मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटको सबै पालिकामा १०० श्ययाको क्वारेन्टिन निर्माण गरिने

शनिबार, ३१ साउन २०७७, २१ : २०
शनिबार, ३१ साउन २०७७

पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि रौतहटको प्रत्येक स्थानीय तहमा कम्तीमा १०० श्ययाको क्वारेन्टिन बनाइने भएको छ । 

जिल्लाबाट सङ्कलन हुने स्वाब परीक्षणका लागि प्रमुख जिल्ला अधिकारी इन्द्रद्रेव यादवको पहलमा जिल्ला अस्पताल गौरमै पिसीआर मेशिन सञ्चालन हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी यादवको पहलमा प्रदेश नं २ सरकारको सामाजिक मन्त्रालयबाट पिसीआर मेशिन उपलब्ध गराउने भएको छ । शुक्रबार प्रजिअ यादवको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको संयुक्त बैठकले पिसीआर मेशिन व्यवस्थित गर्न तथा आइसोलेसन निर्माणसम्बन्धी विभिन्न महत्वपूर्ण निर्णयसमेत गरेको छ ।

अठार वटै स्थानीय तहले कम्तीमा १०० श्यया क्षमताको क्वारेन्टिन तत्काल सञ्चालनमा ल्याउने, भारत तथा विदेशबाट आउने नागरिकलाई सशस्त्र प्रहरी बलको समन्वयमा सम्बन्धित स्थानीय तहले अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ । 

जिल्ला अस्पताल गौरमा पिसीआर मेशिन व्यवस्थापन तथा जिल्लाभित्र आइसोलेसन कक्ष सञ्चालनका लागि प्रत्येक स्थानीय तहले रु पाँच लाखका दरले अस्पताल विकास समितिको खातामा रकम उपलब्ध गराउने निर्णय गरिएको प्रजिअ यादवले जानकारी दिए ।

कोरोना भाइरसको लक्षण देखा परी शङ्कास्पद व्यक्तिको मृत्यु भएमा मृतकको अनिवार्य कोभिड–१९ परीक्षण गरी रिपोर्ट प्राप्त भएपछि मात्र शव व्यवस्थापन गर्ने निर्णय भएको छ ।

जिल्ला विपद् व्यवस्थापन कोषमा हाल मौज्दात रहेको रु १७ करोडमध्येबाट कोभिड–१९ रोकथाम, नियन्त्रण तथा समग्र व्यवस्थापनमा खर्च गर्ने अनुमतिका लागि गृह मन्त्रालयसँग अनुरोध गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

जिल्लामा कृषकको मागअनुसार मलखाद आपूर्ति गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने, लालबकैया तथा वाग्मती नदी नियन्त्रण आयोजनाको कार्यालय बारा परवानीपुरबाट गौरमा स्थानान्तरण गर्न सम्बन्धित निकायमा अनुरोध गर्नेसमेत सुरक्षा समितिको बैठकले निर्णय गरेको छ ।
त्यस्तै आइसोलेसन सेन्टरको व्यवस्थापनका लागि पिसीआर मेशिन व्यवस्थापनका लागि कटहरिया नगरपालिकाका नगरप्रमुख सियाराम कुशवाहा, बौधीमाईका नगरप्रमुख राजीवरञ्जन यादव, राजदेवीका नगरप्रमुख धीरेन्द्रकुमार सिंह, गौर अस्पताल विकास समितिको अध्यक्ष शेख जमसैद, जिल्ला अस्पतालका प्रमुख डा कृष्णा साह रहने गरी समिति गठन भएको छ ।
 
यस्तै देवाहीगोनाही नगरपालिकाका नगरप्रमुख धर्मेन्द्र पटेल, दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष अरुणकुमार साह, वृन्दावनका नगरप्रमुख रामस्नेही राय यादव, डा कृष्णा साह, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मुकेशकुमार चौरसियाको सहभागिता रहने गरी समिति गठन भएको छ । 

बैठकमा प्रमुख जिल्ला अधिकारी यादव, प्रहरी उपरीक्षक रविराज खड्का, सशस्त्र प्रहरी उपरीक्षक सूर्यसेन ओली, राष्ट्रिय अनुुसन्धान प्रमुख अभिनयकुुमार सिंह, नेपाली सेनाका कर्णेल सामन्तध्वज खाँडका साथै जिल्लाका १८ स्थानीय तहका प्रमुखको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप