सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

होमस्टे सञ्चालकका पीडा : व्यवसाय सुरु हुने आशमा लिएको ऋण कसरी उतार्ने ?

आइतबार, ३२ साउन २०७७, ११ : ५८
आइतबार, ३२ साउन २०७७

बारीभरी लटरम्म फलफूल र तरकारी फलेका छन् । अर्गानिक हरिया साग–सब्जी लहलहाएका छन् । तर खाने मान्छे नै छैनन् । हो, अहिले समस्त होमस्टे व्यवसायीहरुले बेहोरिरहेको साझा समस्या हो यो ।

आन्तरिक तथा विदेशी पर्यटकको पर्खाइमा रहेका स्थानीय होमस्टे सञ्चालकहरुले अहिले यही नियति बेहोरिरहेका छन् । कोभिड–१९ का कारण व्यवसाय चौपट भएर समस्यामा परिरहेका व्यवसायीहरु पछिल्लो पटकको सरकारको निर्णयबाट थप प्रभावित हुन पुगेका छन् ।

गत साउन ५ गते सरकारले १२० दिन लामो बन्दाबन्दी(लकडाउन) अन्त्य गर्दै साउन १५ गतेदेखि सम्पूर्ण होटल, पर्यटन तथा ट्रेकिङ्ग व्यवसाय खोल्न दिने निर्णय गरेको थियो । सरकारको सो निर्णयबाट अन्य पर्यटन व्यवसायीहरुसँगै होमस्टे व्यवसायी पनि उत्साहित भए । ४ महिनादेखि रोकिएको व्यवसायले पुनः ताजगी पाउने भयो भनेर उनीहरु खुशी भए ।

तर व्यवसायीहरुको यो खुशी धेरैदिन टिक्न सकेन । मुलुकमा कोभिड–१९ को संक्रमण तीव्र रुपमा बढ्न थालेसँगै एकाएक सरकार आफ्नो निर्णयबाट ‘यु–टर्न’ हुन पुग्यो । जसले गर्दा पूर्वनिर्धारित मिति साउन १५ गतेबाट खोल्ने भनिएको होटल, पर्यटन, तथा पर्यटनसँग सम्बन्धित सबै व्यापार–व्यवसाय तत्कालका लागि नखुल्ने भए ।

यतिमात्र होइन, सरकारले भदौ १ गतेबाट खोल्ने भनेको लामा दुरीका अन्तरजिल्ला सार्वजनिक यातायात र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक हवाई उडानसमेत प्रभावित हुन पुग्यो ।

अन्ततोगत्वा यसको प्रभाव होटल व्यापार व्यवसाय हुँदै होमस्टेसम्म गएर ठोक्कियो । जसले आज फेरि सिङ्गो पर्यटन क्षेत्र अन्योलतामा धकेलिन पुगेको छ ।

त्यसो त व्यावसायिक अन्योलमात्र होइन, सरकारको पछिल्लो निर्णयबाट समग्र पर्यटन व्यवसायको लगानीसमेत थप जोखिममा परेको छ । कारण, व्यवसाय सुचारु हुने आशमा व्यवसायीहरुले व्यवसायमा खन्याएको थप लगानी यतिखेर ‘बालुवामा पानी’ जस्तै हुन पुगेको छ ।

यही नियति भोगेका पर्यटन व्यवसायीमध्येका एक हुन् पिस पन्चासे होमस्टेका सञ्चालक हरिलाल पौडेल ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–२३घाँट्थिदामा सामुदायिक होमस्टेको रुपमा पौडेलले आफ्नै घरमा होमस्टे सञ्चालन गरिरहेका छन् । उनीसहित ५ घर परिवार मिलेर सञ्चालन गरिरहेको उक्त होमस्टेमा पाहुना (पर्यटक)का लागि १४ वटै कोठा प्रयोग गरिएको छ, विल्कुल घरायसी, पारिवारिक वातावरणमा ।

अर्गानिक कृषि व्यवसायसँग समेत तादम्यता मिलाएर सञ्चालन गरिएको सो व्यवसायबाट पौडेल खुशी नै थिए । तर पछिल्लो समय कोरोनाका कारण व्यवसाय नराम्रोसँग प्रभावित हुन पुग्दा उनी निराश छन् । कोभिड–१९ को पछिल्लो प्रहार उनका लागि बिलौनाको गीतजस्तै बन्न पुगेको छ ।

हरिलालको एकल पहलमै २०६७ सालदेखि ‘पिस पन्चासे’ सञ्चालनमा आएको हो । अनौपचारिक रुपमा एक/दुई जनामात्र पर्यटक राख्दै आएको सो होमस्टेले सञ्चालनको तीन वर्षपछि मात्र औपचारिकता पायो । अर्थात् २०७० सालमा मात्र निजी फर्मको नाममा पिस पन्चासे दर्ता भयो । २०७४ सालमा आएर सो होमस्टे सामुदायिक होमस्टेमा रुपान्तरण भयो र अहिले सोही फर्ममार्फत होमस्टे सेवा प्रवाह हुँदैछ ।

होमस्टे कार्यविधि २०६७ अनुसार सबैखाले ग्रामिण होमस्टेहरुलाई सामुदायिक होमस्टेमा लैजाने सरकारी नीति अनुरुप नै पिस पन्चासेलाई २०७४ मा सामुदायिक होमस्टेमा रुपान्तरण गराइएको हो ।

फरक पृष्ठभूमि तर पर्यटनमा आकर्षण

पेसाले हरिलाल पौडेल शिक्षक । पढाईमा एमएड(शिक्षामा स्नात्तकोत्तर) सम्म गरेका उनी गणित र विज्ञान विषयको राम्रो शिक्षक हुन् । यद्यपि उनी शिक्षण पेशाका साथसाथै होमस्टे व्यवसायमा पनि सक्रिय छन् ।

पन्चासे नजिकै रहेको सिद्धबाबा गुरुकुल आवासीय विद्यालयमा कक्षा ६, ७ र ८ का विद्यार्थीलाई गणित र विज्ञान पढाउँछन् उनी । तथापि उनको विशेष झुकाव भने पर्यटन क्षेत्रमै छ ।

कोरोनाका कारण व्यवसायमा ठूलो समस्या आइपर्दा समेत उनले कत्ति पनि हरेस मानेका छैनन् ।

उनी भन्छन्, ‘समस्या, जटिलता र चुनौतीका उतारचढाव त मान्छेको जीवनमा आउने–जाने भइरहेका हुन्छन् । तर हामीले हरेस मान्नचाहिँ हुँदैन । निरन्तर कर्ममा जुटिरहनुपर्छ । एकदिन अवश्य सफल भइन्छ ।’

अहिलेको समयलाई उनले यसै अर्थमा बुझेका छन् । ‘तर हामीले हरेस खाएका छैनौं,’ उनले भने, ‘हामी सकिएका होइनौं, रोकिएका मात्र हौं ।’

जतिबेला उनी शैक्षिक पेसाकै सिलसिलामा अन्नपूर्ण संरक्षित क्षेत्र (एक्याप) भित्रको सुन्दर पर्यटकीय क्षेत्र घान्द्रुकमा थिए, हो त्यतिनै बेला उनमा पर्यटन व्यवसायको भूत चढेको ।

२०६२ देखि ०६६ सम्म जम्माजम्मी ४ वर्ष घान्द्रुक बसेका पौडेल त्यसपछि भने आफ्नै ठाउँ कास्की, भदौरे फर्किए । पर्यटकहरुको आगमन उनको आफ्नै क्षेत्रमा पनि कमी थिएन । थियो त, केवल व्यावसायिकताको ।

कास्कीको निकै लोकप्रिय धार्मिक तीर्थस्थल पन्चासे जाने बाटोमै पर्ने उनको गाउँमा पर्यटकहरु बेलुका बास खोज्न भौँतारिने गरेको त उनले देखेकै थिए । सो समस्याको समाधान पनि हुने र विस्तारै यसलाई व्यावसायिकता पनि दिन सकिने सोचका साथ उनले तत्कालै घरको एक कोठा पर्यटकका लागि छुट्याए । त्यसपछि भने उनको परिचय नै बदलिन पुग्यो ।

त्यसो त, अहिले पौडेल एकल होमस्टे सञ्चालकको रुपमा मात्र छैनन्, सिङ्गो कास्की, त्यतिमात्र नभएर गण्डकी प्रदेशकै होमस्टेहरुको नेतृत्वकर्ताका रुपमा पनि छन् । उनी होमस्टे एशोसिएशन गण्डकी प्रदेशका अध्यक्षसमेत हुन् ।

३४१ होमस्टेहरुको नेतृत्व उनको हातमा छ । तर सबै होमस्टेलाई समस्यामा साथ, सहयोग र ढाडस दिने उनै पौडेल आफु स्वयंमा भने यतिखेर समस्यामा छन् । करिब ६ महिना बितिसक्न लाग्दासमेत व्यवसायले निरन्तरता पाउन नसक्दा उनीमाथि व्ययभार थपिएको छ ।

यो समय व्यवसाय नभएकोमा भन्दा पनि उनी ऋणमा डुब्ने हो कि भन्ने चिन्तामा छन् । व्यवसाय शुरु गर्दाको ऋण त छँदै थियो, त्यसमाथि पनि भर्खरमात्र थपेको ऋणले उनलाई ज्यादा पिरोल्न थालेको छ ।

सरकारी सहुलियत कर्जा नपाएका होमस्टे व्यवसायी पौडेललाई सयकडा दुईका दरमा उपलब्ध गाउँले ऋणले नै पो थिच्ने हो कि भन्ने चिन्ताले गलाएको छ ।

सयकडा दुई बैंकिङ ब्याजदरको हिसाबले गर्ने हो भने अधिकतम २४ प्रतिशतले हुन आउँछ । जुन अहिलेको चलन चल्तीको ब्याजदरको तुलनामा निकै महँगो हो ।

झन् कोरोना आर्थिक राहत प्याकेज सहुलियतपूर्ण कर्जाको तुलनामा त यो अतिनै महँगो हो । जब कि सहुलियतपुर्ण कर्जा ५ प्रतिशतको ब्याजदरमै उपलब्ध गराईदैछ ।

तर यस्तो कर्जा होमस्टेजस्ता साना व्यवसायीहरुले नपाउँदा अहिले यस्ता व्यवसायीहरु अनौपचारिक गाउँले कर्जामा २४ देखि ३६ प्रतिशतसम्मको महँगो ब्याजदर तिर्न बाध्य छन् । यसै मध्येका एक हुन् व्यवसायी पौडेल ।

सरकारले गत साउन १५ गतेदेखि सबै खाले पर्यटन व्यवसाय खुल्ला गर्ने निर्णय ग¥यो । सरकारको यही उद्घोषका कारण व्यवसायीहरु व्यवसायको तयारीमा जुटे ।

होटल, रेस्टुरेन्ट, रिसोर्टजस्तै होमस्टेहरु पनि व्यावसायिक तयारीमा लागे । व्यवसाय हुने आशमा व्यावसायिक लगानी र सेवा विस्तारमा पनि लागे । तर वातावरण व्यवसायमैत्री बन्न सकेन ।

एकाएक मुलुक लकडाउनकै गतिमा पूर्ववत् समयतर्फ मोडिँदा व्यवसायीहरुले पुनः समस्या झेल्नु परेको छ । त्यतिमात्र होइन, पीडामाथि पीडा थपिएको छ । अहिले यही नियति पिस पन्चासे होमस्टेले भोग्दै छ ।

शैक्षिक, पर्यटन व्यवसायका साथसाथै फरक विधा गीत–संगित र कला क्षेत्रमा समेत रुचि राख्ने पौडेल आफुले पाएको दुःख यसरी गीतमार्फत व्यक्त गर्छन् :

होमस्टेको पीडा बरिलै...

मुहार भयो मलिनो बारी भयो भरिलै

होमस्टे सञ्चालकको मर्म बरिलै...

नयाँ सिरक किनियो थोत्रा थाङ्ना फालियो,

अर्गानिक खाना ख्वाउनी भन्न थालियो ।

कोठा भए चिरी च्याट्ट रङ रोगन गरियो

ऋण तिरौम्ला भनेको बौरा परियो ।

नयाँ लोबेड किनियो सिमेन्टीले लिप्यौं भुँई

गाउँमै ऋण खोजियो सयकडा दुई ।

ओइली गयो बारीको साग त्यसै कुहे टमाटर

कसैले नि बनाएनन् हाम्रो समाचार ।

भाडा तिर्न पर्दैन सजिलो छ भन्निलाई

पीडा के हो थाहा हुन्छ घाइते बन्निलाई ।

हामी गाउँले सिधा सादा नेता ज्यूले हेर्दैनन्

हाम्रो कोट र कार छैन टेर्दै टेर्दैनन् ।

तालिमको कुरो आउँछ जसको पहुँच उसको हात

रिसोर्टमा बसेर होमस्टेको बात ।

अनुदानको आस गरेर बिचौलिया छिरेर

दाउ हेर्दैछन् होमस्टे बिल्ला भिरेर ।

च्यानल, प्यानल, व्यानर मिलाई हाम्लाई ढाँट्न आम्दैन

शिर दुखेको दबै पाउमा काम लाग्दैन ।

घर बेचेर भएन बिक्री हुन्न गैरीखेत

हाम्लाई पनि चाइयो सरकार कर्जा सहुलियत ।

हाम्लाई पनि चाइयो सरकार कर्जा सहुलियत ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप