शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२६ वाणिज्य बैंकले कमाए ५१ अर्ब नाफा, सेयरधनीले कति पाउँछन् लाभांश ?

शनिबार, ३१ साउन २०७७, १५ : २२
शनिबार, ३१ साउन २०७७

काठमाडौं । २६ वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६/७७ मा ५१ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकबाट इजाजत पाएका २७ वाणिज्य बैंकमध्ये हालसम्म चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका बैंक तथा वित्तीय संस्थाहरुले यो अवधिमा कुल ५० अर्ब ९० करोड २९ लाख रुपैंया नाफा कमाएको देखिएको हो । यसरी नाफा कमाउने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंकले सर्वाधिक ४ अर्ब ४५ करोड नाफा कमाएको छ । 

त्यस्तै, नबिल बैंकले ३ अर्ब ५६ करोड, एनआईशी एशिया बैंकले ३ अर्ब १२ करोड, ग्लोबल आईएमई बैंकले ३ अर्ब ८ करोड नाफा कमाएर ३ अर्ब भन्दा बढी नाफा कमाउने बैंकको सूचीमा परेका छन् । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, प्राइम कमर्शियल बैंक, एनएमबि बैंक, र सिद्धार्थ बैंकको नाफा २ अर्ब भन्दा बढी नाफा कमाएका छन् । 

त्यसबाहेक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू, नेपाल एसबीआई बैंक, मेगा बैंक, लक्ष्मी बैंक, सनराइज बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, एनसीसी बैंक र सिटिजन्स बैंकको नाफा १ अर्ब भन्दा बढी छ । सेञ्चुरी बैंक र सिभिल बैंकको नाफा मात्रै यो वर्ष १ अर्ब भन्दा कम रहेको देखिएको छ । कृषि विकास बैंकले भने अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेको छैन । 

यो वर्ष अधिकांश बैंकहरुको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ । मर्जर प्रक्रिया सम्पन्न गरेका बैंकहरु बाहेक यो वर्ष अधिकांश बैंकको नाफा घटेको हो । एनआईशी एशिया बैंक र लक्ष्मी बैंक भने मर्जरमा नगए पनि नाफा भने यो वर्ष नाफामा सामान्य सुधार देखिएको छ । यसरी अधिकांश बैंकको नाफा घट्दा समग्र बैकिङ क्षेत्रको नाफामा अघिल्लो वर्षको तुलनामा खुद नाफामा करिब २० अर्बको कमी आउने देखिएको छ ।

लाभांश क्षमता औसत ११ प्रतिशत
कोभिड–१९ का कारण थलिएको अर्थतन्त्रमा पनि सन्तोषजनक नाफा गरेका बैंकहरुको सेयरधनीलाई बाँड्न पाउने लाभांश रकम भने ज्यादै न्यून छ । ५१ अर्ब रुपैंयाको खुद नाफामध्ये २६ वटा बैंकहरुले ३० अर्ब रुपैंया मात्रै सेयरधनीहरुलाई बाँड्न पाउँछन् । २ खर्ब ६६ अर्ब रुपैंया चुक्ता पुँजी भएका यी बैंकहरुको यो लाभांश करिब ११.१५ प्रतिशत मात्रै हो । 

नाफा भएर पनि सेयरधनीलाई बाँड्न नपाएको पैसा बैंकहरुले नियामकीय रिजर्भको रुपमा राख्नुपर्नेछ । यस्तो रकम बैंकमा एक वर्षसम्म हुनसक्ने सम्भावित नोक्सान वा जोखिमका लागि राखिएको हुन्छ । त्यस्तो जोखिम नदेखिएको अवस्थामा अर्को वर्ष सेयरधनीहरुले यस्तो रकम फिर्ता पाउँछन् । यसले गर्दा आगामी वर्षको लाभांश निर्धारणमा यो रकम सहयोगी हुन्छ । तर यो वर्षको लाभांशको लागि भने वितरणयोग्य नाफा नै प्रमुख आधार हो । सबै बैंकहरुले यो वर्ष थप रकम यस्तो कोषमा जगेडा राख्नुपर्ने भएका कारण लाभांश क्षमता कमजोर बनेको हो । 

कुन बैंकले कति दिन पाउँछन् लाभांश ?
नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले यो वर्ष बैंक तथा वित्तीय संस्थाहरुलाई ३० प्रतिशत भन्दा बढी लाभांश बाँड्न नपाउने व्यवस्था गरेको छ । यो सीमाभन्दा धेरै लाभांश दिने क्षमता यो वर्ष नबिल बैंकसँग मात्रै छ । नबिलले यो वर्ष ३०.१३ प्रतिशत लाभांश दिनसक्ने क्षमता रहेको जनाएको छ । १० अर्ब ९ करोड चुक्ता पुँजी भएको नबिलले ३ अर्ब ४ करोड रुपैंया लाभांश वितरण क्षमता रहेको जनाएको हो । 

बाँकी बैंकहरुको भने यस्तो क्षमता २० प्रतिशत भन्दा पनि कम छ । एभरेष्ट, नेपाल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १८ प्रतिशत भन्दा बढी लाभांश दिने क्षमता कायमै राखेका छन् । बाँकीमध्ये ११ बैंकले दोहोरो अंकमा लाभांश दिनसक्ने भए पनि त्यो १५ प्रतिशत भन्दा कम छ । बाँकी ११ वटा बैंकहरुले भने १० प्रतिशत भन्दा पनि कम लाभांश दिन सक्छन् । 

बैंकहरुको नाफा प्रभावित हुनुमा ऋणीलाई सहुलियत दिनेगरी राष्ट्र बैंकले गरेको व्यवस्था, स्प्रेडदरमा घटाइएको सीमा र लागु गरिएको नयाँ सुत्र प्रमुख कारण छन् । लाभांश क्षमता कमजोर हुनुको कारण चाहिँ बैंकहरुले लगानी गरेको ऋण उठ्न नसक्नु हो । नियामकीय निकायले बर्जाको सावाँ र ब्याज उठाउन ताकेता नगर्न भनेपछि ऋण असुली कम भएको हो । सोही कारण नउठेको ऋणका लागि जगेडा राख्नुपर्दा यसको सोझो असर लाभांशमा देखिएको हो । 

कुन बैंकरको देखियो राम्रो पर्फमेन्स

सामान्यतया नाफा र वितरणयोग्य लाभांशको आकारलाई नै बैंकरको कार्यसम्पादन क्षमताको श्रपमा जोडेर हेरिए पनि त्यो वास्तविक भने होइन । बैंकरको क्षमतालाई रिटर्न अन इक्विटी (आरओई) सँग तुलना गरेर हेर्नु बढी प्रभावकारी मानिन्छ । बैंकसँग भएको कुल पुँजीमा बैंकले कति आम्दानी गर्छ भन्ने देखाउने भएकोले यसलाई मूल्यांकनको वास्तविक मापक मानिएको हो । 

यो वर्ष आरओईमा सबैभन्दा उत्कृष्ट राष्ट्रिय वाणिज्य बैंक देखिएको छ । सो बैंकले पुँजीको २३.४४ प्रतिशत आम्दानी गर्न सफल भएको देखिएको छ । दोस्रोमा एनआईसी एशिया बैंक रहँदा सो बैंकले २२.१२ प्रतिशत आम्दानी गर्न सफल भएको छ । बाँकीमध्ये हिमालयन, नबिल, एभरेष्ट, सानिमा, स्ट्यान्डर्ड चार्टर्ड र सिद्धार्थ बैंकको यस्तो आम्दानी १५ प्रतिशत भन्दा बढी छ । बाँकीमध्ये १० बैंकको १० प्रतिशत बढी र ८ बैंकको एकल अंकमा त्यस्तो आम्दानी रहेको देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप