मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो

शनिबार, ३१ साउन २०७७, १६ : ३६
शनिबार, ३१ साउन २०७७

नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १—१ जना गरी थप ३ जनाको मृत्यु भएको हो । 
 गौतमका अनुसार कपिलवस्तुको मायादेवी—७ का ४० वर्षीय पुरुषको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यस्तै पर्साको विरगञ्ज महानगरपालिका—१२ का ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको हो । 

 प्रदेश नम्बर १ मा ९ जना, प्रदेश २ मा ४४ जना, बागमती प्रदेशमा १८ जना र गण्डकी प्रदेशमा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा ४ जना र  सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको छ । जसमा ८० जना पुरुष र २२ जना महिला रहेका छन् ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा  प्रवक्ता  गौतमले  देशभर ४६८ जना संक्रमित थपिएको जानकारी दिए भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २६ हजार १९ पुगेको छ।

शनिबार थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका ९८ जना रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप