भव्य विवाह भोजमा एउटा मात्रै मान्छे !
कुनै छिमेकीको घरमा शुभविवाहको भव्य तयारी थियो । त्यस ठाउँमा निकै मानिसको जमघट हुन थाल्यो । त्यहीबेला एकजना छिमेकीले आफ्नो घरको नोकरलाई बोलाएर भन्यो, ‘त्यहाँ तिमी गएर कतिजना मानिस भेला हुन्छ , त्यसको सही खुबर मलाई गर्नु ।’
नोकर गयो । उसले मान्छे ओहोरदोहोर गर्ने बाटैनिर एउटा मूढो तेर्स्यायो । त्यहीँ कतै नजिकै बसेर कुनबेला कस्ता कस्ता मानिसहरु फर्कन्छन् भनी चियो बस्न लाग्यो । मानिसहरु खानपीन गरी धमाधम बाहिर निस्कन लागे । फर्कने जसलाई पनि आउँदा मूढोमा ठेस लाग्दथ्यो र अनि राम्रा नराम्रा कुरा भटभट्याएँदै आफ्नै सुरमा जान्थे । त्यसैबीच एउटी बूढी आइमाई मूढोमा ढेस खाई । तिनले फेरि फर्केर आई त्यसलाई उठाई । कुनै मानिस नहिँड्ने एउटा कुनामा त्यसलाई थन्काएर त्यहाँबाट हिँडी ।
नोकर त्यस छिमेकीको ठाउँबाट फर्केपछि त्यहाँ कति मानिसको जमघट भएको थियो भनी मालिकले ऊसित सोध्यो । नोकरले एकजना मानिसमात्र त्यहाँ भएको र ती पनि एउटी बूढी थिई भन्ने जवाफ दियो ।
‘त्यत्रो जमघटामा कसरी एउटी बूढी मात्र भन्छौ, यो हुनै सक्दैन ।’ मालिकले गाली गर्यो । नोकरले भन्यो, ‘होइन हजुर, वास्तविक कुरो यस्तो छ– ठीक बाटैमा मैले एउटा मूढो तेर्स्याएँ । आगन्तुकहरु मूढोमा ठेस खान्थे र कुनै त पुल्टुङ्गै लड्थे । तैपनि त्यहाँ कसैले अरुलाई त्यस्तै अप्ठेरो पर्छ भन्ने चासो नै राखेनन् । आफू लडे पनि त्यसै हिँड्थ्यो । हजुर, उनीहरको बानी भेडाहरुको बानीव्यहोरासित ठ्याम्मै मिल्छ । भेडा अरु भेडालाई जे होस्, कुनै सरोकार नै राख्दैन । यस्तो अप्ठ्यारोलाई एउटी बूढीले बुझी । आफूलाई जस्तो अरुलाई नहोस् भन्ने हेतूले मूढो उठाई र मानिस नहिँड्ने एक कुनामा राखी त्यहाँबाट हिँडी । यस्तो काम सच्चा मानिसले मात्र अरुका लागि दिल खोलेर गर्ने गर्दछन् । त्यो नै मानवताप्रतिको कर्तव्य हो । त्यत्रो जमघटमा तिनी मात्र सही मानिस रहेछन् ।’
अनु. मासा श्रेष्ठ