नेकपाको अन्तरसङ्घर्ष र सम्भावित परिणाम
विभाजनको सँघारमा पुगेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकताको यात्रामा अघि बढिरहेको छ । कम्युनिस्ट पार्टीमा चल्ने वादविवाद र बहसलाई स्वाभाविक र सामान्य पनि हो । अन्तरविरोध र अन्तरसङ्घर्ष एउटा जीवन्त पार्टीको नियमित प्रक्रिया पनि हो । द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दृष्टिकोणअनुसार हरेक वस्तुमा अन्तरविरोध हुनु अनिवार्य प्रक्रिया हो । तर यस्ता अन्तरविरोध ठीक ढङ्गले सञ्चालन गर्न नसक्दा पार्टीहरु टुटफुट र विभाजनमा जाने परम्परा नेपालमा मात्रै होइन संसारभरि नै भएको पाइन्छ । पार्टी एकताको दुई वर्ष नबित्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा चलेको असाधारण अन्तरविरोधले पार्टीलाई फुटको नजिक पु-याएको थियो । नेतृत्वको सचेत पहलकदमी, आम नेता कार्यकर्ता र जनताको खबरदारी साथै संसारभरिका मित्र शक्तिहरुका सकारात्मक सुझावले नेकपा दुर्घटनाको सन्निकट पुगेर पनि जोगिएको छ ।
गत माघमा सम्पन्न केन्द्रीय समिति बैठकपश्चात पार्टीमा नयाँ उत्साह पैदा भएको थियो । कम्युनिस्ट पार्टी र आन्दोलनमा गत केन्द्रीय समिति बैठक निकै महत्त्वपूर्ण निर्णयका साथ सम्पन्न भएको विश्वास गरिएको थियो । तर केन्द्रीय समिति बैठकलगत्तै भएका गुटगत भेला, छलफल र गरिएका गतिविधिले त्यो बैठकको उत्साहलाई निरन्तर निराशामा बदल्दै लग्यो । पार्टीभित्र र बाहिर जुन किसिमका बहस र छलफल हुन थाले तिनले अन्तरविरोधलाई अझ बढी चर्काउँदै लगे । लकडाउनको अवधिमा सरकारद्वारा ल्याइएका विवादास्पद अध्यादेश र सांसद अपहरण लगायतका घटनाक्रमले पार्टीभित्रको अन्तरविरोधलाई छताछुल्ल रूपमा सतहमा ल्याइदिएको थियो । फाउन्डेसनका नाममा देशव्यापी रूपमा भएका समानान्तर भेला र नेकपा (एमाले) नामको नयाँ दल दर्तासम्म आइपुग्दा पार्टीमा स्पष्ट रूपले विभाजनको सङ्केत देखिएको थियो ।
देशको विषम परिस्थितिमा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा यस्ता खाले गतिविधि बढी रहनाले पार्टीभित्र मात्र होइन आम जनतामा समेत निराशा उत्पन्न गरिरहेको थियो । सुरुवातमा सामान्य मतान्तर जस्तो देखापरेको अन्तरविरोध विस्तारै बढ्दै गएर गम्भीर सैद्धान्तिक मतभेदको रूपमा विकास भएको थियो । पार्टी एकताको दस्तावेजमा सहमति कायम गरिएका वैचारिक राजनीतिक विषयसमेत यो अन्तर विरोधमा तानिए । पार्टीको तत्कालीन कार्यदिशा समाजवाद उन्मुख जनताको जनवाद हो । जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद र माओवादबारे सैद्धान्तिक बहस महाधिवेशनले टुङ्गो लगाउने गरी पार्टी एकताको दस्तावेज सर्वसम्मत रूपले पारित गरिएको थियो । पार्टीभित्रको अन्तरविरोध बढ्दै जाँदा एकताको साझा दस्तावेजभन्दा बाहिर गएर आधारभूत सैद्धान्तिक सहमतिलाई तोड्दै अघि बढ्ने काम भयो । अर्थात पार्टीभित्रको अन्तरविरोध सैद्धान्तिक रूपमा समेत स्पष्ट रूपमा देखापरेको थियो ।
पार्टीभित्रको अन्तरविरोध सामान्य प्राविधिक विषय मात्र थिएन । त्यो सैद्धान्तिक विषय पनि थियो । सँगसँगै पार्टीभित्र विधि र अनुशासन लागू गर्ने कि नगर्ने भन्ने पनि थियो । अर्थात पार्टीलाई विधिसम्मत तरिकाले चलाउने या स्वेच्छाचारी ढङ्गले ? भन्ने विषय गम्भीर रूपले उठेको थियो । दुई फरकफरक साङ्गठनिक पद्धतिको अभ्यास गर्दै आएका कम्युनिस्ट पार्टीहरूको एकतापश्चात नेकपा बनेको हो । विधिसम्मत ढङ्गले अगाडि बढ्न मूल नेतृत्वमा पार्टीको विधि र अनुशासनप्रति निकै ठूलो संवेदनशीलता आवश्यक हुने गर्छ । कम्युनिस्ट पार्टीले सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्दछ । लेनिनवादी सङ्गठनात्मक सिद्धान्त आधारभूत रूपले पार्टीले स्वीकार गरेको छ । पार्टी एकतापश्चात नै कमिटी प्रणालीलाई कमजोर बनाउने गतिविधि भइरहेका थिए । देशमा नियम कानुनको पालना गराउने जिम्मेवारी पाएको नेतृत्वले आफ्नै पार्टीमा विधि र पद्धतिको पालना गराउन नसक्नाले समस्या उत्पन्न भएको थियो । कतिपय सन्दर्भमा नेतृत्वले आफै पनि विधिको उल्लङ्घन गर्दै गएकाले अन्तरविरोध बढ्दै गएको थियो ।
विधि र पद्धतिको सैद्धान्तिक व्यख्या र परिभाषाभन्दा पनि त्यसलाई व्यवहारमा कसरी पालना गरिन्छ भन्ने कुराले धेरै ठूलो अर्थ राख्ने गर्छ । सरकार गठनको साढे दुई वर्ष बितिसक्दा पनि सरकार पार्टीको निर्देशनमा चल्ने वा निश्चित गुटको घेरामा चल्ने भन्ने कुराको व्यावहारिक अनुभूति पार्टीमा भएन । पार्टीका आधिकारिक कमिटीले गरेका निर्णयहरु कार्यान्वयन नहुने र धेरैजसो निर्णय भइसकेपछि मात्रै जानकारी हुने परिपाटीले समस्यालाई जटिल बनाइरहेका थिए । अझ महत्त्वपूर्ण कुरा त के भने पार्टीको आधिकारिक दस्तावेजमा उल्लेख भएको समाजवाद उन्मुख जनताको जनवादलाई आधार मानेर जाने वा दलाल पुँजीवादको घेरामा रमाउने भन्ने कुरा विधिसम्बन्धी सैद्धान्तिक महत्त्वको गम्भीर विषय थियो । यस्ता गम्भीर सवालमा पार्टीभित्र गम्भीर बहस गरेर साझा बुझाइका साथ सरकार सञ्चालन गरेको भए धेरै हदसम्म समस्या समाधान हुने थियो ।
विधि र पद्धतिसम्बन्धी अर्काे महत्त्वपूर्ण कुरा के भने पार्टी एकताका बाँकी कार्यभार सम्पन्न गर्ने सवाल अहिलेसम्म पनि पूरा हुन सकेन । पार्टी एकता घोषणा गर्दा तीन महिना भित्रमा सम्पन्न गर्ने भनिएको एकताका कतिपय कार्यहरु दुई वर्ष वितिसक्दा पनि पूरा भएका छैनन् । पार्टीका महत्त्वपूर्ण आयोग र विभागले पूर्णता पाउन बाँकी नै छन् । पोलिटब्युरो र केन्द्रीय परिषद् बन्न बाँकी नै छ । जसले गर्दा देशभर कम्युनिस्ट आन्दोलनमा लामो इतिहास भएका हजारौँ नेता कार्यकर्ताहरु पार्टीको आधिकारिक जिम्मेवारीविहीन अवस्थामा रहेका छन् । गत माघमा सम्पन्न केन्द्रीय समिति बैठकले १५ दिनभित्रमा सम्पन्न गर्ने भनेका यिनै कार्यहरू हुन् । पार्टीका आधारभूत कामहरुमा आफैले गरेका निर्णय लागू नहुनु कमिटी प्रणालीप्रति चरम उदासीनताको नमुना हो । पार्टीमा उत्पन्न समस्याको एउटा महत्त्वपूर्ण कारण यो पनि हो ।
पार्टीको आन्तरिक जीवनका कामहरु एकातिर अलपत्र पर्ने र अर्काेतिर सरकारका कामप्रति आम जनतामा असन्तुष्टि बढ्दै जानुले पनि अन्तरविरोधको वस्तुगत वातावरण तयार हुँदै गएको हो । यसबीचमा सरकारका तर्फबाट भएका कतिपय विवादास्पद निर्णय र भ्रष्टाचारजन्य ठूल्ठूला घटनाक्रमले गर्दा जनतामा असन्तुष्टि बढ्दै गएको हो । विशेषगरी विगतका बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त उपलब्धिहरूको संस्थागत गर्ने र त्यसलाई आम जनताले अनुभूत गर्नेगरी विकास गर्ने कुरामा सरकारको तर्फबाट ठोस पहलकदमी हुन सकेन । वर्तमान सरकार र व्यवस्था विगतकै व्यवस्था र सरकारको निरन्तरता होइन । दुईतिहाइ जनमत प्राप्त सरकार हो । यसप्रति जनताको अपार विश्वासको साथमा निकै ठूलो अपेक्षा हुनु स्वाभाविक हो । यो तथ्यलाई सरकारले गम्भीरता पूर्वक आत्मसात गर्नुपर्दथ्यो । त्यसमा रहेको कमीकमजोरी पार्टीका विभिन्न माध्यम हुँदै केन्द्रीय अन्तरविरोधको रूपमा अभिव्यक्त हुन पुगेको हो ।
यही अन्तरविरोधको उत्कर्षमा पार्टी विभाजनको सँघारमा पुगेको थियो । पार्टीमा विधिसम्मत ढङ्गले उठेका विषयहरु समयमै हल नहुँदा तिनले विस्फोटक रूप लिँदै गएका थिए । पार्टीमा उठेका सैद्धान्तिक र राजनीतिक विषयलाई समेत विषयान्तर गरेर प्रस्तुत गरिदिनाले पनि समस्या झन् बढ्दै गएको थियो । पार्टीकै एकथरी नेताहरुले उठेका भिन्न विचार र दृष्टिकोणलाई अतिरन्जित तरिकाले व्याख्या गरे । यो असन्तुष्टि कुर्सीका लागि हो भनेर गलत व्याख्या गरे । सरकार ढाल्नका लागि गरेको षड्यन्त्रको रूपमा समेत व्याख्या गरे । जसले गर्दा आफ्नै पार्टीका नेताहरूको मानमर्दन गर्ने र गौरवपूर्ण इतिहासप्रति हिलो छ्याप्ने काम गरियो । यसरी नेताहरूको बीचमा एकता पैदा गर्ने काम गरियो र पार्टीभित्र विभाजनको रेखा कोर्ने काम गरियो ।
यही सेरोफेरोमा जिम्मेवार नेतृत्वमा रहेका कतिपय नेताहरुका भूमिका पनि आम पार्टी पङ्क्ति र जनताले प्रस्ट रूपमा देख्ने मौका पाए । पार्टीभित्रको यो लडाइँ वैचारिक र राजनीतिक थियो । सही र गलतको बीचमा थियो । भ्रम र यथार्थको बीचमा थियो । यथास्थिति र अग्रगमनको बीचमा थियो । दलाल पुँजीवाद र समाजवादको बीचमा थियो । पार्टीलाई विभाजित गर्ने र आफ्नो स्वार्थ पूरा गर्ने देशीविदेशी प्रतिक्रियावादी र पार्टीलाई एकताबद्ध गर्ने र कम्युनिस्ट आन्दोलनको विकास गर्ने क्रान्तिकारी शक्तिका बीचको लडाइँ थियो । यो लडाइँ वर्गीय पक्षधरताको पनि थियो । यो लडाइँको अग्रभागमा सहभागी नेताहरूको कित्ताबन्दी प्रष्ट देखिन्थ्यो । यो सही र गलतको लडाइँमा एउटा यस्तो मध्यमार्गी धार पनि देखापर्याे जसले आफ्नो प्रस्ट दृष्टिकोण सार्वजनिक गर्न सकेन ।
पार्टीभित्रको बहस मूलतः वस्तुगत र सामान्यतः आत्मगत परिस्थितिको उपज थियो । नेपाली कम्युनिस्ट आन्दोलनमा टुटफुट र विभाजनका अनेकौँ घटनाक्रममा सामेल नेताहरूको केन्द्रीकरण नेकपामा छ । त्यसैले फुटको परिणाम के हुन्छ भन्ने कुराको आकलन सबैले गरेकै थिए । यहाँ फुट्ने र जुट्नेभन्दा पनि पार्टीलाई देश जनताको परिवर्तनको संवाहक बनाउने या त यथास्थितिको रक्षक बनाउने भन्ने विषय मुख्य हो । यो लडाइँको केन्द्रमा पार्टीको सचिवालय र त्यसमा पनि विशेषतः दुइवटा अध्यक्ष भएको कुरा स्पष्ट नै छ । दुवैजना अध्यक्षका बीचमा पार्टीभित्रको अन्तरविरोधलाई हल गर्ने सैद्धान्तिक सहमति भएपछि एकताको नयाँ कोर्समा पार्टी अगाडि बढेको छ । पार्टीको आन्तरिक समस्यालाई समाधान गर्ने आधार तयार गर्न छ सदस्यीय कार्यदल गठनसम्म आइपुग्दा पार्टी एकताको बाटोमा अगाडि बढेको अनुभूति गर्न सकिन्छ ।
पार्टी एकताबद्ध हुनु भनेको केवल दुई अध्यक्ष बीचको एकता मात्र होइन केही नेताहरूको पदीय भागबण्डा मिलाउने कुरा मात्रै पनि होइन । सरकारका मन्त्रीहरुको फेरबदल र केही व्यक्तिहरूको राजनीतिक नियुक्ति गर्ने सहमति पनि पार्टी एकताको शर्त हुँदै होइन । पार्टी एकता भनेको वैचारिक समस्याको समाधान हो । राजनीतिक रूपमा देखापरेका भिन्नताको बुझाइमा एकरूपता हो । पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्ने नयाँ प्रतिबद्धता हो । विगतका गल्ती र कमी कमजोरीलाई सच्याएर अघि बढ्ने अठोट हो । पार्टीलाई लाखौँ नेता कार्यकर्ताको विश्वास र भरोसामा बदल्ने नयाँ कार्ययोजनामा सहमति हो । यसो भयो भने वास्तविक अर्थमा एकता सङ्घर्ष र रूपान्तरण हुन्छ । नयाँ आधारमा खडा भएको एकता भन्ने बुझिन्छ । दुई अध्यक्ष र पार्टी सचिवालयमा यदि यस किसिमको बुझाइमा एकता भएको हो भने यसले पार्टीलाई दूरगामी हिसाबले एकताको मार्गमा अघि बढाउनेछ ।
सहमति, सम्झौता, एकता आफैमा महत्त्वपूर्ण कुराहरु हुन् ।
नेपाली कम्युनिस्ट आन्दोलनमा सङ्घर्षका गौरवपूर्ण विरासत बोकेको नेकपाको एकतालाई जोगाएर रूपान्तरणसहित अघि बढ्नु ऐतिहासिक जिम्मेवारी र दायित्व हो । विगतमा कम्युनिस्ट आन्दोलनमा देखा पर्ने सानातिना अन्तरविरोधले पनि पार्टीहरु फुटेर विभाजनमा गएका थुप्रै उदाहरण छन् । अहिलेको एकताको प्रतिबद्धताले ती नकारात्मक कुराहरुको शिक्षालाई गहिरोगरी नेतृत्वले बोध गरेको देखिन्छ । अन्तर सङ्घर्षको उचाइ र एकताको गहिराइलाई राम्रोसँग आत्मसात गर्न सकिएन भने यो एकता पनि भविष्यमा अर्काे दुखद् विभाजनमा परिणत हुनसक्छ । गरिएका सहमति र समझदारी पटक पटक तोडिएका नमीठो विगत हाम्रो सामु ताजा नै छ । एकताको यो उचाइ साँच्चिकै रूपान्तरणमा जान्छ वा फेरि अर्काे अन्तरविरोधको भुमरीमा फस्छ भन्ने कुरा थाहा पाउन धेरै लामो समय पर्खन पर्ने छैन । निकट भविष्यमा नै त्यो चित्र स्पष्ट रूपमा देखा पर्ने निश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी खेलकुद परिषद्का सदस्यले लिए शपथ
-
युवा तथा खेलकुद क्षेत्रमा प्रयाप्त स्रोत नभएको मन्त्री महर्जनको गुनासो
-
कास्की अदालतमा छविसँग ३ घण्टा बयान, रविको सुरु नै भएन
-
कति भयो १ खर्ब लगानीमा निर्माण भइरहेको अरुण–३ आयोजनाको काम ?
-
मस्कले बढाए एक्स प्रिमियको सब्सक्रिप्शन शुल्क
-
क्रिकेट मैदान बाहिर अमन सिंहमाथि आक्रमण भएको पुष्टि भएन : प्रहरी