केन्द्रीय संस्करण
सम्झनामा राष्ट्रकवि

‘आफ्नै मृत्युको खबर सुन्दा ‘म भाग्यमानी रहेछु’ भन्नुभएको थियो’

उहाँका रचनाहरुमा नेपाल र नेपालीको सुगन्ध मात्र आउँछ, शासकको गुणगान भेटिँदैन : साहित्यकार श्रीओम श्रेष्ठ 'रोदन'

person explore access_timeभदौ ३, २०७७ chat_bubble_outline0

राष्ट्रकवि माधव घिमिरेको मङ्गलबार साँझ ५ः५५ बजे १०१ वर्षको उमेरमा आफ्नै निवास लैनचौरमा निधन भयो । १९७६ असोज ७ गते लम्जुङको पुस्तुनमा गौरीशंकर घिमिरे र द्रौपदीदेवी घिमिरेका सुपुत्रका रूपमा जन्मिएका घिमिरेले प्रथम गुरु बद्री सुवेदीबाट शिक्षा आरम्भ गरेका थिए । उनले औपचारिक शिक्षा दुराडाँडाको संस्कृत पाठशालाबाट सुरु गरेका थिए । त्यसपछि काठमाडौँस्थित रानीपोखरी संस्कृत पाठशालाबाट प्रथमा उत्तीर्ण गरी भारतको बनारसस्थित क्विन्स कलेजबाट वि.सं. २००१ सालमा सर्वदर्शनमा शास्त्री गरेका थिए ।

ज्ञानपुष्प शीर्षकको कविता गोरखापत्र (१९९२) मा प्रकाशन गरी सार्वजनिक साहित्य सिर्जनामा होमिएका उनको पहिलो कविता सङ्ग्रह नवमञ्जरी (१९९४) हो । स्वच्छन्दतावादी भावधाराका कविता रचना गर्ने घिमिरे पटक–पटक परिष्कार गरी सिर्जनालाई माझेर मात्र सार्वजनिक गर्दथे । यसपछि उनले निरन्तर साहित्य सिर्जनामा जीवन समर्पण गरेका थिए । उनका अमर कृतिहरुमा नयाँ नेपाल (गीतिकाव्य), गौरी (शोककाव्य) राजेश्वरी, पापिनी आमा, राष्ट्रनिर्माता, धर्तीमाता, बोराको परदा, इन्द्रकुमारी, गौँथली र गजधम्मे (खण्डकाव्य), किन्नर किन्नरी (गीतसङ्ग्रह), चैतवैशाख (कवितासङ्ग्रह), शकुन्तला, मालती मङ्गले, विषकन्या, अश्वत्थामा, हिमालपारि हिमालवारि, देउकी, बालकुमारी (गीतिनाटक), आफ्नो बाँसुरी आफ्नै गीत, चारु चर्चा (निबन्ध र प्रबन्ध), बालसाहित्यमा घामपानी, बाललहरी, बिजुले र बिजुला (कवितासङ्ग्रह), सुनपती चरी (गीतसङ्ग्रह), मनचिन्ते मुरली (कथासङ्ग्रह) मुख्य छन् । यसका अतिरिक्त उनले उषाचरित्र (चम्पूकाव्य) नागानन्द (गीतिनाटक) र दुर्गासप्तशती (काव्य) पनि अनुवाद गरेका छन् । उनको अन्तिम सिर्जना ऋतम्भरा (महाकाव्य)लाई मानिएको छ, जो केहीअघिसम्म परिष्कार गर्दै थिए ।

पछिल्लो सयमय राष्ट्रकवि घिमिरेप्रति सत्ताको नजिक भएको आरोप लाग्ने गरेको छ । खासगरी २०६० सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले राष्ट्रकविबाट सम्मान गरेपछि र मानार्थ सहायकरथी (२०७४) को उपाधि ग्रहणगरेपछि उनीप्रति यस्ता आरोप लाग्न थालेका देखिन्छन् । यसै परिवेशमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान र विवादका बारेमा साहित्यकार श्रीओम श्रेष्ठ रोदनसँग मोहन दाहालले गरेको  कुराकानी :

–राष्ट्रकवि माधव घिमिरेको हिजो साँझ निधन भएको छ, यसले नेपाली साहित्य जगतमा कस्तो असर पारेको छ ?

उहाँको निधनले नेपाली साहित्यमा कहिल्यै नपुरिने एउटा खाल्टो बनेको छ । किनभने धेरै लेखकहरु हुनुहुन्छ, धेरै त्यस्ता आदरणीय स्रष्टहरु हुनुहुन्छ तर माधव घिमिरे त्यस्ता स्रष्टा हुन्, जसले आफ्नो सिर्जनाबाट बाल, युवा र वृद्धसम्म सबैको मन जित्न सफल हुनुभएको थियो । त्यही कारणले नेपालभित्रका नेपाली मात्र नभइ संसारभरिका नेपालीहरुको हृदयका एदम उच्च स्थानमा रहेका कवि हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली साहित्यका लागि अपूरणीय, अतुलनीय क्षति भएको छ ।


अलि अलि विवादमा किन पारियो भने जतिखेर त्यो व्यवस्थाको विरोध गरिरहेका थिए, त्यही बेलाको राजाले उहाँलाई राष्ट्रकविको उपाधि दिएका थिए । यो अलि बढी राजावादी हो कि भनेर विवादमा ल्याएका हुन् । तर उहाँका रचनाहरुमा जहिल्यै पनि नेपाल, नेपाली जनता र नेपालको सुगन्ध मात्र आउने भए । कुनै शासकको गुणगान आएको देखिँदैन, भेटिँदैन ।


उनलाई राष्ट्रकविको सम्मान दिलाउने सिर्जना कुन–कुन् हुन्, तिनले कस्ता कस्ता राष्ट्रिय भाव जगाएका छन् ?

सिर्जनाले भन्दा पनि उहाँले नेपाली साहित्यमा पु¥याउनुभएको योगदानलाई आधार बनाएर राष्ट्रकविको सम्मान दिइएको थियो । सिर्जनामा त उहाँका जति पनि सिर्जना छन् कुनै पनि अलोकप्रिय छैनन् । असाध्यै गाह्रो गरेर लेख्ने उहाँ । मैले एक पटक सोधेको पनि थिएँ । तपाईंका सिर्जना सबै माझिएर टिलिक्क टल्किएको जस्तो कसरी आउँछ ? भन्दा– म सिर्जना गर्छु गरिसकेपछि बिर्सन्छु । २–४ महिना, ६–८ महिना, वर्ष दिनसम्म पनि बिर्सन्छु । त्यो बिर्सिएपछि फेरि त्यसलाई खोतलेर हेर्छु । त्यसपछि त्यो सिर्जनालाई निर्ममतापूर्वक परिष्कार गर्छु, जबसम्म आफूलाई चित्त बुझ्दैन, मेरो रचनाले मलाई बेइज्जत गर्दैन, मैले मागेको इज्जतको सम्मान गर्छ भन्ने विश्वस्त भएपछि मात्र म घरबाट बाहिर निकाल्छु भन्नु हुन्थ्यो । त्यही कारणले गर्दा उहाँका जति सिर्जना छन्, सबै कालजयी छन् । जस्तो, गाउँछ गीत नेपाली ज्योतीको पङ्ख उचाली ... भन्ने एउटै गीतले नेपालीहरुको हृदयलाई झङ्कार गर्छ । मतलब त्यो हृदयलाई, नेपालीहरुलाई, नेपाली हुँ भन्ने कुरालाई गर्व बोध गराउँछ । 

–उहाँको निधनलाई एक युगको अन्त्य भनिएको छ, कस्तो, कुन युगको अन्त्य भन्न खोजिएको हो ? प्रष्ट पारिदिनुस् न ।

उहाँको युग भनेको माधव घिमिरेको युगको अन्त्य भनिएको हो, समयको युगभन्दा पनि । माधव घिमिरेको युग, उहाँले सिर्जना गर्नु भएको पहिलो रचनादेखि पूर्ण हुन नसकेको ऋतम्भरा महाकाव्यको युग, त्यस युगमा निबन्ध पर्छ, भूमिका पर्छ, गीत पर्छ, खण्डकाव्य पर्छ, शोककाव्य पर्छ । निबन्ध, कविता, गीतको अन्त्य भएको हो । ठ्याक्कै समयलाई सीमाङ्कन गरिएर भन्दा पनि माधव घिमिरे युगको अन्त्य भएको हो ।

–राष्ट्रकविलाई अजर अमर बनाउने उनका रचना कुन–कुन हुन् ? के तिनले सबै नेपालीहरुको भावनालाई गर्व गर्न प्रेरित गरेका छन् ?

उनका चर्चामा नरहेका कुनै पनि कृति छैनन् । जस्तो, गौरी एउटा सिङ्गो शोककाव्य भईकन सबै मान्छेलाई कण्ठस्थ छ । राष्ट्र निर्माता त्यस्तै छ । मालती मङ्गले लगायत धेरै छन् उहाँका । उहाँका कालजयी नभएका कुनै पनि रचना नै छैन जस्तो लाग्छ मलाई ।

–अब राष्ट्रकवि घिमिरेको धारालाई पन्छाउने, पछ्याउने नयाँ पुस्ताका कोही छन् ?

त्यसरी उहाँलाई ठ्याक्कै पन्छाउन सक्ने खुबी भएका कविहरु छैनन् । उहाँलाई पछ्याउन खोज्ने त धेरै छन् । तर उहाँलाई भेट्न सक्ने कोही पनि हुनुहुन्न । त्यसकारणले एक युगको अन्त्य, माधव घिमिरे युगको अन्त्य भनिएको हो । त्यो अन्त्यको फेरि सुरुवात हुन सक्दैन । माधव घिमिरेभन्दा अझ राम्रो लेख्न सक्ने आउन सक्ला तर उनी जस्तो लेख्नसक्ने कोही पनि आउन सक्दैनन् ।

–उनलाई खस–आर्यका मात्र राष्ट्रकवि हुन् भनेर केही आदिवासी जनजातिहरुले भन्ने गरेका छन् नि, किन होला ? 

–यो त अब खास गरी गणतन्त्रको स्थापना भइसकेपछि सबै जात जाति, सबै सम्प्रदायले आआफ्नो धारबाट मात्र हेर्न थालेको कारणले गर्दा माधव घिमिरेका रचनामा मात्र होइन धेरैका कवितामा, धेरैका उपन्यासमा, धेरैका सिर्जनाहरु, साहित्यिक गैरसाहित्यिक सिर्जनाहरुमा पनि यसरी टिप्पणी गरिएका छन् । अब मालती मङ्गले के ब्राह्मण जातिको गीति नाट्य थियो र ? होइन नि ।

अलि अलि विवादमा किन पारियो भने जतिखेर त्यो व्यवस्थाको विरोध गरिरहेका थिए, त्यही बेलाको राजाले उहाँलाई राष्ट्रकविको उपाधि दिएका थिए । यो अलि बढी राजावादी हो कि भनेर विवादमा ल्याएका हुन् । तर उहाँका रचनाहरुमा जहिल्यै पनि नेपाल, नेपाली जनता र नेपालको सुगन्ध मात्र आउने भए । कुनै शासकको गुणगान आएको देखिँदैन, भेटिँदैन ।

–उहाँका बारेमा केही अविष्मरणीय क्षण केही छन् ?

मसँग कुरा गरिसकेपछि राष्ट्रकविका बारेमा एउटा सन्दर्भ छुटाउनु हुँदैन । एक घटना थियो, भारतबाट उपचार गरेर फर्केपछि उहाँको देहावसानको खबर सामाजिक सञ्जालमा डढेलोसरी फैलियो । उहाँका धेरै शुभचिन्तकहरुले श्रद्धाञ्जलि प्रकट गरे । त्यतिबेला सर्वप्रथम होइन भनेर सबैलाई जानकारी गराउने म थिएँ । २०७४ जेठ १४ गते शुक्रबारको दिन कसैले एउटा फेसबुकमा राष्ट्रकविको दुखद् निधन भनेर स्टाटस हाल्यो । त्यसपछि मलाई एउटा दैनिक अनलाइनले फोन गरेर सोध्यो । कन्फर्म गरिदिनुपर्यो भनेपछि मैले तुरुन्तै फोन गरेँ । उहाँ हस्पिटल गएर आउनु भएको रहेछ । त्यतिन्जेलसम्ममा अधिकांश स्रस्टाहरुले माधव घिमिरेको तस्बिरसहित दुःख व्यक्त गरिसकेका थिए । मै हुँ भन्ने एकसे एक स्रष्टाले पनि राष्ट्रकविप्रति समवेदना व्यक्त गरिसक्नु भएको थियो । त्यति मात्र नभई तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले पनि शोक व्यक्त गर्नुभयो ।

त्यसपछि मैले स्टाटस लेखेँ । मेरो स्टाटस हेरेर केहीले भटाभट हटाउन थाल्नुभयो । फेरि दोहोर्याएर पनि लेखेँ, ‘ज्यूँदो हुँदै नमारौँ’ भनेर । धेरै एफएम, अनलाइनहरुले मलाई फोन गर्न थाले । देशविदेशबाट पनि र अधिकांश सञ्चारमाध्यमले मलाई नै गरे । त्यो भ्रम हो, उहाँ अहिले राष्ट्रकवि स्वस्थ हुनुहुन्छ भनेर समाचारहरु प्रकाशित भए । त्यतिखेर म मधुपर्कको सम्पादक थिएँ । मेरै कोट गरेर उहाँको देहावसानको भ्रम चिरेको थिएँ ।

त्यसको लगत्तै केही दिनपछि म उहाँकोमा पुगेको थिएँ । अनि उहाँले अहो तपाईंले मेरो मृत्युको बारे भ्रम चिरिदिनुभएछ, तर म खुसी नै छु भन्नु भयो । किन भनेको म मरिसकेपछि मेरो बारेमा केकस्तो प्रतिक्रिया आउँछन् भन्ने मैले थाहा पाउने थिइनँ । अहिले ज्युँदै मलाई मारिदिएका कारणले गर्दा मरेपछिका प्रतिक्रियाहरु पनि सुन्न पाएँ । त्यसैले खुसी छु भन्नुभयो । मरिसकेपछि ममाथि कस्तो प्रतिक्रिया आउँदो रहेछ भन्ने महसुस गर्न पाएँ । त्यस हिसाबले म भाग्यमानी हो । अरू मान्छेले आफ्नो मृत्युपछिको आफ्नो प्रतिक्रिया सुन्न पाउँदैनन्, देख्न पाउँदैनन् भनेर खुसी नै प्रकट गर्नुभएको थियो । यो चाहिँ कसैले बताउन नसक्ने एउटा सन्दर्भ हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.