बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रेडक्रसको अवैध काममा सिडिओको संरक्षण

शुक्रबार, ०५ भदौ २०७७, १३ : १३
शुक्रबार, ०५ भदौ २०७७

तुलसीपुर । यतिबेला नेपाल रेडक्रस सोसाइटिभित्रको अनियमितताले चारैतिर छाएको छ । पछिल्लो समयमा केन्द्रमा मात्र नभई जिल्लामा पनि अनियमितता हुन थालेको छ । दाङमा रेडक्रसले फोटोकपी मेसिनदेखि पासपोर्टलाई चाहिने आवश्यक कागजातको समेत काम गर्दै आएको छ । त्यो पनि अवैधरुपमा जिल्ला प्रशासन कार्यालय दाङको प्राङ्गणभित्रै ।

रेडक्रस सामाजिक काममा भन्दा पनि व्यापारमा सक्रिय देखिन्छ । सामान्य व्यवसायीले सानो पसल गर्न पनि पान नम्बर लिएर र दर्ता प्रक्रिया सबै मिलाएर गर्नुपर्ने नियम हुँदाहुँदा पनि रेडक्रसले जिल्ला प्रशासनभित्रै दर्ता बिना र पान नम्वर नलिएको पाइएको छ ।

त्यसको संरक्षण विगतदेखि नै प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुले गर्दै आएका छन् । हालका दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले पनि अवैध रुपमा काम सञ्चालन गरेको थाहा पाउँदापाउँदै पनि मौनता साँधेका छन् । प्रजिअ रिजाल आफै नै प्रशासनभित्रै क्वार्टरमा बस्ने भएपनि यो विषयमा थाहा पाए पनि नपाएको झै गर्छन् । अहिले यो विषयमा आमव्यवसायीहरुले विरोध जनाएका छन् ।

व्यवसायीहरुले आफूहरुले सामान्य पसलमा कागजात नपुर्याउँदा प्रशासनले दुःख दिने भएपनि अवैधरुपमा रेडक्रसले गरेको कामको प्रजिअले संरक्षण गर्नु कानुन विपरितको काम रहेको एक कर्मचारीले बताए ।

अवैध क्रसर संरक्षण गर्दै आएको आरोप खेपेका र जिल्ला अनुगमन समितिको नाममा मुद्धा खेपिरहेका रिजालको पछिल्लोपटक रेडक्रसको अवैध धन्दामा पनि मिलेमतो देखिएको छ । उनले यो बारेमा थाहा पाएपनि केही गर्न नसकिएको आफै स्वीकारेका छन् ।

उनले भने, ‘विस्तारै प्रक्रियामा जाला नि, दर्ता गर्लान् । रेडक्रस सामाजिक संघसंस्था हो ।’ विगत केही वर्षदेखि रेडक्रसको सामाजिक अडिट पनि हुन सकेको छैन । यातायात व्यवस्था कार्यालय तुलसीपुरमा हुने नवीकरण फाराम, नामसारी फाराम, प्रतिलिपि फाराम, लाइसेन्स आवेदन फारामलगायतका सबै फाराम रेडक्रस आफैले छपाई गरी सेवाग्राहीलाई बिक्री वितरण गर्दै आएको छ ।

यसबाट प्रतिफाराम कम्तीमा पनि २० रुपैयाँ सेवाग्राहीले भुक्तानी गर्नुपर्दछ । महिनामा हजारौं यस्ता फाराम बिक्री हुन्छन्, तर यसको हिसाव–किताव कति हुन्छ भन्ने विषयमा सामाजिक परीक्षण अहिलेसम्म भएको छैन । रक्तसञ्चार

केन्द्र सञ्चालनको जिम्मा राज्यका अन्य निकायले लिन नसकेको अवस्थामा आर्थिक समस्या हटाउनका लागि यसअघिका प्रमुख जिल्ला अधिकारीको रोहवरमै बसेको बैठकले यो फाराम बिक्रीको अधिकार रेडक्रसलाई दिइएको हो । यद्यपि यो अभ्यास अन्य जिल्लाहरुमा भने छैन ।

सहयोग पुगोस् भनेरै हालसम्म पनि जिल्ला प्रशासन कार्यालयमा रक्त सञ्चार केन्द्रको सहयोगार्थ भनेरै कम्पाउण्डभित्रै राहदानी बनाउनेहरुको फोटो खिच्ने मात्र होइन, फोटोकपीसमेतको व्यापार भइरहेकोलाई आमउपभोक्ताले आश्चर्य व्यक्त गरेका छन् । यद्यपि यी सबै आम्दानी जोड्दा पनि रेडक्रस साँच्चै महंगोमा रगत बेच्ने अवस्थामा हो त ?

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीहरुकै लागि अत्यावश्यक रगतको मूल्य दाङमा महंगो भएको सन्दर्भमा दुई चरणको छलफल सम्पन्न गरिसकेको छ । रगतको मूल्यको ग्याप मिलाउनका लागि प्रतिष्ठानका उपकुलपति प्रा.डा. संगीता भण्डारी तथा रेडक्रस सोसाइटी दाङका सभापति नारायण आचार्य तथा स्थानीय जनप्रतिनिधिबीच पहिलो चरणमा प्रतिष्ठानमै छलफल भएको थियो ।

छलफलमा प्रतिष्ठानले आफ्नै परिसरमा रहेको रेडक्रस भवनबाट महंगोमा बिरामीलाई रगत उपलव्ध गराइनु दूर्भाग्य भएको भन्दै यसलाई कम गर्न आग्रह गरेको थियो । य

दि रेडक्रसले आफ्नो व्यापार रोकेर सेवाभावमा मात्रै लागेमा रेडक्रसकै स्वामित्वमा रक्तसञ्चार भवन सञ्चालन हुने र प्राविधिक कर्मचारीलाई पारिश्रमिक नपुगेको अवस्थामा प्रतिष्ठानले सम्पूर्ण आर्थिक दायित्वसमेत निर्वाह गर्ने बताएको थियो । यद्यपि यसमा अन्तिम सहमति भने भएको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप