मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

दूधकुण्ड होइन  चोकर्मा पोखरी फुटेको हो : प्रहरी

शनिबार, ३१ साउन २०७७, २२ : २७
शनिबार, ३१ साउन २०७७

सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नुम्बुर हिमालको काखमा रहेको दूधकुण्डसहित अन्य पोखरी तत्काल फुट्ने सम्भावना नरहेको निष्कर्षसहितको प्रतिवेदन सार्वजानिक गरेको छ । यही साउन २३ गते बिहान दूधकुण्ड  मुहान भई बग्ने सोलु खोलामा पानीको बहाव बढ्नुको कारण खोज्न त्यस क्षेत्र पुगेको प्रहरी टोलीको स्थलगत अध्ययनपछि उक्त प्रतिवेदन सार्वजानिक गरिएको हो । 

साविककै अवस्थामा रहेको दूधकुण्ड फुटेको भन्ने  भ्रमपूर्ण रहेको र  सोही तालको उत्तरतर्फ करीब २० किलोमिटरमा रहेको चोकर्मा पोखरी फुट्दा खोलामा पानीको बहाव बढेको प्रहरीले पुष्टि गरेको छ । निरन्तरको वर्षाले चोकर्मामा पानीको बहाव बढेको र पश्चिमतर्फ कमजोर रहेको चार मिटर भाग कटान गरी फुटेको प्रहरी निरीक्षक मन्दीप चौहानले जानकारी दिए । 

साउन २२ गते राति अविरल वर्षा भएर पानीको बहाव बढेपछि ठूलो आवाजसहित पोखरी फुटेको त्यस क्षेत्रमा रहेका लाक्पा लामाले जानकारी दिए । साउन २३ गते बिहान सोलु खोलामा पानीको बहाव उच्च भएर बस्ती क्षेत्रमा पसेपछि जोखिम बढेको जनाउँदै स्थानीयवासीले तत्काल स्थलगत अध्ययन गर्न माग गरेका थिए । प्रदेशसभा सदस्य तथा नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीसहितको टोलीले हेलिकप्टरबाट स्थलगत अध्ययनमा जाने योजना बनाएपनि मौसम प्रतिकूल हुँदा सफल भएको थिएन । 

मौसम प्रतिकूलतापछि साउन २८ गते सल्लेरीबाट प्रहरी टोली दूधकुण्ड क्षेत्र प्रस्थान गरेको थियो । सदरमुकाम सल्लेरीदेखि ६० कोस उत्तरतर्फ चार  हजार ५०० मिटर उचाइमा दूधकुण्ड  पर्छ ।  समुद्र सतहदेखि पाँच हजार ६५० मिटरको उचाइमा चोकर्मा पर्छ । उक्त पोखरी फुटेर पानी बग्दा दुई चौँरीगोठ र तीन काठेसाँघु बगाए पनि उक्त क्षतिका बारेमा भने प्रहरीले केही पनि खुलाएको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप