कोरोना रोकथाम तथा नियन्त्रणमा ‘निषेधाज्ञा’ कति प्रभावकारी ?
काठमाडौं । कोरोना महामारी बढेसँगै अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । तीमध्ये केहीमा जिल्लाभर र केहीमा निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
पछिल्लो समय संक्रमित एवं मृतकको संख्या लगातार बढ्दै गएको छ । विरगञ्ज, सर्लाही, रौतहट, मोरङ लगायतका जिल्ला कोरोनाको हटस्पट बन्दै गएका छन् । सोही अवस्थालाई मध्यनजर गर्दै सरकारले कोरोना संक्रमण बढेका क्षेत्रमा निषेधाज्ञाको नीति लिएको हो ।
त्यसो त, सरकारले यसअघि १२० दिनसम्म लकडाउन गरेको थियो । कोरोना महामारीविरुद्ध लकडाउनमात्र समाधान होइन भन्दै सर्वत्र आवाज उठ्न थालेपछि सरकारले लकडाउन खुकुलो तुल्यायो तर संक्रमणको ग्राफ बढ्दै गयो । अहिले लकडाउनको साटो ‘निषेधाज्ञा’ अवलम्बन गरिएको छ । निषेधाज्ञा आफैमा समाधान हो त ? प्रश्न उठ्नु स्वाभाविक हो ।
कोरोना संक्रमणको बढ्दो ग्राफ, जिल्ला प्रशासन कार्यालयमार्फत जारी भएका निषेधाज्ञा, संक्रमण बढ्दै गएको अवस्थामा सरकारको दायित्व र नागरिकका कर्तव्यका बारेमा सरोकारवालासँग गरिएको कुराकानी –
‘निषेधाज्ञामार्फत भिड कम गराएकोमात्र हो’
नारायणप्रसाद भट्ट (प्रजिअ, ललितपुर)
छोटो समय भनेर शुरु गरेको लकडाउन चार महिनासम्म कायम रह्यो, अब काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा कति समय जान्छ ?
– कति समय जान्छ भन्नेबारे अहिले नै भन्न सकिँदैन । समयले के बताउँछ, त्यही अनुसार अरु निर्णय हुन्छ ।
निषेधाज्ञाको निर्णयले मात्रै कोरोना नियन्त्रण सम्भव छ ?
– निषेध गर्ने आदेश जारी गरेरमात्रै कोरोना नियन्त्रण हुने होइन । मान्छे–मान्छेको बीचमा नजान, भिडमा नजान, सामाजिक दुरी कायम गरेर बस्न र स्वास्थ्य मापदण्ड पालना गराउन निषेधाज्ञा गरिएको हो । मान्छे बाहिर आएर भिड भयो, भनेर भिड कम गराएको मात्र हो ।
कोरोना नियन्त्रण गर्न स्थानीय प्रशासनसँग अरु योजना के छ ?
पहिलो कुरा, निषेधाज्ञाले कोरोना निको हुने होइन, भिडभाड कम गर्ने र संक्रमण विस्तार हुने स्थिति नहोस् भनेर सजग गराएको मात्र हो । कोरोना नियन्त्रण गर्ने थप योजना स्वास्थ्य मन्त्रालय र सरकारले बनाउनुपर्छ । स्थानीय प्रशासनले सकारको आदेश पालना गर्ने र शान्तिसुरक्षा कायम गर्नेमात्र हो ।
‘अत्यावश्यक सेवालाई रोक लगाएका छैनौं’
जनकराज दाहाल, प्रजिअ काठमाडौं
निषेधाज्ञा कति समय जान्छ भन्ने जनचासो छ, कति लम्बिएला भन्न सक्ने अवस्था छ ?
–कति जान्छ, के जान्छ भनेर चिन्ता लिन हुँदैन । १० गतेसम्म हामी घरमा बस्यौं र सरकारले जारी गरेको सूचनालाई अक्षरसः पालना गर्यौं भने भाइरस हटेर जान्छ, त्यसपछि केही पनि हुँदैन ।
निषेधाज्ञामात्रै कोरोना नियन्त्रणको अचुक औषधि हो र ? अरु पनि तयारी होलान् नि स्थानीय प्रशासनको ?
अरु तयारी हुँदैछ । आईसोलेशन सेन्टर बनाउने र क्वारेन्टिन थप्ने गृहकार्य भईरहेको छ । सो गृहकार्यमा स्थानीय जनप्रतिनिधि पनि जुटिरहेका छन् । तर, अहिले चैं भिडभाड कम गरेर टेस्टिङको दायरा पनि बढाउनु प¥यो । कन्ट्याक्ट ट्रेसिङलाई ब्यवस्थित गर्नुपर्ने छ । त्यो काममा हामी लागेका छौं ।
मुख्य कुराचाहिँ अहिले मान्छेको चहलपहललाई जिरो बनाउने हो । भाइरस नियन्त्रणको उपाय अरु पनि छन्, तर उत्तम उपाय त यही रहेछ । मान्छे फिजिकल डिस्ट्यान्समा रह्यो भने भाईरस आफैं हराएर जाने रहेछ । त्यसकारण संक्रमण हुन नदिने यसको उपाय हो । त्यसैले यो आदेश जारी भएको हो । यो आदेश कडा पनि छ । पहिलो दिन सर्वसाधारणले निषेधाज्ञा कार्यान्वयनमा सहयोग गर्नुभएको छ, सात दिन यसरी नै गएमा निकाश आउँछ ।
भाइरस नियन्त्रणको अरु उपयचाहिँ कहिले लागु गरिन्छ ?
निषेधाज्ञा अन्त्यपछि अरु उपाय लागु गरिन्छ । अहिले नै सात दिनबाट २० दिन भन्ने कुरा नगरौं । १० गतेसम्मको आदेश पालना गर्न हामी जति अनुशासित हुन्छौं, त्यसबाट संक्रमणको दर उति नै घट्छ ।
किराना पसल र तरकारी पसल खोल्न पाउने कि नपाउने भन्ने अन्योल छ, त्यस्ता पसल खोल्न पाइन्छ ?
यसमा कन्फ्युज हुनुपर्ने केही छैन । अत्यावश्यक सेवा बस्तु भनेका छौं हामीले, त्यसमा दाल, चामल, तरकारी, पिठो, औषधि, फोहोरमैला र इन्धन ढुवानी जस्ता कुराहरु पर्छन् । त्यसमा हामीले कुनै समय तोकेका छैनौं । समयको हकमा सम्बन्धित स्थानीय निकायले समय तोक्न सक्छन्, तर हामीले अत्यावश्यक सेवालाई रोक लगाएका छैनौं ।
‘बढीमा १४ दिन निषेधाज्ञा उपयुक्त’
जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे
चार महिना लामो लकडाउन झेलेर केही राहत पाएका उपत्यकावासी अहिले निषेधाज्ञाको सामना गरिरहेका छन्, निषेधाज्ञा कति लम्बिन सक्ने देख्नुहुन्छ ?
लामो समयसम्म लकडाउन अथवा निषेधाज्ञा गर्न हुँदैन । अहिले एक हप्ताका लागि गरिएको निषेधाज्ञा बढीमा अब अर्को एक हप्तामात्रै थप्नु उचित हुन्छ ।
१४ दिन निषेधाज्ञा हुँदा सामान्य लक्षण भएका संक्रमितहरु निको भइसक्छन् र लक्षण देखापरेकाहरु त्यो अवधिमा अस्पतालमा गइसक्छन् । त्यसैले १४ दिनपछि अर्को व्यक्तिमा संक्रमण सार्न सक्ने सम्भावना कम हुन्छ । समुदायस्तरमा संक्रमण फैलिएको देखिएकाले एक साइकल अवधि अर्थात् १४ दिनसम्म निषेधाज्ञा गर्नु उपयुक्त हुन्छ ।
निषेधाज्ञाको अवधिमा सरकारले र जनताले के कस्ता दायित्व पूरा गर्नुपर्छ ?
निषेधाज्ञाको अवस्थामा जनता घरभित्र बस्ने र सरकार सडकमा आउने काम भएमात्रै संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेपछि सरकारले परीक्षणको दायरा बढाउनुपर्छ र मास परीक्षणमार्फत धेरैभन्दा धेरै व्यक्तिको परीक्षण यो अवधिमा गरिसक्नुपर्छ । अहिले सरकारसँग दैनिक २२ हजार जनाको पीसीआर परीक्षण गर्न सक्ने क्षमता छ । समुदायस्तरमा पुगेर पुल प्रणालीबाट दैनिक १ लाखभन्दा बढीको परीक्षण गर्न सक्नुपर्छ । यसबाट कुन ठाउँमा संक्रमण बढी छ भन्ने कुरा छुट्याउन सकिन्छ र सोही अनुसार व्यवस्थापनको कार्य गर्न सकिन्छ ।
अस्पतालका आइसोलेसन बेड भरिए भन्ने कुरा आएको छ, संक्रमण दर यसैगरी बढ्ने हो भने आगामी दिनमा कस्तो अवस्था आउला ?
आइसोलेसन वार्ड र आइसीयु अहिले नै भरिएको अवस्था भएकाले संक्रमणको स्थिति बढ्यो भने ठूलो क्षति हुन सक्छ । त्यसैले केही अस्पताललाई कोभिड अस्पतालको रुपमा छुट्याउन आवश्यक छ ।
काठमाडौंका दुईवटा मेडिकल कलेज, दुईवटा निजी अस्पताल र दुईवटा सरकारी अस्पताललाई कोरोना अस्पतालको रुपमा छुट्याई भेन्टिलेटर, आइसियु, आइसोलेसन वार्डको संख्या बढाउनुपर्छ । संक्रमण धेरै बढेको अवस्थामा सबै बिरामीलाई अस्पतालमा राख्न सम्भव नहुने भएकाले त्यसका लागि अहिलेदेखि नै व्यवस्था गर्नुपर्छ । आइसियु तथा भेन्टिलेटरमा राख्नुपर्ने बिरामीलाई मात्रै अस्पताल भर्ना गर्ने व्यवस्था गर्नुपर्छ ।
‘सरकारले नियन्त्रण गरेर यो नियन्त्रण हुँदैन’
डा. जागेश्वर गौतम, प्रवक्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएको छ । यसले भिडभाड नियन्त्रण त हुने देखियो । अब यसपछि स्वास्थ्य मन्त्रालयले कोरोना नियन्त्रण गर्न के काम गर्दैछ ?
नेपाल सरकारले जे जे नियम अवलम्बन गर्दै आएको थियो, त्यसैलाई अब पनि निरन्तरता दिन्छ । निषेधाज्ञा गर्नपर्नाको कारण भनेको मानिसहरुले दुरी कायम नगरेकाले हो । लकडाउन चाहिँ तयारीका लागि गरिएको थियो, निषेधाज्ञाचाहिँ कुनै तयारीका लागि होइन ।
कोरोना रोकथाममा सरकार कसरी अघि बढ्छ त ?
सरकारले नियन्त्रण गरेर यो नियन्त्रण हुँदैन । यसमा ढुक्क हुनुस् ।
अब सरकारले गर्नुपर्ने कामचाहिँ के–के हुन् त ?
सरकारले गर्नुपर्ने काम भनेको टेस्टिङ बढाउने हो । त्यो बढिरहेको छ । अहिले चाहेको जति टेस्टिङ भइरहेको छ । टेस्टिङ गरेका मानिसलाई आइसोलेट गर्छाैँ । सुविधा भएकालाई घरमै पनि राख्छौँ । किनभने घरमा बस्दा मान्छे बाँच्ने र छिटो निको हुने रहेछ, विदेशको अनुभवमा ।
उपत्यकाका हकमा मात्रै तुरुन्त ६ हजार आइसोेलेसन बेडको बन्दबस्त गर्दैछौँ । त्यसपछि जो सिरियस छन्, उनीहरुलाई अस्पतालमा राख्छौँ । के बुझ्नुस् भने कोरोनाको उपचार छैन ।
कोरोना नियन्त्रणमा निजी अस्पतालहरुले सहयोग गरेनन् भन्ने गुनासो आएको छ । के उनीहरुले सहयोग नगरेकै हुन् ?
महामारीका बेला निजी र सरकारी भन्ने कुरा हुँदैन । जरुरी पर्दा सरकारले निजी अस्पताल पनि सरकारले लिएर चलाउँछ । उनीहरुले सहयोग गरुन्जेल सहयोग लिन्छ, यदि नदिने अवस्था भयो भने आफै लिएर चलाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको घटनाप्रति कांग्रेसको निन्दा
-
१० बजे १० समाचार : रिहा भए रवि, राष्ट्रपतिलाई मनाउन प्रमको फोन
-
अध्यादेशले तरंगित राजनीति, एकैसाथ जुर्मुराए सरकार र प्रतिपक्ष