शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

समुदायमा सङ्क्रमण फैलिएपछि झापाका चार पालिकामा लकडाउन

शनिबार, ३१ साउन २०७७, २० : १२
शनिबार, ३१ साउन २०७७

कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएसँगै झापाका चार स्थानीय तहले बन्दाबन्दी (लकडाउन) घोषणा गरेका छन् । 

जिल्लामा समुदायमा रहेका ५१ जना कोरोना सङ्क्रमित भएपछि पालिकाहरु धमाधम बन्द हुन थालेका हुन् ।
    
बन्दाबन्दी घोषणा गर्नेमा दमक र मेचीनगर नगरपालिका तथा कमल र बुद्धशान्ति गाउँपालिका छन् । चारवटै पालिकाले एक हप्ताका लागि बन्दाबन्दी घोषणा गरेका हुन् । 

दमक नगरपालिकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दमकका पाँच कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै आजदेखि एक हप्ताका लागि नगरपालिका बन्द गरेको हो । 

मेचीनगर नगरपालिकाले आम्दा मेची अस्पतालका चिकित्सक, फुटबल खेलाडीलगायत समुदाय स्तरमा नै कोरोना सङ्क्रमण देखिएपछि तीन दिनदेखि अत्यावश्यक सेवाबाहेक सबै बन्द गरेको छ ।

कमल गाउँपालिकाले छिमेकी नगरपालिका दमकमा समुदायमा कोरोना फैलिएको भन्दै आंशिक बन्द गरेको छ । पालिकाले सूचना नै जारी गरेर सातैवटा वडाका जनप्रतिनिधिसहित कर्मचारीको समेत पिसीआर परीक्षण गराउनुपर्ने भएको हुँदा रिपोर्ट नआएसम्म कार्यालय नै नखोलिने जानकारी गराएको छ ।
 
सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठद्वारा जारी गरिएको सूचनामा सङ्क्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाका उपायहरु पालना गर्न कमल गाउँपालिकाभित्रका जनतालाई समेत अपिल गरिएको छ । 

त्यसैगरी बुद्धशान्ति गाउँपालिकाले छिमेकी मेचीनगर नगरपालिकाका समुदायमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै बन्दाबन्दी घोषणा गर्नुपरेको जनाएको छ । मेचीनगर र अर्जुनधारा नगरपालिकासँग सीमा जोडिएको बुद्धशान्तिले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन र पालिकाले तोकेको समयावधिमा मात्र पसल खोल्नसमेत आग्रह गरेको छ ।
 
यसअघि अर्जुनधारा नगरपालिका र विर्तामोड नगरपालिकाले समेत एक हप्ता बन्दाबन्दी गरेका थिए । समुदायमा कोरोना देखिएपछि सङ्क्रमति व्यक्तिसँग सम्पर्कमा आएका २०० बढी व्यक्तिको कन्ट्याक्ट ट्रेसिङका आधारमा पिसीआर परीक्षणसमेत गरिएको छ ।
 
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले जिल्लाका ४६ जना समुदायमा कोरोना सङ्क्रमित भएको बताउनुभयो । जसमा सबैभन्दा बढी सुरक्षाकर्मी रहेका छन् । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका ३६, विर्तामोड नगरपालिकाका एक, दमक नगरपालिकाका छ, मेचीनगरका तीन, बाह्रदशी गाउँपालिकामा दुई जनामा कोरोना पोजेटिभ देखिएको उनको भनाइ छ । पन्ध्र पालिका रहेको झापामा समुदायमा कोरोना फैलिएको नगरपालिका तथा गाउँपालिका चार हजार बढीको स्वाब सङ्कलन गरी परीक्षण गरिएको उनले बताए ।
फोटो खिचाउने काम रोक्न प्रशासनलाई आग्रह

भद्रपुर नगरपालिकाले नगरका विभिन्न वडामा भइरहेको राष्ट्रिय परिचयपत्र वितरणका लागि फोटो खिच्ने कार्य तत्काल स्थगन गर्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ । प्रशासनले परिचयपत्रका लागि भन्दै साउन २७ गतेदेखि वडाहरुमा फोटो खिचाउने चरणबद्ध कार्य गर्दै आएको छ ।  

नगरपालिकाले शनिबारदेखि भदौ २० गतेसम्मका लागि नगरभित्रका साप्ताहिक हाटबजारसमेत बन्द गर्ने निर्णय गरेको नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप