बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बानेश्वरमा धम्कीसहित स्थानीयले गरे डाक्टर–नर्स बसेको घर घेराउ

शनिबार, ०६ भदौ २०७७, १६ : ४८
शनिबार, ०६ भदौ २०७७

काठमाडौं । राजधानीको बानेश्वरस्थित मिलनचोकका स्थानीयले डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी बसेको घर घेराउ गरेका छन् । 
शनिवार बिहान उनीहरुले होस्टेल सञ्चालकलाई गाली गलौजसहित स्वास्थ्यकर्मीलाई नराख्न धम्क्याएका हुन् ।

 सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी राखेका लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टलका सञ्चालक रोहित रानालाई उनीहरुले धक्याउँदै पचास साठी जनाको टोलीले घर घेराउ गरेको रानाले रातोपाटीलाई जानकारी दिए । 
बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्काको नेतृत्वमा आएका स्थानीयले कोरोनाकाे महामारीकाे समयमा अनुमति बिना किन स्वास्थ्यकर्मीलाई होस्टलमा राखेको भनेर उनीहरुले धम्की दिएको रानाको भनाइ छ । 

उनले भने, ‘बिहानै आएर उनीहरुले हुलदंगा गर्न खोजे, घर घेराउ गरेर धम्की पनि दिए । स्वास्थ्यकर्मीमा होस्टलमा राखेको कारण मलाई दुर्व्यवहार गरे ।’

बानेश्वरमा २ वटा होस्टेल सञ्चालन गरेका रानाले खाली भएको एउटा होस्टलमा भदौ ४ गतेदेखि केही स्वास्थ्यकर्मीलाई राखेका थिए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा राख्नका लागि अस्पतालले उनीसँग आन्तरिक सहमति गरेको थियो । 

सोही अनुसार ४ गतेदेखि ४ जना स्वास्थ्यकर्मी होस्टलमा बस्न थालेका थिए । उनले होस्टलमा बस्न दिएका स्वास्थ्यकर्मीहरु स्वस्थ रहेको र कार्यालयको काम सकेपछि आएर बस्ने उनले सुनाए । रानाले बिहानको घटनापछि आफू निकै नै मानसिक तनावमा रहेको बताएका छन् । 

स्वास्थ्यकर्मीबाट कोरोना सर्न सक्ने भन्दै विभिन्न ठाउँमा दुर्व्यवहारको घटना हुँदै आएको छ । सरकारले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार नगर्न आग्रह गर्दै आएको छ भने यदि कसैले दुर्व्यवहार गरेको पाइए कानुन अनुसार कारबाही हुने स्पष्ट पारेको छ । 

होस्टल सञ्चालक रानाको भनाइ जस्ताको जस्तैः
बानेश्वरको मिलनचोकमा दुई वटा घरमा लर्ड बुद्ध बोइज एण्ड गल्र्स होस्टल सञ्चालन गर्दै आएको छु । अहिले कोरोना संक्रमणका कारण एउटा होस्टल खाली छ ।
खाली होस्टलमा सिभिल अस्पतालका केही स्वास्थ्यकर्मीलाई बस्न दिनेगरी अस्पतालसँग ४ गते सहमति भएको थियो । म आफैँ पनि स्वास्थ्यकर्मी भएको हुनाले स्वास्थ्यकर्मीको समस्या बुझेको छु । केही दिन पहिले म आफैं पनि सर्वसाधारणको पीसीआर स्वाब संकलन गर्न खटिएको थिएँ । अस्पतालले स्वास्थ्यकर्मीलाई सुरक्षित बस्ने ठाउँ चाहियो भनेपछि मैले उपलब्ध गराएको हुँ । उहाँहरु ड्युटी सकेपछि चार पाँच जना आएर बस्न थाल्नुभएको थियो  । 


टोल विकास समितिको अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्का हुनुहुँदो रहेछ । उहाँहरुको नेतृत्वमा आएका स्थानीयहरु आएर घर घेर्दै मलाई दुर्यवहार गर्नुभयो । उहाँहरु हुलदंगा गर्ने किसिमले आउनुभयो । तलाई बाहिर निस्कन दिँदैनौँ, तेरो हातखुट्टा भाँच्छु भन्नेसम्मको चेतावनी दिए । दलाल फटाहा सम्म भने । झन्डै डेढ घण्टा उनीहरुले गेटमा बसेर गाली गरिरहे । 
सिभिल अस्पतालले यसबारेमा काठमाडौ जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिसकेको रहेछ । वडा कार्यालयबाट अनुमति नलिएको भनेर उहाँहरुले मलाई तथानाम गाली गर्दै अमानवीय व्यवहार गर्नुभयो । डाँका फटाहा, कति पैसा खाइस् भन्ने जस्ता अपशब्द पनि प्रयोग गर्नुभयो । यहाँ बस्ने सबै स्वस्थ रहेका स्वास्थ्यकर्मी नै हो । पछि बानेश्वर बृत्तबाट इन्सपेक्टर नेतृत्वको टोली आएपछि एकछिन गाली गर्नुभयो र जानुभयो । 
उहाँहरुले बुझ्न सक्नुभएन । हामीले स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै राखेको हो । खुला ठाउँपनि हैन घरमा ठूलो कम्पाउण्ड छ । स्वास्थ्यकर्मी भएपछि आफू स्वस्थ रहन उहाँहरुले आफै बुझेर पनि स्वास्थ्य मापदण्ड पालना गर्नुहुन्छ । उहाँहरुले त्यसरी अपशब्द प्रयोग गरेपछि म निकै मानसिक तनावमा रहेको छु । हामी स्वास्थ्यकर्मीमाथि यस्तै व्यवहार हुने, हामीले कहिँपनि बस्न नपाउने हो भने भोलि उहाँहरुको कसले उपचार गर्छ ? के हामी मान्छे हैनौँ र ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप