्दा पनि यतिबेला मानवीय आवतजावतमा कडाइ समेत गर्दै आएको छ । 

तर यसपटकको निषेधाज्ञामा तरकारीको बजारमा भने त्यति ठूलो उतारचढाव नदेखिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । निषेधाज्ञाको अवधिमा पनि तरकारी, फलफूल र खाद्यान्न बजारमा हुने कारोबार सूचारु भएका कारण माग र मूल्यमा खासै ठूलो प्रभाव नदेखिएको समितिका प्रवक्ता विनय श्रेष्ठ बताउँछन् । 

लकडाउन भएको अघिल्लो दिन बुधबार (भदौ ३ गते) र सोमबार (भदौ ८ गते) को तुलनात्मक विवरण अनुसार पनि तरकारीको माग र मूल्यमा त्यति ठूलो उतारचढाव नभएको पाइएको छ । समितिले गरेको थोक बजार सर्भेक्षण अनुसार बुधबारभन्दा सोमबार १५ प्रकारको तरकारीको मूल्य बढेको छ । ३२ प्रकारका तरकारीको मूल्य स्थिर छ भने २० प्रकारका तरकारीको मूल्य घटेको पाइएको छ । 

समितिको सर्भेक्षणका आधारमा यसपटकको निषेधाज्ञा अवधिमा तरकारीको मूल्य र आपूर्तिमा पनि खासै ठूलो उतारचढाव नदेखिएको प्रवक्ता श्रेष्ठको भनाइ छ । यो अवधिमा देखिएको घटबढलाई उनी सामान्य मौसमी घटबढ मान्छन् । ‘मूल्य घट्ने बढ्ने त दिनदिनै भइरहन्छ, तर निषेधाज्ञाकै कारण त्यस्तो भएको देखिएको छैन, कुनैको मूल्य घटेको छ, कुनैको बढेको छ, कुनै स्थिर पनि छ, यस्तो भइरहन्छ ।’ आपूर्तिमा पनि दैनिक रुपमा केही उतारचढाव भएको देखिए पनि औसतमा त्यस्तो नरहेको उनको भनाइ छ ।  

कालीमाटी बजारमा भदौपछिको तरकारीको दैनिक आपूर्ति

कुनको मूल्य बढ्यो ? कुनको घट्यो ?
५ दिनको अवधिमा कागतीको मूल्य करिब ४८ प्रतिशतले बढेको छ । कागतीको प्रतिकेजी औसत होलसेल मूल्य सोमबार २ सय ४५ रुपैयाँ छ । भदौ ३ गते यो १ सय ६५ रुपैयाँ मात्रै थियो । त्यस्तै, स्थानीय काउली, प्याज, हरियो भिन्डि, मुला, रायो, चम्सुर, सुकेको प्याज, काँक्रो लगायतका तरकारीको मूल्य २० प्रतिशतसम्म बढेको छ । 

गोलभेँडा, फर्सी, तितेकरेला, हाइब्रिड काँक्रो, माछा, भटमासकोसा, खुर्सानी, च्याउ लगायतको मूल्य भने घटेको छ । यो अवधिमा च्याउको मूल्य सर्वाधिक ५४ प्रतिशतसम्म घटेको छ । तर, प्रवक्ता श्रेष्ठ व्यापारीहरुले स्टक क्लियर गर्न खोज्दा यसको मूल्य घटेको हुनसक्ने  बताउँछन् । 

सबैभन्दा धेरै खपत हुने आलु, गाजर, बोडी, सीमी, लौका, चिचिन्डो, फर्सी गान्टेमूला, कुरिलो जस्ता तरकारी मेवा, कटहर, नासपाती जस्ता फलफूलको मूल्य पनि स्थिर नै देखिएको छ ।  

लकडाउन अवधिमा मूल्य नबढे पनि अघिल्लो महिनाको तुलनामा भने तरकारीको मूल्य निकै आकाशिएको छ । साउन ९ गतेको तुलनमा गोलभेँडाको मूल्य २ सय ४४ प्रतिशतसम्म बढेको पाइएको छ । सबैभन्दा बढी खपत हुने आलु, प्याज, काउली, मुला, सीमी लगायत तरकारीहरुमा पनि ५० प्रतिशतको हाराहारीमा वृद्धि देखिएको छ । 
तर, समितिका प्रवक्ता श्रेष्ठ यसलाई मौसमी प्रभाव मान्छन् । बर्खे तरकारी आउने क्रम घट्दै गएको र हिउँदे तरकारी समेत आउने समय नभएकोले यो बेला तरकारीको मूल्य बढ्ने गरेको पाइएको भन्दै हिउँदे तरकारी आउन थालेपछि मूल्य घट्दै जाने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप