‘अब त पानी नपरे नि हुन्थ्यो !’
पोखरा । पानीको सतह बढेर सेती बगर पूरै भरिएको छ । धनबहादुर तामाङ बिहानैदेखि पानीको सतह कति बेला घट्ला भनेर हेरेर बसेका छन् ।
हिउँदयाममा सुख्खा रहने रामघाट सधै बर्खा लागेपछि रुप फेर्छ । अरु बेला घाम लाग्ने बित्तिकै पानीको सतह कम हुन्थ्यो । तर, यसपालि पाँच दिन बिति सक्दा पनि पानीको सतह उस्तै छ । धनबहादुरलाई पानीको सतह कहिले घट्ला र बालुवा निकाल्न जाउला भनेर बसेका छन् । बिहानदेखि पानीको सतह हेरेर बसेका छन् उनी । तर, अह ! पानीको सतह घट्न छाँटकाटै छैन ।
धनबहादुरसँगै अरु ४÷५ जनाको ग्रुप पनि छ । तर, धनबहादुर अलि पाका लाग्छन् । हुन् पनि गएको बैशाखमा ५७ पूरा गरेर ५८ मा पाइला टेके धनबहादुरले । अरु, त्यस्तै ३०÷३१ आसपासका हुँदा हुन् । उनीहरु पनि पानीको सतह घट्ला र काममा फर्किउला भनेरै बसेका छन् ।
धनबहादुरको पूरानो घर तनहूँ रहेछ । पोहोर साल श्रीमती खसिन् । बुढाबुढी गाउँकै खेतबारी खोस्रेर जेनतेन जिविका चलाई रहेकै थिए । आफ्नो भन्ने जीवनसाथी नै नरहेपछि धनबहादुरको मन गाउँमा बसेन् । श्रीमती त उनलाई एक्लै छाडेर स्वर्गको बाटो लागिन् । उनलाई त सजिलै भयो । पर्नु बज्रपात त धनबहादुरलाई नै प¥यो । भएको एउटा छोरालाई गाउँमै छोडेर काम खोज्दै हानिए सहरतिर ।
सहरमा पनि भनेजस्तो काम पाइएन् । पाउन पनि कसरी ? हातमा सिप केही थिएन । अनि, उनी हातमा साबेल र थुम्से बोकेर सेती किनारमा । ‘छोराले अहिले एसइई दिने हो । त्यो पनि लकडाउनले रोकियो भन्छन्,’ खुइड्ढय सुस्केरा हाल्दै उनले भने, ‘बुढी त पोहोर साल बितेकी हो ।’
तीन महिना जति त कोठामित्रै थुनिएर बसे धनबहादुर । कोरोना भाइरस रोकथामको लागि सरकारले देशमा लकडाउन जो जारी गरेको थियो । बालुवा मात्रै थुपारेर पनि के गर्नु ? सबैतिर ठप्प थियो । बिचमा महानगरले दिएको राहत पनि पाएका रहेछन् उनले ।
दिनभर काम गरेर बिहान बेलुकाको छाँक टार्ने धनबहादुरलाई महानगरले दिएको राहतले तीन महिना धान्न हम्मेहम्मे प¥यो । आफू मात्र खाएर पनि भएन । गाउँमा छोरालाई पनि पठाउनै प¥यो ।
लकडाउन खुल्यो । बिचमा केही समय काम पनि पाए धनबहादुरले । जे होस् काम चलि रहेकै थियो ।
‘खै, बिचमा त अलिअलि काम भई राखेकै थियो बाबु ! ठूलो पानी आयो भने बगर पूरै पानीले भरिई हाल्छ, अस्ति जम्मा गरेर राखेको बालुवा पनि बगाई दिएछ,’ उनले अघि सुनाए ।
पानी पर्न थाल्यो कि धनबहादुरलाई पीर पर्छ । पानी प¥यो भने पानीको सतह बढी हाल्छ । किनकी उनलाई थाहा छ पानी प¥यो भने सेतीको खोच थुनिएर बगर पानीले भरिन्छ । उनी उनले बालुवा चाल्न पाउँदैनन् । अस्ति पानी कम हुँदा एक÷दुई भारी बालुवा जम्मा पारेर राखेका रहेछन् धनबहादुरले ।
दुई भारी बालुवाले टीप पुग्दैन । एक टीप बालुवा पु¥याए उनको हातमा २५ सय रुपैयाँ पर्छ । त्यै पनि कहिलेकाहीं त लेखपढ गर्न नजानेकै कारण ठेकेदारले छक्याई हाल्छ ।
एकै छिनमा सेतीको आकाशमाथि कालो बादल मडारिन थाल्यो । धनबहादुरले मनमने भने, ‘अब त पानी नपरे नि हुन्थ्यो !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’