शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टर्किस एयरलाइन्सले मान्छे भरेर आउँदा नेपाल एयरलाइन्सलाई चाहिँ किन रित्तै फर्काइयो ?

मन्त्रालय भन्छ- ‘यो हाम्रो सरोकारको विषय होइन उतै सीसीएमसीलाई सोध्नुस्’
बुधबार, ०३ भदौ २०७७, १७ : ३९
बुधबार, ०३ भदौ २०७७

काठमाडौं । गत सोमबार नेपाल एअरलाइन्सको दुबई फ्लाईटको चार्टर उडान थियो । पूर्वनिर्धारित उडान सेडुल अनुसारनै सोमबार राति  ९ः३० बजे २३० जना यात्रु बोकेर नेपाल एयरलाइन्स दुबईको आबुधाबी उड्यो । उताबाट फर्किदा सोही फ्लाइटमा दुबईमा रहेका २६० जना नेपाली श्रमिकहरुलाई उद्धार गरेर नेपाल ल्याउने नेपाल एयरलाइन्सको योजना थियो । उता दुबईमा रहेका नेपालीहरुले टिकट पनि काटिसकेका थिए । तर उडान हुन नपाउँदै सोमबार बेलुका नै नेपाल सरकारले आकस्मिक रुपमा यस्तो निर्णय ग¥यो कि तत्कालका लागि सबै उद्धार(चार्टर) उडान स्थगित गर्ने । 

सोमबारको मन्त्रिपरिषद्को निर्णयपछि कोभिड–१९ क्राइसिस् म्यानेजमेन्ट सेन्टर(सीसीएमसी) ले सोमबार नै परराष्ट्र र पर्यटन मन्त्रालयलाई पत्राचार गर्दै तत्कालका लागि सबै उद्धार उडान रोक्न भन्यो । त्यसपछि पर्यटन मन्त्रालयले सीसीएमसीको निर्देशन मुताविक नै नेपाल एयरलाइन्सलाई दुबई उडान भर्न तर उताबाट यात्रु नल्याउन भन्यो ।

सीसीएमसीको निर्णय र पर्यटन मन्त्रालयको निर्देशन अनुसारनै नेपाल एयरलाइन्सले २३० जना यात्रु बोकेर दुबई उडान त गर्यो तर उता(दुबई)बाट भने रित्तै फर्कियो । मंगलबार बिहान ३ः३० बजे दुबईबाट नेपाल एयरलाइन्स रित्तै फर्कियो । तर,यता नेपाल एयरलाइन्स रित्तै फर्किरहँदा मंगलबार नै सरकारले इस्तानबुल टर्किस एयरलाइन्सलाई भने २०१ जना यात्रु ल्याउन अनुमति दियो ।

यसले सरकारको द्धैध चरित्रको पर्दाफास गरेको छ । सोही ठाउँबाट राष्ट्रिय ध्वजाबाहक रित्तै फर्किनुपर्दा कुनै निजी कम्पनीले चाहिँ यात्रु बोकेर आउन पाउनुले सरकारको नियत माथिनै प्रश्न चिन्ह खडा गरेको छ । यसको पछाडि सरकारनै कमिसनको खेलमा लागेको आमसर्वसाधारणको आरोप छ ।

फोटो : टर्किस एयरलाइन्सका अब्दुल्ला टुयुन्सर क्यासीसीको फेसबुकबाट

किन यस्तो भयो भन्ने रातोपाटीको प्रश्नमा नेपाल एयरलाइन्सका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी सोबारे आफुहरुलाई केहि जानकारी नभएको बताउँछन् । ‘चार्टर उडान रोक्ने निर्णय सरकारी निर्णयअनुसार नै भएको हो । पूर्व सेडुलिङ्गअनुसार कुन–कुन एयरलाइन्सको के कति कहाँ उडान थिए त्यो त जानकारी भएन । अहिलेसम्म चार्टर उडानको प्राथमिकता कसले पाउँदै आएको छ, त्यो त तपाईहरुलाई थाहै छ । तर हिजोको केसमा के भएको मलाई थाहा भएन । यो हाम्रो सरोकारको विषय पनि होइन । किन त्यस्तो भयो सीसीएमसीलाई नै सोध्नुस्’ सचिव अधिकारीले भने ।

यता, सीसीएमसीलाई पनि हामीले सम्पर्क गर्ने कोशिस गर्यौं । तर सीसीएमसी सम्पर्कमा आउनै चाहेन । हामीले जतिपटक फोन सम्पर्क गर्न खोजे पनि सीसीएमसीका सदस्यहरुले फोन नै उठाएनन् । त्यसपछि हामीले नेपाल एयरलाइन्ससँग बुझ्न खोज्यौं । नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले आफुहरुले सरकारको निर्देशन मानेर दुबईबाट रित्तै फर्किएको जानकारी दिइन् ।

‘पूर्वनिर्धारित सेडुलअनुसार नेपाल एयरलाइन्सको सोमबार राति ९ः३० बजे काठमाडौं टु दुबई चार्टर फ्लाईट थियो । सोही फ्लाईट मार्फत काठमाडौं टु दुबई २३० जना यात्रु लैजाने र उताबाट फर्किदा दुबईमा रहेका २६० जना नेपाली लिएर फर्किने हाम्रो योजना थियो । तर सरकारले सोमबार बेलुका नै मंलबारबाट कुनै पनि चार्टर उडान नगर्ने भनेर निर्णय गरिदियो । त्यसपछि हामीलाई सोही निर्देशन भयो ।’ 

प्रवक्ता खड्काले भनिन्, ‘त्यसपछि हामीले काठमाडौं टु दुबई मात्र राखेर दुबई टु काठमाडौंको सबै टिकेट क्यान्सिल गर्यौं । अन्तिम आवरमा आएर किन यस्तो निर्णय गरियो त्यो त हामीलाई थाहा भएन । तर यसले नेपाल एयरलाइन्सलाई भने घाटा लाग्यो । एकतर्फी अपरेटिङ्ग कष्ट पुुरै लष्टमा हो’ खड्काले रातोपाटीसँग भनिन् ।

यता टिकट काटेर बसेका नेपाल आउन उत्सुक नेपाली कामदारहरु समेत यो निर्णयले प्रभावित हुन पुगेका छन् । नेपाल एयरलाइन्सको फ्लाईट क्यान्सिल भएसँगै टिकट काटेर बसेका नेपालीहरु एयरपोर्टमै त्यसै अलपत्र परेका छन् । २६० जनाले टिकट काटेकोमा एकसय जनाभन्दा बढि नेपाली एयरपोर्टमा आएर अलपत्र परेको समाचार आएको छ ।

नेपाल आउने आशामा टाढा टाढाबाट एयरपोर्टसम्म आएका नेपालीहरु त्यसै अलपत्र पर्न परेकोमा अहिले सबैतिरबाट सरकारको तिब्र आलोचना भइरहेको छ ।  तर, टिकट काटिसकेकका यात्रुको पैसा भने फिर्ता हुने प्रवक्ता खड्काको भनाइ छ । यदि यात्रुहरुले चाहेको खण्डमा फ्लाईट टिकटको समयसमेत परिवर्तन गर्न सक्ने प्रवक्ता खड्काले रातोपाटीसँग बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप