इराकबाट सबै अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको प्रतिबद्धता
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा तैनाथ सबै अमेरिकी सेनालाई जतिसक्दो चाँडो स्वदेश फर्काउने पुनः प्रतिबद्धता व्यक्त गरेका छन् । इराकी प्रधानमन्त्री मुस्तफा अल–काधिमीसँग ह्वाइट हाउसमा बिहीबार भएको भेटका क्रममा राष्ट्रपति ट्रम्पले उक्त योजनाका बारेमा जानकारी गराएका हुन् ।
इराकमा पछिल्ला वर्षहरुमा इरान समर्थित अतिवादीहरुको प्रभाव बढ्न थालेको तथा इस्लामिक स्टेटका लडाकूहरु पुनः सक्रिय हुन थालेको भन्दै प्रधानमन्त्री मुस्तफाले राष्ट्रपति ट्रम्पसँग विचारविमर्श गरेका थिए । ह्वाइट हाउसमा प्रधानमन्त्री मुस्तफासँगको भेटमा राष्ट्रपति ट्रम्पले भने, “हामी इराक छाड्न व्यग्र छौं, र म त्यो दिनको प्रतिक्षामा छु ।”
ट्रम्पले भने, “हामी इराकमा थियौं र अब हामी छाड्दैछौं । हामी जतिसक्दो चाँडो इराकबाट बाहिरिने छौं र हामीबीचको सम्बन्ध जहिल्यै सुमधुर छ । हामीबीच ठूलै स्तरमा तेलसम्बन्धी सम्झौता हुँदैछ । हाम्रा तेल कम्पनीहरुले इराकमा ठूलो लगानी गर्दैछन् । हाम्रो विश्वासमा इराकीहरुले आफ्नो मुलुकको रक्षा आफैं गर्न सक्षम छन् ।”
अमेरिकी सेनाको फिर्तीको समयसीमाका बारेमा सोधिएको एक प्रश्नमा अमेरिकी विदेशमन्त्री माइप पोम्पेओले आफ्नो अभियान समाप्त भएलगत्तै इराक छाड्ने बताए । उनले राष्ट्रपतिले इराकमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्न आदेश दिइसक्नुभएको छ र त्यहीअनुसार काम अघि बढिसकेको जानकारी दिए ।
इराकमा हाल पाँच हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् । गत महिना अमेरिकाका वरिष्ट सैनिक जनरलले इराकमा सानो संख्यामा अमेरिकी सैनिक तैनाथ रहने बताएका थिए । अमेरिकी केन्द्रीय कमान्डका कमान्डर जनरल फ्रान्क म्याकेन्जीले इराकी सरकारले अमेरिकी सेनाको उपस्थितिलाई स्वागत गर्ने विश्वास व्यक्त गरेका छन् ।
अमेरिकी समर्थनप्राप्त इराकी प्रधानमन्त्री अल–काधिमी गत मे महिनामा देशको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । अमेरिका–इरानबीचको शत्रुतापूर्ण सम्बन्धका कारण काधिमीले दुबै देशसँगको सम्बन्धलाई सन्तुलनमा राख्न निकै ठूलो चुनौतीको सामना गर्नु परिरहेको छ । इरानको कुनै सन्देश लिएर वासिङ्टन आउनुभएको थियो कि भन्ने प्रश्नमा इराकी प्रधानमन्त्री काधिमीले “आफू अमेरिका भ्रमणमा जाँदा हुलाकी भएर नजाने” बताएका छन् ।
इराक र इरानबीच सांस्कृतिक र धार्मिक सम्बन्ध रहिआएको छ र यसलाई अमेरिकाले मान्यता दिएको छ । तर इराकभित्र इरान समर्थित लडाकूको चलखेल रोक्न अमेरिकाले विगतदेखि नै प्रयत्न गरिरहेको छ । बुधबार नै अमेरिकी ऊर्जामन्त्री डान ब्राउलेटले आठ अर्ब डलर बराबरको लगानी गर्न निजी क्षेत्रका अमेरिकी कम्पनीहरुसँग सम्झौता भएको बताएका थिए ।
उक्त सम्झौतामा इराकी इन्धन तथा विद्युत मन्त्री र पाँचवटा अमेरिकी कम्पनीबीच हस्ताक्षर भएको थियो । इराकमा लगानी गर्न इच्छुक निजी क्षेत्रका कम्पनीहरुमा हनीवेल, बेकर ह्युजेज, जिई, स्टेलार र चेभरोन रहेका छन् । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, ३ जना नेपालीको सनाखत
-
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
-
आज तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
सुप्रिम सहकारी ठगी प्रकरण : रविविरुद्ध रुपन्देहीमा आजदेखि थुनछेक बहस
-
लस एन्जलसमा फेरि दन्कियो डढेलो, हजारौँलाई सुरक्षित स्थानमा सारियो
-
राप्रपाको केन्द्रीय समिति बैठक भोलिदेखि, आज कार्यसम्पादन समितिको बैठक बस्दै