बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बन्दाबन्दी हटेको एक महिनाः सङ्क्रमण र मृत्युदर अति उच्च

आइतबार, ०७ भदौ २०७७, १६ : ३२
आइतबार, ०७ भदौ २०७७

काठमाडौँ । विश्व्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमण बन्दाबन्दी सकिएपछिको एक महिनामा निकै उच्च गतिमा वृद्धि भएको छ । मृत्युदर र सङ्क्रमण दर जुन गतिमा बढिरहेको छ, त्यसको तुलनामा निको हुने दर भने निकै न्यून छ । एक महिनाअघि निको हुने दर कुल सङ्क्रमितको ६९ दशमलव ३४ प्रतिशत थियो । एक महिनापछि निको हुने दर ५९ प्रतिशतमा झरेको छ । 

सरकारका प्रवक्ता डा.युवराज खतिवडाले गत साउन ५ को मन्त्रिपरिषद्को निर्णयअनुसार साउन ६ गते रातिदेखि बन्दाबन्दी हटेको घोषणा गरेका थिए । त्यसको आज एक महिना पूरा भएको छ ।

यहि एक महिनाले विगतका सबै महिनाको भन्दा सङ्क्रमण र मृत्युदरमा नसोचेको परिणाम दिएको छ । स्थिति जटिलतातर्फ गइरहेकाले नागरिकले उच्च सावधानी अपनाउनु जरुरी रहेको जनस्वास्थ्य विज्ञले बताएका छन् । सन् २०१९  डिसेम्बर ३१ मा चीनको उहानमा देखिएको कोभिड–१९ नेपालमा विसं २०७६ माघ ९ गते त्यहीँबाट आएका एक नेपालीमा देखा परेको थियो । त्यसपछि चैत १० गते तेस्रो मुलुकबाट आएका दोस्रो नेपालीमा देखिएको थियो । त्यसपछि सङ्क्रमण फैलिन नदिन सरकारले चैत ११ देखि बन्दाबन्दी जारी गरेको थियो । क्रमशः सङ्क्रमण वृद्धि हुँदै वैशाख अन्तिम सातादेखि तीन अङ्कमा सङ्क्रमण देखिन थालेको थियो । 

असारमा केही कमी देखिएपछि सरकारले चार महिना लामो बन्दाबन्दीलाई साउन ६ गतेदेखि अन्त्य गरेको थियो ।  बन्दाबन्दी अन्त्य भएर गतिविधि चलायमान हुँदा मुलुकका सबै जिल्लामा मानिसहरु विनासावधानी घुलमिल भए । त्यसैको परिणाम अहिले देखिन थालेको छ । अहिले एकैदिन ११ जनासम्मको मृत्यु भएको र एकै दिन एक हजार बढी नयाँ सङ्क्रमित भेटिएका छन् ।

एक महिनाको कोभिड–१९ सङ्क्रमण विश्लेषण

शीर्षक                             साउन ६ को अवस्था      भदौ ६को अवस्था
कुल सङ्क्रमित                 १७ हजार ९९४           ३१ हजार ११७
सक्रिय सङ्क्रमित             ५ हजार ४७७          १२ हजार ६२९
एक दिनमा नयाँ सङ्क्रमित      १५०                ६३४
निको भएको                   १२ हजार ५१७       १८ हजार ३५०
एक दिनमा मृत्यु              २                          ९

प्राप्त तथ्याङ्क विश्लेषण गर्दा साउनअघि भएको कुल मुत्युभन्दा पछिल्लो एक महिनामै तीन गुणा बढीले मानिसको मृत्यु भएको छ । साउन ६ गतेसम्म कोभिड–१९ सङ्क्रमित ४२ जनाको मृत्यु भएको थियो । साउन ६ देखि भदौ ६ सम्म एक महिनाका अवधिमा मात्रै १०४ जनाले ज्यान गुमाए । शनिबारसम्म सङ्क्रमितमध्ये १४६ को मृत्यु भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यही महिनामा सङ्क्रमण दर पनि उच्च भएको छ । अन्य महिनाको कुल सङ्क्रमितभन्दा एकै महिनामा दोब्बरले सङ्क्रमित थपिएका छन् । त्यसदिन कुल १७ हजार ९९४ सङ्क्रमित रहेकामा मन्त्रालयले एक महिनापछि सोही दिन अर्थात् भदौ ६ गते सार्वजनिक गरेको विवरणमा कुल सङ्क्रमित १३ हजार १२६ थपिएर ३१ हजार ११७ जना पुगेका छन् ।
  साउन ६  कुल १५० नयाँ सङ्क्रमित भेटिएका थिए भने  भदौ ६ गते नयाँ सङ्क्रमित ६३४ जना भेटिए । त्यसबेला काठमाडौँ उपत्यकामा नगण्य सङ्क्रमित रहेकामा अहिले दैनिक १५० देखि २०० को हाराहारीमा नयाँ बिरामी भेटिँदै आएका छन् । त्यसमा पनि ८० देखि ९० प्रतिशत काठमाडौँ जिल्लाका छन् । 

अघिल्लो महिना साउन ६ गते सक्रिय सङ्क्रमित पाँच हजार ४७७ रहेकामा एक महिनापछि सोही दिन सक्रिय सङ्क्रमित १२ हजार ६२९ रहेको विवरणमा उल्लेख छ ।  
प्राप्त विवरणले बन्दाबन्दी हटाइएपछिको सङ्क्रमणले नसोचेको गति लिँदैछ । बन्दाबन्दी हटाइएपछि मानिसले कोभिड–१९ सर्न सक्छ भन्ने ख्यालै नगरी लापरवाही गर्दा जोखिम उच्च रुपमा वृद्धि भइरहेको विपद् जोखिम व्यवस्थापनविज्ञ कृष्ण देवकोटा बताउँछन् । उनले नागरिक आफैँले उच्च सावधानी अपनाउनुपर्ने र स्वास्थ्य मापदण्डलाई पूर्ण कार्यान्वयन नगर्ने हो भने स्थिति भयावह हुने चेतावनी दिए ।

बन्दाबन्दी हटाइए पनि कोभिड–१९  सङ्क्रमण केही घटे पनि रोकिएको थिएन । त्यसबेला सीमित मात्रै परीक्षण गरिएको थियो । बन्द खुल्यो भनेपछि सबै क्षेत्र चलायमान भयो । सीमा क्षेत्रमा अलि बढी सङ्क्रमण थियो । त्यहाँका मानिसहरु हरेक क्षेत्रमा खुला रुपमा पुगे र भारतबाट आएका मानिससमेत जिल्ला जिल्लामा भित्रिए । यसबाट सङ्क्रमण बढ्न सहयोग गरेको देवकोटा बताउँछन् ।

स्वास्थ्य  मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम यो समय सकेसम्म घरबाटै ननिस्कने र अत्यावश्यक कामका लागि निस्किएमा पनि भीडभाडमा नजाने, मास्क लगाउने, साबुनपानीले राम्ररी हात धुने र  दुई मीटरभन्दा बढीको भौतिक दूरी कायम गर्ने गर्दा सङ्क्रमणबाट जोगिन सक्ने बताउँछन् । 

मुलुकभर नै सङ्क्रमण बढ्न थालेपछि अहिले जिल्लाजिल्लामा निषेध आदेश जारी गरिएको छ । अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको छ जसका कारण आधा मुलुक नै ठप्प हुन पुगेको छ ।  सरकारले निषेध आदेश जारी गरे पनि सर्वसाधरणले स्वास्थ्य मापदण्ड ख्याल नगर्ने हो भने स्थिति जटिल हुनेतर्फ स्वास्थ्यकर्मीले सचेत गराएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप