अबदेखि सार्वजनिक सवारी साधनको भाडा कार्डबाटै !
काठमाडौँ – अबदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा खल्तीमा पैसा होइन, कार्ड बोक्नुपर्ने भएको छ । विद्युतीय भुक्तानीको प्रयोग बढ्न थालेपछि सार्वजनिक यातायातहरू कार्डबाट भाडा लिने व्यवस्था गर्न लागेका छन् ।
कोरोना विषाणुका कारण पनि यो नयाँ पद्धति प्रभावकारी हुने देखिएको छ । पैसाबाट पनि कोरोना विषाणु सर्नसक्ने सम्भावनाले नगदमा भाडा सङ्कलन गर्दा हुनसक्ने सम्पर्क न्यून गर्न कार्डबाट भुक्तानी प्रणाली उपयोगी हुने देखिएको छ । साझा यातायातले यसअघि नै कार्डबाट भाडा लिन सुरु गरिसकेको छ ।
त्यस्तै एनएमबी बैङ्कले किपु बस सेवासँग सहकार्य गरी विद्युतीय भुक्तानीको प्रबन्ध मिलाउने सम्झौता गरिसकेको छ । आइतबारदेखि सुन्दर यातायातले विद्युतीय भुक्तानी प्रणाली (डिजिटल पेमेन्ट सिस्टम) सुरु गर्ने र त्यसका लागि मेसिन जडान गर्ने भएको छ । योसँगै पेमेन्ट कार्ड लिएर गाडीमा रहेको मेसिनमा पठाएपछि कार्डमा रहेको पैसाबाट गाडी भाडा तिरिन्छ ।
सुन्दर यातायात प्रालिले ई–सेवा र चाइनाको बीएके कम्पनीको सहकार्यमा विद्युतीय भुक्तानी मेसिन जडान गर्न लागेको जनाएको छ । सुन्दर यातायातको २५ वटा गाडीमा आइतबार मेसिन जडान गरिने प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । उनका अनुसार अन्य मेसिन ल्याउने क्रममा छन् ।
आइतबार दुई सयप्रति कार्ड यात्रुलाई बिक्री गरिने छ । यात्रुले २२० रुपियाँको कार्ड खरिद गरेपछि २७० रुपियाँ बराबरको यात्रा गर्न सुविधा दिइएको छ । कार्ड प्रयोगमा यात्रुको सुविधालाई ध्यानमा राखेको र कार्ड प्रयोग गरेपछि यात्रु ठगिने सम्भावना नरहने, ठेलमठेल नहुने हुँदा कोरोना सङ्क्रमणको अहिलेको अवस्थामा कार्ड एकदमै उपयोगी रहेको दाबी उनले गरे ।
यात्रुले खरिद गरेको कार्ड एक वर्ष अवधिको हुनेछ । बीचमा पैसा सकियो भने त्यसैमा थप्न वा रिचार्ज गर्ने सुविधा छ । कार्डमा भएको पैसा खर्च भएन र फिर्ता लिन चाहे तोकेको स्थानमा गएर फिर्ता लिन वा अन्य सामान खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । यो प्रणाली नेपालमा पहिलोपटक लागू हुन लागेको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त