शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१०२ औँ जन्मोत्सव मनाउने चाहना अधुरै, आर्यघाटमा स्रष्टाले यसरी सम्झिए राष्ट्रकविलाई (भिडियो)

बुधबार, ०३ भदौ २०७७, १८ : ११
बुधबार, ०३ भदौ २०७७

राष्ट्रकवि माधवप्रसाद घिमिरे र उनका परिवारको एउटा चाहना थियो–१०२ औँ जन्मोत्सव भव्यताका साथ मनाउने । जुन चाहना अब अधुरै भएको छ । अबको १ महिनापछि अर्थात असोज ९ गते राष्ट्रकवि घिमिरेको १ सय २ औं जन्मजयन्ती थियो । सो जन्मजयन्ती सँगै मनाउने चाहना अधुरो बनेको उनकी बुहारी बिजुबाबु घिमिरेले रातोपाटीलाई बताइन् । १ शताब्दी लामो दीर्घजीवन पाएका घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ । उनको मंगलबार साँझ निधन भएको थियो । 


नेपाली सेनाका मानार्थ कर्णेल रहेका घिमिरेलाई नेपाली सेना तथा सशस्त्र प्रहरीका तर्फबाट अन्तिम सलामी दिइएको थियो । अन्तिम संस्कारमा घिमिरे पत्नी, छोरा, छोरी, ज्वाईंका अलावा संस्कृति पर्यटन नागरिक उडड्यनमन्त्री योगेश भट्टराई, सुरक्षा अंगका उच्च पदाधिकारी, साहित्यकारलगायतको उपस्थिति थियो । 
राष्ट्रकवि घिमिरेलाई उनका जेठा छोरा इन्दिवर घिमिरेले दागवत्ति दिए ।

 

घिमिरे गत चैत दोश्रो सातादेखि बिरामी परेका थिए । उनकी जेठी बुहारीका अनुसार ज्वरो आउने, ब्लड प्रेसर बढ्ने, युरिन इन्फेक्सन हुनेजस्ता स्वास्थ्य समस्या देखिएको थियो ।  
परिवारले अस्पताल लैजाँदै घर ल्याउँदै गरिरहेका थिए भने पछिल्लो समय औषधि तितो भयो भन्दै उनले खान छोडेका थिए । यस्तै ढाड दुख्ने समस्या पनि भएको थियो भने कफ जमेर खोक्न अप्ठेरो भइरहेको थियो ।
जीवनको अन्तिम क्षणमा उनी ऋतम्बरा महाकाव्य लेखिरहेका थिए । तर त्यसलाई उनले पूरा गर्न पाएनन् ।  


सो महाकाब्यको पछिल्लो २ भाग बाँकी थियो । अन्तिम भाग रफमा लेखेपनि उनले त्यसलाई पूरा गर्न नपाएको बुहारीले बताइन् । 
लमजुङको दुर्गम स्थानमा जन्मेर काठमाडौं आएर साहित्यमा निरन्तर लागेका घिमिरेलाई मृत्युपछि राज्यले उच्च सम्मानका साथमा अन्तेष्टि गरिएकोमा घिमिरे परिवार अत्यन्त खुसी भएको उनले बताइन् ।  घिमिरेलाई अन्तिम बिदाइका लागि उनकी पत्नि महाकाली पनि आर्यघाट पुगेकी थिइन् । 

राष्ट्रकवि घोषित भएपछि धेरै खुसी भएका थिए
कोरोना भाइरसको संक्रमणको जोखिमका कारण आर्यघाटमा थोरै मात्र मलामी पुगेका थिए । जसमा घिमिरेसँग नजिकको सम्बन्ध भएका केही साहित्यकार पनि थिए । उनीहरुले घिमिरेलाई यो युगको एकजना राष्ट्रप्रेमी, प्रकृतिप्रेमी र मानवतावादी साहित्यकार भएको प्रतिक्रिया दिए । 

साहित्यकार नरेन्द्रराज प्रसाईले आफूलाई राष्ट्रकवि घोषित गरिएपछि उनी निकै खुसी भएको प्रसंग सुनाए । 
०६० सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री र कमल थापा सञ्चारमन्त्री भएका बेला मन्त्रिपरिषदको बैठकबाट घिमिरेलाई राष्ट्रकवि घोषणा गरिएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले त्यसलाई लालमोहोर लगाएका थिए । त्यो बेला घिमिरे धेरै खुसी भएको र साहित्यकारहरुलाई आफ्नो घरमा खाना खान बोलाएको प्रसाईले स्मरण गरे । उनका अनुसार साहित्यकारतर्फ पहिलो पटक प्रथम श्रेणीको गोरखा दक्षिणबाहु पुरस्कार पाउँदा पनि घिमिरे निकै खुसी भएका थिए । 

उनले भने, ‘लमजुङको गाउँमा जन्मेको एउटा बाहुनले गोरखा दक्षिणबाहु पनि पाएँ, राष्ट्रकवि हुने अवसर पाएँ भनेर उहाँ निकै खुसी हुनुभएको मैले आज स्मरण गरेँ ।’
नेपाली साहित्यमा घिमिरे जनप्रिय साहित्यकारका रुपमा रहेको प्रसाईले बताए । लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, माधव घिमिरेका कृतिहरु जनमानसमा भिज्ने, जनताले पढ्ने भएर लोकप्रिय भएको उनको तर्क छ । 


यस्तै साहित्यकार जीवनाथ धमलाले आफ्नो जीवनभर घिमिरेले नेपाली साहित्यको क्षेत्रमा अमूल्य समय बिताएको र उनको जस्तो शिल्प सबै नेपाली साहित्यकारहरुमा पाउन मुस्किल रहेको बताए । 

उनले भने, ‘नेपाली साहित्यमा वर्तमान समयमा एउटा युगको नेतृत्व गर्ने साहित्य सिल्पीबाट, भावनाको गांर्भीय, शिल्पीको उच्चता, राष्ट्रप्रेमको सघन अभिव्यक्ति क्षमता, त्यति कलात्मक र सौन्र्दयात्मक रुपमा अभिव्यक्त गर्ने साहित्यकारहरु नेपाली साहित्यमा सम्भवत छैनन् पनि भन्न सकिन्छ ।’

धमलाले साहित्यकार घिमिरेले नेपाली साहित्यमा कहिल्यै बिर्सन नसकिने छाप छोडेर गएको उल्लेख गरे । 
यता साझा प्रकाशनका महाप्रवन्धक होमप्रसाद गौतमले आजको दिन नेपाली साहित्यको क्षेत्रमा दुःखद दिन भएको उल्लेख गर्दै उनको निधनले साहित्यजगत र साझा प्रकाशन अत्यन्तै दुःखी भएको बताए । 
उनले आजको एक दिन शोक मनाउँदै देशका विभिन्न स्थानमा रहेका साझा प्रकाशनका कार्यालयहरु बन्द गरेको जानकारी दिए । 

उनले साझा प्रकाशनले माधव घिमिरेका एक दर्जन बढी पुस्तकहरु प्रकाशन गरेको बताउँदै घिमिरेका विचार, भावनाहरुलाई युगयुग सम्म पु¥याउन उनका प्रकाशन बाँकी रहेका कृति र प्रकाशित कृतिहरु पुनः प्रकाशन गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । राष्ट्रकविको निधनमा उपराष्ट्रपति, प्रधानमन्त्रीसहित, मन्त्री, सांसद, दलका नेता, हजाराैँ शुभेच्छुकले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । 
हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप