कोरोना परीक्षणको नाममा भरतपुर पोलिक्लिनिकको लापरबाही

चितवन । भरतपुरको चौबीसकोठीमा रहेको भरतपुर पोलिक्लिनिकले कोरोना जाँचको नाममा लापरबाही गरी जनस्वास्थ्यमा खेलवाड गरेको आरोप लागेको छ ।
कोरोना परीक्षणको अनुमति नै नपाएको यो पोलिक्लिनिकले तराईका जिल्लाबाट भरतपुरमा आएका ब्यक्तिहरुलाई कोरोना परीक्षणको नाममा २ हजार शुल्क लिएर धमाधम कोभिड नेगेटिभको रिपोर्ट दिएर यसले मानव स्वास्थ्यमा चरम लापरबाही गरेको देखिएको हो ।
कोरोना परीक्षण गर्ने अनुमति नै नभएको यो पोलिक्लिनिकले यसरी धमाधम र्यापिड टेस्ट गरी रिपोर्ट दिँदा समेत सरोकारवाला निकायहरु बेखबर रहेका छन् । र्यापिड टेस्टबाट आउने रिपोर्ट सही नहुने भन्दै सरकारले समेत यो परीक्षण गर्न नपाउने भनेर सूचना समेत जारी गरिसकेको छ । तर भरतपुर पोलिक्लिनिकले मनलाग्दी गरिरहँदा पनि सरोकारवाला निकाय मौन छन् ।
कोरोनाको यस्तो महामारी भएका बेला भरतपुरको मुख्य केन्द्र चौबीसकोठी चोकमा रहेको यो पोलिक्लिनिकले यतिसम्मको लापरबाही गर्दा जिल्ला प्रशासन कार्यालय र कोरोना रोकथाम र नियन्त्रणमा सक्रिय रहेका निकायहरुले थाहा समेत नपाएजस्तो गर्नु अचम्मको बिषय भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
भरतपुर पोलिक्लिनिकको लेटरप्याडमा दिइएको रिपोर्टमा कोभिड आइजीएम र कोभिड आइजीजी परीक्षण गरिएको देखिन्छ । जसको रिपोर्ट नेगेटिभ भनिएको छ । जहाँ मेडिकल ल्याब टेक्निसियन साकार ढकालले हस्ताक्षर गरेका छन् ।
भरतपुर पोलिक्लिनिकले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको भन्दै यसलाई संक्रामक रोग ऐन अन्तर्गत कारबाही गर्न स्वास्थ्यकर्मीहरुले माग गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले आफूलाई यो बिषयमा जानकारी भएको र आफूले महानगरमा पनि जानकारी गराएको बताउँदै थप अनुसन्धान गरी आवश्यक कारबाही हुने बताए । अहिले सरकारले र्यापिड टेस्ट गर्न नपाइने सूचना नै जारी गरेकाले कसैले पनि यस्तो गर्न नपाउने उनी बताउँछन् । मेडिकल कलेजबाहेक अन्य अस्पतालहरुमा मौलाकालिका र सिटी अस्पतालले पिसिआर परीक्षण गर्न पाउने अनुमति लिएको आफूलाई जानकारी रहेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले अनुमति नलिई कसैले परीक्षण गर्न नपाउने बताए । यो विषयमा आफूले थप बुझेर आवश्यक प्रक्रिया अगाडि बढाउने उनको भनाई छ ।
भरतपुर पोलिक्लिनिकका मेडिकल ल्याब टेक्निसियन आकास खनालले स्टाफले गल्ती गरेका कारणले यस्तो समस्या भएको बताए । उनले पोलिक्लिनिकका तर्फबाट आफूहरुले त्यस्तो गल्ती नगरेको तर सत्कार ढकाल भन्ने स्टाफले गल्ती गरेको र उसलाई आफूहरुले निलम्बन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेड युनियन महासङ्घको अगुवाइमा पचास रोपनीमा अदुवाखेती
-
उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन
-
सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
-
कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा, ७१ वटा परियोजना तय
-
सहमतिलाई अन्तिम रूप दिन आज शिक्षामन्त्री र शिक्षकहरूबिच वार्ता हुँदै
-
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी अन्तिम चरणमा