शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एउटा आरोपमा पक्राउ परेकालाई अर्कै अभियोग लगाइयो

झुटो प्रतिवेदन तयार गरेर मुद्दा दर्ता, एसपीको एकपछि अर्को गल्ती !
सोमबार, ०८ भदौ २०७७, ११ : ३४
सोमबार, ०८ भदौ २०७७

गत असार १५ गते दाङमा एक ‘स्वास्थ्यकर्मी’ पक्राउ परे । एक्सरे गर्न आएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ परेको खबर सनसनीरुपमा फैलियो । दाङको घोराही लुहारसुरस्थित गोर्खा पब्लिक हस्पिटलको रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका–५ निवासी २२ वर्षीय नवराज डाँगी पक्राउ परेका हुन् । 

एक नवविवाहित महिला छातीको एक्सरे गर्न आउँदा डाँगीले ती महिलालाई पुरै कपडा खोल्न लगाएर एक्सरे गरेको आरोप प्रहरीले लगायो । त्यतिबेला जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले अस्पतालमा एक्सरे गराउन गएकी महिलालाई डाँगीले संवेदनशील अंग पनि नाङ्गो गराएर एक्सरे गराएको भन्दै प्रहरीमा उजुरी परेको बताए ।

घोराही उपमहानगरपालिका– १८ निवासी ती महिलाका श्रीमानले दिएको जाहेरीका आधारमा डाँगीलाई सोही दिन बिहान अस्पताल परिसरबाट पक्राउ गरिएको प्रहरीले बताएको थियो । 

‘छातीको एक्सरे गर्नुपर्नेमा कम्मरमुनिको समेत सबै कपडा खोल्न लगाई नाङ्गै बनाएर एक्सरे गरेको भन्ने जाहेरीका आधारमा डाँगीलाई पक्राउ गर्नुपरेको हो,’ जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले पनि भनेका थिए ।


त्यतिबेला डीएसपी खड्काले डाँगीविरुद्ध कसुर बमोजिम मुद्दा चलाएर कानुनी कारवाही हुने बताएका थिए । तर, प्रहरीले श्रीमानको जाहेरीको आधारमा डाँगीलाई पक्राउ गरेको बताइरहँदा त्यो कुरा झुटो भएको आरोप लागेको छ ।

हेर्नुहोस् अभियोग पत्र


प्रहरीले आफै जाहेरीवाला बनेर उनलाई झण्डै तीनहप्ता हिरासतमा राख्यो । श्रीमानले मुद्दा दर्ता गर्ने क्रममा भने जाहेरी दिन नमानेपछि प्रहरी आफै जाहेरवाला बनेर डाँगीलाई थुनेर प्रहरीले शक्ति प्रदर्शन गरेको आरोप लागेको छ । यद्यपी ती महिलाको श्रीमानले जाहेरी नै दिएका छैनन् । 

घटनाको अन्तिम समयसम्म पनि ती महिलाको श्रीमानलाई अस्पताल प्रशासनले धम्की दिएको स्रोतले जनाएको छ । मुद्दामामिलामा जाँदा बेइज्जत हुने डरले जाहेरी नदिएको ती महिलाको श्रीमानको भनाइ छ । 

आफै पक्राउ गरेर लगेको व्यक्तिलाई दाङ प्रहरीले सार्वजनिक सञ्चारमाध्यममा आएको विषयभन्दा फरक मुद्दा लगायो । सार्वजनिक मुद्दा लगाई प्रहरीले घोराही १४ मिलनचोक नजिकै गस्तीमा रहेको प्रहरी टोलीमाथि डाँगीले वादविवाद गरी हातपातसमेत गर्न खोजेको भनेर झुटो प्रतिवेदन तयार गरेर मुद्दा दर्ता गर्यो । 

प्रतिवेदनमा वादविवाद गरी हातपात समेत गर्न खोजी राष्ट्रसेवक प्रहरी कर्मचारीको काम कर्तव्यमा बाधा पुर्याएको भन्ने उल्लेख भएको हुँदा डाँगीविरुद्ध हवल्दार डिल्ली बहादुर रानाको जाहेरी परेको बताइएको छ । 

जबकी पीडितले नै जाहेरी नदिएपछि प्रहरी आफै झुटो प्रहरी प्रतिवेदन बनाई व्यक्ति नै थुन्न र काम गरेको देखाउन गरेको गतिविधिले प्रहरीप्रति अविश्वास बढाएको छ । 

पहुँच नभएका सामान्य व्यक्तिलाई प्रहरीले दुख दिने नियतका साथ गरिएको यस्ता खाले व्यवहारले प्रहरीको काम कारवाहीप्रति आमजनमानसमा शंका उत्पन्न भएको छ । 

न्याय दिने प्रहरीले झुटो विवरण खडा गरी नागरीकलाई थुन्ने र अस्पताललाई बचाउने खेलमा लाग्दा प्रहरीको न्याय सम्पादनमा झनै अविश्वास पैदा भएको छ । 

‘सानालाई ऐन, ठुलालाई चैन’ भन्ने नेपाली उखान यतिबेला दाङ प्रहरीमा चरितार्थ भएको छ । यो मुद्दा सार्वजनिक मिडियामा आएजस्तो नभई भित्रभित्र फरक मुद्दा बनाई झुटो विवरण खडा गरी प्रहरीले काम देखाउने नाममा दुख दिएर नागरीकको विश्वास पछिल्लो समय टुटाउँदै गएको छ । 

सुरुमा सरकारी वकिल कार्यालय घोराहीमा प्रहरीले मुद्दा दर्ता गर्न खोज्दा वकिल कार्यालयले फिर्ता पनि गरिदियो । तर, प्रहरीले झुटा प्रतिवेदन बनाई आफै जाहेरवाला खडा गरेर वकिल कार्यालयमा पेश गरेर मुद्दा दर्ता गरेपछि डाँगी धरौटीमा छुटे । 

हामीले जे मिसिल तयार पारेका छौं, त्यही नै मुद्दा हो : एसपी चन्द


झुटो मुद्दाको विषयमा जिल्ला प्रहरी प्रमुख एसपी चन्दले यस्तो विषयमा प्रहरीले कानुनी कारवाही गर्नुपर्ने भएकाले यसप्रकारको काम हुने गरेको बताए । 

एसपी चन्दले भने, ‘डाँगीले प्रहरीमाथि दुर्व्यहार गरेका कारण सार्वजनिक मुद्दा चलाएका हौं । हामीले जे मिसिल तयार पारेका छौं । त्यही नै मुद्दा हो ।’

तपाईहरुले लेखेको समाचार अनुसार भएको भए हामी यतिबेला जेल गइसक्ने एसपी चन्दको भनाइ छ । मिडियामा आएको समाचारले केही असर नपार्ने समेत एसपी चन्दले चेतावनी दिए । 

फेसबुकमा लेखेको आधारमा मानवअधिकारकर्मीलाई र्याखर्याख्ती
यो प्रतिनिधिमुलक घटना मात्रै हो । यसरी प्रहरीले पक्राउ गरेर ल्याउने कतैपनि पहुँच नभएका कमजोर जनतालाई झुटो विवरण खडा गरेर फसाउने गरेको धेरैको गुनासो छ । 

प्रहरीविरुद्ध गुनासो गरेकै कारण घोराहीमा मानवअधिकारकर्मी विनोद केसीलाई पनि केही समय छलफलका लागि बोलाई प्रहरीले दुख दिने नियत राख्यो । केसीले लकडाउनको समयमा सामाजिक सञ्जालमा सामान्य नागरीकको कुरा उठाउँदा प्रहरी विरुद्ध किन लेखेको भन्दै प्रहरीले दिनभरजसो आफ्नै कार्यालयमा राखेर सोधपुछ वा छलफलका नाममा र्याखर्याख्ती पारेको बताए । 

अन्तिममा प्रहरीले संगठनप्रति गुनासो गरेकै भरमा मुद्दा नै चलाउन तयारी गरेपनि पछि प्रहरी आफै पछाडि हट्दै सामाजिक सञ्जालमा नै केसीलाई सार्वजनिक रुपमा माफी माग्न लगाइयो । 

यस्ता घटनाले दाङ प्रहरी जनताको विश्वास आर्जन गर्ने भन्दा पनि गुमाउँदै गएको छ । प्रहरीसँग वादविवाद गरेकै भरमा, सामाजिक सञ्जालमा लेखेकै भरमा मुद्दा चलाउने प्रहरीका कदमप्रति अविश्वासलाई थप जगाउँदै गएको छ । 


प्रहरीले लगाउने सार्वजनिक मुद्दामा वेथिति रहेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका सह न्यायाधीवक्ता ढकबहादुर रावतले प्रहरीले ल्याउने सार्वजनिक मुद्दा वेथिति रहेको र प्रहरीले कहीलेकाहिँ मुद्दा नल्याउनुपर्ने पनि ल्याइरहेकाले सार्वजनिक मुद्दामा प्रहरीको वेथिति नै रहेको स्पष्ट बताए । 

जस्तो पनि घटनालाई सार्वजनिक मुद्दा दर्ता गरेर प्रहरीले आफ्नो काम देखाउने र धेरै मुद्दा दर्ता भयो भनेर संख्या देखाउने बाहेक अरु केही नभएको रावत तर्क गर्छन् । कतिपय मुद्दाहरु वकिल कार्यालय आफैले पनि फर्काइदिने गरेको पनि उनले सुनाए । 

अस्पतालको बचाउमा एसपी चन्द
प्रहरी अनुसन्धानको क्रममा महिलालाई नाङ्गै बनाएर एक्सरे गर्ने गोर्खा हस्पिटलका स्वास्थ्यकर्मी अनुमति प्राप्त नभएका प्राविधिक भएको खुलेको थियो । तर, पनि प्रहरीले जनताको जिउधनको सुरक्षा गर्ने अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा अवैधरुपमा गैरकानुनी स्वास्थ्यकर्मी राख्न अस्पताल र त्यसको अस्पताल व्यवस्थापन समितिलाई कुनै मुद्दा नै चलाएन । 

पक्राउ परेका डाँगीलाई पनि झुटो मुद्दा लगाई प्रहरी आफै जाहेरवाला भइ गैरकानुनी काम गर्नुले पनि पहुँच नभएका व्यक्तिले प्रहरीबाट न्याय पाउने कुरा त्यति सजिलो छैन भन्ने कुरा यी घटनाले स्पष्ट पार्दछ ।   पक्राउ परेका उनी एक्सरे गर्ने अनुमति नै नपाएको व्यक्ति भएको तथ्य उजागर भएको छ ।  

नेपाल रेडियो ग्राफिक्स सोसाइटी जिल्ला कार्यसमिति दाङका सदस्य आयुष पौडेलले पक्राउ परेका डाँगी रेडियोग्राफर नभएको स्पष्ट पारे । ‘पक्राउ परेका व्यक्ति रेडियो ग्राफर हैन, हेल्पर हुन,’ पौडेलले भने, ‘कसरी हस्पिटलले रेडियो ग्राफिक्स नपढेका अनाधिकृत व्यक्तिलाई एक्सरे गर्ने अनुमति दियो ।’

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत पौडेलले आफू पनि बबई गाउँपालिका–२ कै बासिन्दा भएको र पक्राउ परेका डाँगीलाई नजिकबाट चिन्ने गरेको बताए । 

उनले अनाधिकृत व्यक्तिले यस्ता काम गर्दा राम्रो काम गर्ने सबै रेडियो ग्राफरको समेत बदनाम भएको तर्क गरे । जिल्लामा केही अन्य हस्पिटलहरुले पनि यसरी अधिकार नै नपाएका व्यक्तिलाई काममा लगाउँदै आएको हुँदा त्यो पनि बन्द हुनुपर्ने पौडेलको माग छ । 

गोर्खा हस्पिटल प्रा.लि.का रेडियो ग्राफर नरेश धिताल पनि पौडेलको भनाइमा सहमत छन् । ‘उ रेडियो ग्राफर हैन, मेरो व्यक्तिगत असिष्टेन्ट मात्रै हो,’ धितालले भने, ‘मैले मेसिन अन गरेर आउनु मात्रै भनेको हुँ, तर उसले (डाँगी) एक्सरे नै गरेछ ।’

धितालले मेसिन तात्न आधा घन्टा लाग्ने भएको हुँदा डाँगीलाई मेसिन अन गरेर आउन मात्रै भनेको दाबी गरे । ‘मेसिन अन गरेर उसले ती महिलालाई कपडा खोलेर बस्न भनी एक्सरेको क्यासेट लिन गएछ,’ धितालले थपे, ‘महिला सबै कपडा खोलेर बस्नुभएको रहेछ र उसले गएर एक्सरे गरेर आएछ ।’

धितालले डाँगीलाई एक्सरे गर्न अधिकार नभएपनि एक्सरे गर्न जानेको बताए । जिल्ला प्रहरी प्रमुख एसपी चन्द पनि यो मुद्दाका विषयमा जानकार रहेको र यसमा अस्पताल व्यवस्थापन पक्ष पनि तानिने धितालको भनाइ छ । 

तर, एसपीले अस्पताललाई बचाएर मुद्दा दर्ता गर्नुले पनि गलत कुरालाई प्रहरी आफैले संरक्षण गरेको यस्ता घटनाले पुष्टि गरेको धितालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप