मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सभापतिमा देउवासँग समर्थन मागेलगत्तै पौडेललाई निधिको फोन :  काँग्रेस वृत्तमा तरंग

शनिबार, ३१ साउन २०७७, १९ : ५१
शनिबार, ३१ साउन २०७७

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन पक्षमा १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारका बारेमा छलफल सुरु भएको छ । वर्तमान सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिबीच बिहीबार अपरान्ह देउवा निवास बूढानीलकण्ठमा आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवारका सन्दर्भमा छलफल भएको खुलासा भएको छ ।

सभापति देउवा र उपसभापति निधिबीच बिहीबार अपराह्न ५ बजेदेखि ६ बजेसम्म एक घण्टा ‘वान टू वान’ वार्ता भएको थियो । देउवाको सचिवालयका अनुसार पार्टीमा पछिल्लो समय विभाग गठनले निम्त्याएको विवादका विषयमा कुराकानी गर्न देउवाले निधिलाई बूढानीलकण्ठ बोलाए पनि छलफल महाधिवेशनमा सभापतिको उम्मेदवारीका सम्बन्धमा केन्द्रित हुन पुग्यो ।

वार्ताका क्रममा निधिले आफूलाई भावी सभापतिमा सघाउन देउवालाई आग्रह गरेको निधि निकट स्रोतले जानकारी दिएको छ । संस्थापन इतरतिर आधा दर्जन बढी सभापतिका आकांक्षी देखिएका बेला संस्थापन पक्षबाट सभापतिमा दोहोरिन तम्सिएका देउवालाई निधिले भेटेरै आफ्नो पनि भावी सभापतिमा दाबी गरेको जनाएका हुन् ।

निधि र देउवाको सवाल जवाफ

निधिले सुरुमै ‘आज तपाईँसँग गम्भीर छलफलका लागि म यहाँ आएको हुँ’ भन्दै संवाद सुरु गरेका थिए । त्यसपछि निधिले भने, ‘म १४ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लागि परेको छु । त्यसका लागि पहिला मलाई तपाईंले समर्थन गर्नुहोस् । तपाईं अब अभिभावक भएर बस्नुस्, म सभापतिमा उठ्छु, सहयोग गर्नुस् । अन्य साथीहरुसँग पनि मैले छलफल गरिरहेको छु ।’ 

तर १४ औं महाधिवेशनमा पनि सभापति दोहोरिन कसरत गरिरहेका देउवाले भने निधिलाई फेरि एक पटक आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेको देउवा सचिवालयले जनाएको छ । सभापति देउवाले भने, ‘चुनाव लड्न कार्यकर्तासँग व्यापक सम्पर्क चाहिन्छ । तपाईं अर्को पटक लडे भैहाल्छ नि !’ 

निधिनिकट स्रोतका अनुसार जवाफमा निधिले भने, ‘१५ औं महाधिवेशनसम्म त म पनि ७० वर्ष पुग्छु, त्यसैले यसै पटक मलाई छोडिदिनुस्, फेरि पनि तपाईं आफैं उठ्ने कुरामा पुनर्विचार गर्नुस् । १३ औं महाधिवेशनमा तपाईंकै आग्रहमा सहयोग गरेको हुँ । त्यसबेला नै १४ औं महाधिवेशनमा मलाई सघाउने तपाईंको बचन थियो । सम्झनुस् । म उपसभापति भइसकेँ स्वाभाविक रूपमा अब सभापति उम्मेदवार हुँ । अब मेरो लागि पर्खने समय छैन ।’

तर देउवाले निधिको प्रस्ताव र राजनीतिक बाध्यता गम्भीरतापूर्वक सुनेपनि सभापतिमा दोहोरिने लालसा दर्शाउन छोडेनन् । 

देउवाले फेरि भने, ‘यसपटक मलाई नै समर्थन गर्नुस् न । १५ औं महाधिवेशनमा हाम्रो ग्रुपबाट नेता तपाईं नै त हो  । अरू को छर? हतार किन गर्नुहुन्छ ? १५ औं महाधिवेशनमा सभापति तपाईं नै हो ।’
तर निधिले आफू सर्वसम्मत सभापति बन्ने निर्णयमा पुगिसकेकाले समर्थनका लागि देउवासँग अनुरोध गर्दै बुढानीलकण्ठबाट बाहिरएका थिए । 

त्यसपछि निधिले साँझ ७ बजे वरिष्ठ नेता रामचन्द्र पौडेलसँग टेलिफोन संवाद गरेका थिए । पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले भने, ‘बिहीबार साझा उपसपभातिज्यूको फोन आएको थियो । कोरोना संक्रमणको जोखिमका कारण भेटघाट बन्द गरेकाले उहाँले आफूले सभापतिसँग १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने विषयमा कुराकानी भएको सुनाउनु भएको थियो ।’

निधिले पौडेलसँग पनि देउवासँगको वार्ता सकारात्मक भएको भन्दै सहयोगका लागि आग्रह गरेका थिए । तर पौडेलले भने जवाफमा पहिले महाधिवेशनको सुनिश्चता र निष्पक्षतामा जोड दिन निधिलाई भनेका थिए । 

यसअघि निधिले सभापतिका आकांक्षी केही नेताहरुसँग पनि १४ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनमा आफूलाई साथ दिन आग्रह गरेका थिए । निधिले आफू सभापतिका लागि तयार रहेको भन्दै सबैसँग सहयोगका लागि आग्रह गरिरहेका छन् ।

रातोपाटीसँग निधिले सभापति देउवासँग वार्ता भएको स्वीकार गरेपनि आन्तरिक विषय भएकाे भन्दै धेरै बोल्न चाहेनन् ।

निधि किन पुगे हतारहतार बूढानीलकण्ठ ?

केही समयअघि महामन्त्री शशांक कोइरालालाई बूढानीलकण्ठ बोलाएर देउवाले छलफल गरेरपछि निधि सशंकित बनेकाे बुझिएको छ । महामन्त्री कोइरालाले देउवाले आफूलाई बोलाएर फेरि सभापतिमा सहयोग गर्न आग्रह गरेको खुलासा गरेको दोस्रो दिन निधि बूढानीलकण्ठ पुगेका हुन् ।

कोइरालाले १३ औं महाधिवेशनमा आफूलाई महामन्त्रीमा जिताउन देउवाले अप्रत्यक्ष रुपमा समर्थन रहेको घुमाउरो पारामा एक टेलिभिजनलाई बताएका थिए । निधिले शशांकलाई भेटेपछि देउवाले पनि उनीसँग भेटवार्ता गरेका थिए ।

देउवा रोक्न निधिको सक्रियता

देउवाले सभापतिमा दोहोरिन आफूनिकट नेता कार्यकर्ता र इतर पक्षका नेतासँग पनि छलफल अगाडि बढाएपछि देउवाको विकल्पमा देखिने गरी आफू प्रस्तुत हुन निधिले प्रयास गरिरहेका छन् । 
तत्कालीन अवस्थामा काँग्रेसका भ्रातृ संगठनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मा ८ वर्षदेखि बिराजमान देउवालाई विस्तापित पनि निाधिले नै गरेका थिए ।काँग्रेसका संस्थापक नेता स्वर्गीय बिपी कोइरालाले ०३६ सालमा २४ वर्षका विमलेन्द्रलाई नेपाल विद्यार्थी संघको अध्यक्ष बनाएपछि आठ वर्षदेखि नेपाल विद्यार्थी संघका अध्यक्ष रहेका देउवाको नेविसंघबाट विदाई भएको थियो।

काँग्रेसका संस्थापन नेता मध्येका एक महेन्द्र नारायण निधिका पुत्र विमलेन्द्र निधिले यतिबेला पनि त्यही अनुसार आफूलाई आगाडि बढाएको पाइन्छ । मधेसी मुलबाट पार्टी कार्यकारी प्रमुखमा अहिलेसम्म कुनै व्यक्ति स्थापित नभएका बेला निधिले सर्वसम्मत नेतृत्वमा पुग्ने गृहकार्य गरेको पाइन्छ ।

मधेसी मुलबाट नेपाली काँग्रेसको नेतृत्व तहमा पुग्ने अवसर निधिमा रहेपनि त्यसका लागि उनलाई पहिला देउवाको समर्थन अपरिहार्य बनेको छ । किनभने लामो समयदेखि निधि देउवाको विश्वासपात्र भएर पार्टीमा काम गर्दै आएका छन् । संस्थापन इतर पक्षका नेतासँगको छलफलपछि निधिले देउवाको सर्मथन खोज्नुलाई भने काँग्रेस वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

तर संस्थापन इतरमा सभापतिका लागि वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइरालामा उत्कट आकांक्षा छ ।

यस्तो अवस्थाका निधिलाई काँग्रेस नेतृत्वमा पुग्न सहज छैन । यद्यपि काँग्रेसमा वर्तमान परिदृष्य भने फेरिँदो छ । गत असार १६ गतेको केन्द्रीय कार्यसमिति बैठकमा नागरिकता विधेयकका विषयका सम्बन्धमा सभापति देउवाको विमतिका बीच पौडेल र सिटौलाको सर्मथनमा आफू अनकुल निर्णय गराउन निधि सफल भएका  थिए ।

यतिबेला पनि देउवासँग छलफल सकेर बाहिरिएलगत्तै निधिले पौडेलसँग टेलिफोन संवाद गर्नुले काँग्रेस वृत्त तरंगित छ । यता पछिल्लो समय छिमेकी मुलुक भारतसँग देउवाको सम्बन्ध समधुर नभएको भनिएको बेला निधिको सक्रियातालाई पनि काँग्रेसभित्र अर्थपूर्ण रुपमा हेरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप