शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

कथा : म दले होइन

शनिबार, ०६ भदौ २०७७, १८ : ०६
शनिबार, ०६ भदौ २०७७

 उसले रिसाएर ढ्याक्क फोन राख्यो ।
ऊ त्यसरी रिसाउनुको पनि कारण छ । तर यो कारण सुनाउनुभन्दा अगाडि उसको अलिकति कथा बताउनु पर्छ ।
ऊ अर्थात् मेरो साथी दलबहादुर । उसको वास्तविक नाम त अर्कै छ तर मानिसहरु यसलाई हेपेर दले भन्छन् । तर म आफ्नो बालसखा भएकाले माया गरेर दलबहादुर भनेर सम्बोधन गर्ने गर्छु । 
मेरोभन्दा पनि अझै कमजोर आर्थिक हैसियत भएको परिवारमा जन्मेको उसले मसँग एक कक्षादेखि सँगै पढेको हो । तर उसको पढाइ मेरो भन्दा कमजोर थियो । घरको कामले गर्दा राम्ररी पढ्न नपाउने ऊ पाएको समयमा पनि पढाइ लेखाइभन्दा बढी साथीसित डन्डिबियो, पिटु, घुच्ची खेल्न र जात्रा जान मन पराउँथ्यो । म पाठ्यपुस्तक पढिरहँदा ऊ ‘लुकेको समाज’ टाइपको किताब खोजी खोजी पढिरहेको हुन्थ्यो । म शान्तिप्रिय थिएँ । ऊ भने त्यहीबेलै केटी जिस्क्याउने र केटाहरुको ग्याङ बनाएर लडाइँ झगडा गथ्र्याे ।

परीक्षामा चिट चोर्न भने ऊ माहिर थियो । त्यसैले ऊ अङ्ग्रेजी र गणितमा ग्रेस नम्बर पाएर वा ३२÷३३ नम्बर ल्याएर फटाफट पास चाहिँ भइरह्यो ।
हामी एसएलसी सँगै पास भयौँ, मैले, प्रथम श्रेणीमा पास गरेँ, उसले तृतीय श्रेणीमा पास गर्याे ।

हामी क्याम्पस पढ्न सहर पनि सँगै गयाँै र एउटै क्याम्पस भर्ना भयाैं । म विज्ञानतिर भर्ना भएँ ऊ आर्टसतिर । मैले साथीहरुसँग डेरा लिएँ भने ऊ सहरकै एउटा आफन्तकहाँ बसेर पढ्ने भयो ।  त्यही वर्ष बहुदल आएकाले राजनीतिक सरगर्मी अत्यन्तै बढेको थियो । हामी पनि एउटा सङ्गठनतिर लाग्यौँ । त्यही क्याम्पसमा केही अल्लारे केटाहरुले ओस्ला भन्ने ग्याङ बनाएका थिए जसको पूरा रूप ‘वन साइडेड लभर्स एसोसिएसन’ हो भन्थे । ऊ पनि बेला बेला त्यही ग्याङमा मिसिएर केटी जिस्क्याउँदै र प्राध्यापकहरुलाई खिस्याउँदै हिँड्थ्यो ।

प्रमाणपत्र तहको परीक्षा सकियो । मैले राम्रै अङ्क ल्याएर उत्तीर्ण गरेँ । ऊ २, ३ वटा विषयमा फेल भयो । म स्नातक तह पढ्न राजधानीतिर गएँ ।
उसँगको मेरो भेटघाट, खोजखबर सबै बन्द भयो ।
मैले काठमाडौँमा विद्यार्थी सङ्गठनको इमानदार सदस्यको हैसियतमा राजनीतिक गतिविधिमा सहभागी हँुदै पढेँ । पढाइको बीच बीचमा जागिर पनि गरे । त्रिवि कीर्तिपुरबाट स्नातकोत्तर पनि सकँे । यसै क्रममा थप अध्ययन गर्न विदेश पनि गएँ ।

विदेशबाट एउटा प्राविधिक विषयमा उच्च शिक्षा सकेर केही वर्षमा नेपाल फर्केँ । उताबाट फर्केपछि हरेक आफन्त साथी भाइ, आफन्तले भेट हँुदा सोध्ने यौटै खालको प्रश्नको सामना गर्नु पथ्र्याे, “विदेशमा पैसा कति कमाइस ? घर घडेरी जोडिस् कि जोडिनस् ?” आदि ।

त्यतिबेलासम्म देशमा लोकतन्त्र आएसकेको थियो । हिजो लुकीलुकी हिँड्ने नेताहरु चिल्ला कार चढेर हिँड्न थालेका थिए । हिजो डेराभाडा तिर्न नसकेकाहरु आज महलका बासिन्दा भएका थिए । हिजोको एउटा राजा ढालेर ल्याइएको गणतन्त्रमा आज सयाँै राजा पैदा भएका थिए । 

  आफ्नो योग्यता अनुसारको जिम्मेवारी पाउन तिनै नयाँ राजाहरुमध्ये कुनै राजालाई खुसी नवनाइ सकिन्नथ्यो । राजाको अनुहार सम्झिँदा पनि ज्वरो आउने हुँदा नयाँ राजाहरुसँग फेरि चिनजान गर्न र बिन्ति बिसाउन सुकिएन । अनि क्षमता अनुसारको काम पाउन पनि कठिन भयो । 
र निकै पापड बेलेपछि एउटा परियोजनामा काम गर्ने मौका मिल्यो । 

मलाई पनि अरूलाई जस्तै सहरमा  एउटा घर घडेरीे जोड्ने र आफू पनि सभ्य सहरबासी हुनु पर्ने रहर वा बाध्यता आइलागेकाले  विदेशमा भाडा माझेर कमाएको र जागिरतिरबाट वचाएको अलिकति पैसा बोकेर एउटा घडेरीको खोजीमा लागियो ।

एकजना साथीले “भनेजस्ता राम्रा घडेरी मिलाइदिन सक्ने यो सहरको खुङ्खार दलेलाइ भेटाउँछु’ भनेर एउटा टहरो जस्तो अफिसमा लग्यो । मैले त्यो जग्गा मिलाउने व्यक्तिको नाम सोधे । साथीले त्यसको नाम केहो त  थाहा भएन तर सबैले उसलाई सबैले दले भनेर चिन्छन् भनेर जबाफ दियो  ।

दले त्यति बेला अफिसमा रहेनछ  । केहीबेरको प्रतीक्षापछि ऊ अर्थात दले कालो सिसाको गाडीमा चढेर आयो  ।
अचम्म, मेरो उही साथी पो रहेछ ऊ त । ऊसँग  भेटियो करिब २२ वर्षपछि । मलाई खुसी लाग्यो ऊँसग भेटेर । ऊ पनि खुसी भयो । हालचाल सोध्ने बताउने काम गरियो ।
२, ३ वटा घडेरी देखाइ सकेपछि  खाजा खाऊँ भनेर उसले सहरको मसहुर रेस्टुरेन्टमा लग्यो । हामी दुवै रेस्टुरेन्टको रुफटपको टेबलमा बसेपछि उसले बियर लगायत मासुका विभिन्न परिकार मगायो । मादक पदार्थ खासै नखाने हुँदा मैले  अलि अलि मात्रै लिएँ, उसले आँखा रातो हन्जेल पियो ।

अनि आफ्नो विगत बताउन थाल्यो । रक्सीले झुम्म भएको मौकामा उसले कुनै पनि कुरा नलुकाईकन बताए झैँ लाग्यो मलाई ।
उसले ६, ७ वर्ष लगाएर प्रमाणपत्रको तहको परीक्षा उत्तीर्ण गरेछ । त्यसपछि एउटा ठूलै मान्छेले उसलाई एउटा कुनै हाकिमलाई  भनेर उसको अफिसमा लेखापालको काम लगाई दिएछन् । जागिर गर्दै ऊ स्नातक तहमा भर्ना भएछ तर कति जोड गर्दा पनि उत्तीर्ण नभएपछि पढ्ने लेठो छोडिदिएछ ।

 त्यो अफिसको हाकिमले उसको बाठोपन देखेर उसलाई अफिसकोे महत्त्वपूर्ण जिम्मा दिएछ । उसले त्यस अफिसको सम्पत्ति मजैले  घोटाला गरेछ अनि त्यो अफिसलाई डुबाइदिएछ र अफिसले उसलाई बल्ल जागिरबाट बिदा गरेछ ।
उसले आईए पास नहुँदै म इन्जिनियर हँु भनेर झुक्याएर एउटा धनाढ्यकी छोरी पनि बिहे गर्न भ्याएछ । 
अनि सुररालीले दिएको घडेरीमा कम्पनी डुबाएको पैसाले एउटा घर बनाएछ ।

त्यही बीचमा विदेशतिर लोग्ने हुने एकजना महिलालाई मायाँजालमा पारेछ । अनि बिहे गर्छुु भनी उनको लोग्नेले जग्गा किन्न विदेशबाट पठाएको ५ लाख जति हात पारेछ । पछि उसको सम्बन्ध तिनको लोग्नेले थाहा पाएपछि ती महिलाले आत्महत्या गरिछन् । 

त्यसले गर्दा त उसलाई  तिनीसग बिहे गर्न पनि परेन अनि पैसा पनि  तिर्न परेन । त्यति बेला उसले पार्टीको नाममा चन्दा पनि  उठाउने पनि गरेकोे रहेछ जुन पछि वुझाउँनै परेन रे । तिनै महिलाको ५ लाखमा पार्टीको १० लाख थपेर उसले घर जग्गाको कारोवार सुरु गरेछ र लाखौँ हँुदै करोडौँ कमाएछ । अहिले त उसले ठेक्कापट्टा पनि सुरु गरेको रहेछ ।

अहिले त ऊ पार्टीलाई लाखाँै चन्दा दिन सक्ने भएको छ । अनि उच्च पदस्थहरुलाई करोडौँ कमिसन दिएर रामै्र ठेक्का पनि हात पार्न थालेको छ ।
मलाई उसको कुरा सुन्दा वाक्क लागि सकेको थियो र तर ऊ भने युद्ध जितेको कमान्डरझैँ आफ्नो पुरुषार्थको बयान गर्दै थियो ।

खानपिन सकेपछि पैसा मैले तिर्न खोजेझँै गरेँ । तर उसले आज एउटा कारोबारमा गजबको कमाइ भएको भन्दै सबै पैसा आफँैले तिर्याे र टन्नै टिप्स पनि दियो ।
उसले घरमा फोन गरेर परिवारका सदस्यको अर्डर लियो अनि घर लैजान कुखुराको साँप्रा, पिज्जा लगायतका खानाको प्याकेट पनि लियो ।
उसलाई रक्सीको मात लागेकाले उसलाई घरसम्म सुरक्षित पुर्याइदिउँ अनि घर पनि हेरौँ र  परिवार पनि चिनौँ भनेर म उसलाई छोड्न गएँ ।
उसले घर त गजबको बनाएको रहेछ । परिवार पनि सबै खातापिता । छोराछोरी नेपालकै महँगामध्येका विद्यालय र कलेजमा पढ्दा रहेछन् ।
घरमा कुराकानी गर्दा तपाईंको सट्टा हजुुर, आइस्योस्, गइस्योस् जस्ता दरबारिया बोली चल्दो रहेछ ।

 एउटा साना केटो (सायद छोरो हो कि ) नाकमा सिँगान बगाउदै रुँदै थियो । तर उसको घाँटीमा कुकुरको दाम्लो जस्तै पहँेलो (सायद सुनकै होला) सिक्री लगाएको थियो ।
म छोटो कुराकानी गरेर निस्केँ ।
भोलिपल्ट बिहानै एउटा ल्यान्डलाइनबाट फोन आयो । उही दलबहादुरको रहेछ ।
उसको फोन उठाउने वित्तिकै मैले हत्त न पत्त भनेँ, “मलाई जग्गा मनपर्याे । तर निर्णय गर्न केही दिन देऊ यार ।”
उसले भन्यो, जग्गाको कुरा त छँदै छ । बरु मैलै अहिले फोन गरेको कुरा चाहिँ अर्कै छ ।

हिजो हाम्रो मन्त्रीज्यू मेरोमा डिनरका लागि आइस्या’थ्यो । मैलै तिम्रो बारेमा बताएँ अनि एउटा राम्रो ठाउँमा नियुक्ति दिनुपर्याे, हाम्रै पार्टीको साथी हो, पढाइ लेखाइ धेरै नै छ भनेको छु । 
मैले भने, “धन्यवाद मेरो सिफारिस गरेकोमा ।  मैले के गर्नु पर्ला अब ?”
उसले जवाफ दियो, “अरू केही गर्नु पर्दैन, ५० जति बुझाए हुन्छ ।”

मलाई २२० भोल्टको करेन्ट लागे जस्तो भयो । मैले भने, म कमिसन दिएर कुनै हालतमा कुनै जागिर खाँदिनँ । 
तब दलबहादुर जङ्गियो, मलाई पत्याएनौ जस्तो छ । मलाई तिमीले जग्गाको कारोवार गर्नै मामुली ‘दले’  सम्झे जस्तो छ ।
म त तेत्रो योग्यता भएको मेरो साथी,  डेरामा बसेको, लोकल बस चढेर हिँडेको अनि छोराछोरीलाई सरकारी स्कुल कलेजमा पढाएको सम्झेर तिम्रो कल्याण होस् भनी करोडाँ कमाइ हुने जागिर मिलाई दिन खोजेको, तर तिमीले

मेरो पहुँच देखेनौँ । मलाई दले सझियौ ।
 पहिले जेजे भए पनि अब म दले होइन ।
उसले एकै सासमा आफ्नो भनाइ टुङ्ग्यायो । 

हो, त्यही भएर मैले उसलाई मामुली दले सम्झेकोमा चित्त दुखाउँदै रिसाएर फोन ढ्याक्क राखेका थियोे  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा