बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संक्रमण देखिएका र जोखिमयुक्त ठाउँमा निसंक्रमण गर्दै काठमाडौँ महानगर

शुक्रबार, ०५ भदौ २०७७, १० : ५२
शुक्रबार, ०५ भदौ २०७७

काठमाडौँ । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निसंक्रमण गर्ने (डीस्इन्फेक्ट) कार्यलाई निरन्तरता दिँदै आएको छ । कोभिड–१९ (कोरोनाभाइरस) को संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसंक्रमण गर्ने कार्यलाई निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाको भनाइ छ ।

काठमाडौँ महानगरपालिकाले कोभिड–१९ को माहामारीसँगै टेकु, वीर अस्पताल, कालीमाटी फलफुल बजारलगायतका स्थानमा सुरुदेखि नै डीस–इन्फेक्टेन्ट कार्यलाई निरन्तरता दिदैँ आएको थियो ।  संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक क्षेत्रमा निसंक्रमण गर्ने कार्यलाई अहिले पनि निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । यसका लागि दैनिक १० वटासम्म सवारी र उपकरण परिचालन गर्ने गरिएको पनि काठमाडौँ महानगरपालिकाको भनाइ छ । ‘कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा डिस–इन्फेक्टेन्ट गर्ने र दैनिक ५ वटा टोलीले सो सम्बन्धी चनचेतनामुलक सन्देश सम्प्रेषणका लागि माइकिङ गर्ने कार्य गर्दै आएको छ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘प्रत्येक वडासँग समन्वय गर्न ५ वटा अनुगमन टोली समेत परिचालन गरेका छौँ ।’ गर्मी मौसममा डेंगुलगायतको प्रकोप पनि बढ्ने भएकाले त्यसको नियन्त्रणका लागि समेत प्रभावकारी हुने हुँदा डीस्इन्फेक्ट गर्ने कार्यलाई निरन्तरता दिएको उनको भनाई छ ।

नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले पनि संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक ठाउँलाई निसंक्रमण गर्ने कार्यलाई अहिले पनि निरन्तरता दिदैँ आएको जानकारी दिए । ‘मुख्य गरेर कालीमाटी, बल्खलगायतका बढी भिडभाड हुने तरकारी बजार, महानगरीय ट्राफिक प्रहरी महाशाखा, अस्पताल क्षेत्र र कोरोना संक्रमित भेटिएका ठाउँलाई प्राथमिकतामा राखेर निसंक्रमण गर्ने कार्यलाई निरन्तरता दिएका छौँ,’ उनले भने,  ‘एकसरो काठमाडौँ महानगरका ३२ वटै वडामा पुगिसकेका छौँ । वडाबाट माग भएका ठाउँमा पठाउने गरेका छौँ ।’

उनले निसंक्रमण गर्ने प्रचलित मापदण्डबमोजिमको रसायन प्रयोग गरेर काम गरिरहेको जानकारी दिए । ‘जनस्वास्थ्य सुरक्षाका लागि यो जरुरी छ । यसलाई हामी भाइरसको संक्रमण निस्तेज नहुञ्जेल जारी राख्छौं,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप