शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना परीक्षणको नाममा भरतपुर पोलिक्लिनिकको लापरबाही

बुधबार, ०३ भदौ २०७७, १४ : १४
बुधबार, ०३ भदौ २०७७

चितवन । भरतपुरको चौबीसकोठीमा रहेको भरतपुर पोलिक्लिनिकले कोरोना जाँचको नाममा लापरबाही गरी जनस्वास्थ्यमा खेलवाड गरेको आरोप लागेको छ । 

कोरोना परीक्षणको अनुमति नै नपाएको यो पोलिक्लिनिकले तराईका जिल्लाबाट भरतपुरमा आएका ब्यक्तिहरुलाई कोरोना परीक्षणको नाममा २ हजार शुल्क लिएर धमाधम कोभिड नेगेटिभको रिपोर्ट दिएर यसले मानव स्वास्थ्यमा चरम लापरबाही गरेको देखिएको हो । 

कोरोना परीक्षण गर्ने अनुमति नै नभएको यो पोलिक्लिनिकले यसरी धमाधम र्यापिड टेस्ट गरी रिपोर्ट दिँदा समेत सरोकारवाला निकायहरु बेखबर रहेका छन् । र्यापिड टेस्टबाट आउने रिपोर्ट सही नहुने भन्दै सरकारले समेत यो परीक्षण गर्न नपाउने भनेर सूचना समेत जारी गरिसकेको छ । तर भरतपुर पोलिक्लिनिकले मनलाग्दी गरिरहँदा पनि सरोकारवाला निकाय मौन छन् । 

कोरोनाको यस्तो महामारी भएका बेला भरतपुरको मुख्य केन्द्र चौबीसकोठी चोकमा रहेको यो पोलिक्लिनिकले यतिसम्मको लापरबाही गर्दा जिल्ला प्रशासन कार्यालय र कोरोना रोकथाम र नियन्त्रणमा सक्रिय रहेका निकायहरुले थाहा समेत नपाएजस्तो गर्नु अचम्मको बिषय भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । 

भरतपुर पोलिक्लिनिकको लेटरप्याडमा दिइएको रिपोर्टमा कोभिड आइजीएम र कोभिड आइजीजी परीक्षण गरिएको देखिन्छ । जसको रिपोर्ट नेगेटिभ भनिएको छ । जहाँ मेडिकल ल्याब टेक्निसियन साकार ढकालले हस्ताक्षर गरेका छन् ।

भरतपुर पोलिक्लिनिकले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको भन्दै यसलाई संक्रामक रोग ऐन अन्तर्गत कारबाही गर्न स्वास्थ्यकर्मीहरुले माग गरेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले आफूलाई यो बिषयमा जानकारी भएको र आफूले महानगरमा पनि जानकारी गराएको बताउँदै थप अनुसन्धान गरी आवश्यक कारबाही हुने बताए । अहिले सरकारले र्यापिड टेस्ट गर्न नपाइने सूचना नै जारी गरेकाले कसैले पनि यस्तो गर्न नपाउने उनी बताउँछन् । मेडिकल कलेजबाहेक अन्य अस्पतालहरुमा मौलाकालिका र सिटी अस्पतालले  पिसिआर परीक्षण गर्न पाउने अनुमति लिएको आफूलाई जानकारी रहेको उनले बताए । 

जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले अनुमति नलिई कसैले परीक्षण गर्न नपाउने बताए । यो विषयमा आफूले थप बुझेर आवश्यक प्रक्रिया अगाडि बढाउने उनको भनाई छ । 

भरतपुर पोलिक्लिनिकका मेडिकल ल्याब टेक्निसियन आकास खनालले स्टाफले गल्ती गरेका कारणले यस्तो समस्या भएको बताए । उनले पोलिक्लिनिकका तर्फबाट आफूहरुले त्यस्तो गल्ती नगरेको तर सत्कार ढकाल भन्ने स्टाफले गल्ती गरेको र उसलाई आफूहरुले निलम्बन गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप