केन्द्रीय संस्करण
कारोनाभाइरस

स्वाब सङ्कलनपछि यसरी गरिन्छ पीसीआर परीक्षण (भिडियो रिपोर्ट)

person explore access_timeभदौ ८, २०७७ chat_bubble_outline0

विश्वव्यापी रुपमा फैलिएको कोरोना सक्रमणदर बढ्दो क्रममा छ । विश्वमा २ करोड ३५ लाखभन्दा संक्रमित भइसकेका छन् भने ८ लाख १० हजारले ज्यान गुमाएका छन् । गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएसँगै हालसम्म ३१ हजार ९ सय ३५ संक्रमित भएका छन् । जसमध्ये १८ हजार ६ सय ३१ जना उपचारपछि घर फर्किएका छन् भने १ सय ५० जनाले ज्यान गुमाएका छन् ।

कोरोन संक्रमित पत्ता लगाउनका लागि विश्वमा मुख्य दुईवटा प्रविधि प्रयोग गरिन्छ । आरडीटी र पीसीआर विधि । कोरानासंक्रमण छ कि छैन भनेर थाहा पाउने यी दुई विधिमध्ये पीसीआर विधिध सबैभन्दा भरपर्दो मानिएका कारण नेपालमा यो विधिबाट परीक्षणको मात्रा बढाएको छ ।

यतिबेला देशभर सरकारी र गैरसरकारी गरी ४० वटा पीसीआर परीक्षण ल्यावबाट कोरोना परीक्षण भइरहेको छ । आज हामीले ल्याबमा व्यक्तिबाट सङ्कलन गरिएको स्वाबबाट कसरी पीसीआर परीक्षण गरिन्छ त ? त्यसबारेमा जानकारी दिँदैछौँ । ललितपुरको सानेपामा रहेको मोर्डन टेक्निकल कलेजका प्रिन्सिपल एवम् स्टार हस्पिटल कोभिड–१९ प्रयोगशालाका टिम लिडर गोविन्द अकेला, माइक्रो बायोलोजिष्ट रामकुमार श्रेष्ठ र माइक्रो बायोकेमिष्ट सरोज कुँवरका अनुसार पीसीआर रिर्पोट स्वाब सङ्कलन देखि ल्यावमा विभिन्न चरणहरु पूरा गरेर नतिजा निकालिन्छ, जुन यसप्रकार छ :

यसरी गरिन्छ पीसीआर परीक्षण

पहिलो चरणमा कोरोनाको शंका लागेका वा कोरोना संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको स्वाब सङ्कलन गरिन्छ । यसरी स्वाब सङ्कलन गर्ने स्वास्थ्यकर्मीले पिपिई, मास्क, पञ्जा जस्ता सुरक्षा कवच लगाएका हुन्छन् । साथै प्रयोगशालामा बसेर नतिजा निकाल्ने स्वास्थ्यकर्मीले पनि पिपिई मास्क पञ्जा जस्ता स्वास्थ्य सुरक्षा कवच लगाउँछन् ।

पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्ने किट, एक्सट्रयाक्सन मेसिन, भिटिएम र रिएजेन्ट केमिकल तथा पीसीआर मेसिन चाहिन्छ ।

व्यक्तिबाट संकलित स्वाबलाई सुरुमा प्रयोगशालामा स्याम्पल बार कोड लगाईन्छ जसले गर्दा अर्को व्यक्तिसँग झुक्किने वा तलमाथि पर्ने सम्भावना हुँदैन । संकलित स्वाबको तुरुन्तै नतिजा निकाल्नुपर्ने हो भने प्रक्रियामा अघि बढाइन्छ, केही पछि गर्ने हो भने संकलित स्वाबलाई केही समय फ्रिजमा राखिन्छ ।

त्यसपछि स्वाबमा रहेको डिएनए छुट्टयाउने काम हुन्छ । यो काम आर एन ए एक्ट्रयाक्टर मेसिनबाट गरिन्छ । स्टार हस्पिटलमा ३ वटा आरएनए एक्ट्रयाक्टर मेसिनबाट काम हुने प्रिन्सिपल गोविन्द अकेलाले बताए । मेसिनबाट गर्दा निकै छिटो हुन्छ यदि हातले गर्ने हो सो काम गर्न ४ देखि पाँच घण्टा लाग्छ । मेसिनले गर्दा २० देखि ३० मिनेटमा ९६ स्याम्पलबाट आए एन ए झिक्न सकिन्छ ।

स्वाबबाट आरएनए छुट्टाएर निकालेपछि त्यसमा रिएजेन्ट भन्ने केमिकल राखिन्छ । मास्टर मिक्समा गएर पीसीआर रिएजेन्ट राखिन्छ । त्यसपछि त्यसलाई ९६ वटा ‘वेल’ अर्थात सानो कुवामा राखिन्छ । त्यसमा ९३ वटा ब्यक्तिका नमुना हुन्छ । जसमा एउटा पोजिटिभ, एउटा नेगेटिभ स्याम्पल र इन्टर्नल कन्ट्रोल राखिन्छ । मेसिनमा राखिएको पोजिटिभ र नेगेटिभ स्याम्पललाई सोही अनुसार ग्राफमा देखाएको छ कि छैन हेर्ने काम हुन्छ । यस्तै इन्टर्नल कन्ट्रोल पनि ठीक हुनुप¥यो । मेसिनले यसलाई सहि देखायो भने अरु नमुमाको नतिजा पनि ठीक हुने गर्छ । कम्प्युटरको सफ्टवेयरमा ३ वटा जिनलाई हेरिन्छ । यदी संक्रमण पोजिटिभ छ भने जिन माथि उठेको हुन्छ भने नेगेटिभमा जिन तल झरेको हुन्छ ।

स्वाबबाट आरएनएलाई छुट्याइएपछि पीसीआर मेसिनको ट्युववेलमा राखिन्छ । कुन पीसीआर रिजऐन्ट हालेको छ त्यसकै प्रोटोकल अनुसार डाटाहरु राखिन्छ । आरएनएलाई पीसीआर मेसिनमा राखेपछि एम्प्लिीफाई अर्थात् ठूलो बनाएर हेर्ने काम हुन्छ । यदी कोरोनाको जिन हो भने ठूलो देखिन्छ, होइन भने आरएनए एम्प्लीफाई हुँदैन । पीसीआर मेसिन कम्प्युटरसँग जोडिएको हुन्छ । पीसीआर मेसिनमा राखिएको आरएनएको जिन कम्प्युटरमा रहेको सफ्टवेयरको ग्राफमा ठूलो देखिन्छ भने त्यो पोजिटिभ हुन्छ । र आरएनए ग्राफमा सानो देखिन्छ भने त्यो नेगेटिभ हुन्छ ।

पोजिटिभ

नेगेटिभ

रिएजेन्ट कस्तो केमिकल हो ?

कोरोना संक्रमण पीसीआर विधिबाट परीक्षण गर्दा प्रयोग हुने एउटा केमिकलको नाम हो रिएजेन्ट । यो विदेशबाट खरिद गरेर ल्याउनुपर्ने हुन्छ र यसको म्याद ६ महिनाको हुन्छ ।

यो केमिकल माइनस २० डिग्री सेन्टिग्रेटको तापक्रममा बरफभित्र राखिएको हुन्छ  । नेपालमा त्यसलाई सोही अनुसारको तापक्रम दिनेगरी फ्रिजमा राखिन्छ । विदेशबाट ल्याँउदापनि यसलाई माइनस २० डिग्रीको तापक्रम तयार गरेर ल्याइन्छ । तापक्रमको मापदण्ड पूरा भएन भने यो केमिकलले काम गर्दैन ।

पीसीआर परीक्षणमा किन मूल्य फरक ?

सरकारले निजी अस्पताललाई कोरोना परीक्षणका लागि अनुमति दिएपछि विभिन्न निजी अस्पताल तथा ल्यावहरुले कोरोना परीक्षण थालेका छन् । धेरैजसो  निजी अस्पतालले सरकारले निर्धारण गरेको ५ हजार ५ सय रुपैयाँमा पनि कोरोना परीक्षण थालेका छन् भने कतिपयले ४ हजारमा पनि गर्ने गरेका छन् ।

स्टार हस्पिटलमा कोभिड ल्याव सञ्चालनको नेतृत्व गरिरहेका मोर्डन टेक्निकल कलेजका प्रिन्सिपल गोविन्द अकेला यदी रिएजेन्ट सस्तोमा आउने हो भने आर टि पीसीआर परिक्षको शूल्क निकै कम पर्ने बताउँछन् । सरकारी अस्पतालमा लिने ५ हजार ५ सय रुपैयाँमा नै स्टार हस्पिटलको ल्यावमा पनि पीसीआर परीक्षण गरिरहेको उनले बताए ।

उनले भने–‘पीसीआर परीक्षणका क्रममा प्रयोग हुने रिएजेन्ट महँगो हुन्छ । माइनस २० डिग्री सेन्ट्रीग्रेडमा राख्नुपर्छ । रिएजेन्ट सस्तोमा आउने हो भने कोरोना परीक्षण शूल्क पनि कम गर्ने थियो । फ्लाइट चार्टर गरेर विदेशबाट यो बाहेक अरु सबै सामान ल्याउनुपर्ने भएकोले महँगो पर्न गएको हो । यी सामानहरु सिंगापुर, ताइवान, दक्षिण कोरिया, अमेरिका, यूरोपियन देशहरुबाट ल्याउनुपर्ने हुन्छ । आफ्नै देशमा ति सामानहरु उत्पादन नहुने भएका कारण महँगो पर्न गएको हो ।’

परीक्षणको मूल्य निर्धारण पीसीआर परीक्षणमा प्रयोग गर्ने प्रविधि, त्यसमा प्रयोग हुने सामानको गुणस्तरीयता र त्यसबाट छुट्टयाएर हेर्ने जिनको संख्यामा भर पर्ने अकेला बताउँछन् ।

उनले भने–‘कसैले २ वटा जिनमात्र निकालेर हेर्ने गर्छन् । त्यसमा शत प्रतिशत सहि नतिजा आउँछ भन्ने हुँदैन । तर हामीले ३ वटा जिन निकालेर हेर्ने गर्छौँ । हामीकहाँ अहिले उच्चस्तरको थर्मोफिसर क्वान्ट फाइभ पीसीआर मेसिन पनि रहेको छ । कस्तो क्वालिटी दिने सोही अनुसार मूल्य निर्धारण गरिएको हुन्छ ।  पीसीआर परीक्षणका लागि तयार पारिने ल्यावमा गरिएको खर्चमा पनि भर पर्छ । पीसीआर मेसिन ३५ लाखदेखि ५५ लाखसम्मको  छ । अरु मेसिन १६ देखि ३० लाखसम्मका छन् । मेसिनभन्दा पनि महँगो यसको सेटअप हो । बायोसेफ्टिक क्याविनेटहरु १० देखि १२ लाख पर्छ । त्यस्ता २ वटा चाहिन्छ । एक्ट्रयाक्टर मेसिन सहित एउटा मात्र पीसीआर मेसिन राख्ने हो भने पनि ६० लाखदेखि एक करोडसम्म खर्च हुन्छ ।’

ल्यावमा राखिने जनशक्ति, ल्याव, परीक्षणका लागि प्रयोग गरिने सामान आदीका आधारमा परीक्षणको शूल्क सरकारले निर्धारण गरेको उनले बताए ।

कोरोनापछि के मा प्रयोग हुन्छ त कोरोना परीक्षण ल्याव ?

अहिले देशभरी सरकारी तथा गैरसरकारी तबरबाट ४० वटा कोरोना परीक्षण ल्याव रहेको छ । ती ल्यावका लागि अरबौं रुपैँया खर्च भएको । एउटा सामान्य कोरोना परीक्षण ल्याव निर्माणका लागि करोडभन्दा माथि खर्च लाग्ने अकेला बताउँछन् । यदी विश्वबाट कोरोना संक्रमण हट्यो भने करोडौँ रुपैयामा खरिद गरिएका मेसिनहरु के हुन्छन् त ? ति मेसिनहरु बंशाणुगत रोगहरु अध्ययनका लागि तथा विद्यार्थीहरुको अध्ययनका लागि प्रयोग हुन सक्ने उनले बताए । क्यान्सरहरु, अरु वंशाणुगत रोगहरु, बिउ बिजनका रोगहरु पत्ता लगाउन, जनावरका रोगहरु पत्ता लगाउन प्रयोग गर्न सकिन्छ । विद्यार्थीलाई अध्ययन अध्यापन तथा प्राज्ञिक कामका लागि उपयोगी हुने उनले बताए । 

भिडियोमा हेर्नुहोस् ल्यावमा पीसीआर परीक्षण गर्ने विधि :

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.