नेपाल–भारत सम्बन्ध : कूटनीतिक वार्ताको विकल्प छैन
अगस्ट १५ का दिन चार महिनादेखि संवादहीन अवस्थाबाट गुज्रिँदै आएको नेपाल र भारतबीच सम्बन्धमा ‘आइस ब्रेक’ भयो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भयो ।
वार्तामा दुवै मुलुकमा प्रधानमन्त्रीबीच स्वतन्त्रता दिवसको शुभकामना आदानप्रदान भएको खबर नेपाली सञ्चार माध्यमले प्राथमिकतासाथ छापे । तर भारतीय सञ्चार माध्यमले यो समाचारलाई खासै महत्त्व दिएनन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट–५ मा अयोध्यामा निर्माण हुन लागेको राम मन्दिर भूमिपूजन समारोहलाई सम्बोधन गरे । नेपालसँगको सम्बन्ध चिसिएका कारण मोदीले नेपालको नाम उच्चारण गर्दैनन् कि भन्ने आशङ्का थियो तर मोदीले सम्बोधनको अन्तिममा राम र सीताको प्रसङ्ग उल्लेख गर्दै नेपालसँग भारतको विशेष नाता रहेको बताउन भुलेनन् ।
आत्मनिर्भर भारत अभियानको घोषणा गर्दै ७४औँ स्वतन्त्रता दिवस (१५ अगस्ट) को अवसरमा लालकिल्लाबाट राष्ट्रको नाममा सम्बोधन गर्दा पनि उनले छिमेकीसँग मित्रवत् सम्बन्ध रहने आफ्नो सरकारको नीति रहेको बताए ।
नेपाल–भारत सम्बन्धका आयाम खोज्दै जाँदा धार्मिक, सांस्कृतिक, भाषिक र जन–जनस्तरको एकता भेटिन्छ । सनातनीहरुको बासस्थान रहेको नेपाल–भारतबीच महाभारत र रामायणमा वर्णित कथासँग जनजीवनको नाता रहेको छ ।
इतिहासले यही भन्छ– भारतीय सत्ताधारीले नेपाल सत्ता र सरकारलाई हेर्ने नीति पहिलेदेखि नै ‘हेपाहा’ थियो र त्यो निरन्तर रहेको छ । नरेन्द्र मोदीले भारतीय सत्ताको बागडोर लिनुभन्दा अघि पनि त्यही थियो, अहिले त्यसको निरन्तरता मात्र हो ।
नेपालका केही हिन्दुवादी भन्नेहरुको विश्वास थियो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता पाए भने नेपालको कायापलट हुन्छ । नेपालमा हिन्दु राष्ट्र घोषणा हुन्छ । नेपालको विकासमा भारतीय सहयोगको ओइरो लाग्छ र नेपालमा राजसंस्था समेत फर्कन्छ । त्यसैले होला सन् २०१४ को निर्वाचनमा नरेन्द्र मोदी विजयी अभियानमा नेपालका हिन्दुवादी र राष्ट्रिय स्वयंसेवकसँग आबद्ध व्यक्ति भारतमा चुुनाव प्रचारमा खटिएका थिए । मोदी विजयी भए, नेपालमा उनीहरुले मुख मीठा गरी लड्डुु पनि खाए र केही बाँडे ।
मोदीले दिल्लीमा बसेर देश हाँक्ने प्रकल्प सुरु हुँदै गर्दा नेपालको पशुपतिनाथलाई सम्झिए । २०१४ अगस्ट महिनाको अन्तिम सोमबार पशुपतिनाथको दर्शन गरी नेपालको संसदमा सम्बोधन गरे । त्यसबेला मोदीले संसदमा निकै रसिलो र काव्यात्मक शैलीको भाषण सुनेपछि सांसदले ताली ठोके । नेपाल–भारत सम्बन्धका आयामबारे कुरा गर्दै मोदीले भनेका थिए, ‘नेपाल–भारत सम्बन्ध पवित्र–पावन गङ्गा नदीभन्दा पनि पुरानो छ ।’ त्यसबेला सांसदले टेबुलमा ठोेकेको दृश्य अझै हेर्न सकिन्छ ।
त्यसपछि नेपाल–भारत सम्बन्ध निकटम हुँदै थियो । मोदी दोस्रो पटक सार्क सम्मेलनका अवसरमा नेपाल यात्रा गरे । त्यसबेला संविधान निर्माणको काम हुँदै थियो । त्यसबेला मोदीको वाणीमा केही फरकपन देखियो । सुझाव र सल्लाहको भाषाभन्दा निर्देशन हुने गरी उनले लेखिँदै गरेको संविधानमा सबै पक्षको भावना समेट्नुपर्ने भनेपछि शङ्का उत्पन्न भयो । समयक्रम चल्दै जाँदा २०७२ असोजमा नेपाल सरकारले संविधान जारी गर्ने तयारी हुँदै थियो, भारतले विशेषदूत तत्कालीन विदेश सचिव हालका विदेशमन्त्री एस जयशङ्करलाई नेपाल पठाएर संविधान जारी गर्न भारतले अवरोध गरेको स्पष्ट सन्देश दियो ।
त्यतिबेला महाभूकम्पको कारण दुखित नेपालीमाथि केही मधेसी नेताहरुलाई पर्दा अगाडि राखेर नाकाबन्दीको बीउ रचना भयो । त्यसपछि नेपाल–भारत सम्बन्धमा गङ्गा नदी सुक्दै गएको जस्तोे देखियो, गङ्गाजलमा अम्लीयपन बढ्दै गयो ।
राजनीतिक चतुर खेलाडी केपी शर्मा ओलीले भारतविरोधी राष्ट्रवादी कार्ड प्रयोग गरी तत्कालीन माओवादी र एमालेबीच पार्टी एकता गरी नेपालीको जनमत लिए । नेपालमा रहेका भारतीय कूटनीतिज्ञले यो चाल पाएनन् कि नेपालमा भारतविरोधी भावना वृद्धि हुँदै छ ।
उता भारतमा पनि मोदी सरकार दोस्रो कार्यकालको चुनाव अभियानमा पाकिस्तानको सीमामा सर्जिकल कारबाही गर्दै मैदानमा होमिएको थियो ।
त्यसबेला मोदीले फेरि धार्मिक यात्रा गर्ने इच्छा जाहेर गरेपछि जनकपुर र मुक्तिनाथ दर्शनका लागि मोदी सीधै जनकपुर ओर्लिए । मुक्तिनाथ दर्शन गरी काठमाडौँ फर्किए । मोदीले मुक्तिनाथ दर्शन गरेको दिन दक्षिण भारतमा चुनावभन्दा अघिल्लो दिन थियो । भारतमा दक्षिण भारतीय मतदाताको मन जित्न मोदीले मुक्तिनाथ यात्रा गरेको भारतीय प्रतिपक्षले आरोप लगाए ।
मोदीको त्यस यात्रामा पशुपतिनाथमा भारत सरकारको सहयोगका निर्माण भएको पशुपतिनाथ धर्मशालाको उद्घाटन गरेर मोदीले प्रधानमन्त्री ओलीबीचको सम्बन्ध प्रगाढ रहेको र निरन्तर रहिरहने सन्देश दिएर दिल्ली फर्केका थिए ।
मोदीको दोस्रो कार्याकालको शपथ समारोहमा ओली सहभागी भए । तर मोदी सरकारको पहिलो कार्यकालको अन्ततिरै छिमेकको विदेश नीतिमा असफल हुँदै गएको थियो । त्यसैबेला राजनीतिशास्त्रीले भारतीय शासकले नेपाल नीतिमा पनि सौतेने भाइलाई दुष्ट दाजुले गर्ने व्यवहार जस्तो भएको आरोप लगाइसकेका थिए ।
कोभिड–१९ को विश्वव्यापी महामारीको बीचमा भारतले सुस्ता र कालापानीको विवादित भूमि समेटेर गत नोभेम्बरमा नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको भारतले निर्माणाधीन विवादित लिपुलेक हुँँदै चीनको कैलाश पर्वत जाने सडकको उद्घाटन गर्नुले निकै आशका जन्मायो ।
भारतका रक्षामन्त्री नेपालका जानकार रक्षामन्त्रीले भर्चुअल सभामार्फत लिुपेलेकको सडक उद्घाटन गर्दा नेपाल सरकार र नेपालस्थित भारतीय अधिकारीमार्फत नेपाल सरकारलाई कुनै जानकारी गराइएन ।
त्यसपछि भारतको हेपाह व्यवहारको प्रत्युत्तर दिँदै नेपालले पनि आफ्नो भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेत समेटेर नयाँ नक्सा जारी गरेपछि त अझै भारतीय सत्ताधारीको टाउको दुखाइको विषय बन्यो ।
राष्ट्रवादी नेताको पगरी गुथेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि के पाऊँ निउ भन्दै गरेको बेला भारतीय सत्ताधारीको व्यवहारलाई निकै ग्लानि हुने अभिव्यक्ति संसदबाट दिए ।
भारतको राष्ट्रिय निशासी ऐतिहासिक सम्राट अशोक कालीन विश्वलाई सम्झँदै ‘सत्यमेव जयते’ लाई ‘सिंहमेव जयते’ भन्ने प्रश्न राखे । त्यसबाट भारतीय शासक वर्ग र जनताहरुलाई पनि चोट पुग्यो । र, अझै द्वेष भावना सुरु भयो । देशको प्रमुख र देशको सर्वाेच्च स्थान संसद्बाट यस्ता अभिव्यक्ति दिन उग्र राष्ट्रवादको नमुना हो भन्ने बहस प्रतिपक्षले गरे भने सत्ताधारीले होमा हो मिलाए ।
त्यसपछि भारतीय सञ्चार माध्यम र भारतीय जनता पार्टीका नेताले बाहुबली लगाएर धुमधामसम्म गाली गर्दै चिनियाँ बोली भनेर ओलीलाई चीनको नेता बनाइदिए । भारतीय सञ्चार माध्यमले चीनसँग जोडेर काल्पनिक कथा बनाएपछि नेपालमा भारतीय केही निजी टेलिभिजन च्यानल बन्द गर्न सरकार बाध्य भयो ।
दुवै देशबीच बहस छलफल चल्दै थियो । गत २९ असार आदिकवि भानुभक्त आचार्यको जन्मदिनमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले सनातनीहरुको आस्था मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मथलो अयोध्या नभई नेपालको ठोरी भएको दाबी गरे । त्यसै समारोहमा भारतको नाम लिएर भारतले सांस्कृतिक हस्तक्षेप गरेको आशय प्रकट भएपछि विवाद थप चुलियो ।
नेपालका दुई खालको जनमत भयो । ओलीको बोलीलाई कतिले त ‘रामवाण’ ठाने भने कतिले यो धार्मिक मान्यतामा आधारित विषयमा प्रधानमन्त्रीको तहबाट गर्न नहुने तर्क राखे । यसलाई पनि भारतीयहरुले ओलीको अहङ्कार र द्वेषभाव रहेको भनेर चर्काे स्वरमा विरोध गरे । त्यसो त भारतमा मोदी सरकार हिन्दू राष्ट्रवादको नारामा चलेको छ । तर नेपालमा कम्युनिस्ट सरकार छ । उनीहरु धर्मका बारेमा किन बोल्छन भन्दै नेपालका प्रधानमन्त्री धार्मिक आस्था नभएको व्यक्तिबाट धर्मका विषयमा बोल्दा प्रामाणिक र तथ्यपूर्ण बोल्नुको पछाडिको कारण खोज्न थालियो । यो बोलीलाई पनि भारतीयहरुले चीनको अर्काे इसारा भनेर आरोप लगाउन भने पछि परेनन् ।
मोदी सरकारको गलत छिमेक नीति र नेपालप्रति हेपाहा मनोवृत्ति र नेपालका प्रधानमन्त्री ओलीको द्वोष र अहङ्कार भावनाको कारण नेपाल–भारत जनस्तरको सम्बन्ध भने बिग्रनु हँुदैन । राजनीतिक तहमा विवाद भए पनि भारतसँगको जनस्तरको सम्बन्ध धार्मिक, सांस्कृतिक गतिविधिमा कुनै अवरोध आउनु पनि हुँदैन ।
भारतीय निजी टेलिभिजनले नेपाल र नेपालीलाई बिना आधार र तथ्यभन्दा पर रहेर गाली गर्न छोडेका छैनन् । भनिन्छ, नेपाल–भारत सम्बन्धमा क्लेश आउनु र नेपालमा भारत विरोधी भावना बढ्नुको प्रमुख कारण भारतीय सञ्चार माध्यम नै हो । यो कुरा नेपालमा बस्ने भारतीय कूटनीतिज्ञले कहिल्यै बुझेनन्, सुनेनन् वा देखेनन् । नेपालस्थित भारतीय कूटनीतिक स्तरबाट भारतको राज्यसत्तालाई दिइएको जानकारीमा पनि केही त्रुटि भएको अवश्य छ ।
भनिन्छ, सम्बन्धलाई सुधार्ने एउटा उपाय हो वार्ता, छलफल र समझदारी । देश–देशका बीचमा कूटनीतिक मर्यादा रहने गरी भारत–नेपालबीच वार्ताबाट निकास निकाल्नुको विकल्प छैन ।
परराष्ट्र मन्त्रालयबाट समकक्षी कर्मचारी र राजनीतिक तहमा पनि समान हैसियतमा वार्ता गर्न ढिला नगर्दा नै दुवै देशको पक्षमा जित हासिल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
सीटीईभीटी तालाबन्दी निषेध क्षेत्र घोषणा
-
अस्पताल थप्नेभन्दा भएकालाई राम्रोसँग चलाऔँ : मन्त्री पौडेल
-
कोशीका पूर्वमन्त्री लिलाबल्लभलाई रिहा गर्ने तयारी