सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

महामारीको भुमरीमा तीजको रमाइलो

सोमबार, ०१ भदौ २०७७, १९ : ०४
सोमबार, ०१ भदौ २०७७

नेपालीहरूका चाडपर्व वर्षैपिच्छे चक्रझै घुम्दै घुम्दै उही ठाउँमा आइपुग्छन् । साउने सङ्क्रान्तिपछि सुरु हुने हाम्रा अधिकांश चाडपर्व साउन, भदौ, असोज, कात्तिकमा ४ महिनामा लगभग सकिन्छन् । यो प्रक्रिया हरेक वर्ष दोहोरिन्छ । वर्षभरिका दुःखकष्ट तिनै चाडहरू मनाउँदा बिर्सन्छौँ, हामी यो पनि थाहा छ । चाडपर्व देशपरदेशमा रहेका परिवारका सदस्यबीच मेलमिलाप र भेटघाट गर्ने अवसर हुन् । तीमध्ये हरितालिका तीज हामी महिलाहरूका लागि विशेष हुने गर्दछ ।

पहिला पहिला चेलीबेटीहरू वर्षदिनसम्म माइत जान नपाउने, घरमा खटेर काम गर्नुपर्ने, सासू, नन्द, आमाजूको बुहार्तन सहनुपर्ने अनि खुलेर बोल्न नपाउने, अड्कलेर दिएको खानु, लाउनु, मनोरन्जनका लागि कहीँ जानु थिएन । त्यसैले उनीहरू मनका व्यथा, पीडा पोख्ने माध्यम थियो तीज । आफूसँग भएका गरगहना लगाउनु, नयाँ लुगा लगाउन पनि विशेषगरी तीज नै उपयुक्त थियो । बिहान सबेरै उठेदेखि रातिसम्म घाँसदाउरा, बनपात, खेतीपाती, मेलापात गर्दा कपाल कोर्नेसमेत फुर्सद हँुदैनथ्यो । अनि कुन लुगा थोत्रो छ । त्यही खोज्नुपर्ने बाध्यता थियो । अनि वर्ष दिनको मनका व्यथा भुलाउने खुलेर मनोरन्जन गर्ने एक मात्र चौतारो थियो तीज । 

समयचक्र बदलावसँगै मानिसका दैनिकी तथा जीवनशैलीमा उत्पात परिवर्तन अएको छ । परिवर्तन पनि यति धेरै आयो कि आजकल चेलीबेटीलाई माइत जानभन्दा पार्टी प्यालेसका दर कार्यक्रममा जान मजा लाग्छ । विभिन्न सङ्घसंस्थामा आबद्ध भएपछि ती सङ्घ संस्थाले दर कार्यक्रम राख्छन् र त्यही कार्यक्रममा नयाँ साडी र गरगहनाको प्रदर्शन गर्न खुब राम्रो प्लेटफर्म बनेको छ पार्टी प्यालेस । 

पार्टी प्यालेसमा गरिने तीज धमाका दर बियर, भोड्का र मासुका परिकार हुनाले थोरै कमाइ हुने र हुँदा खानेका लागि सपना भयो हुनेखानेले मौलिक तीज नै बिर्सिदिए । दिदीबैनी, माइती सबैको अस्तित्व नै हराए जस्तो भयो र सङ्क्रमितको जगेर्ना गर्नुपर्छ तर यस्तो धान्नै नसक्नेगरी हैन भनेर पोखरा महानगरका केही महिला सामाजिक अभियन्ताहरूद्वारा प्रशासनसँग सहमती गरीकन पार्टी प्यालेसमा गरिने तीज प्रोग्राममा रोक्ने, फजुल खर्च गर्न नपाउने निर्देशन गरियो । धेरै पालिकाले त्यसको अनुशरण गरी केही मात्रामा यस्ता कार्यक्रम रोकिए । विरोध भए पनि धेरैको चाहना यही थियो । 

आजको परिवेश फरक छ । घुम्दै तीज त आयो तर अहिले त जुटेर हैन फुटेर तीज मनाउनुपर्ने अवस्था छ । कोरोनाले विश्व त्रसित छ । त्यसबाट नेपाल अछुतो छैन । मृत्युको दायरा बढिरहेको छ । औषधि पत्ता नलागिसकेको हुनाले यसलाई आउनै नदिने उपाय भनेकै व्यक्तिगत सुरक्षा हो । समूहमा भेला नहुनु, सकेसम्म घरभित्रै बस्नु, मास्क प्रयोग गर्नु यसबाट बच्ने उपाय हुन् । सरकारले नागरिक सुरक्षाका लागि लकडाउन त गर्याे तर पालना गर्ने कसले ? हामी त बलिया छौँ । कोरोनाले भेट्यो भने अपराधीलाई जस्तो गर्छाैं । अनि सरकारलाई सत्तोसराप गर्छाैं  । हामीले पनि आफ्नो जिम्मेवारी पूरा गर्न जान्नुपर्छ । यस महामारीबाट बच्न र बचाउन हाम्रो पनि दायित्व छ ।

तर हामीले बाँच्न र बचाउन हाम्रो तर्फबाट गर्नुपर्ने जिम्मेवारी पूरा गरेका छौँ त ? हरेक कुरामा महिला अधिकार खोज्छौँ तर महिलाको पनि राज्यमाथिको जिम्मेवारी हुन्छ । केही हदसम्म निर्वाह गरौँ भनेर किन सोच्दैनौँ ?
कोरोनाको महामारीले तीजमा गहना लगाएर  रमाइलो गर्नेलाई नसर्ने भन्ने होइन, सर्छ । यो चाडवाडमा सुनपसल, कपडा पसलको भीड देख्दा महिलालाई तीज मान्दासम्म कोरोनाले छुन्न भनेझैँ देखिन्छ । सङ्क्रमण भइहाल्यो भने त्यो नयाँ डिजाइनको हार कसले लाउला ? अहिले हामी बाच्यौँ भने सङ्क्रमण हटेपछि अर्काे वर्ष लाउन पाइन्छ । 

तसर्थ यसपालि तीजमा आफूसँग जे छ  मीठोमसिनो घरमै बसेर खाइदिनुस् । बाहिर भीड नलगाइदिनुस् । बाँचे अर्काे साल बेस्सरी नाचौँला नत्र हजुरले किनेका सुनका छड्के तिलहरीले आयु थप्ने हैन सुन र नयाँ लुगादेखि कोरोना भाग्ने हैन देखावटीपना छोडौँ । 

यस्तो महामारीका बेला बजारमा दखिएका महिलाको भीडले मलाई यति भन्न मनलाग्यो । सुनका गहनाले ढाकिन खोज्ने दिदीबैनीका कारण अरूलाई तनाव नहोस् । 
क्रिपया सुनको जोहो गर्दै गर्नु होला । लकडाउनको पालना गरिदिनुस् अनि मिलेर सरकारलाई गाली गरौँला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप