मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जीवन उपयोगी शिक्षा : निरन्तरको बहस

शनिबार, ३१ साउन २०७७, २२ : ५०
शनिबार, ३१ साउन २०७७

नेपाल सरकार शिक्षा आयोग प्रतिवेदनको सुझावका आधारमा नयाँ विषयका रूपमा जीवन उपयोगी शिक्षालाई समावेश गर्ने निर्णय गरेलगत्तै देशभरिबाट त्यसको विरोध हुन सुरु भयो । कारण नयाँ शिक्षकको दरबन्दी र आर्थिक व्ययभार बहन गर्न सकिँदैन भन्ने तर्क आइरहेको छ । जीवन उपयोगी शिक्षाको परिभाषा र त्यसको उद्देश्यलाई बुझ्न सहजता होस भन्ने उद्देश्यले यो आलेख तयार गरिएको छ । यो बहसलाई निरन्तर रूपमा अघि बढाउन सकियो भने यसले हाम्रो शिक्षा प्रणालीमा परिवर्तन ल्याउन योगदान गर्ने विश्वास लिइएको छ ।

शिवालय गाउंपालिका जाजरकोट घर भएकी संगीता पुन नेगी सहकर्मी समाजको नागरिक सहभागिता कार्यक्रममा कार्यरत सामुदायिक सहजकर्ता हुन् । उनले बीएड पास गरेकी छिन् । सानो उमेरदेखि नै सामाजिक कार्यमा संलग्न उनलाई औपचारिक शिक्षाभन्दा बढी अनौपचारिक शिक्षाले आफूलाई बढी जीवन उपयोगी रहेको प्रत्यक्ष अनुभव छ ।

सङ्गीताका अनुसार उहिले उहिले गाउँघरमा बाजे परबाजेहरूले गाउँमा देखिने भौतिक संरचनाहरू चौतारा, मन्दिर, खानेपानीका लागि न्वाउला, विभिन्न स्थानमा धर्मशालाहरू निर्माण गर्दा कुनै सरकारी तथा गैरसरकारी क्षेत्रको अनुदान सहयोग मागेका थिएनन् । गाउँमा भद्र भलादमीहरू छलफल गरेर, आफूसँग भएको ज्ञान, सीप र स्थानीय स्रोतहरूको परिचालन गरी गुणस्तरीय काम सम्पन्न गर्न पाउदा ठूलै पुण्यसँगै आनन्दको महसुस गरेको अनुभव आफूलाई सुनाएको बताउँछिन् ।

सङ्गिता भन्छिन्– मलाई मेरो बुबाले बताउनुभए अनुसार त्यतिबेला अहिलेको जस्तो स्थानीय सरकारसँग न्यायिक निरूपण गर्ने कुनै संयन्त्र थिएन । गाउँमा विभिन्न पर्व, पूजाआजा, विवाह, ब्रतवन्ध र जात्राहरूको बेला सबैजसो गाउँलेहरू भेला हुने, भलाकुसारीहरू चल्ने र कुनै खालको समस्या पर्दा साँझ वा बिहानको समयमा भद्र भलादमीहरू सँगै बसेर समस्याको पहिचान, त्यसका कारण र समाधानका उपयुक्त विकल्पहरूको खोजी गरी समस्याको समाधान गर्ने विधि प्रक्रियाहरू प्रणालीबद्ध रूपमा सञ्चालन हुँदै आएका थिए । सामान्य भैmझजडाहरूको न्यायिक निरूपण गर्दा एकखालको जित जितको अवस्था सिर्जना हुने गरेको थियो ।

गाउँमा ऐँचोपैँचो गरेर आधारभूत आवश्यकताहरूको परिपूर्ति गर्ने, स्थानीय बीउबिजनहरू सङ्कलन गरेर राख्ने, पशुपालन गरेर त्यसबाट प्राप्त हुने मललाई खेतबारीमा राखी उत्पादन वृद्धि गर्ने, स्थानीय निमको पात, गाईको गहुँत र अन्य विभिन्न बिरुवाका बोक्राहरूको मिश्रण गरेर खाद्यान्नमा लाग्ने रोगहरूको निराकरण गर्ने असल अभ्यासहरू थिए  । बिरामी पर्दा स्थानीय रूपमा रहेका वैद्यहरूले विभिन्न जडीबुटीहरूको प्रयोग गर्ने र धामीझाँक्रीहरूले मनोसामाजिक समस्याहरूको समाधान गर्ने तरिकाहरू अपनाउँदै प्राकृतिक रूपमा जीवन सञ्चालन हँुदै आएको थियो ।

सहकर्मी समाजका कार्यकारी निर्देशक अमरबहादुर ऐर आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ– म डडेल्धुराको जोगबुढामा सरकारी स्कुलमा ५ कक्षामा अध्ययन गर्दा बिहान स्कुल जानुअघि खेतमा जोरु जोतेर स्कुल जाने र फर्केर घर आएपछि खेतमा कोदालोे खनेर मकै, धान र कोदो रोप्थे, आमाबुबा दाजुभाइसँगै मिलेर दाउराघास ल्याउने, गोठ सफा गर्ने र तरकारी बारीमा गोडमेल गथ्र्यो, त्यो नियमित प्रक्रिया थियो । मकै भटमास भुटेर स्कुलमा खाजा लिएर साथीहरूसँग मिलेर खाने गर्थे र टुकी बालेर पढ्थे । आमाबुबा र दाजुभाइका बीचमा नियमित छलफल र अन्तर्क्रिया हुन्थ्यो । कामको बारेमा छलफल हुने र तोकिएको जिम्मेवारी सबै मिलेर पूरा गर्दाको आनन्द छुट्टै हुन्थ्यो । दूध, दही घ्यु, मह, सातो जस्ता थुप्रै घरमै बनेका बस्तुहरूको उपयोग साँच्चै स्वास्थ्य उपयोगी थिए ।

ऐरका अनुसार अहिलेको जस्तो चाउचाउ, बिस्कुट तथा विभिन्न जङ्कफुडहरू गाउँमा पाउँदैनथे । परिणाम स्वरूप आमाबुबालाई दैनिक नगद पैसा माग्नुपर्ने आवश्यकता नै थिएन । अहिलेको जस्तो जन्मदिन, वैवाहिक दिन, स्पेसल डे मनाउने जस्ता कुराहरू नै थिएनन् । पूजापाठमा जाँदा पूजाका सामग्रीहरू लिएर जाने, विवाह व्रतबन्धमा सहभागी हुँदा पैसा होइन, सामान्य खालका भाँडाकुँडा लिएर जाने चलन थियो । विवाह गर्दा दाइजोको लेनदेन हुँदैनथ्यो । नातागोता, इष्टमित्रहरूको आवतजावत बाक्लो भए पनि त्यो खर्चिलो थिएन । यी सबै गतिविधिहरूको सहभागीले हाम्रो जीवन ज्यादै सरल, शान्तिपूर्ण र आनन्दमयी थियो । आदरसम्मान स्वतः आउँथ्यो ।

सल्यानका गुमानसिंह नेपाली दलित विकास समाज सल्यानमा जिल्ला संयोजक पदमा कार्यरत छन् । स्नातक शिक्षा हासिल गरेका छन् । गुमानका छोराले कक्षा आठसम्म बोर्डिङ स्कुलमा अध्ययन गरी अहिले प्लस टुमा सरकारी विद्यालयमा अध्ययनरत रहेका छन् । आफ्नो अनुभव सुनाउँदै गुमान भन्छन्– कक्षा एघारमा पढ्ने छोराले आफ्नो सबै व्यक्तिगत कामहरू लुगाधुने, सरसफाइ गर्ने, खानेकुरा पकाउने जस्ता काममा आमाको सहयोग चाहिन्छ । कुनै दिन घरमा एक्लै हुँदा खान पकाएर खान नसकी आफन्तको घरमा जान्छन् । विभिन्न साथीहरूको बर्थडेमा सहभागी हुन घरबाट पैसा चाहिन्छ र आफ्नो बर्थडेमा आफ्ना साथीहरू बोलाएर पार्टी दिनुपर्ने नियमित जस्तै बनेको छ ।

कालीकोट नरहरीनाथ गाउँपालिका ८ का लोकेन्द्र विष्टको अनुभव छ– आफू प्राथमिक कक्षामा अध्ययन गर्दा आफूले थाहा पाएपछि घर सफा गर्ने, गाग्रीमा टाढाबाट पानी भरेर ल्याउने, गाईबस्तु चराउने, स्याउला सोत्तर दाउरा ल्याउने, पाँच कक्षा पास गरेपछि आफ्नो व्यक्तिगत सबै काम गरेर विद्यालय जाने, राति झरो (सल्लाको काठ) बालेर अज्यालो बनाई अध्ययन गर्थे ।

अहिलेका बालबालिकाहरूले आफ्नो काम आफै गर्ने व्यवहार छोडिसके, घरायसी काममा सरसहयोग गर्ने, आफ्नो आर्थिक अवस्था बुझ्ने र तदनुरूप व्यवहार गर्ने, प्राप्त गरेको शिक्षाले जीवन र जगतलाई बुभ्mने, हरेक स्थिति, परिस्थितिको आलोचनात्मक चेतनाको विकासका लागि विश्लेषण गर्ने, शिक्षा र सिकाइलाई व्यवहार उपयोगी, जीवन उपयोगी बनाउने प्रयत्न अहिलेको प्रमुख आवश्यकता भएको  विष्ट बताउँछन् ।

जान्नु, सूचना लिनु वा थाहा पाउने कुरा मात्रै शिक्षा होइन, त्यो जानकारीको तह मात्रै हो । थाहा पाएको कुरालाई काममा प्रयोग गर्नु र प्रयोग गर्दा प्राप्त गरेको महसुस नै शिक्षा हो । शिक्षाले मानिसलाई आलोचनात्मक दृष्टिकोण तथा रूपान्तरणका लागि तयार गर्नु पर्दछ । शिक्षण सिकाइको मापन प्रक्रियालाई व्यवहारमा कति परिवर्तन भयो ? भन्ने हुनुपर्दछ ।

सामान्यतया शिक्षित मानिसले काम गर्ने कुरा आम नेपालीका लागि लाजको विषय बन्छ । सर्टिफिकेट प्राप्त गरेका व्यक्ति जान्ने र कृषिमा रातदिन पसिना बगाएर उत्पादन क्षेत्रमा जोडिएका मानिस जान्ने मनस्थिति÷परिस्थिति निर्माण भएको छ । श्रमप्रतिको घृणा, कामप्रतिको लाजले अधिकांश नेपालीहरूलाई अभाव र गरिबीको दुष्टचक्रममा फसाएको छ । अरुले के भन्लान् ? पढेको मान्छेले पनि सामान्य काम गर्नु हुन्छ ? यस्ता थुप्रै प्रश्नहरूले शिक्षित भनिएको जनशक्ति बेरोजगार बनेर बस्न वा विदेशमा गएर जोखिमपूर्ण काम रोज्न बाध्यता सिर्जना गरेको छ ।

शिक्षाको काम मानिसमा आलोचनात्मक दृष्टिकोण तथा रूपान्तरणका लागि तयार गर्नु हो तर हाम्रो शिक्षा प्रणालीको काम मानिसलाई विद्यमान अवस्थामा जिउन र समायोजन हुनसक्ने बनाउनु रहेको छ । हाम्रो शिक्षा प्रणालीले पढ्नुको अर्थ जागिरका लागि तयार हुनु रहेको छ । रूपान्तरणकारी वा जीवन उपयोगी शिक्षा प्रणालीले विद्यार्थी वा सहभागीको रुचि र आवश्यकता अनुसारको विषयवस्तु छनोट गर्ने कोसिस हुन्छ ।

नेपालको शिक्षा प्रणालीमा आफ्नो जीवन भोगाइमा आधारित पाठ्यक्रम नपाउँदा नेपालको उच्च शिक्षासमेत बोझिलो, अव्यावहारिक र सर्टिफिकेट प्राप्त गर्ने माध्यम मात्रै बन्न पुगेको छ । एउटा सामान्य किसानको छोरा विज्ञानको कुनै विषयमा डिग्री ग¥यो तर रोजगारीको अवसर प्राप्त गर्न सकेन भने फर्केर कृषिलाई आफ्नो पेसाका रूपमा अघि बढाउन सक्दैन ।

नजान्ने र केही गर्न नसक्ने मान्छे संसारमा कोही हुँदैन । हरेक मान्छेसँग केही न केही सीप छ, क्षमता छ र उसले गर्न चाह्यो भने जे काम पनि गर्न सक्छ । फरक के मात्र छ भने मानिसले आपूmलाई चिन्ने, आफनो शक्तिको विश्लेषण गर्ने वातावरणको अभाव छ । यो अभाव हाम्रो समुदायका, हाम्रो समाजका हाम्रो राज्यका केही टाठाबाठा भनिएका मानिसहरूले आपूm मात्रै जान्ने अरू सबै नजान्ने, विश्वविद्यालयका सर्टिफिकेटधारी मात्रै जान्ने तर विद्यालय क्याम्पस नजाने जति नजान्ने भन्ने गलत शिक्षा नीति र हाम्रो श्रमप्रतिको अपमान गर्ने प्रवृत्तिका कारण यसो भएको हो तर समाजशास्त्री एवं मानवशास्त्रीहरूको सामूहिक निष्कर्ष के हो भने संसारमा नजान्ने मान्छे हुँदैनन् । हरेक मान्छेसँग केही न केही ज्ञान, सीप र क्षमता हुन्छ । उचित वातावरण पाएको खण्डमा मानिसहरूमा अन्तरनिहित ज्ञान, सीप र क्षमता बाहिर आउँछ ।

यसपटक सहकर्मी समाज सुर्खेतले कर्णाली र सुदूरपश्चिम प्रदेशका २० जना सामाजिक कार्यकर्ताहरूले दुई साताको बहसको आयोजना गर्यो । यो बहसमा  शिक्षा विश्लेषणात्मक र आलोचनात्मक चेतना निर्माण गर्नुपर्ने कुरामा सहमत भए । छुट्टै जीवन उपयोगी शिक्षाको पाठ्यक्रम निर्माण गर्नुभन्दा भएका पाठ्यक्रममै जीवन उपयोगी शिक्षाको पाठ्यक्रम समावेश गरेको भए त्यो प्रभावकारी हुने विचार व्यक्त गरे ।

ब्राजिलका शिक्षाविद् पाउलो फ्रेयरेको दर्शनमा आधारित क्रिटिकल प्याडागोजीमा  विश्लेषणात्मक शिक्षाले मानिसहरूलाई विश्लेषण र आलोचनात्मक चेतनाको प्रकाशमा रहेर जब आपूmलाई प्रस्तुत गर्न थाल्छ । तब मात्रै सारा घटना, चिजवस्तु र व्यक्तिगत एवं सार्वजनिक जीवनको चिरफार गर्न थाल्छ । यो चिरफारसँगै मानिसले आपूmलाई सच्याउने र अरूलाई सच्चिनका लागि पृष्ठपोषण दिन सक्ने क्षमता राख्दछ । मानिसभित्र रहेको ज्ञान र चेतनाले संसारका सबै वस्तु, घट्ना र आफ्नो समुदाय समाजका बारेमा विश्लेषण गर्दै तर्कशक्तिको विकास गर्दछ । खोजी गर्ने चेतनाले बारम्बार मानिसलाई क्रियाशीलता प्रदान गर्दछ र गरेर सिक्ने प्रक्रियाको विकास गर्दछ ।  ठीक बेठीक छुट्याउन सहयोग गर्दछ । श्रमप्रतिको सम्मान सिर्जना गर्दछ र हरेक मानिसलाई उत्पादन प्रणालीसँग आबद्ध गराउने, समय व्यवस्थापन गर्न सक्ने सकारात्मक दृष्टिकोण विकास गर्न शिक्षाले सहयोग गर्नुपर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप