शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्ने

शनिबार, ३१ साउन २०७७, १० : २८
शनिबार, ३१ साउन २०७७

चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्नेभएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्न लागेको हो । 

नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रत्येक वडामा ३०० व्यक्तिका दरले पिसीआर परीक्षण गर्न लागेको जानकारी दिए । “नगरपालिकाभित्र अग्र भागमा खटेर काम गर्ने व्यक्तिको पिसीआर परीक्षण गर्न लागेका हौँ”, उनले भने । 

नगरपालिकाभित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, औषधि र नाइ पसलमा कार्यरत व्यक्तिको पिसिआर परिक्षण गर्न लागिएको हो । नगरपालिकाले नेपाली सेनाको सहकार्यमा उक्त परीक्षण गर्न लागेको हो ।सङ्क्रमितको उपचारका लागि नगरपालिका–१ दहचोकमा रहेको मनमोहन अस्पतालमा आइसोलेशन सेन्टर स्थापना गर्न लागिएको छ । 

यसै हप्ताबाट सञ्चालनमा आउने उक्त आइसोलेशन २०० श्ययाको हुनेछ । हाल सशस्त्र प्रहरी अस्पताल बलम्बुको सहकार्यमा चन्द्रागिरिका बासिन्दाको कोरोना परिक्षण गराइएको छ । चन्द्रागिरिमा हालसम्म ३४ जनामा कोरोना सङ्क्रमण देखिसकेको छ ।  

यसअघि नगरपालिकाले स्वास्थ्य सेवा विभागको सहकार्यमा नागढुङ्गाबाट काठमाडौँ भित्रिने पाँच हजार बढी यात्रुको पिसीआर परीक्षणका लागि स्वाव सङ्कलन गरेको थियो ।

अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्म स्थगित 

नगरपालिकाले नगरपालिकाभित्र पछिल्लो समय कोरोना सङ्क्रमणदर फैलिँदै गएसँगै आगामी भदौ १५ गतेसम्मलाई अत्यावश्यक बाहेक अन्य सबै सेवा स्थगन गर्ने निर्णय गरेको छ । 

नगरप्रमुख गिरीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले चन्द्रागिरिभित्र अत्यावश्यक बाहेक अन्य सेवा स्थगन गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै अब नगरपालिकाले स्वास्थ्य सेवा, कोभिड–१९ नियन्त्रण र उपचार सेवा, विपद् व्यवस्थापन सेवा, सामाजिक सुरक्षा दर्ता तथा नवीकरण र पशु सेवा मात्र प्रदान गर्ने भएको छ । 

वडा कार्यालयका अत्यावश्यक सेवा दिउँसो १ बजेसम्म प्रदान गर्ने र कर्मचारी र जनप्रतिनिधि आलोपालो गरी सेवा प्रदान गरिने नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । यस्तै स्वास्थ्य सेवा प्रवाह गर्दा स्वास्थ्यकर्मीले आवश्यकताअनुसार आलोपालो गरी सेवा मिलाउने नगरपालिकाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप