पुस्तासँगै विचार फेरिएको छ बा
बा तिमीले बल्लबल्ल ती काँधमा धानेको त्यो पहाड
बल गरीगरी आफ्नै बलले बोकेको त्यो पहाड
त्यही पहाडमा उभिएकी मेरी आमा
मेरी आमाभित्र उब्जिएको म, हुर्किएको म
मेरी भएकी आमा
उता मै उभिने पहाड बोकेर पनि मेरो नभएका बा
बस्, मलाई मेरी आमाको काख न्यानो थियो
र त आमालाई आफ्नो बनाएँ, मेरी आमा
उता बा पुसको ठण्डीमा कठ्याङ्ग्रिरहँदा पनि
त्यो लाहुरको न्यानो भुवादार ज्याकेट
बस मेरै लागि आउँथ्यो
उहीँ मेरी आमाको न्यानो काखमा आउँथ्यो
झन् न्यानो बनाउन
बालाई यो धनमाथिको रातिगेडी जोगाउनुथ्यो
मुटु चिसो हुने चिसोमा पनि यो साहारालाई
बुढ्यौलीको साहारालाई न्यानो बनाउनुथ्यो,
त्यै बाको ज्याकेट ओढेर हुर्किएको छोरो
छोरोले अहिले आफूभित्र बा देख्दैन र भन्छ
बा तपाईं बुझ्नुहुन्न, समय बदलिएको छ पुस्ता फेरिएको छ ।
म चारखुट्टाबाट दुईखुट्टा टेक्ने दिन
ती समाएका भित्ता छाड्ने दिन
आफ्नै खुट्टामा उभिएको दिन
संसार जितेको दिन, हो मैले त्यसै दिन
यो ब्राह्मण आफ्ना पैतलामुनि पारेको थिएँ
यता विश्व विजय गरेको छोरो
धङधङाउँदै आफ्ै खुट्टामा उभियो, हिँड्यो, दौडियो
र फेरि, फेरि एकबार उही पुरानो भित्तो समायो
मात्र दुई निमेषमा उहीँ पुरानै भुइँमा थचक्क थच्चियो
बल्ल ती कमजोर खुट्टाले विस्तारै बुझ्दै गए
आफ्नै खुट्टामा उभिनु
आफ्नै तागतमा उभिनु रहेनछ
ती खुट्टाको तागत त बाको कमाइमा लुक्दो रहेछ
बाको पसिना नबग्ने दिन
यी ताते ताते खुट्टा बस ताते तातेमै हराउने रैछन्
हराउने रैछ यो छोरो
तैनि अचेल हर्लक्क बढेको छोरोलाई लाग्छ र भन्छ
बा तपाईं बुझ्नुहुन्न, समय बदलिएको छ पुस्ता फेरिएको छ ।
वर्षैपिच्छे घरमा चप्पलका दुई जोर नयाँ फित्ता आउँथे
वर्षैपिच्छे घरमा चप्पलका दुई जोेर नयाँ तलुवा आउँथे
असारमा फित्ता आउँथे, पुसमा तलुवा आउँथे
लाग्थ्यो, बाले वर्षमा नयाँ चप्पल दुई जोर फेर्नुहुन्छ
यता यो छोराका नाममा बस एक जोर
मात्र एक जोर चुइँ चुइँ बज्ने जुत्ता थियो
साउने झरी नथेग्ने त्यो हात्तीछाप
कहाँ झरीभन्दा ठूला मेरा बालाई थेग्न सक्थ्यो
बरू च्वाट्ट फित्ता चुडाउँथ्यो
कलेजो चुडेझैँ मान्ने मेरा बा
अमिलिको मनले बाले नयाँ फित्ता हाल्ने दिन
बाको चप्पलले जुनी बदलिन्थ्यो
उता आफ्नो पुरानो जुत्ता उही पुरानै आवाज निकाल्थ्यो चुइँ चुइँ
यता फेरि पुस सुरू भयो, बाले फेरि
फेरि फेरि चप्पल लगाउनु भयो,
फेरि पैतलाले खिइएको गोलो प्वालवाला तलुवा फेरियो
फेरि नयाँ तलुवा हालियो
यता आफ्नो पुरानो जुत्ता उही पुरानो आवाज पनि बोल्न छाडिसक्यो
उहिले जुत्ता बोल्दा पनि नबोल्ने मेरा बा
जुत्ता नबोल्दा पनि नबोल्ने मेरा बा
बाले चप्पलमा फित्ता फेर्ने दिन गरिबी नदेख्ने म
छानो चुहिने दिन, तलुवाभित्र अभाव नबुझ्ने म
यो हर्लक्क बढेर बुझ्ने भएको छोरो अचेल भन्छ
बा तपाईं बुझ्नुहुन्न, समय बदलिएको छ पुस्ता फेरिएको छ ।
त्यस्तो मुठ्ठीभरिको मान्छे हुर्काएर
कुर्सीमा बस्ने बनाएका ए बा
तिमीले हुरी हुण्डरी सहेर ठूलो बनाएको छोरो
लोकसेवा पास गरेको छोरो
उसका करिब २० वटा परीक्षामा
करिब १००० प्रश्नमा अँह कहीँ कतै
तिम्रो देनको प्रश्न सोधिएन
कतै तिम्रो योगदानको प्रश्न सोधिएन
उसको इतिहास खण्डमा पनि अँह कहीँ कतै
हिजो आमाको काखमा लाहुरको न्यानो भुवादार ज्याकेट छोरोले ओढ्दा कठ्याङ्ग्रिएको तिम्रो तापक्रम कति थियो ?
ती वर्षैपिच्छे २ जोर फित्ता फेर्दा कति फित्ता फेरिए,
यो कहिल्यै सोधिएन
खै कस्तो इतिहास लेख्यौ बा ?
कसैले नसोध्ने इतिहास
कसैले नखोज्ने इतिहास
कसैले नपढ्ने इतिहास
लोक सेवाले पनि छुटाउने प्रश्न
किन प्रश्नैभित्रको प्रश्नै बनिरह्यौ ? सधैँ सधैँ
र त यो हर्लक्क बढेको छोरोलाई लाग्छ र भन्छ
बा तपाईं बुझ्नुहुन्न, समय बदलिएको छ पुस्ता फेरिएको छ ।
हिजो उहीँ फाटेको स्कुलको सर्टलाई खिस्याउँदा
मैले बाको चोर औँला समाएर
उसैलाई चोर औँला देखाएर
उसैको बारे बालाई भन्दिने म
संसारकै बलियो लाग्ने मेरा बा
खासमा तपाईं त कमजोर हुनुहुँदो रहेछ
निरहि, संसारकै निरिह मेरा बा
गरिबीले सिध्याएर मक्किएका मेरा बा
आज यो छोरो यता बाकै गरिबी महसुस गरिरहन्छ
आफैभित्र बा भेट्टाउन नसकेको म
पछुताउँछु र भन्छु बा बन्नु र पहाड बोक्नु उस्तै रहेछ
बा माफ गर्नुहोस्
बा त सधैँ बा नै हुँदोरहेछ
कहाँ समय फेरिएको छ ? भलै पुस्ता फेरिएको होस्
बा यो छोरोले फेरि आज भित्रैबाट सम्झिएको छ,
भित्रैबाट, मुटुभित्रैबाट भनेको छ
ह्याप्पी फादर्स डे मेरो बुवा
ह्याप्पी फादर्स डे ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले आज बलियो श्रीलङ्कासँग पहिलो खेल खेल्दै
-
रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय लगियो
-
लाखौँको अवैध काठसहित पिकअप भ्यान बरामद
-
‘पीजी’ पढ्ने डाक्टर र कलेज सञ्चालकबिच निर्वाह भत्ताको विवाद : मध्यमार्गी बाटो खोज्दै सरकार
-
एप्पलले पायो अनौठो सेक्युरिटी क्यामराको प्याटेन्ट
-
पाथीभरा मन्दिरका पुराना घण्टी लिलाम बिक्री गरिँदै