शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्वाधार निर्माण कम्पनीको प्रथम वार्षिक साधारणसभा सम्पन्न

शनिबार, ३१ साउन २०७७, १० : ४५
शनिबार, ३१ साउन २०७७

काठमाडौं – पूर्वाधार निर्माण कम्पनीले आफ्नो पहिलो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । पूर्ण सरकारी स्वामित्वमा एक वर्षअघि स्थापित उक्त कम्पनीले भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङ र भौतिक मन्त्रालयमा सचिव देवेन्द्र कार्कीसहित कम्पनीमा शेयर लगानी मन्त्रालयका प्रतिनिधि र सञ्चालक समितिका अन्य सदस्यको उपस्थितिमा प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको हो । 

शुक्रबार राजधानीमा साधारणसभा आयोजना गर्दै कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमहरु स्वीकृति गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र केसीले जानकारी दिए । 

के हो पूर्वाधार निर्माण कम्पनी ? 
पूर्वाधार निर्माण कम्पनी निर्माण क्षेत्रमा काम गर्न स्थापना भएको कम्पनी हो । निजी क्षेत्रका निर्माण व्यवसायीहरुबीच लागत तथा गुणस्तरका सम्बन्धमा हुने अस्वस्थ प्रतिस्पर्धा वा मिलेमतोलाई अन्त्य गर्दै निर्माण कार्यमा हुने समय र गुणस्तरलाई बढाउन हस्तक्षेपकारी भूमिका खेल्ने उद्देश्यले यस्तो कम्पनी स्थापना भएको थियो । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयको आधारमा २०७६ असार २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा यो कम्पनी दर्ता भएको थियो । 

अहिले यस कम्पनीको अधिकृत पुँजी १० अर्ब, जारी पुँजी ५ अर्ब र चुक्ता पुँजी ३ अर्ब छ । सो कम्पनीमा अहिले अर्थ, उर्जा, शहरी विकास, कानून र भौतिक पूर्वाधार मन्त्रालयको शेयर लगानी छ । ती सबै मन्त्रालयका तर्फबाट १÷१ जना गरी ५ जना, स्वतन्त्र सञ्चालक ४ जना र निजी क्षेत्रका लगानीकर्ताका तर्फबाट २ जना समेत गरी ११ सदस्यीय सञ्चालक समितिको व्यवस्था गरिएको छ । यसले निकट भविष्यकै निजी क्षेत्रमा शेयर गर्ने तयारी समेत गरेको छ ।

असोज १३ गते कम्पनीको सञ्चालक समितिको पहिलो बैठक बसेर सो कम्पनीको औपचारिक सुरुवात भएको थियो । त्यसको भोलिपल्टैदेखि प्रमुख कार्यकारी अधिकृतको नियुक्ति प्रक्रिया सुरु गरे पनि २०७७ जेठमा मात्रै त्यो प्रक्रिया सम्पन्न भएको थियो । कम्पनीले गरेको प्रस्तावमा आवेदन दिन कोही नआएपछि दोस्रोपटक प्रस्ताव आह्वान गर्नुपरेको थियो । त्यसैले यो प्रक्रिया सक्न करिब ८ महिना लागेको थियो । प्रमुख कार्यकारी अधिकृतको नियुक्तिपछि अहिले सो कम्पनीले कार्यालय पूर्वाधार र कर्मचारी व्यवस्थापनको काम गरिरहेको छ ।

यस कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयबाट एक साता अघि मात्रै कारोबार सञ्चालनको लागि स्वीकृति लिएको छ । त्यस्तै, बैंक खाता सञ्चालनमा ल्याएको र कार्यालयको भौतिक पूर्वाधार र कर्मचारी व्यवस्थापनको काम सुरु गरेको भन्दै अब बजारमा प्रतिस्पर्धी कम्पनीको रुपमा अघि बढ्ने सीईओ केसीले दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप