बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

निजी अस्पतालद्वारा कोरोना उपचार शुरु

शनिबार, ३१ साउन २०७७, १७ : १४
शनिबार, ३१ साउन २०७७

जिल्लामा कोरोना सङ्क्रमितको उपचार थाल्ने निजी क्षेत्रमा पुष्पाञ्जली अस्पताल पहिलो भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  कोरोना सङ्क्रमण भएमा त्यही उपचार गर्न दिएको निर्देशन अस्पतालले पालना गरेको जनाएको छ ।

रत्ननगर नगरपालिका–९ टिकौलीका ६१ वर्षीय पुरुषलाई  श्वासप्रश्वासमा गम्भीर समस्या भई सो अस्पतालमा उपचार गराइरहेको अवस्थामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका व्यवस्थापक सुजन अधिकारीका अनुसार यही साउन २७ गते उपचारका लागि आएका उनको सघन उपचार कक्षमा उपचारका क्रममा स्वाब परीक्षण गर्दा साउन ३० गते कोभिड–१९ पोजिटिभ देखिएको थियो । 

अस्पतालका डा सन्दीप पाण्डेका अनुसार निजको हाल सघन उपचार कक्षमा नै स्थिर र गम्भीर अवस्थामा उपचार भइरहेको छ । मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन र हव अस्पताल भरतपुर अस्पतालसँग समन्वय गरी अस्पतालको सघन उपचार कक्षमा नै राखेर उपचारलाई निरन्तरता दिइएको उनले जानकारी दिए । यसका लागि सघन कक्षको व्यवस्थापन, चिकित्सकलगायत स्वास्थ्यकर्मीको क्वारेन्टिन र स्वास्थ्य सामग्रीको व्यवस्थापन अस्पतालले गरिसकेको समेत उनले जानकारी दिए ।

सघन कक्ष भिन्न भवनमा रहेकाले सोलाई सिल गरी अर्को भवनबाट अन्य सेवा उच्च सावधानीका साथ निरन्तरता दिइएको अस्पतालले जनाएको छ । अस्पतालमा अन्य सेवा लिन आउने बिरामीका लागि जोखिम नरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । जिल्लामा अन्य अस्पतालमा कोरोना सङ्क्रमण देखिएमा हव अस्पतालका रुपमा रहेको भरतपुर अस्पताल पठाइँदै आएको थियो । जटिल बिरामीलाई हतारमा सार्दा दुई जनाको मृत्युसमेत भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप