शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले तोकेको हवाई भाडादरभन्दा बढी लिएर टिकट बेचियो

आइतबार, ०७ भदौ २०७७, २१ : २२
आइतबार, ०७ भदौ २०७७

युएई : धादिङकी रोजिना गुरुङले दुबईबाट नेपाल फर्कनको लागि दुई हजार १ सय ५० दिर्हाम अर्थात् करिब (७० हजार रुपैयाँ) को हवाइ टिकट किनिन् । दुबईबाट जारी गरिएको नेपाल एयरलाइन्सको हवाई टिकटमा सम्बन्धित ट्राभल्स एजेन्सीको नाम उल्लेख छैन । उनले आफ्नै कम्पनीको नेपाली सुपरभाइजर मार्फत टिकट लिएको थिईन् ।

झापाका दिपक दाहालले अलऐनको एक ट्राभल्स एजेन्सीबाट  झण्डै २ हजार दिर्हाम अर्थात् करिब (६५ हजार रुपैयाँ) मा नेपाल जाने टिकट किने । हिमालय एयरलाइन्सको भाडादर नेपाल सरकारले १ हजार ४ सय २० दिर्हाम तोकेको मुल्यमा झण्डै ६ सय दिर्हाम उनले बढी तिरे । यद्यपि नेपाल सरकारले उद्दार उडानलाई तत्काल रद्द गरेको हुनाले उड्न पाएका छैनन् । 

नेपाल सरकारले नेपाल एयरलाइन्सको १ हजार ३ सय २० दिर्हाम,अर्थात करिब (४३ हजार रुपियाँ ),हिमालयन एअरलाइन्सको १ हजार ४ सय २० दिर्हाम अर्थात करिब (४६ हजार रुपियाँ) र युएईबाट संचालित् अन्य एअरलाइन्सहरुको भाडादर ५ सय अमेरिकी डलर अर्थात १ हजार ८ सय ३५ दिर्हाम तोकेको थियो । 

नेपाल सरकारले मुल्य निर्धारण गरे पनि नेपालीहरु तोकिएको मुल्य भन्दा धेरै चर्को मुल्य तिरिरहनु परेको तथ्य खुल्न आएको छ । युएईबाट नेपाल फर्किएका धेरै नेपालीहरुले २ हजार अर्थात करिब (६३ हजार रुपैयाँ) देखि २ हजार ५ सय दिर्हाम (८० हजार रुपैयाँ)सम्म तिरेका छन् ।   

पछिल्लो पटक आगामी अगष्ट २९ तारिख हिमालय एयरलाइन्सको उडान मार्फत आबुधावीबाट काठमाडौं फर्कन लागेका पीडित यात्रुहरुसँग पनि प्रति व्यक्ति २ हजार दिर्हाम अर्थात करिब (६५ हजार रुपैयाँ) लिएको केही तथ्यहरु रातोपाटीले फेला पारेको छ । 

यद्यपि सरकारको निर्देशन पश्चात् उक्त उडान हाललाई स्थगित भएकोले पैसा बुझाएर बसेका नेपालीहरु अर्को उडानको पर्खाइमा छन् ।   

पीडित हाम्रो सम्पर्कमा आएसँगै हामी समन्धित ट्राभल एजेन्सीमा पुग्यौं । रातोपाटी स्ट्रीङ अप्रेशनले उक्त ट्राभलबाट आबुधावी टु काठमाडौंको लागि हिमालय एयरलाइन्सको चार्टर फ्लाइट भाडादर सरकारले तोकेको शुल्क भन्दा ६ सय दिर्हाम अर्थात् करिब (१९ हजार रुपैयाँ) बढी लिएर बेचिएको प्रमाण फेला परेको छ।
 
रातोपाटीसँगको कुराकानीमा ट्राभल्सका एक कर्मचारीले भने, '२९ तारिखको हवाई टिकट फुल भैसक्यो, तैपनि कोसिस गर्छौं । तर टिकट मुल्य १ हजार ९ सय ७० देखि २ हजार ५० दिर्हाम पर्छ ।'

हिमालय एयरलाइन्सको (जिएसए) युएईमा ग्रीनल्याण्ड र फिष्टेल ट्राभल्स मात्रै हो । तर सो ट्राभल्सले सम्बन्धित एयरलाइन्सको (जिएसए) प्रमुखसँग ६० सिट खरिद गरेको भन्दै चर्को मुल्यमा ठगी गरेको पाईएको हो । 

उक्त ट्राभल एजेन्सीमा नेपाली दूतावास युएईले नेपाल फर्कन सार्वजनिक गरेको ९८ जना नेपालीहरुको नाम र सम्पर्क नम्बर समेत रहेको छ । रिपाट्रेशन फ्लाइट मार्फत नेपाल फर्कन दूतावास युएईले सार्वजनिक गरेको एकिकृत नामावलीमा अनिबार्य नाम हुनुपर्दछ । तर सो ट्राभसले दूतावास बाट प्रकाशित नाम समेत आवश्यक नहुने बताएको छ ।

यता  नेपाली दूतावास युएईले सरकारले निर्धारण गरेको हवाई भाडादर भन्दा बढि शुल्क लिने ट्राभल्स वा टिकट एजेन्सीलाई कारबाही गरिने बताएको छ। तर कार्यन्वयन भएको देखिदैन।सरकारले तोकेको भन्दा बढि रकम लिने ट्राभल्स वा टिकट एजेन्सीलाई कस्तो कारबाही हुने हो,त्यो भने हेर्न बाँकी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप